यौन मानव जीवनको अत्यन्तै महत्वको विषय हो। तर, यसलाई हेर्ने दृष्टिकोण अधिकांश समाजमा सकारात्मक पाईँदैन।
नेपाली समाजले त अझै यसलाई अश्लिलता र पाप कर्मको रुपमा हेर्छ। यदि कुनै मानिसलाई लामो समयसम्म भोजन र पानीबाट बञ्चित गर्ने हो भने व्यक्ति मर्छ। त्यस्तै समाजमा मानिसलाई यौनबाट बन्चित गराउने हो भने समाजनै मृत हुने अवस्था आउन सक्छ।
यौन कति शक्तिशाली ऊर्जा हो भन्ने यसले प्रमाणित गर्छ कि, बलात्कार गर्दा सामाजिक प्रतिष्ठा गुम्ने, आजीवन जेल र मृत्युदण्ड समेतको सजाय हुनसक्छ भन्ने कुरा ज्ञान हुँदाहुँदै मानिस आफ्नो भावनालाई नियन्त्रित गर्न नसकी यस्तो अपराध गर्न पछि पर्दैंनन्।
कुनै पनि वैवाहिक जीवनले सफलता पाउन सफल र स्वस्थकर यौन जीवन हुन जरूरि छ भन्ने विशेषज्ञको तर्क छ। यस कुराबाट यौनले मानव जीवनमा कति महत्व राख्छ भन्ने पुष्टी हुन्छ।
फ्राइड भन्छन्-मानिसको मस्तिस्कमा अधिकांश समय यौनले प्रधानता पाईरहेको हुन्छ, उसले गर्ने धेरै क्रियाकलाप जानी वा नजानी यौनसँग प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा सरोकार राख्छ।
प्राचिन समाजले यौनको यसै महत्वलाई राम्ररी बुझेर यौनक्रिडाका मूर्ति तथा चित्रण हाम्रा मन्दिरका टुँडालमा स्थापित भएको हुनुपर्छ।
यौन हरेक मानिसलाई एउटा निश्चित उमेर पुगेपछि प्रकृतिले प्रदान गर्ने बरदान हो। जसको इच्छा तथा चाहना हरेक मानिसमा रहेको हुन्छ (केही अपवादबाहेक)।
यो कसैले जोर जबरजस्ती गरि आफूमा निम्त्याएको चाहना होइन।
हाम्रो समाजमा यौन यतिसम्म बर्जित छ कि, कसैले यसको बारेमा गफ गरेको, सुनेको, पढेको वा हेरेको थाहा पाईयो भने त्यस व्यक्तिप्रति हामी तुरून्त नकारात्मक धराणा बनाईहाल्छौ।
हुन त यौन पाप कर्म होइन, तर यसलाई समाजमा यसरि नै स्थापित गरिएको छ। यदि यौन पाप हो भने कुनै पनि मानिस असल हुनै सक्दैन, किनकि ऊ त्यसै पापको प्रतिफल हो।
जुन कुरालाई धेरै दमन गरिन्छ त्यसैले अझ उग्र रूप लिन्छ भन्ने हामीले बुझ्नुपर्छ।
यौन समाजमा धेरै बर्जित गरिएकालेनै सबैभन्दा महत्वपूर्ण र शक्तिशाली हुनपुग्यो।
यो कुरा कुनै बन्द कोठाको ढोकामा ‘कृपया यहाँ चियाएर न हेरिदिनुहोला’ भनि लेखे जस्तै हो, जसमा अधिकांश व्यक्ति त्यो ढोका नचियाई त्यहाँबाट हिँड्न मुश्किल हुन्छ।
फरक यति हुन्छ - हिम्मत गर्ने र सामाजिक मूल्य मान्यता अनुसार लाज पचाएकाहरू चियाएर हेर्न थाल्छन्। उनीहरूलाई हामी नैतिकहिन परिभाषित गरि हेयको दृष्टिले हेर्छौ। जो अलि कमजोर स्वभावका हुन्छन्, उनीहरु कोहि नभएको बेला लुकेर हेर्न आइपुग्लान् अथवा मन मस्तिस्कमा त्यही कुरा खेलाएर बसिरहलान्।
