यति बेला कोरोना भाइरस महामारीका कारण धेरै मान्छे घरै बस्न बाध्य छन्। अन्य मुलुकजस्तै हाम्रो देश पनि लकडाउनमा छ। विश्व विद्यालयदेखि विद्यालय तहसम्मका शिक्षण संस्था बन्द छन्। शिक्षक, विद्यार्थी सबै घरमै छन्। लकडाउनले घरभित्र बस्न बाध्य म एक महिनादेखि घरको वातावरणको अध्ययन गरिरहेकी छु।
म काठमाडौंको हाँडीगाउँमा भाडाको घरमा पहिलो सन्तानका रूपमा जन्मिएको हुँ। म संयुक्त परिवारबाट टाढा रहेर एकल परिवारमा आमाबाबाको काखमा हुर्किएँ। सात महिनादेखि शिशु स्याहार प्रवेश गरेँ। जब हुर्कंदै गए, विद्यालय प्रवेश गर्नुका साथै घरपरिवार, आफन्त र समाजलाई बुझ्दै गएँ। मेरा जुम्ल्याहा भाइहरू जन्मिए।
उनीहरूको आगमनले धेरै रमाइलो भइरहेको थियो। उनीहरूको हाँसो, रूवाइ, निद्रा सबै मलाई रमाइलो लाग्थ्यो। भाइहरू जब बामे सर्दै तोते बोली बोल्न थालेका थिए। मेरो पढाइमा बाधा नआओस् भनेर बाबाआमाले कक्षा ५ देखि बुढानिलकण्ठ स्कुलको होस्टलमा बसेर पढ्ने गरी राखिदिनुभयो।
म भर्खर १० पूरा गरेर विद्यालय प्रवेश गरेको भए पनि त्यहाँको वातावरण, शिक्षक र साथीहरूको सामिप्यताले रमाउन थालेँ। लामो समयको अन्तरालपछि हुने छोटो बिदामा मात्र म घर आउँथे, रमाउँथे। लामो समयदेखिको होस्टलको बसाइले हुर्कंदै जाँदा घरको वातावरणको बारेमा जान्न पाएकी थिइनँ। अहिले मेरो पढाइ ए-लेभल सकिन लागेको छ।
कोरोनाका कारण गरिएको लकडाउनले म घरमा नै आमाबाबा र भाइहरूसँग बसेर समय बिताइरहेकी छु। यो समय घर परिवारको बारेमा फुर्सदले अध्ययन गर्ने बाबाआमाबाट सामाजिक संस्कारका विषयमा सिक्ने अवसरको रूपमा लिएकी छु। भर्खर १० वर्षमा प्रवेश गरेका जुम्ल्याहा भाइहरूमा कोरोना त्रास त देखिन्छ। त्यसैले उनीहरू घरीघरी बाबाआमालाई बाहिर नजानु, केही छोएपछि साबुनपानीले हात धुनु, बाहिरबाट आउँदा हात धुनु भनिरहन्छन्।
तै पनि घरको वातावरणमा उनीहरू मभन्दा बढी रमाइरहेका, खेलिरहेका, हाँसिरहेका देखेर म छक्क पर्छु। उनीहरू आमाबाबासँग साथी जस्तै व्यवहार गर्छन्। आमाबाबासँग सँगै घरायसी काम गर्छन्। घरको कोठाकोठा र आँगनमा बिना अलमल रमाइरहेका हुन्छन्। तर मलाई हरेक काममा अलमल हुन्छ। स-साना काममा पनि हात जान गाह्रो अनुभव हुन्छ। मलाई स-साना काम पनि सजिलै सम्पन्न हुन्छ जस्तो लाग्दैन र अलमलिरहन्छु।
अहिले जति लकडाउन लम्बिँदै जाँदैछ त्यति घरभित्रको वातावरणको बारेमा सिक्दै गइरहेकी छु। प्रयोगात्मक रूपमा व्यवहारमा ल्याउन थालेकी छु। म जस्तै होस्टलमा बसेर पढ्ने विद्यार्थीहरूका पनि मेरो जस्तै समस्या होला यो अवसरमा हामी सबैले आ-आफ्ना अभिभावकबाट व्यवहारिक ज्ञान सिक्न सक्यौं भने अवश्य भोलिका दिनमा घरपरिवार र सामाजिक वातावरणमा घुलमिल हुन सहज हुन्छ।
लकडाउनले व्यक्ति, घर, समाज, राष्ट्र र विश्वलाई दैनिक जीवनमा असर पुर्याउँदा दुःख लाग्दो अवस्था त छ। तै पनि अहिले यसलाई अवसरको रूपमा लिएर समय बिताइरहेकी छु।
