शरीर एउटै। अपरेसन पनि झन्डै झन्डै उस्तै। त्यसपछिको उपचार किन यति फरक?
नेपालमा तीन वर्षअघि एपेन्डिसाइटिसको अपरेसन गरेको थिएँ। भर्खरै जापानमा इनगुनियल हर्नियाको अपरेसन गरेँ।
नेपालमा अपरेसनको भोलिपल्ट तातो कफी पिएको थिएँ। यहाँ जापानमा बरफ हालेको चिसो ग्रिन टी पिउन दिए।
त्यहाँ अपरेसनपछि नुहाउन दिएनन्। आठौं दिन पहिलोपटक नुहाएँ। यहाँ भोलिपल्टै नुहाइदिए। चार दिन अस्पताल बस्दा चारैदिन नुहाएँ। लाग्यो, म होटलमा छु। बिहान उठ्यो। हातमुख धोयो। दाँत सफा गर्यो। नुहायो। मानौं, केही भएकै छैन।
यस्तो नियमित क्रियाकलापले मनोवैज्ञानिक रूपमा पनि छिटो निको भएजस्तो लाग्दो रहेछ।
हामीकहाँ अपरेसनपछि मुख बार्न लगाइन्छ। मुँगको दाल, जाउलो, डाइजेस्टिभ बिस्कुट मात्र खान पाइन्छ। कति डाक्टरले भनेर, कति हामी आफैं जान्ने पल्टेर। फलफूलले चिसो हुन्छ भनेर हामी खान डराउँछौं। उपहार आएको पनि घरै पठाइन्छ। जापानमा दिनको तीन छाक खाना खुवाइँदो रहेछ। सन्तुलित भोजन। जस्तोसुकै बिरामी भए पनि अस्पतालले दिनकै सन्तुलित भोजन खुवाउने।
अपरेसनको भोलिपल्ट बिहान चिसो ग्रिन टी खाएको केही बेरमा भात, कुखुराको मासु, सुप, मूलाको अमिलो अचार र दही खान दिए। ती कुनै चिल्लो थिएनन्।
आइस चिया, चिसो दही र अमिलो अचार देखेर मेरी श्रीमती भन्दै थिइन्, ‘हाम्रो शरीर फरक हुन्छ। यस्तो खानामा बानी परेको छैन। बिरामी परिन्छ।’
मैले नर्सलाई यही कुरा बताएँ।
नर्स अचम्म मान्दै हाँसिन्। भनिन्, ‘डराउनु भएको? ठीक गर्छ। विस्तारै खानुहोस्।’
मैले खाएँ। केही भएन। हामी भ्रममा रहेछौं। त्यस दिनदेखि बिहानको खानामा दही नियमित खान्छु। पहिले दही खायो कि घाँटी चिलाउने, रुघाखोकी लाग्ने, कहिलेकाहीँ पिनास हुने समस्या थियो। प्रायः खान्नथेँ। अहिले कुनै असर देखिँदैन। मलाई अचम्म लागेको छ। कसरी होला? तरिका नमिलेर पो हो कि?
दिउँसोको खाना साढे १२ बजेतिर खुवायो। भात, सुप, साग, माछा, कागतीको टुक्रासहित अमिलो झोल र फलफूल। त्यस्तै, रातिको खाना साढे ६ बजे। हल्का अमिलो हालेको थुप्पा ठूलो कचौराभरी। ब्रोकाउली र फर्सी उसिनेको। फलफूल जेलीमा मिसाएको। र, उसिनेको कुखुराको मासु।
बिरामीले यस्तो परिकार खान हुन्छ भन्ने मैले कहिले कल्पना पनि गरेको थिइनँ।
तीन वर्षअघि अपरेसन सकिएको करिब २०–३० मिनेटपछि मुटु हल्लिने गरी जाडो भएको थियो। म लुगलुग कामेको थिएँ। अपरेसन गरेको भागमा झट्का लागेको थियो। घरबाट ल्याएको ब्ल्याङ्केट र कुरुवाको ओढ्ने खापेपछि बल्ल राहत भयो। यति न्यानो गरी बस्दा पनि मेरो ज्यान तात्तिन करिब एक घन्टा लागेको थियो।
जापानमा भने यस्तो समस्या परेन। अपरेसन सक्नेबित्तिकै मलाई न्यानो पारेर राखियो। जाडो त भयो, सँगसँगै ब्ल्याङ्केटको तातो पनि बढ्दै गयो।
यहाँ बिरामीलाई जाडो हुन्छ भनेर विद्युतीय ब्ल्याङ्केट ओडाइदिँदो रहेछ। म न्यानो भएर मज्जाले निदाएछु। कतिबेला ब्ल्याङ्केट हटाइयो, पत्तै पाइनँ।
उता बिरामी कुरुवाको अर्को सास्ती थियो। एक जना कुरुवा दिनरात सँगै बस्नुपर्ने। एकचोटि डाक्टर राउन्डमा आउँदा मसँग कुरुवा थिएनन्। खाना लिन गएका थिए। नर्सले मलाई गाली नै गरे। त्यो याद ताजा छ।
सलाइन सकिए, ज्वरो बढेजस्तो भए, प्रेसन नाप्नुपरे र कहिलेकाहीँ औषधि खुवाउनुपर्दा कुरुवाले नर्स खोज्दै हिँड्नुपर्छ। जापानमा भने कुरुवा वा सहयोगीको खाँचो पर्दैन। नेपालमा कुरुवाले गर्ने सबै काम यहाँ नर्सहरूले गर्छन्। कुरुवाको परिकल्पनै नगरिएकाले बिरामीले सजिलोसँग भेट्ने गरी बेडमा एउटा स्विच राखिएको हुँदो रहेछ। स्विच दबाउनेबित्तिकै ‘कन्ट्रोल रुम’ मा सन्देश जान्छ। नर्स तत्काल बिरामीकहाँ आउँछन्।
नेपालको अनुभव सम्झन्छु। म सुतेको बेड अलिकति उठाउन खोज्दा ह्यान्डल फुस्केर कुरुवाको खुट्टामा नराम्ररी ठोक्किएको थियो। नर्सले हप्काएकी थिइन्।
मैले नेपालमा पनि यस्तै सुविधा चाहियो भन्न खोजेको होइन। जापानको सबै सुविधा हामीकहाँ लागू गर्न व्यवहारिक नहोला। तर, अपरेसनपछि के खान दिने, के नदिने, न्यानो पार्ने लगायत आधारभूत सुविधा त अलि वैज्ञानिक र भरपर्दो गर्न सकिन्छ होला नि?
(हाल जापानमा रहेका लेखक श्रीधर गौतम उप-सचिव हुन्।)