हे मेरो अत्यन्त सानो मित्र, यो चराचर जगतमा तिमी पनि पहिलेदेखि नै विचरण गरिरहेको थियौ होला। तर भर्खर तिमी हामीसँग परिचय दिदैँछौ।
हुन् त तिमीसँग पहिला पनि हाम्रो भेट भएको होला। तर न तिमीले आफ्नो परिचय दियौ न हामीले सोध्यौँ होला। के थाहा तिम्रो यात्रामा कुनै दिन मान्छे रुपी २/३ तारे वा बढेमानका ५ तारे हात्ती होटल वा परापूर्वकालमा विलय भइसकेका ७ तारे डाइनोसर होटलमा कति दिन अनि रात बितायौ होला।
तर खोइ तिम्रो वास्तविक परिचय भर्खर खुल्दैछ। हुन त तिम्रा दाजुभाइहरु पटकपटक घुम्न आएकै हुन्। कहिले के नाम अनि कहिले के नाम, सशस्त्र द्वन्दको बेला माओवादी कामरेडहरुको नाम परिवर्तन भइराखे जस्तै नाम परिवर्तन गर्दै घुमेकै हुन्।
अहिले तिम्रो आवागमन दक्षिण भारतीय फिल्मको हिरो जस्तो छ- खतरा इन्ट्री। हुन त तिमी हिरो कि भिलेन सबैलाई थाहा छ। चीनबाट तिम्रो यात्रा सुरु भो भन्ने हामीलाई लागेको छ, तर तिम्रा साखासन्तानहरु अन्य ठाउँमा पनि थिए कि त्यो खोजी कै विषय छ।
चीननै तिम्रो परिचय दिन उपयुक्त ठाउँ किन रोज्यौ त्यो तिमीलाई नै थाहा छ। तर आज तिम्रो यात्रा बडा गज्जबको छ। न पासपोर्ट, न भिजा तिमी सबैतिर विचरण गर्दै छौ। तिमी के चाहन्छौ त्यो मलाई थाहा छैन तर निश्चित रुपमा तिमीले मेरो विगत, वर्तमान र भविष्यलाई टक्क एक ठाउँमा अढिन लगाएर सोच्न बाध्य बनाएका छौ।
द्रुत गतिमा उडिरहेका हवाईजहाजहरु, बुलेट रेलहरु र सधै हतारमा हुने मान्छेका भीडहरु अकस्मात रोकिएका छन्। मलाई थाहा छैन टक्क रोकिएर विगतको बारेमा कति चर्चा गर्दैछन्। तर निश्चितरुपमा वर्तमान र भविष्यको बारेमा संसार सोच्न बाध्य भएको छ।
के धनी, के गरिब, के कालो, के गोरो, जात वर्ण, नस्ल, के विकसित, के अविकसित, सारालाई एउटै कित्तामा ल्याएर सोच्न बाध्य बनाएका छौ। जीव विज्ञानमा जीव जगतको वर्गीकरण गर्दा, तिमी र म एउटै पानामा अटाएकै हौँ। त्यसकारणले हामीले मित्रताको हात बढाएकोनै हो र तिम्रो अस्तित्व स्वीकारेकै हो।
त्यसैले कोरोना तिमी र म जीव विज्ञानको एउटै पानामा अटाएको नाताले मित्रवत सम्बन्ध हुनुपर्छ भन्ने मलाई लाग्छ। म मान्छे त्यो जीव विज्ञानको पानामा अलि बढी स्वार्थी भएको तिमीले त होइन, अरु धेरैले भनेको सुनेकै हो। बाघ पनि मित्र नै हो, उ जंगलमा मंगलसाथ बसेको नै सुहाउँछ। तर मेरो स्वार्थले चिडियाखानामा ल्याएर थुनेको छु।
विचरा चार दिवारभित्र निरिह जस्तै देखिन्छ त्यो जंगलको राजा। कति चिडिदो हो मसँग। हर दिनरात त्यो जंगलको राज सम्झेर मसँग बदलाको भावभन्दा केही सोच्दैन होला। तर मैले तिमीलाई प्रतक्ष कहिँ केही नराम्रो गरे जस्तो लाग्दैन। मित्र, तैपनि तिमी यति धेरै रिसायौ कि सारा भौतिक मानव निर्मित सीमा, नाकाहरुमा विद्रोह गरेर सबलाई ठीक पर्छु भनेर निस्केका छौ।
हो, तिम्रो गति हाम्रो गतिभन्दा कयौँ गुणा तेज छ। अहिले त अझ हामी गतिहीन भएका छौँ, तिम्रो द्रुत गति देखेर हामी चकित र थकित हुनुको विकल्प नै कहाँ दियौ र तिमीले। अरु प्रजातिको त कुरै पर जाओस्, हामी हामीमै पनि कहाँ पो मित्रता थियो र?