सजिलोसँग बुझ्न यौनलाई बगिरहेको प्राकृतिक खोलासँग तुलना गरेर हेर्न सकिन्छ। यदि प्राकृतिक रुपमा बगिरहेको खोलामा बाध बाँधिदिने हो भने, या त खोलाले निश्चित समयपछि बाध तोडिदिन्छ वा अर्को बाटो बनाएर बग्न थाल्छ।
त्यसरी नै जब यौन जस्तो प्राकृतिक कुरालाई समाजमा पूर्ण रूपमा बर्जित वा दमन गरिन्छ तब पूर्ण रूपले त्यसको बिरोध गरि नियम तोडिन्छ, अथवा मानिस अर्को चोरीको बाटो समात्न बाध्य हुन्छ।
दमनले मानिसलाई हरहालतमा पाखण्डी बन्न बाध्य बनाउँछ। जस्तो, समाजमा कथित साधु, सन्यासी तथा भद्र भलादमीको बेला बेलामा दमित यौन इच्छाका गोप्य समाचारहरू बाहिर सुन्नमा आउनुले पनि यसलाई प्रष्ट पार्छ।
यौनकै दमनले अश्लिल चलचित्र र किताबको बिगबिगी छ। यौन दमनकै कारण हाम्रो जस्तो समाजमा बलात्कार जस्तो घटना दिनानुदिन घटिरहेका छन्।
रजनिश भन्छन्, ‘भोगबाट त्याग हुन्छ’, मानौं यदि कुनै मानिसलाई जेलबी खाने मन छ तर उसले जेलबी खान पाएको छैन भने जबसम्म उसले अमन हुने गरि जुलेबी खान पाउँदैन तबसम्म उसमा जुलेबी खाने लालसा रहिरहन्छ। तर, उसलाई अमन हुने गरि जेलबी खुवाई दिने हो भने उसलाई फेरि तत्काल थप जेलबी खाने लालसा नहुन सक्छ।
यो कुरा ब्रत बसेको दिन सबैभन्दा धेरै खानाको याद आए जस्तै हो। टन्न खाना खाएको मानिसलाई खानाको याद गर्न जरूरि पर्दैन, तर भोको पेटलाई बार-बार खानाको यादले सताईरहन्छ।
हाम्रो समाजमा अहिले पनि एक जना केटा र केटीलाई खुलेर गफ गर्ने छुट छैन, अहिले पनि हामी केटा केटीलाई स्कूल-कलेजमा बेग्लै लाइन र डेस्कमा बसाउँछौं। फलस्वरुप कहिले पनि केटा-केटीले राम्रोसँग बोल्न र एक अर्कालाई बुझ्न मौका पाउँदैनन्।
जसको लालसा सधै उनीहरूमा रहिरहन्छ। हाम्रो तुलनामा विकसित मुलुकमा यौन सम्बन्धि धेरै खुलेर बहस हुन्छ, त्यसै कारण समुन्द्र किनारमा कुनै केटी टु-पिसमा हिड्दै गरेको देखे पनि धेरैलाई मतलब नहुन सक्छ। तर, हाम्रो जस्तो मुलुकमा एउटा केटीले छोटो कपडा लगाएर हिँडे पनि त्यसले सबैको ध्यान तान्छ।
लाग्छ, त्यसबेला त्यो केटीभन्दा महत्वपूर्ण कुरा संसारमा अरु केही छैन। यौन बर्जित भएकाले कुण्ठित भइ हाम्रो लागि अति महत्वपूर्ण हुन पुग्यो भनेर भन्दा फरक नपर्ला।
आज हाम्रो समाजमा धेरै जसो मानसिक बिक्षिप्तताका रोग, कुण्ठा, घरायसी झैं-झगडा, बलात्कार आदि घटना यसैको परिणाम हुन्।
मानिसको दिमागमा अधिकांश समय यौनले चक्कर काटिरहेको हुन्छ भन्ने फ्राइडको भनाइ हामीमा यथार्थ साबित हुन्छ। हाम्रो दिमाग यौनको पेरिफेरीमा मात्र केन्द्रित रहेकाले सायदै हामी कुनै किसिमको सिर्जना र अविस्कारको बारेमा सोच्न सकौंला।
