नेपालमा आज (माघ १ गते) ‘शान्ति र समृद्धिका लागि योग, योगी बनौं र योग सिकाऔं’, भन्ने नाराका साथ राष्ट्रिय योग दिवस मनाईंदै छ।
प्रत्येक वर्ष मनाउँदै आइरहेको योग दिवसको इतिहास के कस्तो छ र त्यसमा कस कसको मुख्य योगदान रहेको छ भन्ने सन्दर्भमा चर्चा गर्नु सान्दर्भिक हुनेछ।
कुनै पनि महान् व्यक्तित्वको साधना, तपस्या र निरन्तर संघर्षका फलस्वरुप दीर्घकालिन सामाजिक सेवा हुन्छ। यस्ता सेवाबाट लाखौं करोडौं व्यक्तिले सेवा प्राप्त गर्छन् तर, ती सेवा त्यस स्तरसम्म पुर्याउन कस कसको महत्वपूर्ण हात रहेको छ भन्ने कुरा इतिहासमा मात्र होइन सन्ततिहरूलाई समेत हस्तान्तरण गर्नुपर्ने हुन्छ।
नेपालमा मनाइने राष्ट्रिय योग दिवस हाल आएर एउटा पर्वको रुपमा स्थापित भएको छ र योग दिवसलाई विश्वभर विश्व योग दिवस भनेर जुलाई १ तारिखका दिन विगत ४ वर्षदेखि मनाउने गरिएको छ।
योग र योगदर्शन के हो, योगको प्रारम्भ कहिलेदेखि भएको हो, यसको विकास र प्रगतिका लागि के कस्ता प्रयास भएका छन् र नेपालमा योग दिवसको सन्दर्भ समेत यस आलेखमा चर्चा गरिनेछ।
योग र योगदर्शन
योगको अर्थ जोड्नु भन्ने लाग्छ। वास्तवमा अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो।
पतञ्जलीको योग दर्शनमा भए अनुसार योग त्यो प्रयत्न हो, त्यो साधना वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रीयलाई वशमा गरिन्छ। यसरी चित्तमा आउने विकार रोक्नु नै योग हो। शरीर, इन्द्रीय, मन, बुद्धि र अहंकारमाथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरुप पाउन सकिन्छ र त्यही शुद्ध स्वरुप प्राप्त गर्ने माध्यम नै योग हो।
वेद, उपनिषद्, स्मृति र पुराणमा योगको उल्लेख पाइनुले योग प्राचिन ऋषिमुनिहरूको अनवरत तपस्या र साधनाबाट विकसित भएको मान्न सकिन्छ।
त्यस्तै बुद्ध धर्मका त्रिपिटक र प्राचिन संस्कृत ग्रन्थहरूमा पनि योगका चर्चा भएका छन्। जैन धर्ममा पनि महावीर स्वामी आफैं योगी थिए र उनको समयमा योगको विवेचना बढी भएको पाइन्छ।
गोरखनाथको नाथ सम्प्रदायमा पनि योगको यति आदर गरिन्छ कि त्यस सम्प्रदायलाई योगी सम्प्रदाय भनिन्छ।
यसरी योग हरेक धर्म र सम्प्रदायमा लोकप्रिय रहेको पाइन्छ। योगका चार प्रकारहरू पाइन्छन्। ती हुन्— मन्त्रयोग, लययोग, हठयोग र राजयोग।
ती मध्ये पतञ्जलीले राजयोगलाई अघि बढाएको छ। त्यसकारण आज हामी योग भन्नासाथ पतञ्जलीको राजयोग भनी बुझ्छौं। पतञ्जली योगसूत्रका रचयीता र व्याकरण भाष्यका निर्माता हुन् जसको रचना विक्रमपूर्व दोस्रो शताब्दीमा भएको पाइन्छ।
योगदर्शनका प्रतिपादक ऋषि पतञ्जली हुन्। त्यसैले योग दर्शनलाई पतञ्जली योग पनि भनिएको हो। भारतीय तथा पश्चिमाहरूले योगलाई योगा (Yoga) भन्ने गर्छन्।
योगदर्शन भारतीय दर्शनशास्त्रको एउटा अत्यन्त पुरानो शाखा हो, जसलाई व्यवस्थित रुप दिने काम ऋषि पतञ्जलीले गरेका हुन्। हाल स्वामी रामदेवले पतञ्जलीकै नामबाट योगलाई बढी लोकप्रिय गराउने काम गरेका छन्।
त्यस्तै नेपालमा पनि विभिन्न योग गुरूहरूले विभिन्न संघ संस्था मार्फत योग कक्षा सञ्चालन गरिरहेका छन्। जति जति समाजको विकासको गति बढ्दै गइरहेको छ, त्यति त्यति नै योगको आवश्यकता पनि महसुस् हुँदै गइरहेको पाइन्छ।
