महामारीको रुपमा कोरोना फैलिरहेको समयमा स्थानीय सरकारको भूमिका यस प्रकारको हुनसक्छः
के गर्ने?
१. सरकारले तोकेको लकडाउनलाई पूर्णरुपले सफल बनाउन सहयोग गर्ने, सामाजिक दुरी कायम गर्नु अत्यन्त जरुरी छ। यसले कोरोनाको दोस्रो स्टेजलाई कम गर्न सक्छ। त्यसैले यसको हाम्रो जस्तो गरिब मुलुकमा ठूलो महत्व छ।
२. विदेशबाट आएका मानिसहरुको लागत राख्ने र तिनीहरुलाई संस्थागत वा घरमै क्वारेन्टाइनमा बस्न र क्वारेन्टाइनमा बस्दाका नियमहरु पूर्णरुपमा पालना गर्न लगाउने, घरमै क्वारेन्टाइनमा बसेकाहरुको प्रतक्ष वा अप्रत्यक्षरुपमा (फोन) नियमित अपडेट लिने। आफ्नो पालिकाभित्र कोही आए/नआएको यकिन गरी तिनीहरुको अवस्था बुझ्ने र क्वारेन्टाइनमा राख्नपर्ने भए व्यवस्था गर्ने। स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, लकडाउनमा खाली कर्मचारी जस्तै शिक्षक, सामाजिक परिचालक आदिलाई परिचालन गर्ने।
३. आफ्नो मातहतमा रहेका स्वास्थ्य संस्थाबाट फोनमा स्वास्थ्य सेवा दिने व्यवस्था मिलाउने
४. इमर्जेन्सी बिरामीलाई उपचार सेवा पाउने कुराको सुनिश्चित गर्ने।
५. कोरोनाको शंका लागेका बिरामीलाई फिबर क्लिनिकसम्म सुरक्षित तवरले जानपाउने गरी एम्बुलेन्सको व्यवस्था गर्ने।
६. गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मानिसहरुको सामाजिक सुरक्षा गर्ने, राहत तथा अन्य सहयोगको व्यवस्था गर्ने र खर्च नभएको वा नहुने जस्तो बजेट कोरोनाको लागि छुट्याउने।
७. तपाईको पालिकामा कति दक्ष स्वास्थ्यकर्मी छन्, तिनीहरुको लेखाजोखा गर्नुहोस र भोलि परीआएको खण्डमा कोरोना अस्पतालमा काम गर्न जानपर्ने हुन सक्ने कुराको जानकारी गराउनुहोस्।
८. विज्ञको कुरा सुन्ने र सहयोगी संघ संस्थाको सहयोग लिई जनचेतना फैलाउने काम गरौँ, कोरोना मा राजनीति नगरौँ। राजनीति गर्ने विषय र समय धेरै छ।
९. नयाँ-नयाँ क्वारेन्टाइन बनाउन लाग्नुभन्दा क्वारेन्टाइनको मापदण्ड एक पटक पढ्ने र यदि स्थानीय तहमा कुनै होटेल छन् भने त्यसलाई क्वारेन्टाइन बनाउने |
१०. महामारीको बेला हुने आपूर्ति सहज बनाउने, कालाबजारी रोक्ने र नागरिकको दैनिक जीवन सहज बनाउने।
११. क्वारेन्टाइनमा बसेका मान्छेहरुको मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण छ। ती हेर्दा स्वस्थ तर रोगको जोखिममा रहेका मानिस हुन्। अपराधी होइनन्। क्वारेन्टाइनमा बसेका मान्छेहरुको मानसिक स्वास्थ्यमा ध्यान दिउँ।
१२. तपाईको पालिका अन्तर्राष्ट्रिय सिमासँग जोडिएको छ भने अझैँ पनि नाकाहरुबाट लुकिछिपी मानिसहरु नेपाल प्रवेश गर्दैछन्। यो घातक हुन सक्छ। यसमा चनाखो र विशेष ध्यान दिउँ।
१३. कतिपय घरधनिहरुले स्वास्थ्यकर्मीहरुलाई दुख दिने काम गरिरहेका छन्। यदि तपाईको पालिकामा त्यस्तो भएको भए त्यस्लाई तुरुन्त बन्द गर्नुहोस्। यो लडाई सेता बर्दिधारीहरुले नै लड्ने हो, त्यसैले बर्दीको मनोबल उच्च राख्ने र सुरक्षा प्रदान गर्ने काम तपाईको पनि हो।
के के नगर्ने?
