आजभोलि ‘युरिक एसिड’ शब्द सुन्ने बित्तिकै हामी झस्किने गर्छौँ। जोर्नी दुख्ने बित्तिकै वा कुर्कुच्चा पोल्ने बित्तिकै हामीलाई लाग्छ— ‘युरिक एसिड बढ्यो कि के हो!’
बदलिँदो खानपान र विलासी जीवनशैलीका कारण युरिक एसिड घर-घरको समस्या बनेको छ। धेरैलाई लाग्न सक्छ, बुढेसकालमा मात्र यो रोग लाग्छ। तर हिजोआज युवाहरू पनि यो रोगको चपेटामा पर्न थालेका छन्। जोर्नी दुख्ने बित्तिकै तर्सिनुभन्दा पहिले युरिक एसिड के हो र यसले हाम्रो शरीरलाई कसरी प्रभाव पार्छ भन्ने कुरा बुझ्न आवश्यक छ।
युरिक एसिड हाम्रो शरीरको शत्रु मात्र होइन, यो एक प्रकारको रक्षक अर्थात् मित्र पनि हो। यो सुन्दा अनौठो लाग्न सक्छ तर यो सत्य हो। युरिक एसिड हाम्रो शरीरको एक स्वाभाविक उप–उत्पादन हो, जुन रगतमा सन्तुलित मात्रामा रहँदा स्वस्थ रहन मद्दत पुग्छ। तर जब यसको सन्तुलन बिग्रन्छ अनि मात्र यसले ‘गाउट’ जस्तो असह्य पीडा निम्त्याउँछ।
यस लेखमा हामी युरिक एसिडको दोहोरो भूमिका, यसको सही मात्रा र यसलाई नियन्त्रण गर्ने उपायबारे चर्चा गर्नेछौँ।
१. युरिक एसिड भनेको के हो? के यो शरीरका लागि सधैँ हानिकारक मात्र हुन्छ?
युरिक एसिड शरीरमा ‘प्युरिन’ नामक तत्त्व टुक्रिँदा बन्ने एक उप–उत्पादन हो। धेरैलाई लाग्न सक्छ कि यो केवल शरीरको विकार हो, तर यो पूरा सत्य होइन।
सुरक्षा कवचको रूपमा: हाम्रो शरीरभित्र यो सन्तुलित मात्रामा रहँदा यसले शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छ। यसले हाम्रा कोषिकाहरूलाई क्षति हुनबाट जोगाउँछ र मस्तिष्क एवं स्नायु प्रणालीको सुरक्षा गर्दै अल्जाइमर र पार्किन्सन्स जस्ता जटिल रोगको जोखिम कम गर्न मद्दत गर्छ।
समस्याको रूपमा: यो समस्या तब बन्छ जब रगतमा यसको मात्रा असामान्य रूपमा बढ्न थाल्छ। जब यो धेरै हुन्छ, शरीरले यसलाई बाहिर फाल्न सक्दैन र यो क्रिस्टल बनेर जोर्नीहरूमा जम्मा हुन थाल्छ र हामीलाई युरिक एसिड हुने क्रम सुरु हुन्छ।
२. रगतमा युरिक एसिडको सामान्य स्तर कति हुनुपर्छ?
स्वस्थ शरीरका लागि युरिक एसिडको मात्रा एक निश्चित सीमाभित्र हुनुपर्छ। ल्याब अनुसार थोरै फरक पर्न सक्ने भए तापनि सामान्यतया यसको मापदण्ड निम्न अनुसार छ:
पुरुष: ३.५ देखि ७.२ (एमजी/डिएल)
महिला: २.६ देखि ६.० (एमजी/डिएल)
बालबालिका: २.० देखि ५.५ (एमजी/डिएल)
३. शरीरमा युरिक एसिड किन बढ्छ? (हाइपरयुरिकेमियाका कारणहरू)
रगतमा युरिक एसिड बढ्नुका पछाडि मुख्यतया तीन वटा पाटाहरू जिम्मेवार हुन्छन्:
उत्पादन बढेमा: यदि तपाईं रातो मासु, कलेजो, केही विशेष माछा (सार्डिन, एन्चोभिज) र बढी गुलियो (फ्रुक्टोजयुक्त) पेय पदार्थ धेरै सेवन गर्नुहुन्छ भने शरीरमा युरिक एसिड बढी बन्छ।
उत्सर्जन घटेमा: यदि मिर्गौलामा केही समस्या छ, शरीरमा पानीको कमी (डिहाइड्रेसन) छ वा केही विशेष औषधिहरू (जस्तै रक्तचापका लागि प्रयोग गरिने डाय्युरेटिक्स) प्रयोग गरिरहनु भएको छ भने मिर्गौलाले युरिक एसिड छानेर फाल्न सक्दैन।
अन्य कारणहरू: मोटोपना, वंशाणुगत गुण र अत्यधिक मदिरा (विशेष गरी बियर र स्पिरिट) को सेवनले पनि यसको स्तर ह्वात्तै बढाउँछ।
४. युरिक एसिड बढ्दा कस्ता स्वास्थ्य जटिलताहरू आउन सक्छन्?