५/१० वर्ष अघिसम्म पश्चिमा विकसित देशहरूमा योगतर्फ थोरै मानिसको मात्र संलग्नता थियो जबकि आजको अवस्थामा धेरै विकसित देशका अधिकांश मानिसहरूले पनि योगलाई अपनाउन थालेका छन्।
योग दर्शनमा धर्म कर्मका लागि यज्ञ यज्ञादि र पूजापाठको कुनै गुञ्जायस छैन। केवल यस दर्शनमा शारीरिक तथा मानसिक शक्तिको उचित प्रयोग गर्ने प्रेरणा पाइन्छ।
यस दर्शनले स्वःअध्ययनका लागि प्रेरणा दिन्छ भने ईश्वरको ध्यान ईश्वर वाचक ॐ (ओउम्) को उच्चारण गरी चित्त एकाग्र गराउन भन्छ। योग भारतीय मनिषीहरूको आध्यात्मिक चिन्तनको सारभूत तत्व हो तापनि यो दर्शनले पूर्व तथा पश्चिमका सारा जगतहरूलाई जोड्ने काम गरेको छ।
सबै किसिमका धर्म तथा सम्प्रदायले यसको अभ्यास गरेका हुनाले योगलाई सार्वभौम अभ्यास पनि भन्ने गरिन्छ। लगभग सबै खालका धर्म तथा दर्शनहरूमा योगाभ्यासको महत्व दिइएको हुनाले योगदर्शनको महत्व बढी छ।
यस दर्शनमा आसन, यौगिक क्रिया, प्राणायाम तथा अन्य व्यायामहरूको माध्यमबाट आध्यात्मिक उपलब्धि पाउन सकिन्छ भन्ने कुराहरू दर्शाइएको छ।
योग दर्शनले मुक्ति प्राप्तिका लागि ८ वटा मार्गहरू (अष्टाङ्ग योग) उल्लेख गरेको छ। ती हुन्
यमः हिंसा, चोरी, लोभ आदि नगर्नू अर्थात अहिंसा, सत्य, अस्तेय, ब्रम्हचर्य र अपरिग्रह।
नियमः ५ नियमहरूको पालना गर्नु जस्तै–शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वरप्रति विश्वास गर्नु।
आसनः मन एकाग्र गरी आनन्दको अनुभूति गर्नु।
प्राणायामः श्वास प्रश्वास नियन्त्रण गरी मनलाई एकाग्र राख्नु।
प्रत्याहारः इन्द्रीयको कुप्रभाव मनमा पर्न नदिनु।
धारणः अन्तरनिहित वस्तुको पहिचानमा मन लगाउनु।
ध्यानः निश्चित विषयमा एकाग्रतापूर्वक सोच विचार गर्नु।
समाधिः सम्पूर्ण चेतनालाई खिचेर आत्मामा लिन गराउनु। उल्लेखित यस्ता उपायहरूद्वारा मुक्ति मिल्दछ भन्नु योगदर्शनको मुख्य मर्म हो।
मानसाग्नि र मानसाग्नि मिसन
नेपालमा योगको चर्चा गर्दा मानसाग्निको मुख्य चर्चा हुने गर्छ।
यसको बारेमा आम पाठक अनभिज्ञसमेत हुनसक्ने भएकोले योग दिवसको पूर्व सन्ध्यामा मानसाग्निको बारेमा चर्चा गर्नु उत्तम र सम्मान समेत हुनेछ।
शैव दार्शनिक विचार र साधनाबाट योगले विज्ञानको रुप लिएको र यस्तो दर्शनका प्रतिपादक महादेव अर्थात् शिवलाई मानिन्छ। नेपालमा मुख्य शिव सभ्यता, बुद्ध सभ्यता र जनक सभ्यताबाट विभिन्न दर्शनहरू आएका हुन्।
यीनै दर्शनमा टेकेर आफूलाई साधक बनाई निरन्तर रुपमा यसै क्षेत्रमा लागि नेपालमा प्राकृतिक चिकित्सासँग जोडेर अघि बढाउने योग, आयुर्वेद र प्राकृतिक चिकित्साका विशेषज्ञ व्यक्तित्व मानसाग्नि हुनुहुन्छ।
साधनाको नामबाट मानसाग्नि नामाकरण गर्नुभएका नेपालका प्राकृतिक चिकित्साका जनक तथा योग र आयुर्वेदका प्रणेता डा. हरिप्रसाद पोखरेलको भिजन वा मिसन नै मानसाग्नि मिसनको नामबाट प्रचलित छ।
आबाल ब्रह्माचारीका रुपमा रहनुभएका पाल्पाको मदनपोखरामा वि.सं. २०२० सालमा जन्मनु भएका मानसाग्नि सोह्र वर्षको उमेरमै हरिप्रसाद पोखरेलबाट मानसाग्नि बन्नुभएको हो। मानसाग्निले नै वि.सं. २०३६ साल माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन नेपालमा योग संवत् घोषणा गरी विश्व योग दिवस मनाउनुपर्छ भनी उद्घोष गर्दै नेपालमा योगका क्षेत्रमा पुनर्जागरण प्रारम्भ गर्नुभएको हो।