सिर्जना र आविस्कार गर्न खुला, खाली र शून्य दिमागको आवश्यकता पर्छ, जुन हामीमा छैन।
आज संसारमा कपडा लगाउने एउटा मात्रै प्राणी मानिस हो। अरू कुनै प्राणीले कपडा लगाउँदैनन्। मनुस्यको यौनलाई ढाक्न कपडा प्रयोग भयो, फलस्वरूप आज प्राणी जगतमा मानिसभन्दा कामुक प्राणी भेट्न गाह्रो छ।
सबै जनावरको यौन क्रिडा एउटा निश्चित समय हुन्छ। तर, मानिसको यौनप्रति प्राय सधै नै चाहना रहिरहन्छ। यसो हुनुको पछाडि मनुस्यको यौन दमन र यौनलाई लुकाउने प्रयास नै प्रमुख कारण हुनसक्छ।
कुनै पनि समस्याको समाधान त्यो समस्याबाट भागेर हुँदैन। बरू सामनाबाट हुन्छ। यौनलाई बुझ्न जरूरि छ, कुनै पनि कुरालाई नबुझी त्यसै धारणा बनाउनु घातक हुन्छ।
पहिलो कुरा त हामी यसको गहिरो तथ्य र रहस्य जान्नबाट बन्चित हुन्छौं जसले हामीलाई अन्योल र अन्धकारको स्थितिमा धकेल्छ। अर्को कुरा, सदाको लागि यसको विज्ञानलाई मारिदिन्छौं जसबाट हामीलाई धेरै उपयोगिता प्राप्त हुन सक्थ्यो।
हाम्रो समाजमा यौनलाई यति गलत तरिकाले ब्याख्या गरियो कि एउटा कन्डम, एचआइभी र यौन रोगको ज्ञानवर्धक विज्ञापन आउँदासमेत परिवारसँग बसेर हेर्न सक्ने अवस्थामा छैनौ। ज्ञानले मानिसमा रहेको अज्ञानलाई हटाउँछ र अँध्यारोबाट प्रकाशको दिसातर्फ लिएर जान्छ।
यौनको विषयमा अनभिज्ञ रहेर जीवनमा ठूलो दुर्घटनामा पर्नुभन्दा यसबारे सही जानकारी राखी लाभ लिन सक्दा समाजलाई धेरै हितकर हुने थियो। त्यसैले यसको बारेमा सबैले जानकारी र ज्ञान राख्न जरूरि छ।
यौन एउटा ठूलो ऊर्जा हो जसले एक व्यक्तिलाई जन्म दिनसक्छ। प्राकृतिकबाहेक संसारका सबै आविस्कार मानव निर्मित हुन्। जुन अविस्कार गर्ने मानवको जन्म यौनबाट भएको हो। एउटा मानव निर्मित फोटोकपी मेसिनले हुबहु कपी गर्दा कसरि यस्तो हुन्छ होला भनेर हामी आश्चर्यचकित हुन्छौं, जबकी त्यो फोटोकपी मेसिन बनाउने मानिसको जन्म यौन प्रक्रियाबाट भएको हुन्छ जसप्रति हामी जिज्ञासा र कौतुहलता मात्रसम्म पनि दर्साउन चाहन्नौं।
मानव जीवनमा यौन अत्यन्त महत्वपूर्ण ऊर्जा हो। हामीले हाम्रो सृष्टिकर्तालाई ब्रह्मा नाम दियौं, त्यो अर्थमा भन्ने हो भने यौन ब्रम्हा हो। जसले सिर्जना गर्छ। त्यसैले पनि होला हामीले ठूला ठूला मन्दिरका टुडालमा यौंनको चित्र र मूर्तिहरू प्रतिस्थापित गर्यौ। हुनसक्छ, यसै कारणले गर्दा आज पनि हामी शिव लिंगको पूजा अर्चना गर्छौ।
