विगत दुई हप्तादेखि पोखराको सडक सुनसान छ। उस्तै सुनसान छ यस वरपरको परिवेश। एकाबिहानै विन्द्यावासिनी र भद्रकाली मन्दिरमा बज्ने शंख र घन्टीका धूनहरू हराएका छन्।
त्यसरी नै हराएको छ शान्ति स्तुपा र माटेपानी गुम्बामा बज्ने ओम माने पेमे हुँ का धुनहरू।
गुड्दैनन् सडकमा तँछाडमछाड गर्दै सवारीसाधनहरू। उड्दैनन् सराङ्कोटको डाँडामाथि चराजस्तै प्याराग्लाइडिङहरू।
डुंगाहरूले नबिथोलेपछि शान्त छ फेवाताल। खाली छन् प्रतीक्षालय र चौतारीहरू। भेटिँदैनन् बाटो,चोकतिर छिमेकी र आफन्तहरू।
यसैबीच सधैंको बिहानझैं आशाको किरण बोकेर मेरो बिस्तारामै आइपुग्छ पूर्वको उज्यालो। उत्तरतर्फ मुस्कुराइरहन्छ विश्वासको अग्लो माछापुच्छ्रे।
लकडाउनको हरेक बिहान म यहीँ आशाको किरण र विश्वास बोकेर कोरोना सन्त्रासलाई जितिरहेकी छु।
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) चीनको वुहान हुँदै अहिलेसम्म विश्वका २०८ मुलुकमा फैलिसकेको छ। विश्वभर करिब १३ लाख संक्रमित छन् भने ७० हजार बढीले ज्यान गुमाइसकेका छन्।
विश्वका शक्तिशाली भनिने मुलुकहरूलाई समेत कोरोना रोकथाममा हम्मेहम्मे परिरहेको छ।
लाखौंको रोजगारी गुमेको छ। अर्थतन्त्र ध्वस्त भएको छ। हेर्दाहेर्दै समय यसरी बदलिएको छ कि यतिबेला एक तिहाइ विश्व नै लकडाउनमा छ। नेपाल पनि विगत दुई हप्तादेखि लकडाउनमा छ। लकडाउनका कारण यहाँका स्वास्थ्य,सुरक्षा र सञ्चारबाहेकका सबै कार्यालय लगभग बन्द छन्।
लकडाउनसँगै बिहान सबेरै उठ्नु,हतारहतार भान्साको कामहरू सक्नु र छोरीहरूलाई स्कुल पठाएर आफू पनि पढाउन पुग्नुपर्ने मेरो दैनिकी फेरिएको छ।
म बस्ने अपार्टमेन्टकै विल्डिङमा भएका होटल र ट्राभल्स बन्द छन्। कर्मचारी सबै बिदामा छन्। हामी सबै अनुशासनपूर्वक होम क्वारेन्टिनमा बसेकै छौं तर कोरोना संक्रमितको संख्या बिस्तारै बढिरहेको छ।
लकडाउनसँगै दैनिकी फेरिए पनि महिलाका घरायसी व्यस्तता उस्तै छन्। यतिबेला कसैलाई समय व्यतित गर्न कठिन भएको छ भने ती अधिकांश त पुरूष नै छन्। महिलाहरू त दिनको कम्तीमा ४ देखि ६ पटकसम्म भान्सामै रुमल्लिन्छन्।
अचेल म तरकारी ,फलफूल र दूध किन्न बिहानै जानुको सट्टा दिउँसो चर्को घाममा जान्छु। किनेर ल्याएका सामानलाई केही घन्टा घाममै सुकाएर नुन पानीमा भिजाउँछु।
सामान ल्याएको प्लाष्टिकलाई अति सावधानीपूर्वक डस्टबिनमा राख्छु। पटक-पटक तातोपानीमा कागती राखेर पिउँछु। परिवारका अन्य सदस्यलाई पनि यहीँ नियम लागू गराउँछु।
दिनमा हात कतिपटक धोइन्छ गन्दागन्दै बिर्सिदो रहेछु। पटकपटक साबुन पानीले धुँदाधुँदा हात फुस्रै भएर पटपट फुटेका छन्।
मलाई हात फुटेकोमा कत्ति पनि चिन्ता छैन बरु चिन्ता छ त कोरोनालाई कसरी घरभित्र प्रवेश गर्नबाट रोक्ने? यतिबेला घरभित्रै बस्दाबस्दै पनि हामीलाई सबभन्दा बढी जोखिम छ भने दूध,फलफूल र तरकारीबाटै छ। यसतर्फ हामी बेलैमा सचेत हुनु जरूरी छ।