योगमा शारीरिक शुद्धता भन्दा मानसिक शुद्धता धेरै गुणा उत्तम मानिने हुँदा यस्तो बहुउपयोगितापूर्ण योगलाई प्राकृतिक चिकित्सासँग जोडेर अतुलनीय योगदान मानसाग्निले दिइरहनुभएको छ।
२०३६ सालदेखि हालसम्मको निरन्तर उहाँको यात्राले चार दशक पुरा गर्न लाग्दा नेपालले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालेको छ।
यसैगरी मानसाग्नि मिसनका परिकल्पनाकार मानसाग्निकै पहल र संघर्षबाट प्रत्येक वर्ष असार २० गते राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस समेत मनाउन शुरु गरिएको छ।
यसका साथै आयुर्वेद, योग र प्राकृतिक चिकित्साको क्षेत्रमा मानसाग्निको अथक प्रयासबाट शिक्षा क्षेत्रमा समेत पाठ्यक्रममा यी विषय समेट्ने काम भएका छन्।
हाल त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा योग र प्राकृतिक चिकित्सा प्राध्यापन गर्ने पहिलो व्यक्तिको रुपमा समेत मानसाग्नि स्थापित हुनुभएको छ।
आफूबाटै स्थापना गरेको काठमाडौंको भिमसेनगोलामा अवस्थित प्राकृतिक चिकित्सालयमा योग र प्राकृतिक चिकित्साको प्रयोगात्मक कक्षा समेत निःशुल्क सञ्चालन गर्दै आउनुभएको छ। यसरी गुरुकुल पद्धतिमा मात्र चलिरहेको योग र प्राकृतिक चिकित्सा शिक्षालाई विद्यालय र विश्वविद्यालयको ढाँचामा लगि औपचारिक शिक्षाका रुपमा नेपालमा पठनपाठन गराउने पद्धतिको शुरुवात गर्नु मानसाग्निको निकै ऐतिहासिक कदम हो, जसले गर्दा उहाँलाई निरन्तर स्मरण गराइरहने सुनिश्चित छ।
अहिले उहाँकै संयोजकत्व वा अध्यक्षतामा क्याम्पस स्तरका बि.एड्. तथा एम.ए. तहमा र प्राकृतिक चिकित्सकको लागि पाठ्यक्रम समेत निर्माण भई कार्यान्वयनमा आएको छ। यसरी प्रकृतिप्रेमी मानसाग्निको बाल्यकाल देखिको यात्रा हाल साधना, शिक्षा, वाङ्मय, साहित्य र प्राकृतिक चिकित्सकका रुपमा उदाएको छ।
दर्जनौं पुस्तक र ग्रन्थहरू प्रकाशित गरिसक्नुभएका र “राष्ट्रयोगी” लगायत दर्जनौं सम्मानबाट सम्मानित मानसाग्निको बहुप्रतिभाशाली व्यक्तित्वको जतिसुकै वर्णन गरे पनि सकिंदै नसकिने सामाजिक योगदानहरू छन्। अत्यन्तै सरल, सरस स्वभावका धनी र योग, प्राकृतिक चिकित्सा तथा आयुर्वेदका पर्याय आकर्षक व्यक्तित्व मानसाग्निको समीपमा मात्र जाने हो भने पनि उहाँको तेजस्वी नेत्र, मधुर मुस्कान एवम् मधुरो आवाजले जो कोहीलाई पनि आकर्षित गर्दछ।
“जस्तो चिन्तन त्यस्तै चरित्र” को विलक्षण मेल देख्न मानसाग्निकै समीपमा जानुपर्छ र उहाँको “स्वधर्म” लगायतका दार्शनिक विचारको प्रचार प्रसारमा जुट्नसके आम नेपाली मात्र होइन विश्वभरका मानव समुदायलाई प्रेरणा मिल्न जाने देखिन्छ। हाल मानसाग्नि वा डा. हरिप्रसाद पोखरेल शिक्षामन्त्रीको अध्यक्षतामा गठित योग दिवस मूल समारोह समितिका सदस्यको हैसियतमा व्यस्त हुनुहुन्छ।
मानसाग्नि कै विचार मार्फत योग दिवस मनाई “योग गरौं, योगी बनौं” भन्ने मूल मन्त्र साकार पार्नु हामी सबैको कर्तव्य पनि रहेको छ। मानसाग्निको यो अथक प्रयास अझै जारी रहोस् भन्ने कामना छ। यसरी नेपालमा राष्ट्रिय योग दिवस र मानसाग्नि एक अर्काका परिपूरक छन् भन्नेकुराको सहजै पुष्टि गर्न सकिन्छ।
नरनाथ पाण्डे
कावासोती–८, नवलपुर
(लेखक मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती नवलपुरका प्राध्यापक हुन्)