'ए तिमी यतै पो छौ? कहिले आएकी?'
आफन्त काकीको ठाडो प्रश्न। गाउँमा विदेश नजानुले अचम्म पार्न थालेछ। तर विदेशिनु सङ्घर्ष कि अहोभाग्य?
करिब दुई वर्ष काठमाडौँबाहिर काम गरेर भर्खरै आफ्नो घर फर्किएकी मलाई त्यो प्रश्नले एकछिन अवाक् बनायो। ती काकी जसका दुई सन्तान आफ्नो देशभन्दा बाहिर छन्। एक छोरी जर्मनीमा अनि अर्का छोरा र बुहारी अमेरिकामा। उनका श्रीमान् अस्ति भर्खरै एक्कासि प्रेसरको चाप बढेर हप्ता दिन अस्पतालको शय्यामा लडेर आएका हुन्। अस्पतालमा कुर्ने मान्छे नभएर आफन्त र साथीभाइले निकै सहयोगी भूमिका खेले रे भन्ने चर्चा खुब चलेको थियो।
'तिमी चाहिँ विदेश नजाने?' काकी मतिर अर्को प्रश्न तेर्स्याउँदै हुनुहुन्थ्यो।
यो प्रश्न सुन्दा 'तपाईंका छोराछोरीले सामाजिक सञ्जालमा घुमेको, खाएको, नाचगान गरेको जस्ता फोटो र भिडिओ पोस्ट्याएको हेर्दाहेर्दै म आफैँ जर्मनी र अमेरिकाका सबै ठाउँ घुमेर आएझैँ भइसकेको छ' भन्ने जवाफ मनमा फ्याट्ट नआएको भने होइन।
तर बोलेर दिने जवाफमा मैले प्रफुल्ल मुद्रामा भनिदिएँ, 'आजको मलाई विदेशिने रुचि ठ्याक्कै छैन। कुनै दिन इच्छा जागेछ र आवश्यकताले मागेछ भने त्यो पनि सोच्ने फुर्सद निकालौँला।'
मुख बिगारेको शैलीमा उहाँ भन्नुहुन्छ, 'यहीँ पनि कमाएकी छ्यौ, राम्रै छ त, भइगयो नि!'
काकीसँग यति बात भइरहँदा मेरो मस्तिष्कले अनेक कुरा मगजभरि एक-एक फन्का नचाउन भ्याइसकेको थियो। सायद मेरा बा-आमालाई पनि आफ्ना छोराछोरी विदेश गएका हुन्थे भने आफन्त र चिनेजानेकाहरूसँग भेटघाटका क्रममा झारे फुर्ती देखाएर यस्तो भन्ने रहर हुँदो हो, 'अँ, छोराछोरी विदेशमै छन्। दुई वर्षअघि मात्रै नेपाल आएर फर्केका।'
अझ उहाँहरूलाई मौका मिले देश-विदेश घुम्ने रहर पनि हुँदो हो। तर यता छोराछोरी भने विदेशिएका आफन्त र साथीभाइलाई बिदाइको हात हल्लाउन त्यो विमानस्थलको हाताभित्र पस्दा मात्र पनि मन कुँडिएर, आँखा रसाएर फर्किने स्वभावका छन्। अझ कर नपरेसम्म त्यो विमानस्थलको प्रवेशद्वारबाट भित्र पस्न नपरे हुन्थ्यो भन्ने सधैँ मनमा भइरहन्छ।
स्वदेशमा मरी-मरी कमाएको मासिक आय झलक्क सम्झन्छु, 'यता कमाएको आयले मेरा बा-आमालाई फिनल्यान्ड, टर्की जस्ता देश घुमाउन सकिए, आहा!' झट्टै यस्ता कल्पनाबाट ब्युँझिएर बा-आमालाई भन्न मन लाग्छ, 'प्रिय बा-आमा, परदेश त भन्न सक्दिनँ तर प्रदेश भने हामीसँगै घुमौँला है!'