हेर्दाहेर्दै परिस्थिति असामान्य जस्तै बन्दै गइरहेको छ। सामान्य रोग लागेर मान्छे मर्दासमेत कोरोना आशंकामा मलामी पाउन गाह्रो भइरहेको छ।
लकडाउनकै बेला केहीदिन अगाडि भरतपुर चितवनका मेरा आफन्त र यहीँ पोखरामा एकजना कर्मचारीको कोरोनाबाट नभई अन्य रोगको कारण मृत्यु भयो। मृत्युको खबर बुझ्नका लागि फोन गर्ने आफन्तहरूमा कतै कोरोनाले गर्दा मृत्यु भएको त होइन भन्ने आशंका र डर प्रष्टै झल्किन्थ्यो।
म उनीहरूलाई कोरोनाका कारण नभइ सुगर, प्रेसर र दमका कारणले मृत्यु भएको हो भनेर सम्झाउँदै हैरान थिएँ। यो बेला २५ जनाभन्दा बढी मलामी वा भोज भतेरमा जान नपाइने नेपाल सरकारको नियम भए पनि बल्लतल्ल १८/१९ जना आफन्त मुखमा मास्क र हातमा ग्लोब्स् लगाएर मलामी जान त आए।
तर सबैको मुहार यति त्रसित थियो कि लाग्थ्यो कोरोनाको सन्त्रासले हामीलाई बेस्सरी किचेको छ। मलामीमा शवलाई छुनु त के शवको नजिकै जान नपरे हुन्थ्यो जस्तो त्रासको पहाड देखिन्थ्यो। अब हामी कल्पना गरौं त साँच्चै कोरोनाकै कारण मृत्यु भयो भने हाम्रो अवस्था कति कहालीलाग्दो होला?
लकडाउनको सुरूआती दिनमा हामीले नियम उल्लंघन मात्रै गरेनौं कोरोना संक्रमित र विदेशबाट आएका नागरिकलाई अपराधीजस्तै व्यवहार गर्यौं। जसका कारण उनीहरू समाजबाटै तिरस्कृत हुने डरले खुलेर बाहिर आउन सकेनन्।
दोस्रो चरणको लकडाउनसँगै नागरिकहरू केही अनुशासित भए। संक्रमितहरूले पनि खुलेर आफ्नो पहिचानसहित मिडियामा आएर यसबारे बोल्ने हिम्मत गरे। उनीहरूको गुनासो थियो,हामीलाई उपचारमा बेवास्ता मात्रै होइन अमानवीय व्यवहार गरियो। कतिपय ठाउँमा त रूघाखोकी र ज्वरोको बिरामी देख्नासाथ स्वास्थ्यकर्मीहरू नै भागे भन्ने समाचार पनि सुनिए।
केहीदिन अगाडि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका बाग्लुङ ताराखोलाका ६ वर्षीय बालकले अस्पतालको चउरमै २० घन्टा बिताउनु परेको समाचार होस् या कास्की पुरन्चौरकी भूमिका त्रिपाठीले सुत्केरी हुनका लागि तीनवटा अस्पताल चहार्नु परेको समाचार होस् यसले वनको बाघले खाओस् कि नखाओस् मनको बाघले खान्छ भन्ने नेपाली उखानलाई चरितार्थ गरेको छ।
त्यति मात्रै होइन लकडाउको पहिलो हप्ता चैत १४ गते मेसिनले खुट्टा काटेर अस्पताल पुगेका बारा कलैयाका विजय कुसवाहलाई वीरगन्जको नेसनल मेडिकल कलेजले कोरोना संक्रमण देखिएको भन्दै रिफर गरिदिएपछि पाँचवटा अस्पताल चहार्दा चहार्दै उनको मृत्यु भयो। तर १८ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले दिएको रिपोर्टमा उनलाई कोरोना संक्रमण नभएको पुष्टि भयो।
