नेपालीको शीरको शोभा ढाकाटोपी भनिन्छ। हुन त भादगाउँले टोपीले पनि आफ्नै महत्त्व राख्दै आएको छ। तर प्रायजसो बजारमा ढाकाटोपीले नै स्थान पाएको देखिन्छ। टोपीलाई नेपाली सभ्य भाषामा शीरपोश भनिन्छ, तर यो शब्द प्रचलनमा भने छैन।
राजनीतिज्ञ तथा प्रशासकहरूले दौरा-सुरुवालसँग ढाकाटोपी वा भादगाउँले टोपी पहिरिएको सुहाउँछ। यस्तो पोशाकमा क्याप (पाल्हीटोपी) वा ह्याट (छत्रेटोपी) मेल खाएको नपाइए तापनि यदाकदा कसैकसैले दौरा-सुरुवालसँगै क्याप लगाएको पाइन्छ।
सफारी सुटमा भने टोपी लगाए पनि नलगाए पनि सुहाउँछ। दौरा-सुरुवालमा भने ढाकाटोपी वा भादगाउँले टोपी अनिवार्य जस्तो ठानिन्छ। दौरा-सुरुवाल लगाएका तर बिना टोपी हिँडेका मान्छेहरूको संख्या भने शून्य जस्तो लाग्छ।
ढाकाटोपी बाक्लो र पातलो दुवै पाइन्छ, जसले गर्दा गर्मीमा पातलो र जाडोमा बाक्लो आवश्यक पर्दछ। ढाकाटोपीको सम्बन्ध बंगलादेशको राजधानी ढाकासँग जोडिएको पनि मानिन्छ। कुनै बखतसम्म ढाकामा त्यहाँको कपडा बुनाइको कला लोकप्रिय मानिन्थ्यो।
नेपालमा पाल्पाली र पूर्वेली ढाका प्रसिद्ध मानिन्छ। जसबाट टोपी तयारीका साथै चौबन्दी चोली पनि सिलाइन्छ। कसैकसैले ढाका कपडाबाट तयार गरिएको अन्य पोशाक पनि लगाएको पाइन्छ। नेपालमा मात्र नभएर ढाकाको प्रयोग भारतको सिक्किम, आसामलगायतका स्थानहरूमा पनि हुने गरेको छ।
मैले पछिल्लो समय ढाकाटोपी नै धेरै लगाउने गरेको छु, जाडोमा भने ऊनको टोपी लगाउनैपर्ने हुन्छ। मेरो शीरमा परेका बखतबखतका टोपीहरूमा कतै स्वागतमा त कतै अतिथि हुँदा अनि बहिनीहरूले तिहारमा लगाइदिएका टोपीहरूको संख्या पछिल्लो समय दर्जनभन्दा बढी मौज्दातमा छन्।
मूल्यका हिसाबले कुनै सस्तो, कुनै महँगो, कुनै मध्यम खालका छन्। त्यस्तै कुनै ठिक्कका अनि कुनै साँघुरा त कुनै खुकुला छन्। साँघुरो त लगाउने कुरा भएन, खुकुलो चाहिँ घरमा रहँदा लगाउने गरेको छु। बाहिर निस्कँदा भने ठिक्कका सबै ढाकाटोपी पालैपालो लगाउने गरेको छु।
पहिलो फोटोमा टोपी
मेरो जीवनमा पहिलो पटक र बाल्यकालमा खिचिएको श्याम-श्वेत फोटो मैसँग सुरक्षित छ। टोपी लगाएको सो फोटो म दश वर्षको हुँदाका बखतको हो। हाम्रा फुवाजु (फुपाजु) चोपनिधि सुवेदी त्यतिबेला नै क्यामेरा साथमा लिएर रोल्पा-दाङ यात्रा गर्नुहुन्थ्यो। शिक्षकको जागिर छोडेपछि उहाँले फोटोग्राफी र अन्य प्राविधिक काममा लाग्नुभएको थियो।
