अहिले विश्व कोराना भाइरस (कोभिड-१९)को महामारीबाट आक्रान्त छ। २०१९ डिसेम्बर ३१ मा चीनको वुहानमा पत्ता लागेको यस भाइरसका कारण करिब दुई सय देशका आठ लाख भन्दा बढी मानिसहरू संक्रमित छन् भने झण्डै ४१ हजार मानिसको मृत्यु भइसकेको छ। यो संख्या दिनानुदिन बढ्दै गइरहेको छ।
नेपालमा हालसम्म छ जना संक्रमित को पुष्टि भइसकेको छ। यो संख्यामा अझै वृद्धि हुने अनुमान पनि गरिएको छ। हालसम्म यस महामारीबाट बच्न कुनै खोप वा औषधी पत्ता लागेको पनि छैन, छ त केबल कसरी रोग सर्नबाट बच्ने भन्ने उपायहरू मात्र। यो भयावह परिस्थितिबाट पार पाउनका लागि विश्व संघर्षरत छ।
सोही प्रयास अनुसार विश्वका धेरैजसो मुलुकहरूले आ-आफ्नो देशभित्र कुनैपनि देशबाट आवतजावत गर्न बन्द गरेका छन्। सवारी साधन ठप्प छन्। घरभित्रै बस्ने, भीडभाड हुने स्थानमा नजाने गरी सामाजिक दूरी कायम राख्ने र संक्रमणको जोखिमबाट सुरक्षित हुन 'लकडाउन' (मानिसहरुको आवतजावतलाई निषेध) गरेका छन्।
लकडाउनको अर्थ हो घरबाट बाहिर ननिस्कौं र घरमै सुरक्षित बसौँ। यो सबैका लागि लागू हुन्छ– साना, ठूला, बालबालिका, महिला, पुरुष, वृद्ध वा जो कोही। जसले गर्दा दिनभरी विद्यालय गएर अध्ययन गर्ने बालबालिका अहिले दिनभर घरमै बसिरहेका छन्। हामी अभिभावकले ती बालबालिकाहरू के गरिरहेका छन्, उनीहरूको समय के गरी बितिरहेका छ आदि जस्ता विषयमा चासो राखी उनीहरूलाई सिकाइमा संलग्न गराउनु पर्ने हुन्छ।
कतिपय बालबालिकाको वार्षिक परीक्षा सकिएको छ, कसैको केही विषय परीक्षा दिन बाँकी छ, कसैको परीक्षाको मुखैमा आएर परीक्षा स्थगित भएको छ भने हिमाली जिल्लाका बालबालिकाको भर्खर नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको अवस्थामा छ। कतिका घरमा त सुनौला हजार दिनका बालबालिका छन् त कतिका घरमा अपांगता भएका बालबालिका छन्।
जुनसुकै महामारीको समयमा सबै बालबालिकाको संरक्षण वा जीवन बचाउ पहिलो सर्त हो भने यो सँगै सिकाइ पनि अपरिहार्य हुन्छ। सिकाइले नै जीवन जिउने कला सिकाउँछ र बालबालिका आफैँमा संरक्षित समेत हुने सीप प्रदान गर्दछ।
अहिलेको महामारीको समयमा आफ्नो घरमा भएका जुनसुकै उमेर समूह र क्षमताका बालबालिकालाई सुरक्षित राखी सिकाइमा संलग्न गराउनु हरेक अभिभावकको दायित्व हो। अभिभावकले लकडाउनका कारण घरमै बसिरहेका हरेक बालबालिकालाई सामान्य अवस्थाको समय भन्दा बढी समय प्रदान गर्नुपर्दछ। यदि अभिभावकले यसलाई अवसरको रुपमा लिने हो भने आफ्ना छोराछोरीहरूको आनीबानी र व्यवहार बुझ्ने र अनुशासित बनाउन सिकाउने मौका हो।
उदाहरणका लागि घर नबस्ने र डुलिरहने बानी भएका आफ्ना छोराछोरीको बानी सुधार्न यो समय महत्वपूर्ण अवसर बनाउन सकिन्छ। उनीहरूसँग बसेर यसका फाइदा बेफाइदाका बारेमा दोहोरो छलफल गर्नुहोस्, कुन कुरा राम्रो र कुन नराम्रो अनुभूति गर्न दिनुहोस्।