प्रत्येक दिन १५०० देखि २१०० भन्दा बढी युवा मातृभूमि छोडेर लामो उडान भर्दै कतै न कतै पुगेर, केही पाउने आशामा हरियो पासपोर्ट, केही थान सुटकेस, काँधमा मातृभूमिको राष्ट्रिय झन्डा, शिरमा अग्रजको आशीर्वाद अनि गह भरिएर छताछुल्ल पोखिएका आँसुका धारा लिएर चेकिङ लाइनमा उभिएकाहरूलाई सिधा नजरले हेर्न मलाई निकै गाह्रो पर्छ।
मेरो बुबाले केही समयअघि भन्नुभएको कुरा सम्झँदा आज पनि मलाई अझै मातृभूमिमा मैले सकेको गर्नुपर्छ भन्ने हौसला मिल्छ।
उहाँ भन्नुहुन्छ, 'पहिले-पहिले चिनेजानेकाहरूसँग भेटघाटको क्रममा उनीहरूले आफ्ना छोराछोरी विदेशमा छन् भन्ने सुनाउँदा, मेरा छोराछोरीले पनि विदेशिने मन गरे हुन्थ्यो भन्ने लाग्थ्यो। तर हिजोआज गाह्रो समयमा ती आफन्तको अवस्था देख्दा मेरा छोराछोरी जहाँ छन्, जे गर्दैछन्, ठिक छ, आफ्नै आँखा अगाडि छन्। यो देख्दा मन शान्त हुन्छ। आफ्नो इच्छा गरुन्।'
हिजोआज आफ्नो भूमि छोडेर नपरदेशिनुले आफन्त, साथीभाइ, चिनेजानेकाहरूलाई अचम्मित बनाउन थालेको छ। यस्तो अचम्ममा पर्नु वास्तवमा अनौठो कुरा भने होइन। परदेशिनु भनेको नेपालको एक प्रचलित संस्कार जस्तै भइसकेको छ। परिवारका सदस्यमध्ये कोही एक परदेशिएका छैनन् भने त्यो परिवार नेपाली संस्कृतिमा पछि परेको महसुस गराइदिन्छ, वर्तमान समाजले।
म भने आजको दिनसम्म स्वदेशमा नै बसेर श्रम गरिराखेकी छु, कहिलेकाहीँ प्रदेश र जिल्ला भने घुम्न छोडेको छैन। कामकै सिलसिलामा र अन्य फुर्सदको समयमा हिमाल, पहाड र मधेस घुमिराख्दा मेरो मस्तिष्कले विचार गर्छ, 'जिन्दगी यति रमणीय हुँदाहुँदै आखिर भूमिको माया चटक्कै छाडेर किन विदेशिनु पर्छ होला?'
यस्तो बेला म मेरा केही नजिकका साथीको सम्झना गर्छु, जो बाध्यताले विदेशिएका थिए र आज पनि सुन्दर भविष्यको कल्पनामा उतै सङ्घर्षरत छन्। केही परिचितहरू यस्ता पनि छन् जो रहरै रहरमा त्रिभुवन विमानस्थलबाट बिदाइका हात हल्लाएर उडेका छन्। अहिले विदेशतिर हुत्तिन लालायित भएको जमात हेर्दा धेरै जना बाध्यताभन्दा रहरै रहरमा खुला आकाशमा उड्ने चाहना गरिरहेको जस्तो लाग्छ।
हुन त परदेशिनु भनेको स्वदेशको माया मार्नु होइन, न त नराम्रो योजना नै हो। तर जब विदेशिने सोच आउँछ, आफ्नो वास्तविक लक्ष्य के हो, केका लागि अर्काको मुलुकमा जाने भन्ने निश्चयता हुन चाहिँ जरुरी छ जस्तो लाग्छ।
कोही फेरि विदेशिने रहर पूरा गर्ने चक्करमा झुटो विवाह (फेक म्यारिज) को प्रपञ्च रचेर विदेशतिर हाम फाल्न कसिएका छन्। विवाह जस्तो पवित्र बन्धनलाई झुटको (फेक) रूप दिनेहरू वास्तवमा कसरी अर्काको मुलुकमा रहेर साँचो भविष्यको कल्पना गर्न सक्छन् होला?
केही व्यक्तिहरू विधिअनुसार विवाह गर्छन्, 'अब उप्रान्त सँगै जिउने र मर्ने, मृत्युले अलग नगराएसम्म एकअर्काबाट नछुटिने' बाचा गर्छन्। तर तिनै व्यक्तिहरू बाचा-बन्धन बाँधेको केही दिन नबित्दै आफ्नो श्रीमान् अथवा श्रीमतीलाई स्वदेशमा लामो समयका लागि छोडेर पलायन हुन्छन्। कतिको त यस्तै गर्नुपर्ने बाध्यता हुन्छ, त्यो कतिपय अवस्थामा बुझ्न सकिन्छ तर सात जुनी सँगै जिउने बाचा गरेकाहरूले केही वर्ष त सँगै जिउन भ्याउँदैनन् भने प्रश्न यो छ कि विधिअनुसार बाचा गरेजस्तै सात जुनी तिनले साँच्चै सँगै कटाउलान् त?
