बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले अभिनेता सुनिल थापाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएकी छन्।
सुनिलले बलिउडमा आफ्नो चर्चित फिल्ममध्ये एक 'मेरी कोम' मा प्रियंकासँग को-स्टारको रूपमा अभिनय गरेका थिए।
प्रियंकाले सामाजिक सञ्जालमा उक्त फिल्मको विशेष दृश्यसहित भावनात्मक पोस्ट लेख्दै सुनिललाई सम्झिएकी छन्। उनले सुनिललाई ‘मेरो कोच सर’ भनेर सम्बोधन गर्दै उनको साथ र मायाको स्मरण गरेकी छन्।
सन् २०१४ मा रिलिज भएको 'मेरी कोम' मा सुनिलले प्रियंकाको कोचको भूमिका निर्वाह गरेका छन्।
प्रियंकाले पोस्टमा लेखेकी छन् 'तपाईँ सधैं मेरो कोच भएर रहनुहुनेछ सर।' उनले आफूले बुवाको निधनको पीडा भोगिरहेको बेला सुनिलले सम्हालेको र कठिन समयमा सहयोग र माया दिएको उल्लेख गरेकी छन्।
प्रियंकाले अगाडि लेखेकी छन्, 'मैले भर्खरै मेरो बुवा गुमाएको बेला तपाईंले मलाई सम्हालेर राख्नुभयो। तपाईंले मलाई माया गर्नुभयो र धेरै कठिन दिनहरूमा मलाई नजानिँदो रूपमा सहयोग गनुभयो। तपाईंको न्यानो अँगालो र हाँसो सधैं मेरो सम्झनामा रहनेछ।'
सुनिल थापाले दर्जनौं नेपाली फिल्मका साथै बलिउड फिल्म तथा बेव सिरिजहरूमा अभिनय गरेका छन्। 'चिनो' फिल्ममा 'राते काइँला' को भूमिकाले नेपाली दर्शकमाझ अद्वितीय प्रभाव पारेको थियो। पछिल्लो समय उनी वेब सिरिज 'द फ्यामिली म्यान सिजन ३' मा पनि देखा परेका थिए। त्यस्तै उनी अभिनीत नेपाली फिल्म 'एक्लो' गत पुसमा रिलिज भएको थियो भने सुनिल 'राम नाम सत्य' को छायांकनमा थिए।
सुनिलको शनिबार बिहान निधन भएको हो। उनको निधनमा फिल्मकर्मी, राजनीतिज्ञ, शुभचिन्तकदेखि आम सर्वसाधारणहरूले दुःख व्यक्त गरिरहेका छन्। उनको अन्त्येष्टि आइतबार गरिने जनाइएको छ।