१. इन्फ्रार्रेड (आइआर) थर्मोमिटर भएन भनेर रुवाबासी नगर्ने। इन्फ्रार्रेड थर्मोमिटर भ्याक्सिन होइन। ज्वरो नापेर, छामेर वा सोधेर थाहा पाउन सकिन्छ। नापेर र छामेर थाहा पाउन नसके सोधेर पनि थाहा पाउन सकिन्छ। यदि कसैलाई ज्वरो छ भने कोरोनाका अन्य लक्षण सोध्ने र यदि शंका लागेमा कोरोनाको जाँच र उपचार हुने ठाउँमा पठाउन सहयोग गर्नुपर्ने। मान्नुहोस्, तपाईसँग इन्फ्रार्रेड थर्मोमिटर छ र मापन गर्दा ज्वरो आयो अब के गर्नुहुन्छ? याद गर्नुहोस यस्ता कतिपय अवस्थाहरु छन्, जुनबेला इन्फ्रार्रेड थर्मोमिटरले ज्वरो देखाउँदैन।
२. मेयर वा स्वास्थ्य संयोजकको टेबलमा सेनिटाइजर राखेर कोरोना भाग्दैन। त्यसैले प्रदेश वा केन्द्रसँग सेनिटाइजर माग्नु भनेको सिमित स्रोत पनि सही ठाउँमा प्रयोग गर्न नपाउनु हो। अहिले मिचीमिची साबुन पानीले हात धुनु होला। भोलि कोरोनाको उपचार गर्ने बेला आउँदा सेनिटाइजर काम लाग्छ। पुगिसरी आउँदा बाडौँ, नभए सही ठाउँमा प्रयोग गर्न दिउँ।
३. मेयर वा स्वास्थ्य संयोजकले पिपिई लगाएर कोरोना भाग्दैन। पिपिई किन्ने वा माग्ने वा बाड्ने काम नगरौँ। यदि तपाईको पालिकामा फिबर क्लिनिक चलाउनु हुन्न र कोरोनाका शंकास्पद बिरामी बोक्ने एम्बुलेन्स छैन भने पिपिई तपाइलाई चाहिदैन। याद गर्नुहोस्, कोरोनाका बिरामी उपचार गर्ने बेलामा स्वास्थ्यकर्मीलाई पिपिई नभई हुन्न। त्यसैले अहिले स्याललाई मार्न मिसिन गन चलाउने अनि बाघ आयो भने के मट्यांग्राले मार्ने हो?
४. अहिले हातमा लगाउने सर्जिकल पन्जा र एन-९५ मास्क लगाएर हिड्ने धेरै देखियो। कृपया यसको पनि सदुपयोग होस्। यी किन्ने वा माग्ने काम नगर्नु होस्। खरीद भन्ने बित्तिकै सबैलाई जाँगर चल्दो रहेछ। यो दुख नगर्नुहोस्। बरु तपाईले खरीद गर्न छुट्याइएको रकम प्रदेश वा केन्द्र सरकारलाई दिनुहोस्।
५. एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवागमनमा कडाई गर्ने सरकारी निर्णय आयो। यो आउने बित्तिकै स्थानीय सरकारहरु बाटोमा ढाट लगाउने, मुढा तेर्साउने र बाटो अबरुद्ध गर्ने काम नहोस। कृपया याद गर्नुहोस, प्रसुती पीडाले छट्पटिएकि महिला मात्र होइन अन्य इमर्जेन्सीमा नि त्यही बाटो भएर एम्बुलेन्स हुइकिनु पर्छ। अनुशासित बनौँ, संयमित बनौँ, अनावश्यकलाई रोकौँ, आवश्यक पर्ने कोही नारोकिउन।
६. याद गर्नुहोस स्थानीय सरकार मातहतमा कोरोना उपचार गर्न सक्ने अस्पताल छैनन्। तर प्रदेश वा केन्द्र मातहतका अस्पतालले तपाइकै पालिकाका मानिसहरुलाई कोरोना भएमा उपचार गर्ने हुन्। त्यसैले यस्ता अस्पतालको क्षमता अभिबृद्धि गर्नु जरुरी छ। स्थानीय सरकारले यसमा अग्रसर भएर काम गर्दा राम्रो हुन्छ |
७. कसैले के दियो वा दिएन भनेर गाली वा ताली भन्दा मैले के गरे भन्ने लेखाजोखा राख्नुहोस।
८. कुन संघ को? कुन प्रदेश को? र कुन स्थानीय तहको भन्नुभन्दा यसले कसलाई सेवा दिन्छ र यदि मेरा पालिकाका मान्छेलाई सेवा दिन्छ भने मैले कसरी सहयोग गर्न सक्छु भन्ने बानीको विकास गरौँ। उदाहारणको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान संघ मातहत हो, तर यसले प्रदेश नम्बर १ र धरानलगायत पूर्वका धेरै पालिकाहरुका मानिसहरुलाई सेवा दिन्छ। ए यो त संघको अस्पताल हो, संघले गरिहाल्छ नि भन्नुभन्दा आखिर मेरै नागरिकलाई सेवा दिईरहेको छ भन्ने सोचेर प्रदेश र स्थानीय सरकारले सहयोगी हातहरु फैलाउनु राम्रो हुन्छ।