त्रिभुवन विमानस्थलमा विमानस्थल सुरक्षा प्रहरीसँग गायिका राउतको गलफति र विमानस्थल सुरक्षाको लागि डेडीकेटेड हवाईसुरक्षा बलको आवश्यकता बारेमा समाचारहरु प्रकाशन तथा प्रकाशित भए। ।
विमानस्थल सुरक्षा प्रक्रियाहरुको सशक्तिकरणसहित प्रभावकारी कार्यान्वयनको लागि डेडीकेटेड हवाईसुरक्षा बल अपरिहार्य भए ता पनि डेडीकेटेड हवाईसुरक्षा बल भएका विमानस्थलहरुमा पनि यस्ता घटना नघट्ने होइन्न ।
त्यस्तो अवस्थालाई निरुपण गर्ने तरिकाहरु पनि छन । यही सन्दर्भमा आफूले जाने बुझेका र अनुभव गरेका कुराहरु सर्वसाधारणको जानकारीको लागि यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु । हवाई सुरक्षा सम्वन्धि प्रक्रियाहरु मध्येका केही पक्ष नितान्त गोप्य राख्नु पर्दछ भने केही पक्ष सर्वसाधारणको जानकारीमा आए पनि फरक नपर्ने हुन्छ। अझ केही पक्ष त सर्वसाधारणको जानकारीमा आउनै पर्ने हुन्छ ।
यस लेखमा हवाई सुरक्षा सम्वन्धि सर्वसाधारणको चासो हुन सक्ने पक्षमा प्रकाश पार्ने प्रयत्न गरिएको छ । सर्वप्रथम हवाई सुरक्षा प्रक्रियाहरुको कार्यान्वयनमा विश्वका कतिपय मुलुकमा डेडीकेटेड हवाइ सुरक्षा बल स्थापना भएको विषयमा केही जानकारी प्रस्तुत गरिएको छ ।
२४ डिसेम्बर १९९९ मा भारतको इण्डियन एयरलाइन्सको वायुयान अपहरण भएपछि भारत सरकारले विमानस्थल सुरक्षा प्रक्रियाहरुको कार्यान्वयनको जिम्मेवारी त्यहाँको केन्द्रिय औद्योगिक सुरक्षा बललाई जिमा दियो । केन्द्रिय औद्योगिक सुरक्षा बल भित्र विमानस्थल सुरक्षा समुह नामको छुट्टै डेडीकेटेड एयरपोर्ट हवाई सुरक्षा बल समुह स्थापना गरिएको छ ।
हालै प्रकाशित समाचारमा भारतमा ब्युरो अफ सिभिल एभिएसन सेक्युरिटीले विमानस्थल सुरक्षा प्रक्रियाहरुको कार्यान्वयनको जिम्मेवारी पाएको भन्ने लेखिएको रहेछ, वास्तवमा त्यस्तो होइन ।
विमानस्थल सुरक्षा प्रक्रियाहरुको कार्यान्वयनको जिम्मेवारी केन्द्रिय औद्योगिक सुरक्षा बलकै हो ।
ब्युरो अफ सिभिल एभिएसन सेक्युरिटी त्यहाँको हवाई सुरक्षाको रेगुलेटर अर्थात अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठनको भाषामाAppropriate Authority for Civil Aviation Security तोकिएको हो ।
संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न विशेषज्ञ निकाय डब्लुएचओ, युनेस्को, युनिसेफ र आइएमअफ जस्तै अन्तर्राष्ट्रिय नागरिक उड्यन सम्वन्धि संयुक्त राष्ट्रसंघको विशेषज्ञ निकायको रुपमा अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन ले काम गर्दछ ।
हाल सम्म यसमा १९३ सदस्य राष्ट्रहरु सम्लग्न छन । नेपालले सन् १९६० अर्थात २०१७ सालमा यस अन्तर्राष्ट्रिय संगठनको सदस्यता प्राप्त गरेको हो । सुरक्षित, नियमित र भरपर्दो हवाई यातायातको विभिन्न मापदण्ड र प्रक्रियाहरुको निर्माण गरेर आफना सबै राष्ट्रहरुमा उपलब्ध गराउने र तिनको कार्यान्वयनको अनुगमन गर्ने कार्य पनि यसले गर्दछ ।
अन्तराष्ट्रिय नागरिक उड्यन संगठनले यसका सबै सदस्य राष्ट्रहरुमा हवाई सुरक्षाको आधिकारिक निकाय Appropriate Authority for Civil Aviation Security तोकिनु पर्ने प्रावधान भए अनुसार सबै मुलुकले त्यस्तो निकाय तोकेका छन
