कोरोना भाइरसको महामारीले संसार नै हल्लाइदिएको छ। सन् १९१९ को स्पेनिस फ्लूपछि मानव जातिले सामना गर्नु परेको यो नै सबैभन्दा ठूलो महामारी हो।
यो महामारीसँग लड्न संसारकै शक्तिशाली राष्ट्र अमेरिकालाई हम्मेहम्मे परिरहेको छ। युरोपका शक्ति केन्द्र बेलायत, इटाली, स्पेन, जर्मनी र फ्रान्सको दैनिक जनजीवन र अर्थव्यवस्था तहसनहस भइरहेको छ।
शक्ति राष्ट्रहरूलाई आच्छुआच्छु भइरहेका बेला बलियो स्वास्थ्य प्रणाली र सामाजिक सुरक्षाको जालो नभएको नेपालमा पनि कोरोनाको संक्रमण फैलिए धान्न गाह्रो हुनेछ।
सुखद कुरा यो छ कि अहिलेसम्म कोरोना भाइरस नेपालमा धेरै फैलिइसकेको छैन।
तर हामी ढुक्क हुने अवस्था छैन।
आजसम्म सरकारले गरेका काम हेर्दा हाम्रो तयारी निकै फितलो देखिन्छ।
नेपालमा पहिलोपटक जनवरी २४मा कोरोना संक्रमित देखिएका थिए। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) जनवरी ३१ मा विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको थियो।
संकटकाल घोषणा भएको ६० दिन बित्दा पनि हामीले कोरोनासँग जुझ्न सामान्य तर महत्वपूर्ण तयारी पनि पूरा गर्न सकेका छैनौं।
स्वास्थ्य क्षेत्रमा फ्रन्ट लाइनमा काम गर्ने डाक्टर, नर्सदेखि सरसफाईकर्मी, एम्बुलेन्स चालकले व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) पाएका छैनन्।
संक्रमितसँग सम्पर्कमा आएकाको ट्रेसिङ र टेस्टिङ एकदमै सानो संख्यामा भइरहेको छ। अहिलेसम्म हामीले कम्तिमा दैनिक १००० जनाभन्दा बढीको परीक्षण गर्न सक्ने पूर्वाधार बनाउन सक्थ्यौं।
कोरोनाका बिरामीको उपचार गर्ने निश्चित अस्पतालहरू तोक्न सकेका छैनौं।
डब्लुएचओले नै भनेको छ- हामीले जति नै गरे पनि स्वास्थ्यकर्मीलाई बचाउन सकेनौं भने अरू केही पनि काम लाग्दैन। डाक्टर, नर्स नै बिरामी भए भने कसले कसलाई बचाउने?
दु:खको कुरा नेपालले अहिलेसम्म सर्वसाधारणलाई जोगाउने त परको कुरा स्वास्थ्यकर्मीलाई जोगाउने सामानको जुगाड गर्न सकेको छैन।
मार्च २६ मा चीनबाट ल्याएका सामान काम नलाग्ने भएपछि अहिले नेपाली सेनाले मेडिकल सामग्री ल्याउने भनिएको छ। सेनाले विभिन्न देशमा पत्राचार गरेको छ। सामान कहिले आउने हो ठ्याक्कै टुंगो छैन।
एकातिर सुरक्षाका सामान छैनन् डाक्टर, नर्सले काम गर्नलाई जति छन् त्यति पिपिईलगायतका सामग्री देऊ भन्दा
सरकारले लाइसेन्स खारेज जस्तो धम्की दिएर उनीहरूको मनोबल गिराइदिएको छ।
यो अवस्था हिजोको आज रातरात भएको होइन। बितेका ६० दिनमा सरकारले गरेको हेल्चक्र्याइँको उपज हो।
यी ६० दिनमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालका अभिव्यक्ति र व्यवहार हेरे थाहा हुन्छ- सरकारले कोरोना भाइरसको संक्रमणलाई कुन गहिराइका साथ ट्याकल गरिरहेको थियो।
सुरूमा ढकालले भन्नुभयो- हामीबाट उच्च तयारी भयो। हामीले खुट्टा कमाउने बेला छैन। नेपाल ग्रीन जोनमा छ। नेपालको ल्याबलाई डब्लुएचओले धेरै प्रशंसा गर्यो।
कोरोनाको संक्रमण त्रास फैलिने डर बढ्दै जान थालिपछि उहाँ झन् विवादमा पर्नुभयो-मेरा घरमा पाहुना आएका छन्, मलाई पिपिई भन्या के हो थाहा छैन।
सरकारका अर्का मन्त्री योगेश भट्टराईले पनि यो बीचमा एकदमै गैरजिम्मेवारपूर्ण कुरा गर्नुभयो।
फेब्रअरी १९ मा मन्त्री भट्टराईले भन्नुभयो-आजसम्म नेपालमा कोरोनाको कुनै बिरामी भेटिएको छैन। नेपाल आजसम्म सुरक्षित छ। हामीले उच्च सतर्कता अपनाएका छौं। यो सन्देश विश्वभरि फैलाऔं। भन्ने कुराको बिरोध किन हो? हिनताबोधको मानसिकता!
