विगत केही दिनयता मलाई विपश्यनाका नेपाल प्रमुख रूप ज्योतिको बारेमा आएका समाचार यसै पनि नमीठो लागिरहेका थिए। अरू विपश्यनाका साधकहरूलाई पनि त्यस्तै लागिरहेको होला। ‘विपश्यनाका आचार्यलाई ठगीको आरोपमा पक्राउ पूर्जी?’
धार्मिक र आध्यात्मिक गुरूमाथि लाग्ने आरोपले समाजमा ठूलो तरंग सिर्जना गर्छ। केही साता पहिले स्वामी आनन्द अरूणका बारेमा पनि थुप्रै समाचारहरू आए। समाज तरंगित भयो। ‘स्वामी’ हरू ‘तँलाई सिध्याउँछु’ को तहमा ओर्लेर आरोप प्रत्यारोप गर्न थालेको कुरूप दृष्य पनि देखियो।
यी तात्ताता समाचारहरूका बीच रामबहादुर बमजनको बारेमा ‘सेतोपाटी’ को ‘एक्स्क्लुसिव’ रिपोर्टले ठूलो तरंग ल्याएको छ। आशा छ, राज्यका जिम्मेवार निकायले यसबारे छानबिन गरी कानुनी कारबाही गर्लान्। 'गुरु' वा 'बुद्ध' वा 'आचार्य' भएकै कारण कोही पनि कानुनभन्दा माथि हुन पाउँदैनन्।
यी माथिल्ला तीन त ताजा आरोपहरू भए जुन पुष्टि हुन बाँकी छ। तर हामीसँग त्यस्ता कैयौँ उदाहरणहरू छन् जहाँ लाखौं करोडौँ भक्तहरूले 'भगवान' मानेका कथित गुरुहरूले जेलको चिसो हावा खाएका छन् / खाँदै छन्।
अझै पनि हाम्रा वरिपरि थुप्रै 'गुरु' हरू छन्। तीमध्ये को सक्कली हुन् र को नक्कली हुन्? चिन्ने कसरी?
मेरो आफ्नो अनुभवमा सक्कली र नक्कली गुरु चिन्ने दुई वटा सजिला तरिका छन्।
पहिलो, के यी गुरु प्रचारमुखी छन्? सक्कली गुरुहरू फोस्रा प्रचारबाट टाढा हुन्छन्। उनीहरूलाई लाखौं, करोडौँ 'भक्त' बनाउनुपर्ने जरूरत हुँदैन। यी मिडियाका पछि पनि लाग्दैनन्, न त आफ्नो विरोध गर्नेहरूविरूद्ध आफ्ना 'भक्त' लाई उचाल्छन्। धनसम्पत्तिको, सामाजिक प्रतिष्ठाको यिनीहरू भोका हुँदैनन्।
एकहार्ट टोलीले आफ्नो विख्यात पुस्तक ' अ होल न्यू अर्थ' मा एउटा जेन गुरुको बारेमा लेखेका छन्। प्रसंग यस्तो छ:
जापानको एउटा नगरमा जेन गुरु हाकुइन बस्तथे। उनको ख्याति चारैतिर फैलिएको थियो र आध्यात्मिक ज्ञान पाउनका निम्ति मानिसहरू उनीकहाँ आउँथे। एकपल्ट उनकी छिमेकीकी किशोरी छोरी गर्भवती भइछिन्। जब किशोरीका बाबुआमाले रिसाउँदै उनलाई हकारे र गर्भमा रहेको बच्चाको बाबुको बारेमा सोधे, उनले भनिन् - 'जेन गुरु हाकुइन।' रीसले चुर हुँदै ती किशोरीका बाबुआमा गुरुकहाँ गए र आफ्नो छोरीको गर्भको जिम्मेवार उनी रहेको बताए। गुरुले यत्ति भने- 'ए, हो र!'