तीन रुपैयाँ र पाँच रुपैयाँका टोपी
२०२५/२६ सालदेखि २०३६/३७ सालसम्म चलेको रोल्पाको खुंग्रीस्थित हाम्रो पसलमा ठाडो धर्का भएको टोपीको मूल्य तीन रुपैयाँ र अरू बुट्टा भएको टोपीको मूल्य पाँच रुपैयाँ थियो। मूल्यअनुसार टोपीको गुणस्तर छुट्याइन्थ्यो। अलि पछिका टोपीको भित्री भागमा ‘पाल्पाली ढाकाटोपी’ लेखिएको ट्याग हुन्थ्यो। झापाली ढाकाटोपी र पूर्वेली ढाकाटोपी भने २०४० सालमा काठमाडौँ आएको केही समयपछि मात्र देखेँ।
मकले टोपी
२०४० सालमा गाउँको घरमा रहेको भाउजूको कमला होजियारीमा बुनिएको मकले टोपी (हाम्रो गाउँको शब्दमा— लोम्चे टोपी) र हाइनेकवाला स्विटर साथमा लिएर काठमाडौँ आएको थिएँ। भदौमा काठमाडौँ प्रवेश गरेपछि असोजसम्म खासै जाडो महसुस भएन, कात्तिक सकिनै लाग्दा भने जाडोले सताउन थाल्यो। काठमाडौँको जाडो त्यसै मकले टोपी र हाइनेकवाला स्विटरले धकेल्यो। २०४१ सालमा सुन्धाराबाट खिचापोखरी जाने बाटोछेउमा रहेको एउटा पसलमा १७५ रुपैयाँमा ज्याकेट किनेको थिएँ। तर त्यो खासै न्यानो थिएन।
पहिलो क्याप
२०४३ सालमा व्रतबन्ध भएपछि कपाल खौरिएको मुडुलो टाउको ढाक्न नाइक क्याप किनेँ, जुन मेरो जीवनको पहिलो क्याप थियो।
भादगाउँले टोपी
२०५२/५३ सालतिर पहिलोपटक कालो टोपी अर्थात् भादगाउँले टोपी लगाएर दसैँमा जन्मथलो गएको थिएँ। त्यतिबेलासम्म मैले ढाकाटोपी लगाएको थिइनँ।
शुद्ध ऊनको टोपी
काठमाडौँको बजारमा एकताका हातले बुनेका ऊनका टोपीहरू पाइन्थे, टुप्पीतिर ऊनकै झुम्का भएको। त्यस्तो खालको टोपी सस्तोमै पाइन्थ्यो। सायद २०४६ सालपछि केही वर्षसम्म डेढ-दुई सय रुपैयाँमा ऊनको टोपी पाइन्थ्यो। त्यस्तो टोपीको चलन केही वर्षअघिदेखि हराइसकेको जस्तो लाग्छ। हाल चीनबाट सस्ता टोपीहरू भित्रिँदा यहाँ दुःख गरेर टोपी बुन्ने चलन हरायो।
टोपी नसुहाउने समय
कपाल कालो छउञ्जेल र नझरुञ्जेल मलाई टोपी लगाउने इच्छा भएन र खासै सुहाउँदैनथ्यो पनि। अरूले सुहाउँदैन भन्नुभन्दा पनि ऐना हेर्दा आफैँले सुहाएको ठान्दिनथेँ। २०६२ सालदेखि अर्थात् ४१ वर्षको हुँदादेखि बिस्तारै बिस्तारै मेरो कपाल फुल्न र झर्न थाल्यो। अलि पछि उमेर ढल्किँदै गएपछि चिसोबाट बच्न जाडोमा मात्र टोपी लगाउन थालेँ, गर्मीमा खासै लगाउँदैनथेँ।