मान्छेहरु भोकमरीले मरीरहँदा त्यसैमाथि व्यापार गरेकै हो, पहिलो र दोश्रो विश्व युद्ध लडेकै हो र धन दौलत, जात, धर्म, वर्ण, लिंगका लागि पनि अविरल लडेको र लडिरहेकै हो। आफैँलाई सखाप अनि ध्वस्त पर्न सक्ने गोली, बारुद अनि बम र मिसायल बनाएकै हो। मान्छेले सबैभन्दा ठूलो शत्रु मान्छे नै देखेको छ र उसकै विरुद्ध घृणा बाढ्ने खेती गरेकै छ।
मलाई थाहा छैन तिम्रो मान्छेको जस्तो आफैँ बनाएका मन्दिर, चर्च, गुम्बा अनि मस्जिद अनि उनैले राखेका विभिन्न आकार प्रकार, रुप रंगका देउता छन्/छैनन् वा मान्छेको जस्तो धर्म छ/छैन। तर तिमीलाई मान्छेले धर्मको बिल्ला भिराईदियो भने अनौठो नमान्नु है। यस्तै खेती गर्दागर्दै तिमी कहिले रिसायौ पत्तोनै पाएन मान्छेले।
तर पनि लडाई बराबरी को हुनु पर्छ, तिमी हामीभन्दा कयौँ गुणा बलवान छौ। तिमीले हामीसँग लड्नुको कुनै बहादुरी होइन। हुन त तिमीले म कहाँ लड्दैछु र म त खाली हे मान्छेहरु हो आफ्नो स्वार्थ र विलासीताको लागि जीव जगतका पानामा अटाएका सारा अरु प्राणीहरुलाई कठपुतली नसम्झ भनेर चेतावनी मात्र दिदै छु भन्न पनि सक्छौ। जीवन प्रिय छ सबैका लागि, भनिन्छ सर्पले पनि टोक्दैन उसलाई खतरा महशुस नभएसम्म।
मस्त सुतिरहेको जंगलको राजा सिंहको माथिबाट बढेमानको जहाज उड्दा हामीले एक पटक पनि सोचेनौँ होला कि उसको घरमा उ कति भयवित भएर बस्छ, बाटो खन्दा कति प्राणीको बासस्थान उठिबास लाग्यो होला। अझ भनौँ समुन्द्रमा ट्यांकरका ट्यांकर खनिज तेल पोखिदा तड्पी तड्पी कति जलचर प्राणीहरुको ज्यान जान्छ होला। बागमती र विष्णुमति देखेर तिमीलाई आफ्नो तागत अझ बढी देखाईदिउ जस्तो लाग्दो हो मानिसहरुलाई।
हे मेरो मित्र कोरोना, तिमीले यो सबै प्राणीहरुको साझा घर हो। सबैको उत्तिकै अधिकार छ भनेर भन्न खोजेको हो भने म यसमा पूर्णसहमति जनाउछु। र पटकपटक घुडा टेकेर माफी माग्न तयार छु आफ्नो गल्तीहरु प्रति। मलाई थाहा छ, तिमी मान्नेवाला छैनौ। तर पनि म अनुरोध गर्न चाहन्छु, जंगलको राजा सिंह जंगलमा नै राजा हो, चिडियाखानामा होइन। तिमी पनि आफ्नो राजमा नै गइदेउ।
विचरा मानिस बन्दक भएको छ, मन्दिर भनिने घर जेल भएको छ, आफन्तहरु पराई भएका छन्, मन्दिर मस्जिद, चर्च गुम्बाहरु अनि अन्य आस्थाका केन्द्रहरु सुनसान भएका छन्, विस्तारै विश्वास उड्दै गएको छ। हुँदाहुँदा धर्मकै लागि लडिरहेका अल काइदा, बोको हराम चुप लागेका छन्। मिसाइल बनाउन आदेश दिनेहरु औषधि अनि भ्याक्सिन बानाउने अनुरोध गर्दैछन्।
मै हुँ भन्नेको घमण्ड सिथिल भएको छ र आफैँमाथिको विश्वास कम हुँदैछ। यो विरासत, वैभव स्थाई होइन, अस्थाई हो भनेर बुझ्दै छ मान्छेले। हार्यो मान्छे र जित्यौ तिमीले, अब कृपया कोरोना तिमी आफ्नो राजमा गइदेउ, आफ्नो घरमा फर्किदेउ।
हो, तिम्रो सर्त- मान्छे सुध्रिनु पर्छ भन्ने हो र म मान्छे मेरा गल्तीहरुको निर्मम समीक्षा गर्छु, अनि यो साझा पृथ्वी सबैको घर हो भन्ने सत्यलाई आत्मासाथ गर्दै अघि बढ्ने विश्वास दिलाउन चाहन्छु। बस तिमी आफ्नो घर गइदेउ।