म पनि एउटा अभिभावक हो। शिक्षाको विद्यार्थी पनि हो। लामो समयदेखि शिक्षा क्षेत्रमा कार्यरत पनि छु। यिनै त्रिपक्षीय अनुभव र सिकाइको आधारमा म जस्तै अभिभावकका लागि समय सान्दर्भिक हुन सक्ने केही सुझाव यहाँ प्रस्तुत गर्दछुः
१. तपाईको घरमा तीन वर्षभन्दा मुनिका बालबालिका छन् भने तपाई बढी सजग हुनुपर्दछ, किनभने यो उमेर स्वास्थ्यको हिसाबले अलि संवेदनशील मानिन्छ। उनीहरुको स्याहार सुसार, खानपिन, स्वास्थ्य र सरसफाइ, संरक्षण जस्ता विषय महत्वपूर्ण मानिन्छ। त्यसैले, उनीहरूको रोगसँग लड्न सक्ने क्षमता बढाउनका लागि पोषिलो खानेकुरा बारम्बार खुवाऔं।
रोग संक्रमण बढ्न नदिन ती साना नानीहरूको गाला समाउने, हातमा वा अन्यत्र कतैपनि चुम्ने वा जुठो खुवाउने कार्य नगरौं। खेतबारीको काम, गाईवस्तु स्याहार, घर सरसफाई या भान्छाको काम सकेपछि वा कतै बाहिरबाट आएपछि राम्रोसँग साबुनपानीले हात नधोई साना नानीहरूलाई नसमातौं।
उमेर सुहाउँदो खेलहरू खेलाउँ र खेल्न दिऊँ। घरमा कोहीकसैलाई ज्वरो वा रुघाखोकी लागेको आशंका भएमा त्यो व्यक्तिले कुनैपनि बालबालिका नसमातौ र टाढै बसौं। विभिन्न सञ्चारका मध्यमबाट प्रसारित सूचनालाई आधार मान्ने हो भने मेरो अनुभवले खोक्दा वा हाँच्छिउ गर्दा कुहिनोले मुख छोप्ने कार्य यो उमेर समूहका बालबालिकाको अभिभावकका लागि त्यति उपयुक्त देखिदैन। कुहिनो वा कुहिनोमा भएका कपडा तुरुन्तै सफा गरिदैन जसको लागि पुरै कपडा नै धुनुपर्ने हुन्छ जुन कुरा सम्भव नै छैन।
साना नानीहरू काखमा खेल्ने, लडिबुडी गर्ने गर्दछन् र जतिबेला पनि सोही कुहिनोको सम्पर्कमा आउँदछन्। उनीहरूलाई भुलाउँदा होस् वा फकाउँदा होस् वा खेलाउँदा होस्, सोही कुहिनोको आवश्यकता पर्दछ। त्यसकारण सबभन्दा उत्तम उपाय भनेको खोक्दा वा हाच्छ्युँ गर्दा रुमालले वा घरमा भएको सफा कपडाले (तर शरीरमा भएको कुनै पनि कपडा होइन) मुख छोप्ने र तुरुन्त साबुनपानीले हात धुनुपर्दछ।
२. तपाईको घरमा चारदेखि पाँच वर्ष उमेर समूहका छोराछोरी छन् भने स्वास्थ्य, पोषण र संरक्षण सुनिश्चित गर्दै सिकाइमा संलग्न गराउने समय हो। यो उमेर समूहका बालबालिकालाई अभिभावकले घरायसी कामसँगै सामान्य गणितीय र भाषिक सीप सिकाउने कार्यमा बालबालिकालाई संलग्न गराउन सक्दछन्। जस्तै- भान्साको होस् या घरायसी अन्य काम गर्दा उनीहरूलाई संलग्न गराउनुहोस्।
भान्सामा तरकारी केलाउँदै वा काट्दै हुनुहुन्छ भने नानीहरूलाई सँगै राखी, ठूलो-सानो, लामो-छोटो, अग्लो-होँचो, आदि कुराहरू सिकाउनुहोस्। घरमा भएका सामग्रीहरू जस्तै बेलना, थाल, कचौरा, गिलास, चम्चा, ठेकी, नाम्लो, आदि वस्तुहरू चिनाउनुहोस्, तिनीहरूको नाम शुद्धसँग उच्चारण गर्न सिकाउनुहोस्। टाढैबाट भएपनि गन्न लगाउनुहोस्, आकार प्रकार छुट्याउन लगाउनुहोस्। यो कार्य गर्दा नानीबाबुहरूलाई काट्ने वा पोल्ने वस्तुहरू भने उनीहरूबाट टाढै राख्नुहोस्।