बाबाआमासँग कोठा सरसफाइ, लुगाधुने, खाना बनाउने, भाडा माझ्ने मात्र नभई सधैं व्यस्त हुने बाबासँग पूरा समय लिएर सान्दर्भिक विषयमा छलफल गर्दै मेरो जिज्ञासा पूरा गर्छु। यसरी सबै अभिभावकले यस समयमा आफ्ना बालबालिकालाई समय दिन सक्नुभयो भने धेरै राम्रो हुन्छ।
मलाई मेरा भाइहरूको मिलनसार, लगनशील, फुर्तिलो, सन्तुष्ट, खुसी हुने बानीले धेरै खुसी बनाउँछ। घर र विद्यालयमा रमाइरहेका एकै उमेरका भाइहरू अहिले चौबीसै घण्टा घर आँगनमा बस्दा पनि झैझगडा, पिटापिट, रिसारिस गर्दैनन्। उनीहरूमा हर क्षण आमाबाबालाई खुसी बनाउन देखिएको जोस, जाँगर, आज्ञाकारीता देखेर अचम्मित हुन्छु। यो उमेर झगडा गर्ने, दुःख दिने उमेर भए पनि उनीहरूको असल व्यवहारले आमाबाबालाई र मलाई दैनिक कामकाजमा सहज भएको छ।
केही समयअघिदेखि जुम मिटिङबाट भाइहरूको अनलाइन कक्षा सुरू भएको छ। यो सुरू हुने कुराले भाइहरू यति धेरै खुसी भएकी बयान गरी साध्य छैन। पहिलो दिनको कक्षापछि भाइहरू खुसीले गदगद हुँदै विद्यालय नै पुगेर आएजस्तो गरेर पढाई, साथीहरू, सरम्यामका कुरा गरिरहेका थिए।
मलाई उनीहरू स्कुल नै पुगेर आएको अनुभूति भइरहेकाे थियाे। उनीहरूको खुसीले मलाई यस्तो लाग्यो, यो अवस्थामा सबै विद्यालयले अनलाइन कक्षा चलाउन सके विद्यार्थीहरू धेरै लाभान्वित हुनुका साथै व्यस्त हुन्थे। विद्यार्थी बरालिएर बस्ने थिएनन्। तर हाम्रोजस्तो मुलुकमा सबैतिर यस्तो कक्षा सञ्चालन गर्न धेरै गाह्रो छ।
हाम्रो विद्यालयले पनि अनलाइन कक्षा सुरु गरेको भन्ने सुन्दा धेरै खुसी त लाग्यो। तर सबै विद्यार्थी उपस्थित हुन सके-सकेनन् भन्ने पनि लागिरहेको छ। किनकी लकडाउन अगाडि नै धेरै विद्यार्थी अभिभावकसँग गाउँ पुगिसकेका थिए। फेरि गाउँमा त के सहरमा पनि सबै ठाउँमा बत्ती, नेट, कम्प्युटर, मोबाइल, आदि हुँदैन। भए पनि फेसबुक चलाएजस्तो होइन। सबैलाई डाउनलोड गर्न चलाउन नआउने पनि त हुन सक्छ। विकसित देशमा जस्तो हाम्रोमा अनलाइन कक्षा सहज छैन। अझ दुःखजिलो गरेर, ज्याला मजदुरी गरेर, अरूको आश्रयमा बसेर सरकारी विद्यालयमा अध्ययन गर्ने धेरै विद्यार्थीलाई आकाशको फल आँखा तरी मर भने जस्तै हुन्छ।
मेरो ए-लेभलको परीक्षा नजिक आएको र कोर्ष सकिएकाले अनलाइन कक्षामा सहभागी हुन पाइनँ। यसले गर्दा शिक्षक र साथीसँग सामाजिक रूपमा टाढा छु तर भावात्मक रूपमा सात-आठ वर्षको रमाइलो वातावरणको बसाई बिर्सन सक्दिनँ।
भोलिका दिनमा वातावरण अनुकूल भएपछि दिनुपर्ने परीक्षाको तयारी, घरायसी काम, भाइहरूको रूटिनमा खुसी साथ समय बिताउन बानी परेको छ। यसलाई अवसरको रूपमा लिएर कथा, कविता, उपन्यास, पत्रपत्रिका, सामान्यज्ञानका किताब पढ्ने, लेख्ने गरेर समय बिताउँछु।
मनोरञ्जनका लागि भाइहरूसँग खेल्ने, खेलाउने गरिरहेकी छु। आमाबाबाले मिडियामा दिइएका सुझाव, सल्लाह अनुसार शिक्षाप्रद फिल्म, टेलिसिरियल हेर्छु र कोरोनासम्बन्धी समाचारमा अपडेट हुन्छु।
हामी खुसी र सुखी रहन हामीमा सन्तोष, सहनशीलता, लगनशीलता, इमानदारिता, आदि भावना आउनुपर्ने रहेछ। म मेरो बाबाआमा, भाइहरू जसले मलाई आत्मबल बढाउन सल्लाह, सुझाव, माया, ममता दिनुभयो उहाँहरू प्रति धेरै खुसी छु।