नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भएर देशको सेवा गर्ने चाहना रहेको बताएका छन्।
काठमाडौंमा शनिबार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको बताए।
'यो पटक हुने चुनावमा नेकपा माओवादी पनि भिड्नेछ, त्यसमा तपाईहरुको पुस्तालाई पनि सहभागी गराउने हाम्रो चाहना छ। या चुनावमा सँगै जाने, देशभर जाने। हामीले जनतालाई अपिल गर्नेछौँ। यो देशलाई राम्रो बनाउने हाम्रो सपना छ। हामीले बन्दुक पनि बोक्यौ, जेल पनि गयौं, किताब पनि पढ्यौं। अहिले नयाँ उद्योगधन्दा पनि चलाउँछौं, काम गर्छौं। यदी नेपालका किसान, मजदुर, बद्धिजिवी, व्यापारी, मध्यम वर्गले, शहरले, गाउँले हामीलाई मौका दिनुहुन्छ भने तिमीहरु एक चोटी गरेर देखाउ भनेर तपाईंहरुले जिम्मा दिनुहुन्छ भने एकचोटी यो देशको प्रधानमन्त्री भएर, कार्यकारी प्रमुख भएर गोरू जस्तो जोतेर देशको सेवा गर्ने चाहना पनि नेकपा माओवादीको छ, यो हामी गर्छौं,’ उनले भने।
महासचिव विप्लवले तोकिएकै समय (फागुन २१) मा नेपालमा निर्वाचन हुनेमा भने आशंका जनाए।
‘नेपालमा चुनाव हुन्छ कि हुन्न भन्ने एउटा शंका छ। सुशीला कार्कीको सरकारको चुनावको कुरा पनि मान्छेले पत्याइरहेका छैनन्। प्रहरी साथीहरुसँग भेट हुँदा चुनाव गर्न सक्ने गरी प्रहरीको मनोबल उठेको छैन भन्नुहुन्छ। धेरै कुराहरूले गर्दा देश शान्तितिर परिवर्तनतिर नजाने हो कि भन्ने चिन्ता अहिले व्यापाक रूपमा उठिरहेको छ,' उनले भने।
उनले सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर अगाडि बढ्नुपर्नेमा पनि जोड दिए।
'हाम्रो पार्टीले नयाँ अन्तरिम सर्वपक्षीय सरकार बनाएर जेनजीका मागहरू सम्बोधन गर्दै सम्भव हुन्छ भने नेपालमा एकचोटी प्रत्यक्ष चुनावबाट राष्ट्रपति चुन्ने या सबै जनताको भोटबाट प्रधानमन्त्री चुन्ने व्यवस्थातिर जानुपर्छ भन्ने जेन–जीको पनि माग हो, हाम्रो पार्टीको पनि माग हो,' उनले भने।
उनले वर्तमान सरकारले जेन–जी आन्दोलनको मागअनुसार भ्रष्टचारीलाई कारबाही अगाडी नबढाएको आरोप पनि लगाए। – न्युज एजेन्सी नेपाल