समय-समयमा चित्र कोर्न, उनीहरूले जानेका आकार कोर्न वा अक्षर लेख्न लगाउनुहोस्। उनीहरूको कार्यलाई प्रोत्साहित गर्नुहोस् जस्का लागि ताली बजाउने वा स्याबासी दिनुहोस्। कथा सुनाउनुहोस्, गीत गाउनुहोस् र गीत गाउन लगाउनुहोस्।
३. प्राथमिक तह उमेर समूहका बालबालिकाको रुची बढी कथा पढ्ने र सुन्ने भएकाले उनीहरूलाई कथा पढ्न दिनुस्। कथा सुनाउनुहोस्। कथा लेख्न लगाउनुहोस्। चित्र कथा बनाउन लगाउनुहोस्। उनीहरूसँग अन्ताक्षरी खेल्नुहोस्। घरमा दाजुदिदि छन् भने खेल्न लगाउनुहोस। चित्र कोर्न दिनुहोस्। आफ्नो कपडा आफैँ धुन लगाउनुहोस्। भान्सामा काम गर्न सिकाउनुहोस्। आफु पनि सफा हुने र साना भाइबहिनीलाई सफा राख्न सिकाउनुहोस्।
आफूले खाना खाएका भाँडा माँझ्न सिकाउनुहोस। उनीहरुको उमेर सुहाउँदो घरायसी काममा संलग्न गराउनुहोस् जस्ले गर्दा उनीहरूले जीवनोपयोगी सीप सिक्दछन्। जुनसुकै कार्य गर्दा पनि के किन कसरी भइरहेको छ, केका लागि गरिरहेका छौं भनेर कारण बताउनुहोस्। करेसाबारी तथा फुलबारीमा काम गर्न सिकाउनुहोस्।
बिरुवामा पानी लगाउन सिकाउनुहोस् जसले गर्दा बालबालिका व्यस्त रहुन्, केही नयाँ कुरा सिकुन् र घर आँगनबाट बाहिर जाने प्रयास नगरुन्। सामान्य ज्ञानका पुस्तकरू पढ्न दिनुहोस्। पुराना अखबार छन् भने त्यसको प्रयोग गरी विभिन्न आकार कोर्न वा बनाउन लगाउनुहोस्।
४. बालबालिकाको उमेरअनुसार आफ्नो निगरानीमा अनलाइन वा फेसबुक, युट्यूब जस्ता माध्यमबाट आफ्नो पढाईसम्बन्धी सामग्री खोज्ने र अध्ययन गर्ने बानी बसाल्न सघाउनुहोस्। बालबालिकाले स्वभावतः खेल र मनोरञ्जनमा संलग्न हुन चाहने भएपनि उनीहरूलाई मोबाइल, ल्यापटपमा यस्ता सामग्रीभन्दा नैतिक शिक्षा दिने, उत्प्रेणा दिने खालका भिडियोहरु हेर्न लगाउँ। यदि उनीहरूको ध्यान यसतर्फ गएन भने सँगै बसेर हेरेर उनीहरूको ध्यान तान्ने कोसिस गरौं।
५. घरमा भएका विभिन्न धार्मिक पुस्तकहरू जस्तै रामायण, महाभारत, कुरान, बाइबल, मुन्धुम, आदि पढ्न लगाउँ जस्ले गर्दा उनीहरूको पढ्ने बानीको विकास हुनुका साथै आध्यात्मिक र नैतिक चरित्रवान् बन्न सहयोग गर्दछ। साथै घरमा भएका कथा, उपन्यासहरू पढ्न दिउँ र त्यसको साराशं लेखेर सुनाउन लगाउँ जस्ले गर्दा विश्लेषण गर्ने र सारांश लेखनको सीप विकास हुनजान्छ।
६. बालबालिकाको क्षमताअनुसार अभिभावकको सीप बमोजिमका काममा छोराछोरीलाई संलग्न गराऔं। घरमै बसेर हुने कार्यहरू जस्तै- चित्र, कार्टुन बनाउने, सिलाई-कटाई सिकाउने र सम्भव भए त अझै डोको नाङ्लो बुन्न सिकाउने, काष्ठकलाका सीपहरू सिकाउने गरौं। मादल बजाउन, बाँसुरी बजाउन, नाच्न वा यस्तै अन्य सीपमूलक कार्यमा लाग्न उत्प्रेरित गराउँ।