यस्ता घटनाहरूले हामीले हाम्रा अस्पताल र स्वास्थ्यकर्मीहरूप्रति कति विश्वास गर्ने?भन्ने प्रश्न मात्रै उब्जाउँदैन हामीमा मानवीय संवेदनशीलता हराउँदै गइरहेको पनि देखाउँछ। त्यसो त यतिबेला सबैभन्दा बढी जोखिममा स्वास्थ्यकर्मी नै छन्। सरकारले उनीहरूलाई ढुक्क भएर काम गर्न सक्ने वातावरणको सिर्जना गर्नुको विकल्प छैन।
समय,परिस्थिति अनुसार मानिसका रुचि र चाहना फरकफरक हुने रहेछन्। लकडाउन नहुँदा खासै टेलिभिजन नहेर्ने म अचेल कोरोनाबारे अपडेट हुनका लागि दिनमा कम्तीमा तीन पटक बिहान,दिउँसो र साँझ नेपाली च्यानलदेखि भारतीय च्यानल हुँदै सिएनएनसम्म पुगेर फेरि नेपाली च्यानलमा आएर रोकिन्छु।
बेलाबेलामा स्वदेशदेखि विदेशसम्म र सहरदेखि गाउँसम्मका साथीभाइ र आफन्तलाई फोन र म्यासेज गर्छु। फोनमा सबभन्दा पहिलो प्रश्न हुन्छ तपाईंहरूलाई कस्तो छ? सुरक्षित् बस्नुस् है! उताबाट पनि उस्तै प्रश्न र शुभेच्छा आउँछन्।
यस्तो लाग्छ आफन्तजनको यति शुभेच्छाले पनि मनमा ठूलै सान्त्वना मिलिरहेको छ।
यो बेला अध्ययन र लेखनमा खासै ध्यान केन्द्रित हुन सकिरहेको छैन। फुर्सद भए कति न पढौंला,लेखौंला भन्ने म अचेल सुनसान लाइब्रेरीमा बसेर पढ्न नसक्ने भएकी छु।
कोरोनामय यो त्रासदीमा बडो मुश्किलले दुइटा पुस्तक र त्योभन्दा बढी बरु एक दर्जन जति नेपाली,इरानी,कोरियन,चाइनिज र हिन्दी चलचित्र हेरियो।
लकडाउन अघि पढ्नका लागि शान्त वातावरण खोज्ने मलाई अचेल अलिकति हो–हल्ला पनि चाहिएको छ।
प्रत्येक दिनको मध्यान्हमा सडक छेउपट्टिको रूमको टेबलमा आउँछु,पर्दा हटाउँछु।जहाँ लकडाउन सुरू भएसँगै मेरो ल्यापटप र केही थान मनपर्ने पुस्तक लाइब्रेरीबाट यता बसाइँ सरेका छन्।
पुस्तक पढिरहँदा बेलाबेलामा सडकमा सुनिने सवारी साधनको आवाजले परिस्थिति सबै सामान्य भएजस्तै लाग्छ। मनमा एक किसिमको रमाइलो अनुभूति गराउँछ।
पढिरहेको पुस्तक हातमै लिएर झ्यालनेर उभिएर परपरसम्मका छिमेकीको घर नियाल्छु। वसन्त ऋतुको आगमनसँगै छिमेकीका घर अगाडि र छतमाथि रंगीचङ्गी फूल फूलिरहेका छन्। सडक छेउका दुबो हरियो हुँदै आएका छन्। हरियो दुबोमा एकजोडी छाडा चौपाया निस्फिक्री चरिरहेका छन्।
पोखराको छाती चिरेर लम्पसार पूर्व–पश्चिम सडक सुनसान छ। बिरामी बोक्ने एम्बुलेन्स, प्रहरीका भ्यान,पानी र दूध बोक्ने गाडीको आवाजबाहेक टाढाटाढासम्म कुनै मानिसको आकृति देखिँदैन।
निकैबेरपछि जब आँखा सडकबाट हट्छन् तब उत्तरतर्फ देख्छु,बिहान शानले सेतै मुस्कुराइरहेको माछापुच्छ्रे यतिबेला बादलले छोपिएको छ।
आकाशमा अँध्यारो मडारिरहेको छ। तर म विश्वस्त छु माछापुच्छ्रे जहीँको त्यहीँ ठीक सलामत छ। भोलिको बिहान उहीँ शानकासाथ मुस्कुराउँदै पोखराको शिरमा सजिने छ।
उस्तै विश्वस्त छु,केही समयपछि हामी सबै ठीक, सलामत हुनेछौं। एकदिन हामी यो कोरोनालाई परास्त गर्नेछौं र जीवनरूपी आकाशमा स्वतन्त्र चराजस्तै उड्नेछौं।