जस अनुसार नेपालमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक, भारतमा विमान सुरक्षा ब्युरो या सिभिल एभिएसन सेक्युरिटी जस्ता अधिकारी तोकिएका हुन्छन । सयुक्त राज्य अमेरिकामा फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले यो जिम्मेवारी पाएकोमा सेप्टेम्वर ११, २००१ मा विश्वलाई नै स्तब्ध पार्ने गरी घटेको अकल्पनिय घटना भए पश्चात यो जिम्मेवारी त्यहाँको पोर्ट सेक्युरिटी एडमिनिस्ट्रेसन लाई दिइएको छ ।
यी सबै कुरामा यहाँ प्रकाश पार्नुको आशय हवाई यातायातको सुरक्षा विरुद्घ भएका घटना पश्चात विश्वका कतिपय मुलुकमा हवाई सुरक्षा व्यवस्थामा व्यापक परीवर्तन गरिएका छन भन्ने जानकारी गराउन खोजिएको हो । ती मध्ये सबै भन्दा महत्वपूर्ण पक्ष हो हवाई सुरक्षाको पेशागत रुपमा दक्ष जनशक्तिरहित डेडीकेटेड हवाइ सुरक्षा बलको स्थापना ।
हवाई यातायातको सुरक्षा विरुद्घको खतरा (थ्रेट) कुनै खास स्थानमा मात्र सिमित रहदैँन । विश्वको कुनै पनि कुनाबाट अन्य मुलुकको हवाई यातायातको सुरक्षामा थ्रेट गर्न सकिन्छ ।
कुनैपनि एक मुलुकको विमानस्थलको सुरक्षा व्यवस्थाले अन्य मुलुकको विमानस्थल सुरक्षा व्यवस्थालाई असर पार्न सक्ने हुँदा कुनै पनि मुलुकले त्यस मुलुक भित्रको आन्तरिक थ्रेटका अतिरिक्त सव रिजनल, रिजनल र ग्लोवल थ्रेटलाई समेत विचार गरी विद्यमान सुरक्षा व्यवस्थाको पुनरावलोकन गर्न र त्यसमा समयानुकुल परिमार्जन गर्दै लैजानु पर्दछ ।
सम्भावित थ्रेट र त्यसबाट हुन सक्ने जोखिमको विश्लेषण गरी विद्यमान सुरक्षा अवस्थाको पुनरावोलकन तथा परिमार्जनको आधार निर्धारण गर्नुपर्दछ । हवाइ सुरक्षा सवलीकरण गर्नुको अर्थ हो यसका मूख्य तिन आधारहरु सुरक्षा प्रक्रिया, भौतिक पूर्वाधार तथा मानविय श्रोतको सवलीकरण हो । यी तिनै पक्ष उत्तिकै महत्वपूर्ण भए पनि ती मध्ये सबै भन्दा महत्वपूर्ण मानविय श्रोत नै हो ।
नेपालमा पनि विगतमा हवाई यातायातको सुरक्षा विरुद्घ ठूल्ठूला घटना भई सकेकाले हवाई सुरक्षामा पेशागत रुपमा दक्ष जनशक्ति सहितको डेडीकेटेड हवाइ सुरक्षा बलको स्थापना गर्नका लागि ढिलो भईरहेको छ।
नेपालमा विमानस्थल सुरक्षा व्यवस्था गैह्र सैनिक हवाई उडान ऐनमा २०३० सालमा संशोधन गरी त्यसमा हवाई सुरक्षाका प्रावधानहरु थप गरेसगंै लागू भएको छ । छयालिस वर्षको लामो अनुभव सम्वद्घ सबै पक्षमा छदै छ, ।
अब रह्यो गायिका आस्था राउत प्रकरण । यस लेखको मनशाय कसको गल्ती भन्ने छुट्याउने नभएपनि कफिको कप लिदै यात्रु सुरक्षा जाँच विन्दुमा पुग्नु उपयुक्त देखिदैन । मात्र राउत प्रकरणको कारणले डेडीकेटेड हवाइ सुरक्षा बलको स्थापना गर्न समाचारहरुमा आशय प्रकट भएको सन्दर्भमा डेडीकेटेड हवाइ सुरक्षा बल स्थापना भएको विमानस्थलमा पनि त्यस्ता घटनाको सम्भावना उत्तिकै रहन्छ । त्यस्तो घटना सम्वोधन गर्न आइकाओ तथा मुलुककै हवाइ सुरक्षा सम्वन्धि कानुन छ। नेपालमा पनि त्यो व्यवस्था छ ।
हवाई सुरक्षा विरुद्वमा सम्भावित अपराधका परम्परागत शैलिको साटो उच्च प्रविधिको दुरुपयोग गरी नयाँ शैली प्रयोग हुन थालेको सन्दर्भमा हवाई सुरक्षा झनझन जटिल बन्दै गएको छ ।
तसर्थ हवाइ सुरक्षा प्रकृयाहरुको कार्यान्वयनमा संलग्न सबै निकायहरुको जिम्मेवारी पृथक पृथक रुपमा भन्दा पनि एकिक्रृत रुपमा संचालन गर्ने वातावरण श्रृजना भएमा अझ सवल र सक्षम हुन सक्ने हुदाँ एकिकृत रुपमा कार्यान्वयनको व्यवस्था स्थापित हुन उपयुक्त हुनेछ ।
-ढकाल पूर्व हवाई सुरक्षा निर्देशक, प्रमुख हवाई सुरक्षा अधिकृत यती एअरलाइन्स र आइकाओ हवाई सुरक्षा प्रशिक्षक हुन।