यसैगरी दैनिक हुने घरायसी कार्यहरू जस्तै, गाई भैंसी छ भने दुहुन सिकाउने, खाना पकाउन सिकाउने वा युट्यूबमार्फत खाना पकाउने तरिका वा रेसिपि हेरी आफैँ तयार गर्न लगाउन पनि सकिन्छ। हरेक बिहान केही समय छुट्ट्याई बालबालिकालाई ध्यान, योग तथा व्यायाम गर्न लगाउँ जस्ले गर्दा बालबालिकामा शारीरिक तथा मानसिक तन्दुरुस्तिको विकास हुन मद्दत पुग्दछ।
७. शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विभिन्न तह र कक्षा लक्षित बालबालिकाले घरबाटै हेर्न मिल्ने गरी सिकाइका लागि आवश्यक स्रोतहरू (वेबसाइट) उपलब्ध गराएको छ। ती वेबसाइटहरूमा गएर पनि आफ्ना नानीबाबुले पढेको र सिकेको कुरा सुनिश्चित गर्न सकिन्छ। त्यसैगरी कक्षा १० लक्षित गरी डिसहोम जस्ता सेवा प्रदायकले पनि टिभी वा कम्प्युटर/ल्यापटपबाटै हेर्न मिल्ने 'भर्चुअल' कक्षा सञ्चालन गरिरहेका छन् र ती कक्षाहरूमा आफ्ना नानीबाबुहरूलाई सहभागी गराई सिकाइमा संलग्न गराउन सकिन्छ।
८. मुखैमा आएर स्थगित भएको एसईई र कक्षा ११/१२ को परीक्षा दिने नानीबाबुहरूको लागि त थप अध्ययन र तयारी गर्न पाउने अवसर प्राप्त भएकाले ती परीक्षा दिने नानीबाबुहरूलाई बिहान र साँझ केही घण्टा नियमित रुपमा अध्ययन गर्न अभिप्रेरित गरौं।
९. कोरोना संक्रमणको उच्च जोखिममा रहेको अर्को वर्ग हो अपांगता भएका बालबालिका। उनीहरूमा भएको अपांगताको आधारमा कोही कम त कोही बढी जोखिममा हुनसक्छन्। त्यसकारण, घरमा कुनै एक जनालाई जिम्मेवार बनाउनुपर्दछ र सोही व्यक्तिले उनीहरूलाई विद्यमान अवस्थको जानकारी गराउनुपर्दछ। साथै, हात धुने, सरसफाइ गर्ने, घरबाट बाहिर निस्कन नदिने, उनीहरूको क्षमता अनुसार सिकाइका विभिन्न गतिविधिमा संलग्न गराई रहनुपर्दछ।
यी र यस्तै कार्यहरूमा बालबालिकालाई संलग्न गराउँदा खेल्ने समय, पढ्ने समय, योगा वा व्यायाम गर्ने समय, घरायसी काम गर्ने समय, आदि छुट्टयाई समय तालिका निर्माण गर्ने र त्यसलाई पालना गर्न बालबालिकालाई उत्प्रेरित गर्नुपर्छ। साथै समय समयमा बालबालिकासँग कोरोनाबाट बच्ने उपायहरू छलफल गर्ने एवं हात धुने बानी बसाउनु पर्दछ।
हाम्रा छोराछोरीहरू अहिले दिनरात हामीसँगै छन्। उनीहरूले हाम्रा गतिविधि र व्यवहारलाई नजिकबाट नियालिरहेका हुन्छन्। बालबालिकाले हाम्रै व्यवहारबाट धेरै कुराको सिको गर्दछन्। बालबालिकाको सिकाइको स्रोत बनौँ, बालबालिकालाई यो समयमा घरबाट बाहिर जान नदिउँ र असल आभिभावकको भूमिका निर्वाह गरौं।
याद गरौँ, कोरोनाको यस महामारीका समयमा सिकेका यस्ता असल बानीहरु बालबालिकालाई जीवन पर्यन्त काम लाग्नेछन् र खाना बनाउने लुगा धुने जस्ता सीपले त उनीहरुलाई आत्मनिर्भर बनाउनमा काम लाग्नेछन्।