फ्राइडे रिलिजअन्तर्गत आज (शुक्रबार)देखि दुई नेपाली फिल्म 'ककाकिकी' र 'सारथी' प्रदर्शनमा आएका छन्। दुवै फिल्म एकसाथ देशभरका हलमा रिलिज भएका हुन्।
कमेडी विधाको 'ककाकिकी'
बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशित 'ककाकिकी' कमेडी जनरामा आधारित फिल्म हो। वर्षौंदेखि उपेक्षामा परेको गाउँ र आफ्ना प्रियजनलाई बचाउन बाध्यतावश एकजुट भएका चार फरक स्वभावका पात्रको कथामा फिल्म केन्द्रित छ। उनीहरूको असामान्य यात्रामा उत्पन्न हुने उथलपुथल, रमाइलो र हास्यसँगै मित्रता, क्षमा र मानवीय संवेदनाका पक्षलाई फिल्मले प्रस्तुत गर्छ।
फिल्ममा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माओत्से गुरूङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी)लगायत कलाकारको अभिनय छ।
श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता हुन्।
'सारथी'मा निरूता र उत्तमको पुनर्मिलन
कुमार गजुरेल निर्देशित 'सारथी'मा लामो समयपछि 'दर्पणछाया'का चर्चित जोडी निरूता सिंह र उत्तम प्रधान एकसाथ पर्दामा देखिएका छन्।
फिल्मको कथा आफ्नै सपना र बिरामी आमाप्रतिको कर्तव्यबीच अल्झिएको एक युवकको जीवनमा केन्द्रित छ। प्रेम, त्याग र सम्बन्धलाई बुझ्ने क्रममा उसले सामना गर्ने परिस्थितिलाई फिल्ममा प्रस्तुत गरिएको छ।
फिल्ममा निरूता र उत्तमसँगै गायत्री जोशी, गिरी विश्वकर्मा, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, मदन थापालगायत कलाकारको अभिनय छ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्।
तीन विदेशी फिल्म पनि प्रदर्शनमा
नेपाली फिल्मसँगै आजदेखि तीन विदेशी फिल्म पनि नेपाली हलमा प्रदर्शनमा आएका छन्।
जापानी फिल्म 'गोडजिला माइनस जिरो' एक्सन, एड्भेन्चर र ड्रामा विधामा बनेको फिल्म हो। ताकाशी यामाजाकीको निर्देशन रहेको यो फिल्म 'गोडजिला माइनस वान'को निरन्तरता हो। र्युनोसुके कामिकी, मिनामी हामाबे र मियो तानाकाको अभिनय रहेको फिल्म जापानी भाषामा अंग्रेजी सबटाइटलसहित प्रदर्शनमा आएको छ।
त्यस्तै, इमरान हाश्मी, जेनेलिया देशमुख र अपारशक्ति खुरानाको अभिनय रहेको भारतीय फिल्म 'गनमास्टर जी९' पनि आजदेखि प्रदर्शनमा आएको छ। आदित्य दत्त निर्देशित यो फिल्म एक्सन, ड्रामा र रोमान्स विधामा बनेको छ।
यसैगरी, आयुष्मान खुराना, शरवरी र अनुपम खेरको अभिनय रहेको भारतीय फिल्म 'ये प्रेम मोल लिया' पनि हलमा आएको छ। सूरज आर. बडजात्याको निर्देशित यो पारिवारिक ड्रामा विवाह र प्रेमको कथामा आधारित छ।