कुनै पनि कुराको राम्रो नराम्रो दुवै पक्ष हुन्छन्। एउटा चक्कुलाई सही र गलत दुवै प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ, सही प्रयोग गर्न सके लाभ लिन सकिन्छ भने गलत प्रयोगले हानी पुर्याउँछ। यदि यौन सिर्जना गर्नसक्ने ब्रम्हा हो भने यौंन महेश पनि हो जसले संघार पनि गर्नसक्छ।
यौनलाई पानीसँग पनि तुलना गरेर हेर्न सकिन्छ। पानीलाई सही तरिकाले उपयोग र निर्देशित गर्न सकेमा त्यसबाट हामी बिजुली उत्पादन गर्न सक्छौं, जमिन सिँचाई गर्न सक्छौं, पिउने पानीको स्रोतको रुपमा उपयोग गर्न सक्छौं, अथवा अन्य विभिन्न प्रयोजनको लागि प्रयोग गर्न सक्छौ। तर, यसलाई सही तरिकाले उपयोग गर्न नसके पानीले बाढी जस्तो उग्र रूप लिएर सर्वोश्व गुमाउँछ। धेरै हदसम्म यौनको प्रकृति र स्वरूप पनि त्यस्तै हुन्छ।
भनिन्छ, एकजना मानिस भित्र जति धेरै यौन ऊर्जा हुन्छ। ऊसँग त्यतिनै धेरै सिर्जना गर्नसक्ने क्षमता पनि हुन्छ, मात्र त्यो गलत ठाउँमा खर्च हुने ऊर्जालाई सही ठाउँमा लगाउन जरूरि छ।
एउटा चित्रकारको सम्पूर्ण यौन ऊर्जा चित्रकलाको माध्यमबाट उजागर हुन्छ, त्यसैगरि एक जना कविको ऊर्जा कविताको माध्यमद्वारा पोखिन्छ। संगीतकारको संगीतमा रुपान्तरित हुन्छ, वैज्ञानिकको उर्जा खोज र अनुसन्धान मार्फत प्रफुस्टित हुन्छ भने, नेताको ऊर्जा महत्वकांक्षामा रुपान्तरित हुन्छ।
तन्त्र योगले यहाँसम्म भन्छ कि मानिसको शरीरमा रहेको सात चक्रमध्ये पहिलो चक्र मुलधार (यौन केन्द्र) हो भने सातौं तथा अन्तिम केन्द्र सहस्त्रासार (समाधि) हो। योगको भनाइ अनुसार मानिस ध्यान र योगको मध्यमबाट पहिलो मुलाधार केन्द्रबाट ऊर्जालाई माथि केन्द्रित गराउँदै अन्तिम सहस्त्रासार केन्द्र यानी समाधिको अवस्थासम्म पुग्नसक्छ।
नियालेर हेर्ने हो भने यो पनि ऊर्जा रुपान्तरणको एउटा माध्यम नै हो। ओशो रजनिशले ‘सम्भोग से समाधि कि और’ नामक किताबमा यसबारे अझ स्पष्ट ब्याख्या गरेका छन्।
प्रश्न उठ्नसक्छ समाजले यौनलाई किन यति हदसम्म दमन गर्यो वा गर्नुपर्यो? यो कुरा हाम्रो समाजमा मात्र होइन धेर थोर लगभग सबै समाजमा कुनै न कुनै स्वरुपमा दमन गरेको देखिन्छ। पहिले जतिखेर परिवार नियोजनका साधन थिएनन् त्यसबेला आफ्नो सम्पत्तिको भोग चलन गर्नको निम्ति सहि उत्तराधिकारीको हेक्का राख्न एक पुरूषबाहेक महिलाले अन्य पुरूससँग संसर्ग गर्नु पाप हो भनि धर्म र नैतिकतासँग यौनलाई जोडेको हुनसक्छ।
जुन कुरा हालसम्म नैतिकताको सिद्धान्तको आधारमा चलिरहेको छ। त्यसैले बिवाह मात्रै यौन इच्छा तृप्तिको एकमात्र उपाय हुन गयो। विवाह बाहिर हुने अन्य यौन सम्बन्धलाई अनैतिक बताइयो जुनकुरा पछि गएर धेरै समाजमा अवैधानिक हुनगयो। जसले त्यो नियम तोड्यो त्यो व्यक्तिलाई अनैतिकको संज्ञा दिइयो र उसलाई हिनताबोध गराई सजायको भागिदार हुन बाध्य गराइयो।
