मन्त्री ज्यू तपाईंलाई थाहा छ, कसरी बाँच्छ किसान?
प्रिय कृषिमन्त्री घनश्याम भूषाल ज्यू,
२०७५ साल मंसिरमा एउटा पत्रिकामा मैले तपाईंको 'कसरी बाँच्छ कम्युनिष्ट पार्टी ?’ पढेको थिएँ।
म तपाईंको लेख र विचारको प्रंशसक हुँ। त्यो लेखले मेरो मथिंगल हल्लाइदिएको थियो। कुनै एउटा पार्टीको भविष्यलाई लिएर मात्र होइन हाम्रा नेताहरूमध्ये यत्तिको विद्वान लेखक पनि छन् भन्ने थाहा पाएर। तपाईंको अध्ययनशीलताले मलाई दंग पार्छ।
त्यसभन्दा अघि पनि लाग्थ्यो, त्यस दिनदेखि झनै लाग्यो – यस्ता विद्वानहरूलाई किन सरकारमा कुनै जिम्मेवारी दिइँदैन?
ठीक एक वर्षपछि २०७६ मंसिर ४ गते एकाएक यहाँलाई कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी दिइएको खबरले साँच्चै नै खुसी भएँ।
त्यसपछि अचानक तपाईं देखिन छोड्नु भो। सुनिन छोड्नु भो। मलाई लाग्यो कोही हल्ला गर्छन्, काम गर्दैनन्। कोही काम गर्छन् , हल्ला गर्दैनन्।
लाग्यो, यहाँ पक्कै पनि दैनिक १८ घण्टा खटिएर देशमा कृषि प्रणालीको आमूल परिवर्तनको लागि वरिपरि कृषि विज्ञहरू राखेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउनमा व्यस्त हुनुहुन्छ।
दैनिक सय जना 'दलाल' भेट्ने नेतामा यहाँ पक्कै पर्नुहुन्न। जब देखिनुहुनेछ, कृषिमा आमूल परिवर्तनका लागि दरिलो खाकासहित देखिनुहुनेछ। जब सुनिनुहुनेछ, देशको कृषि उत्पादन र उत्पादकत्वको हालको तथ्यांकको अलावा ५ वर्ष, १० वर्ष, १५ वर्ष र २० वर्ष पछिको तथ्यांक मात्र होइन उक्त तथ्यांकमा पुग्न स्पष्ट कार्ययोजनासहित सुनिनुहुनेछ।
मलाई लागिरह्यो, यहाँको तथ्यांकमा हाल विदेशबाट गरिने वार्षिक २.२५ खर्बको कृषिजन्य वस्तुको आयात आगामी ३ वर्षभित्र शून्यमा झारिने र पाँचौं वा १० वर्षमा हाल आयात गरिने परिमाणकै कृषि उत्पादन विदेश निर्यात गरिने प्रष्ट खाकासहित तपाईं बाहिर बोल्न आउनुहुनेछ।
मलाई लागिरह्यो, यहाँ जस्तो अध्ययनशील, वैचारिक, जुझारू अनि भुइँमान्छेसँगको संसर्गमा आनन्द महशुस गर्ने व्यक्तिले नेतृत्व गरेपछि विस्तारै यो 'सतीले सरापेको देश'का किसानहरूका दिन फिर्नेछन्।
यहाँहरूले भन्दै गरेको तर जनजनले विस्तारै पत्याउन छोडेको समृद्ध नेपालको फ्रन्टलाइनमा किसानहरू हुनेछन्।
सुरूवाल माथि सार्दै तपाईं किसानहरूसँग खेत खेतमै गएर कृषि उत्थानको लागि अब के के गर्नुपर्छ भनेर सोध्नुहुने छ।
अबको १० वर्षमा देशको कूल अर्थतन्त्रको हाल कायम करिब २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रको योगदानलाई कसरी ८० प्रतिशत पुर्याउन सकिन्छ भन्नेमा उनीहरूसँग विमर्श गर्नुहुनेछ। आखिर तपाईं 'असार १५ गतेमात्र रमाइलो गर्ने मन्त्री’ पक्कै होइन।