जतिबेला मन्त्री भट्टराई एकदम सतर्कता अपनाइरहेका छौं भन्दै हुनुहुन्थ्यो त्यतिञ्जेल कन्ट्याक्ट ट्रेसिङको कुरा आइसकेको थियो। त्यो गर्न सजिलो पनि थियो-जोजो विदेशबाट आएका छन् उनीहरूको मोबाइल नम्बर लिने, बस्ने ठाउँ काठमाडौंबाट बाहिर कुन ठाउँ जाने र परिवारका सदस्यको विवरण लिने।
तर त्यतिबेला कसैले यस कुरामा ध्यान दिएन। बरू मन्त्री भट्टराईले चीन र भारतका विमानस्थलमा राम्रो जाँच भइरहेकाले हामी आत्तिनु जरूरी नभएको अभिव्यक्ति दिनुभयो। भ्रमण वर्ष २०२०लाई जसरी पनि सफल पार्ने उहाँको एकमात्र उद्देश्य जस्तो देखिन्थ्यो।
उहाँले नेपाललाई कोरोनामुक्त देश भन्दै चिनियाँ पर्यटक ल्याउने सपना पनि सुनाउनु भयो।
भट्टराईले नेपाल कोरोनाको ग्रिन जोन भनेको तीन दिनपछि देशमा लक डाउन भयो।
अहिले फर्केर हेर्दा उहाँ के सोच्नुहुन्छ होला!
सबैभन्दा निराशाजनक कामचाहिँ उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलबाट भयो। पछिल्लो समय उहाँ कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको संयोजक हुनुहुन्छ। यस हिसाबले हेर्दा कोरोनाविरूद्धको लडाइँको मोर्चा उहाँले नै सम्हाल्नु भएको छ। तर यो लडाइँमा अंग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीले लगाउने लुगासमेत उहाँले ल्याउन सक्नु भएन। सुरूमा चीनबाट ल्याएका सामान काम नलाग्ने भए। ठेक्का पाएको कम्पनी फर्जी निस्कियो। राजनीतिक सम्बन्धका आडमा ओम्नी समूहले पाएको ठेक्का रद्द भयो तर अब कहिले सामान आउँछ टुंगो छैन।
आजीवन राजनीतिमा होमिनुभएका उपप्रधानमन्त्री पोखरेललाई यो नयाँ विषयको ज्ञान थिएन, कुन किटले बढी टेस्ट गर्न सक्छ उहाँले जान्ने कुरा भएन। तर उहाँले विज्ञ डाक्टरको सल्लाह लिन सक्नुहुन्थ्यो। विज्ञको सल्लाह लिएर त्यही रफ्तारमा काम गर्नुको साटो अहिले सरकारले मेडिकल सामग्री ल्याउने जिम्मा नेपाली सेनालाई सुम्पिदिएको छ।
जब देशमा लक डाउन भयो। कोरोना संक्रमित १ बाट बढेर ९ पुगे बल्ल सरकार कुन अस्पतालमा कति भेन्टिलेटर छन् भनेर कहाँ-कहाँ प्रयोगशाला राख्ने बनाउने भन्ने सोधखोजमा लाग्यो।
सबैलाई थाहा छ, हामी अमेरिका, चीन, इटालीजस्तो देश नै होइनौं। हाम्रो स्रोत उनीहरूभन्दा धेरै कमजोर छ, न हाम्रोमा सबैको स्वास्थ्य बीमा नै छ। तर हामीले उनीहरूले भन्दा हामीले तयारीका लागि धेरै समय पाएका छौं।
माथि भनिएझैं तयारी र व्यवस्थापन गर्न अझै समय छ। त्यसका लागि सबैभन्दा पहिला सरकारले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गराउनुपर्छ। कसरी हुन्छ चाहिनेजति पिपिई ल्याउनु पर्यो। धेरैभन्दा धेरै मानिसको परीक्षण गर्नु पर्यो अनि कोरोना भाइरसको उपचारका लागि डेडिकेटेड अस्पतालहरू बनाउनु पर्यो।