समाचार डढेलोसरी फैलियो। गुरुको ख्याति माटोमा मिल्यो। तर उनलाई यसले कत्ति पनि विचलित पारेन। ख्याति गुमेसँगै उनलाई भेट्न आउने पनि कोही भएन। जब बच्चा जन्मियो, छिमेकी दम्पत्तीले आफ्नो नातिलाई गुरुकहाँ ल्याए र जिम्मा लगाए- 'यसका बाबु तिमी हौ, अब हुर्काउ।
गुरूले प्रेमपूर्वक बच्चालाई पालनपोषण गर्न थाले।
एक वर्षपछि बच्चाकी आमाले गहिरो पश्चातापका साथ आफ्ना बाआमालाई भनिन् - 'बच्चाको बाबु गुरु होइनन्, बगरेको पसलमा काम गर्ने युवक हो।' ग्लानि र पछुतोले पानीपानी भएका ती दम्पत्ती गुरुकहाँ गए र माफी मागे। 'हामीलाई माफ गर्नोस्। हामी बच्चा फिर्ता लिन आएका हौँ। हाम्री छोरीले भनिन् कि बच्चाको बाबु तपाईं होइन।'
बच्चालाई उनीहरूको हातमा राख्दै गुरुले भने- 'ए, हो र?'
सच्चा गुरुलाई आफ्नो ख्यातिको पर्वाह हुँदैन। आफू सत्यमा अडिग भएकोले उनलाई दुनियाँको वाहावाहीले पनि फरक पार्दैन, न त निन्दाले नै छुन्छ। त्यस्ता गुरुलाई आफू भेट्न कति मान्छे आउँदैछन् भन्ने कुराले असर गर्दैन, न त फेसबुक र ट्वीटरमा आफ्ना 'फलोअर'को संख्या कति छ वा युट्युबमा कति 'भ्युज' पुग्यो भन्नेमै चासो रहन्छ।
यतिखेर मलाई रमण महर्षि र खप्तड स्वामीको याद आइरहेको छ।
दोस्रो मापदण्ड यस्तो छ: मेरा गुरुले 'भीआइपी' र 'साधारण' मान्छेलाई बराबर व्यवहार गर्छन् कि गर्दैनन्? धनी र गरीब, शिक्षित र अशिक्षित, 'सिलब्रिटी' र आम मान्छेलाई बराबरको व्यवहार गर्छन् कि गर्दैनन्? राष्ट्रपति, प्रधानमन्त्री, कलाकारसँग नारिएर फोटो खिच्न कत्तिको रमाउँछन्?
माथि उल्लेख गरिएको पुस्तकमा अर्को एउटा यस्तो प्रसंग पनि छ: कसान नाम गरेका एकजना जेन गुरु थिए। एकपल्ट त्यहाँको एकजना 'भीआइपी' को निधन भएछ र अन्त्यष्टि समारोह सञ्चालन गर्न उनलाई भनिएछ।
'भीआइपी'को अन्त्यष्टिमा गभर्नर, मन्त्री लगायतका 'ठूला' व्यक्तिहरू आउने नै भए। उनीहरूलाई कुर्दै गर्दा ती गुरुको हत्केलामा पसिना आएछ।
भोलिपल्ट उनले आफ्ना चेलालाई बोलाएछन् र भनेछन् - 'म तिमीहरूलाई शिक्षा दिन योग्य अझै भइसकेको रहेनछु। मैले चाहे माग्ने होस् वा राजा, दुवैलाई बराबर व्यवहार गर्नुपर्ने हो। तर 'ठूला' मानिने व्यक्तिसँग भेट हुनलाग्दा मलाई पसिना आयो। यसको मतलब हरेक व्यक्तिलाई समान व्यवहार गर्न सक्ने म भएको रहेनछु।'
त्यसपछि उनी अर्का गुरुको चेला बन्न गए र आठ वर्षपछि बुद्धत्व प्राप्त गरेर पुराना चेलाहरूकहाँ फर्किए।
जगदीश घिमिरेले आफ्नो आत्मालापमा एकजना दक्षिण भारतीय गुरुकहाँ आफू सपरिवार पुगेको प्रसंग उल्लेख गरेका छन्। पहिलो दिन सामान्य सत्कार पाएका उनले भोलिपल्ट उच्च स्तरको सत्कार पाएछन्। कारण? उनकी बुहारीले अघिल्लो दिन ठूलो रकम दान गरेकी रहिछन्।
'साधवो न हि सर्वत्र चन्दनं न वने वने' त्यसै भनिएको होइन। सच्चा साधु भेटिन गार्हो छ। तिनलाई चिन्न झन् गार्हो छ। तर, नक्कली साधुका साझा चरित्र चिनियो भने असल गुरुसम्म पुग्ने मार्ग पत्ता लगाउन भने अलिक सजिलो हुन्छ।
यदि गुरुकै खोजीमा हुनुहुन्छ भने सक्कली गुरुसँग तपाईंको छिट्टै भेट होस्। नयाँ वर्ष २०१९ को धेरै धेरै शुभकामना!