नेपाली फिल्म 'एक्का ३- च्याप्टर वान' को ललितपुरस्थित कार्यविनायक मन्दिरमा बिहीबार शुभमुहूर्त गरिएको छ। शुभमुहूर्तसँगै फिल्मको औपचारिक निर्माण यात्रा सुरू भएको छ।
जुना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मलाई रूपेश तामाङले निर्देशन गर्नेछन्। फिल्ममा पूजा शर्मा, सुशील श्रेष्ठ र कविता नेपाली मुख्य भूमिकामा देखिनेछन्। यसै फिल्मबाट आयशा तामाङले नेपाली फिल्म क्षेत्रमा डेब्यू गर्ने भएकी छन्।
मुहूर्त कार्यक्रममा पूजा र कविता उपस्थित थिए। निर्देशक तामाङका अनुसार फिल्मको छायांकन मंसिर २५ गतेदेखि सुरू हुनेछ।
रामकृष्ण खरेल र दीपेन्द्रराज तामाङ फिल्मका निर्माता हुन् भने राजु श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। फिल्ममा बुद्धि तामाङ, सानिया खान, राजीवजंग बस्नेत, दीपक थापा, काली राना, विनोद श्रेष्ठ, ध्रुव कोइराला, अरविन्द गुरूङ, गौरव लामा, नवराज दुलाल ‘झाँक्री’, सावित्री चिलुवाल, दीक्षेन तामाङ, जयलाल दंगीलगायतको समेत अभिनय रहनेछ।
फिल्मको छायांकन सौरभ लामाले गर्नेछन् भने लेखन सुमन गजमेरको छ। फिल्ममा अर्जुन पोखरेल र सन्तोष प्रगाढको संगीत रहनेछ। सम्पादन तथा ट्रेलरको जिम्मेवारी साहिल खानले सम्हाल्नेछन्।
त्यस्तै, एक्सन निर्देशन राजु किरत र निर्माण व्यवस्थापन रबिन बानियाँले गर्नेछन्।