अभिनेता सुनिल थापाको निधनमा कलाकारदेखि सर्वसाधारणहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
अभिनेता राजेश हमालले सुनिल थापा एक असाधारण सहकर्मी रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, 'सुनिल, तपाईं एक असाधारण सहकर्मी हुनुहुन्थ्यो। तपाईंको अभाव कहिल्यै पूरा हुन सक्दैन।'
राजेश र सुनिलले दर्जनौं नेपाली फिल्ममा सहकार्य गरेका थिए। अभिनेतामा राजेश हमाल र खलपात्रमा सुनिल थापाबीचको केमेस्ट्रीलाई दर्शकले समेत अत्यन्त रूचाएका थिए।
राजेशले फेसबुकमा लेखेका छन्, 'नेपाली सिनेमाको इतिहासमा तपाईं एउटा महत्वपूर्ण मोड हुनुहुन्छ। मेरो सिनेमायात्रा म तपाईंप्रति समर्पित गर्दछु।'
सुनिल थापाको शनिबार बिहान ६८ वर्षको उमेरमा निधन भएको हो। उनले नेपालीसहित बलिउड फिल्म तथा वेब सिरिजमा समेत अभिनय गरेका छन्। उनी विशेषगरी खलनायक तथा चरित्र भूमिकामार्फत दर्शकमाझ लोकप्रिय थिए।