मेरो बुझाईमा, जुन कुरामा आनन्द र खुसी छ त्यो कुरालाई समाजले जहिले पनि दमनको नीति अपनाएको छ चाहे त्यो यौन, प्रेम वा ड्रग्स नै किन नहोस्। यौन अनि त्यसको रूपान्तरित ऊर्जा प्रेम वा ड्रग्समा भन्दा सुख र आनन्द अरू कुरामा पाउन कठिन छ। समाजले यी कुरामा दमनको नीति अपनाएको छ।
समाजद्वारा बर्जित यस किसिमको क्रियाकलापले गर्दा मानिसलाई हिनताबोधले सताउने छ। जब व्यक्ति आफूलाई नै कुनै गलत वा पाप कर्म गर्दैछु भन्ने भान पर्छ, उसलाई ग्लानी महशुस भई आफ्नै नजरबाट तल गिर्छ।
यौन र प्रेम प्राकृतिक भएको कारण मानिसलाई त्यतातर्फ ढकेल्छ भने समाजले हरसम्भव रोक्ने कोशिश गर्छ। जसकारण उसको व्यक्तित्व खण्डित भै दिनहिन र दुःखि हुन पुग्छ, वा पाखण्डी बन्ने संघारमा पुग्छ।
सुखी मानिसको तुलनामा दुःखी मानिसलाई काबुमा राख्न धेरै सजिलो हुन्छ, त्यसैले जहाँ-जहाँ सुख छ, त्यहाँ-त्यहाँ समाजले दमन र बर्जितको नीति अपनाएको छ। धर्म, समाज र राज्यको लागि सुखी र आनन्दित मानिस जहिले पनि घातक हुने सम्भावना हुन्छ।
समाजको संरचना, संस्कार र नीति नियम बचाईराख्न कुनै न कुनै तरिकाले यसका सदस्यलाई नियन्त्रित गरेर राख्न जरूरि हुन्छ। मानिसको आनन्द र चाहनालाई धर्म र नैतिकताको आडमा निषेध गरेपछि ऊ आफैं हिनताबोध महशुस गर्छ र पंगु हुन्छ।
जसकारण उसलाई काबुमा राखिराख्न सजिलो हुन्छ। यसकारण समाजका सदस्यलाई आफ्नो काबुमा राख्नकै लागि पनि समाज वा राज्यले यौनलाई बर्जित वा दमन गरेको देखिन्छ।
दमन गरिएको र नगरिएको यौनमा फरक हेर्नु छ भने उदाहरणस्वरूप एउटा साढे र गोरू अथवा खसी र बोकामा तुलना गरेर हेर्न सकिन्छ। यसबाट यौन कति ऊर्जावान शक्ति हो भन्ने कुरा प्रष्ट हुन्छ।
माथि हामीले यौनको प्रकृति, यसप्रति समाजको दृष्टिकोण, ऊर्जाको स्वरूप, यौनलाई दमन गरिनुको कारण, यौनको सम्भावना र यसले निम्त्याउनसक्ने खतरा आदि विषयमा चर्चा परिचर्चा गर्यौं।
यी प्रस्तुत विषयले मानव जिवनमा यौनको महत्वबारे प्रष्ट्र पार्छ।
हामीले आज यौन विज्ञानलाई राम्ररी बुझ्न र बुझाउन जरूरि छ। यसबारे छलफल र बहस थाल्न जरूरि छ। ताकि सबैले यसलाई सहजता भावको साथ् लिन सकून् र यसबाट जीवनमा हुनसक्ने गम्भीर दुर्घटनाबाट बच्न सकून्।
यसो भए समाजमा यौनसँग ब्याप्त विकृति र विसंगतिलाई धेरै हदसम्म कम गर्न सहज हुन्छ। मानिसको वैवाहिक जीवनको सफलता र असफलतामा समेत उनीहरूको यौन जीवनले प्रत्यक्ष्य रूपमा असर पार्नाले सबैले यस विषयप्रति विशेष ध्यान पुर्याउन जरूरि छ।