मेरो उमेर हाल ६३ वर्ष चलिरहँदा जाडोमा टोपी अनिवार्य नै हुन्छ, किनकि बुढेसकाल लागेपछि स्वास्थ्यको ख्याल गर्नु उचित ठानिन्छ। हुन त कसैकसैले अंक उल्टोपाल्टो पारेर ‘६३ भए पनि ३६ जस्तो देखिनुहुन्छ’ भन्दा मख्ख पर्छु। तर उमेर भनेको उमेर नै हो, मलाई कसैले ‘पाको मान्छे’ भनिदिँदा मलाई चित्त दुख्दैन।
२०६० देखि २०६९ सम्म चाबहिलमा नौ वर्ष कोठा भाडामा बस्दा सामान्य प्रशासन मन्त्रालयको बस चढ्नका लागि बस बिसौनीमा हामी चार-पाँच जना कर्मचारी कुरिरहेका हुन्थ्यौँ। बस चढेपछि नारायण गोपालका सांगीतिक समूहका तबलावादक राजु अग्रवालसँगै सिटमा बसेर गफ गर्दै हामी सिंहदरबारभित्र छिर्दथ्यौँ। उहाँ कार्यरत रेडियो नेपालको स्टाफ बस नभएको र म कार्यरत उद्योग मन्त्रालयको पनि स्टाफ बस नभएका कारण हामीले सामान्य प्रशासन मन्त्रालयको स्टाफ बसको सहारा लिएर अफिस आउजाउ गर्दथ्यौँ।
राजु अग्रवालले मलाई ‘इण्डियाबाट कपाल नझर्ने र नफुल्ने तेल ल्याइदिन्छु’ भन्नुभएको थियो। बसमा यात्रा गर्दै गर्दा उहाँसँग मैले नारायण गोपालका बारेमा धेरै जिज्ञासाहरू राख्दथेँ। उहाँले नारायण गोपालका अम्मलहरूका बारेमा समेत मलाई खुलेर जानकारी दिनुहुन्थ्यो। अम्मली भए पनि नारायण गोपाल स्रोताहरूको मनमनमा छाप छोडेर गएको कुरा हामीले बिर्सनुहुँदैन। नारायण गोपाल सडक, नारायण गोपाल चोक, नारायण गोपाल संगीत प्रतिष्ठान स्थापना हुनुले नारायण गोपाल हाम्रो देशका एक गहना नै मान्नुपर्छ।
संगीतका पारखी, संगीतप्रेमी, सांगीतिक क्षेत्रका सबैले नारायण गोपाललाई भुल्ने कुरा हुँदैन। नारायण गोपालका हरेक गीतहरू कालजयी नै छन्। २०६८ सालमा मेरो अन्यत्र सरुवा भएपछि वरिष्ठ तबलावादक राजु अग्रवालसँग वर्षौँसम्म भेट भएन। २०८१ मा मात्र चाबहिलको गणेशथाननिर जम्काभेट भयो र संयुक्त फोटो लियौँ। उहाँसँग तेलका प्रसंगका पुराना कुरा कोट्याउने कुरा पनि भएन।
ज्याकेटमा जोडिएका र नजोडिएका टोपी
एकपटक किनेको ज्याकेटको कलरमा जिपरले जोडेको टोपी र अर्कोपटक किनेको ज्याकेटमा सिलाएर गाँसेको टोपीले गर्दा भिन्नै टोपी लगाउनु परेको थिएन। जिपरले जोडेका टोपी खोलेर राख्न सकिने अनि अलग्गै धुन मिल्ने र सिलाइले जोडेका टोपी भने ज्याकेटसँगै धुनै पर्ने हुन्थ्यो।
कान ढाक्ने र चिउँडोमा तुना बाँध्ने टोपी
कान ढाक्ने र चिउँडोमा तुना बाँध्ने ऊनका आयातित टोपी बजारमा आएपछि एकपटक त्यस्तो टोपी किनेकोमा त्यसले अलिक असुहाउँदो तुल्यायो।
बाबुराम टोपी