विदेशमा अध्ययनको सिलसिलामा सङ्घर्ष गरिरहेका मेरा केही साथीभाइ अनि आफन्तसँग कहिलेकाहीँ भिडिओ कलमा गफ गर्दै गर्दा मैले तिनका हरेक बोलीमा थकान, चिन्ता र भोको सपना पूरा गर्ने उत्कट इच्छा मिश्रित आवाज गुञ्जिरहेको पाउँछु। कहिलेकाहीँ अस्वस्थ हुँदा 'आज आराम गर्छु' भन्ने छुट विदेशमा नहुने रहेछ। विदेशिने रहर गर्नु आफैँमा एउटा चुनौतीपूर्ण निर्णय हो। यस्ता निर्णय गर्नेहरूमा पक्कै भोकाएका सपनाहरूले पिरोलिरहेको हुनुपर्छ।
मेरो हितैषी मित्र जो करिब १२ महिनादेखि विदेशमा रोजगारीको सिलसिलामा पुगेकी छिन्, उनी जिस्किएको भावमा साँचो कुरा यसरी व्यक्त गर्छिन्, 'विदेशी जिन्दगी यस्तै हुने रहेछ, के दिन, के रात? आफ्नै नेपाल ठीक। यहाँ त सधैँ उस्तै तालिका: काममा जाऊ, आऊ, फ्रिजको खाना तताऊ, खाऊ, केही घण्टा सुतेझैँ गर, उठ, काममा जाऊ, आऊ...'
अर्काको मुलुकमा जानेहरू के रहरले, के बाध्यताले, आखिर उस्तैउस्तै दुःख, लगभग एकै खाले सङ्घर्ष अनि उत्तिकै थकानमा जीवन कटाइरहेका त छन् नि, हैन र?
यति भन्दै गर्दा मेरो सादर अनुरोध ती बा-आमा, अग्रजहरूलाई जसका आफन्त, छोराछोरी, श्रीमान्, श्रीमती अथवा चिनेजानेका परदेशमा अध्ययन, रोजगारी वा अन्य सिलसिलामा विदेशिएका छन्, उनीहरूप्रति नम्र बनिदिनुहोस्। अर्काको मुलुकमा तिनीहरू तपाईंकै खातिर भोक र प्यास नभनी आफ्नो जीवन गुजारा गर्न, बैंकको ब्याज तिर्न, तपाईंको औषधि उपचार खर्च जुटाउन, तपाईंका आवश्यकता पूरा गरिदिएर तपाईंलाई खुसी बनाउन आदि-इत्यादिका लागि दिन र रात नभनेर मिठो निद्रालाई बिथोल्दै श्रम गरिरहेका छन्।
यता तपाईं आफन्त र चिनेजानेकालाई झारे फुर्ती लगाएर क्षणिक वाहवाही कमाउने कष्ट नगर्नुहोस्। बरु उनीहरूको मनको व्यथा सुनेर सहारा बनिदिनुहोस्। उनीहरूलाई जुन सपनाले त्यहाँसम्म डोर्याएको थियो, ढिलो चाँडो त्यो एक दिन पक्का पाउनेछौ भनेर सम्झाउनुहोस्, सान्त्वना र उत्साह दिनुहोस्।
हाम्रा छिमेकमा, चिनेजानेका वा आफन्तमा विदेशिने रहर नदेखाएका छोराछोरी छन् भने घरीघरी घोचपेच गर्ने ढङ्गले 'तिमी चाहिँ विदेश नजाने, किन नि? उमेरमै जानुपर्छ है! फलानालाई हेर त!' जस्ता प्रश्न र झारे सल्लाह पनि नदिनुहोस्। कति त परदेशमा केही वर्ष रोजगारी र अध्ययन गरेर स्वदेश फिर्ता भएर विभिन्न सीपमूलक काममा व्यस्त भएर रमाएर जीवन व्यतीत गरिरहेको हाम्रै समाजमा प्रस्ट देखिरहेका छौँ त।
वास्तवमा स्वदेश बस्नेहरू सबै बिना काममा दिन कटाउनेहरू मात्रै हुँदैनन् भन्ने हामीले बुझ्न जरुरी छ। उनीहरूको आफ्नै सपना, योजना र सङ्घर्ष हुन्छ। आफ्नै दुःखसुखका कथाहरू बोकेर सपनाका चुली बोकेर यताउता गरिरहेका हुन्छन्। बरु यसो गर्नु उचित होला! तिनीहरू जे गर्दैछन्, त्यसैमा अझ राम्रो गर्ने हौसला दिनुहोस्। ताकि तिनीहरू आफूले गरिरहेको काममा अझ लगनशील र मिहिनेती बन्न सकून् अनि आफूले विदेशको बाटो नरोजेकोमा पनि खुसी हुनुपर्ने वातावरण बन्न सकोस्।
जानेहरू त आफ्नै दुःखले, रहरले वा बाध्यताले गइसकेका छन्, सकेको गरिरहेका पनि छन्, अझै राम्रो गरुन् भन्ने शुभकामना। तर जति जना हामी स्वदेशी भूमिमा छौँ, आफूले वर्तमानमा गर्दै गरेको कामधाममा निराश भएर हरेस खानुपर्ने अवस्था भने सिर्जना नगरौँ। स्वदेशमा र परदेशमा मिहिनेत गर्ने सबैलाई शुभकामना!