सन् २०१९ मा ११ लाख विदेशी पर्यटक नेपालको हिमाल, मन्दिर र डाँडाकाँडा हेर्न आए। तपाईं मन्त्री भएपछि मलाई लागिरह्यो, तपाईंले यस्तो कृषि नीति ल्याउनुहुने छ जसले अबको १० वर्षपछि यहाँको कृषि प्रणाली हेर्न विदेशीहरू आउनेछन्।
१० वर्षमा नेपालको पहाडहरूमा सल्ला, उत्तिस, सालको मात्र जंगल हुनेछैन। तराईमा आँप, कटहर, केराको जंगल हुनेछ। हिमाली क्षेत्र स्याउको जंगलले ढाकिनेछ। पहाडका लिची, अम्बा, भोगटेका जंगलबाट हजारौं टन फलफूल मात्र बेच्ने छैनौं। यिनको बेचविखनबाटै वैदेशिक मुद्रा आम्दानी गर्नेछौं।
अहिले वैदेशिक रोजगारीको नाममा अत्यन्त जोखिमपूर्ण काम गरेर निकृष्ट जीवन बिताइरहेका ३० लाख नेपालीहरू आफ्नै देश फर्केर सम्मानित किसानको जीवन बिताउने छन्।
आखिर महासागरमा नेपालको पानीजहाज चलाउनेभन्दा पनि अफ्रिकामा नाच्न बाध्य नेपाली चेलीप्रति बढी संवेदनशील मन्त्री घनश्याम भुसाल जो हामीले पाएका छौं।
ओहो, भ्रममा बाँच्नु पनि कति आनन्द हगि मन्त्री ज्यू? म त भुइँ छोडेर कता कता हावासँगै उडेछु। अब भुइँमै टेक्छु है? मन्त्री ज्यू।
तपाईं दैनिक हाजिर गर्न जाने सिंहदरबारको माथिल्लो तल्लाबाट दूरविन लगाएर हेरे पनि २० किमि परको वरिपरिको काँठ क्षेत्र तपाईं देख्नसक्नुहुन्न। सहरका अग्ला भवनले सिंहदरबार घेरिएको जो छ।
काँठ क्षेत्रमा धेरै किसानहरू छन्। तिनीहरू काक्रो, गोलभेंडा, साग, आलु फलाउँछन्। बजारमा बेच्छन्। गर्जो टार्छन्। तिनीहरूले सिंहदरबारप्रति खासै कहिल्यै केही गुनासो गरेनन्।
ती काँठका किसानलाई यो देशमा सरकार छ भन्ने कुराको थप महशुस लकडाउन घोषणाले गरायो। उनीहरू हवस् भनेर घरमै बसे। आफ्नो खेतबारीमा काँक्रो, गोलभेंडा, मटरकोसा, काउली, बन्दाको पनि तिनले पर्वाह गरेनन्। त्यहीँ पारी चार किलोमिटर पर बजारसम्म पनि किसानहरूका तरकारी पुग्न सकेन। खेतबारीमै सुके। कुहिए।
खैर, सुकेर, कुहिएर बाँकी रहेको तरकारी अनि भित्र्याउन ठीक्क भएको अन्नबाली असिनाले ध्वस्त बनायो। तिनीहरूले उखान सम्झिँदै मन बुझाए - बढी भए पनि खेर जन्तीले खाए पनि खेर।
आखिर उखानमै मन बुझाउन अभ्यस्त प्रजा न परे।
अनि नि मन्त्री ज्यू, त्यहीँ काँठमा कुखुरा पाल्ने किसानहरू पनि प्रशस्तै छन्। तपाईंको सरकारले लकडाउनमा अत्यावश्यक वस्तु आपूर्ति सहज हुने भनेर नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत् भनेको कुरा पनि यहाँका किसानले पत्याएका थिए। तर कुखुराको दाना बन्द भयो। विक्रीका लागि तयार भएको कुखुरा पनि काँठेहरूसँगै लकडाउनमा परेपछि बजारसम्म पुर्याउन सकिने कुरै भएन। प्रतिगोटा ३०० भन्दा बढी लगानी भएको कुखुरा भोकै मार्नुभन्दा प्रतिगोटा १०० मा विक्री गर्न खोजे किसानले। तै पनि विक्री हुन सकेन।