वामपन्थी नेता डा. बाबुराम भट्टराईले कुनै बखत लगाउनुभएको टोपीको चलन सुरु-सुरुमा बजारमा खासै आइसकेको थिएन। हाल मैले पनि त्यस्तो टोपी कहिलेकाहीँ लगाउँदै आएको छु। कसैकसैको प्रश्न तेर्सिन्छ— ‘कता हो बाबुराम टोपी लगाएर?’ जस्तोसुकै जाडोमा पनि अलिकति हिँड्यो कि त त्यो टोपीको भित्री भागमा पसिनाले भिजेको हुन्छ।
सेतो क्याप
२०६२ सालमा आमा बित्नुभएपछि बर्खीको सुरुमा अर्थात् काठमाडौँ आउँदासम्म सादा सेतो टोपी लगाएँ र काठमाडौँ आएपछि सेतो क्याप किनेर लगाएको थिएँ।
छत्रे टोपी
दुई वर्षअघि मात्र मैले पहिलोपटक छत्रेटोपी अर्थात् ह्याट किनेको छु। त्यो कहिलेकाहीँ मात्र प्रयोग गर्दै आएको छु।
भुत्ले टोपी
उपहारमा आएको एउटा भुत्ले टोपी पनि छ। जुन ज्यादै जाडोमा मात्र काम लाग्छ।
टोपीमा गलबन्दीले दबाएर कान ढाक्ने काम भएन
गलबन्दीले टोपीको माथिल्लो भागदेखि कान ढाक्दै चिउँडोमा गलबन्दी अड्काउने चलन पनि देखिन्छ। तर मैले हालसम्म त्यसो गरेको छैन।
छोराको कन्भोकेशन टोपी
साथीहरूको प्रश्न हुन्थ्यो— ‘छोराले टोपी लगाउने समयमा अमेरिका जानुहुन्छ होला नि?’ त्यसको अर्थ थियो दीक्षान्त समारोहमा छोराले गाउन र टोपी लगाएको अवस्था प्रत्यक्ष हेर्ने काम। अमेरिका जान नसक्दा छोराले दीक्षान्तको टोपी लगाएको प्रत्यक्ष देख्न पाइएन। उताबाट छोराले भिडियो पठाएपछि मात्र अप्रत्यक्ष हेर्ने काम भयो। छोराले विद्यावारिधि पूरा गरेपछि दीक्षान्त समारोह अर्थात् कन्भोकेशनमा अमेरिका जान नपाउँदा पछुतो लागेन। पछि जान खोज्दा भिसामा सफल हुन सकिएन। भिसाका लागि अमेरिकी दूतावासमा (फाराम शुल्कसमेत) पचपन्न हजार नगद खेर गयो।
टोपी र बस यात्रा
बसका सहचालकले मलाई क्याप लगाएको बखत ‘काका’, ढाकाटोपी लगाएको बखत ‘बा’ वा ‘बुवा’, जाडोयाममा लगाइने टोपी लगाएको बेलामा ‘बाजे’ सम्म पनि भनेका छन्। तर मलाई जे भने पनि पीर हुँदैन। सधैँ मास्क र चस्माले पनि मलाई पाको देखाइहाल्छ। क्याप लगाएको बखत यात्रा गर्दा ज्येष्ठ नागरिक परिचयपत्र देखाएमा सहचालकले ‘केको कार्ड हो यो?’ भनेर सोध्छन् र मेरो अनुहारमा हेर्छन् पनि।
ढाकाटोपी लगाएको बखत ज्येष्ठ नागरिक सिटमा बसेका युवा यात्रुले सो आरक्षण सिट छोडिदिन्छन्। ज्येष्ठ नागरिक सिटमा तरुनातन्नेरी बसेका हुन्छन् निर्लज्ज भएर। कसैलाई टोपी मन पर्दैन, सधैँ जवान देखिने चाहना रहन्छ। ८० वर्ष आसपासकाले पनि जिन्सको पाइन्ट र क्याप लगाएको पाइन्छ। जुन व्यक्तिगत स्वतन्त्रताको कुरा पनि हो।