यदि युरिक एसिडको स्तर लामो समयसम्म अनियन्त्रित रह्यो भने यसले शरीरका विभिन्न अंगमा असर गर्छ:
गाउट: यो सबैभन्दा साझा समस्या हो। जोर्नीमा स–साना सियो जस्ता क्रिस्टल जम्मा भई असह्य दुखाइ हुने र सुन्निने हुन्छ। प्रायः यो दुखाइ खुट्टाको बुढी औँलाबाट सुरु हुन्छ।
मिर्गौलाको पत्थरी: युरिक एसिड थुप्रिएर मिर्गौलामा पत्थरी बन्न सक्छ, जसले गर्दा पिसाबमा रगत देखिने वा पेटको तल्लो भाग दुख्ने समस्या हुन्छ।
मुटु र मेटाबोलिक रोग: यसले उच्च रक्तचाप, स्ट्रोक, मधुमेह र मोटोपनाको जोखिमलाई पनि बढाउँछ।
५. के यसलाई प्राकृतिक रूपमा नियन्त्रण गर्न सकिन्छ?
पक्कै पनि सकिन्छ। खानपान र जीवनशैलीमा सुधार गरेर यसलाई धेरै हदसम्म नियन्त्रणमा राख्न सकिन्छ:
सन्तुलित खानपान: रातो मासु र समुद्री खाना कम गर्ने। यसको बदलामा फलफूल, हरियो सागसब्जी र कम चिल्लो भएको दूध सेवन गर्ने।
भिटामिन ‘सी’ भएका खानेकुरा: चेरी, बेरी, सुन्तला, किवी र कागती जस्ता भिटामिन ‘सी’ युक्त फलफूलले युरिक एसिड घटाउन मद्दत गर्छन्।
पर्याप्त पानी: दैनिक रूपमा कम्तीमा २–३ लिटर पानी पिउने। यसले मिर्गौलालाई युरिक एसिड पखालेर बाहिर निकाल्न मद्दत गर्छ।
तौल नियन्त्रण: तौल नियन्त्रण गर्ने तर तौल नियन्त्रणको नाममा क्र्यास डाइट वा कडा व्रत बस्नु हुँदैन। एक्कासि खाना छोड्दा उल्टै युरिक एसिडको स्तर बढ्न सक्छ।
६. के युरिक एसिडको औषधि जीवनभर खानुपर्छ?
यो पूर्णतया बिरामीको अवस्था र कारणमा भर पर्छ। यदि खानपान सुधार्दा युरिक एसिड ठिक ठाउँमा आयो र कुनै दुखाइ छैन भने औषधि रोक्न सकिन्छ। तर यदि कसैलाई बारम्बार गाउट भइरहन्छ, मिर्गौलामा पत्थरी बनिसकेको छ वा वंशाणुगत रूपमै एसिड बढी बन्ने समस्या छ भने चिकित्सकको सल्लाहमा लामो समय वा जीवनभर पनि औषधि खानुपर्ने हुन सक्छ।
७. रिपोर्ट ‘नर्मल’ हुँदा पनि गाउटको दुखाइ हुन सक्छ र?
हो, रिपोर्ट नर्मल हुँदा पनि जोर्नीहरूमा दुखाइ हुन सक्छ। कहिलेकाहीँ रगतमा युरिक एसिडको मात्रा घटिरहेको बेला वा जोर्नीमा क्रिस्टलहरू पहिले नै जम्मा भइसकेको अवस्थामा रगतको रिपोर्टमा स्तर सामान्य देखिन सक्छ तर दुखाइ कम नहुन सक्छ। त्यसैले रिपोर्ट मात्र हेरेर ढुक्क हुनुहुँदैन, लक्षणहरू देखिएमा विशेषज्ञको परामर्श लिनु अनिवार्य हुन्छ।
युरिक एसिडलाई सन्तुलनमा राख्न खानपान र सक्रिय जीवनशैली नै पहिलो सुरक्षा कवच हो। चिकित्सकको परामर्श बिना जथाभाबी औषधि सुरु गर्ने वा छोड्ने काम जोखिमपूर्ण हुन सक्छ। आफ्नो शरीरको अवस्था ख्याल गरी समय समयमा स्वास्थ्य जाँच गराउनुपर्छ अनि मात्र स्वस्थ जीवन जिउन सकिन्छ।
(नोट: यो लेख जानकारीका लागि मात्र हो। उपचारका लागि सधैँ विशेषज्ञ चिकित्सकसँग सल्लाह लिनुहोस्।)
(लेखक काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत छन्।)