ती किसानहरू घरभित्र बस्दा के गरे कुन्नी बाहिर रूँदै हिँडेको देखिएन। सायद तपार्इंको सरकारले खेती गर्ने किसानलाई जस्तै कुखुरा पालेका किसानलाई पनि भावनाले देश चल्दैन भनेर राम्ररी बुझाएकोले हुनुपर्छ।
काँठका यी किसानहरू गाईभैंसी पनि निकै पालेका छन् मन्त्री ज्यू। तपार्इंको सरकारले फ्याट्ट लकडाउन भनिदियो। यिनीहरूका गाईभैंसीका दूध पनि लकडाउनमै परे।
दाना नपाए पनि घाँस पराल खुवाएर गाईवस्तु त बचाए। दूधले बजार पाएन। तै पनि सिंहदरबारतिर घुरेर हेरेनन्। फेसबुकमा फोटो, भिडिओ राखेजस्तो हाइवेमा दूध पोखेनन्। मुख्य कुरा तपाईंलाई डिस्टर्ब गरेनन्।
लकडाउनको डेढ महिना पछि पत्रिकाले लकडाउन अवधिमा भारतबाट चार अर्बको तरकारी आयात भएको कुरा छापेको कुरा पत्याऊँ कि नपत्याऊँ काँठका किसानहरूलाई दुविधा भएको छ। चार किलोमिटर परको बजारमा पुर्याउन नसकेको तरकारी सयौं किलोमिटर परबाट कालीमाटी आइपुग्यो भनेर पत्याउनन् कसरी?
यी काँठका किसानमात्र होइन चितवन, सर्लाही, सिरहा, बाँकेकै तरकारी पनि खेतमै कुहिएका रहेछन् नि। त्यही बाटो हुँदै भारतदेखि तरकारी आएको हो क्यारे।
लकडाउनको पछिल्लो समयमा बजार तरकारी बजार पुर्याउन केही सहज भएको छ।
सुकेर, झरीले कुहिएर, असिनाले नदेखेको तरकारी व्यापारीले ५ रुपैयाँ प्रति केजीमा उठाएर त्यहीँ पारी ४ किलोमिटरको दूरीमा ३० रुपैयाँ केजीमा विक्री गर्छ।
काँठका किसानलाई यो देशमा बजार अनुगमन गर्ने निकाय पनि छ भन्ने थाहा छ तर पनि मुखमा ताल्चा झुण्ड्याएर बसेका छन्। किनकी यस्ता अनुगमन गर्ने निकायहरूलाई दसैंको छेकोतिर देखा पर्दा मात्र फाइदा हुन्छ भन्ने तिनलाई थाहा छ। अझ कालीमाटीबाट बारम्बार लखेटिएको पनि तिनलाई थाहा छ।
हिजो बेलुकी मात्र एक वृद्ध बा दुखेसो गर्दै थिए, वर्षा लाग्यो, अघिपछि त देशी मल पाइन्नथ्यो। यसपालि झन् के पाइएला र?’
यी बुढालाई भनिदिनु न मन्त्री ज्यू, ज्यानभन्दा ठूलो मल हो? भावनाले देश चल्छ?’
अनि नि माननीय मन्त्री ज्यू, तपाईंलाई एक वर्ष अगाडि 'देशको हालत हेर्दा छाती पिटी पिटी रोऊँ जस्तो लागेको' थियो।
अहिले देशभरिका किसानहरूको अवस्था देख्दा छाती पिटी पिटी रोऊँ जस्तो लाग्छ कि लाग्दैन?
रिसानी माफ होस् मन्त्री ज्यू, ठीक एक वर्ष अघि यहाँले सोध्नुभएको प्रश्न यहाँलाई नै सोध्न मन लाग्यो, हामी समाजवाद बाटोमा छौं कि सत्यानाशको ?’