प्रत्येक मानिससँग विभिन्न सपनाहरू हुन्छन्। कसैले सुन्दर घर बनाउने सपना देख्छ, कसैलाई उच्च शिक्षा हासिल गर्ने रहर छ, कसैको लक्ष्य आफ्ना आमा–बुबाको सपना पूरा गर्नु हो भने कोही चाहन्छ जसरी पनि समाजमा केही सकारात्मक परिवर्तन ल्याउन। यी विविध सपनाहरूबीच मानिसहरू एउटै बिन्दुमा आएर जोडिन्छन्, त्यो हो— सोच।
सोच भनेको केवल विचारको खेल होइन, यो त आत्माभित्रको एउटा उज्यालो हो जसले मानिसलाई निराशाको घेराभित्र पर्नबाट जोगाउँछ। सोच त्यो बीउ हो जसलाई सहनशीलता, परिश्रम र आशाले सिंचाइ गरिन्छ। समय, परिस्थिति र संसार परिवर्तनशील छ तर सोच भनेको त्यो पत्थर हो, जुन आँधी आए पनि उभिएर रहन्छ, जुन भित्रैबाट बल दिइरहन्छ— जीवनलाई।
जीवन कहिले सरल हुन्छ त कहिले पीडादायी। कहिले सुखका दिनहरू आउँछन् त कहिले अँध्यारा रातहरू लम्बिन्छन्। त्यस्ता रातहरूमा जब आँखा रुन थाल्छन्, तब मनको कुनै कुनाबाट एक आवाज आउँछ— तिमी सक्छौ, उठ फेरि! त्यो आवाज अरू कसैको नभई सोचको हो। सोच त्यो हो, जसले हजारौँ चोटका बाबजुद पनि मनभित्र आशाको झिल्को निभ्न दिँदैन।
कसैले जब सानो ठाउँबाट ठूला सपना देख्छ, उसको लक्ष्यभन्दा पहिले उसको क्षमतामाथि प्रश्न उठाइन्छ— यसले के गर्यो र यसले नि केही गर्न सक्ला र? समाजले सधैँ काम गर्नुभन्दा पहिले नै मूल्याङ्कन गरिदिन्छ र कमजोर बनाउन लागिरहन्छ तर सोचले आत्ममूल्य बुझाउँछ र आफ्नो कर्ममा लागिरहन्छ।
धेरैजसो असल सोच भएका मानिसहरू नै प्रारम्भमा कमजोर आर्थिक, सामाजिक वा भावनात्मक अवस्थाबाट अघि बढेका हुन्छन्। उनीहरू जिन्दगीलाई सजिलो बाटोबाट होइन, सङ्घर्षको साँघुरो बाटोबाट आएका हुन्छन् तर सोचले तिनै साँघुरा बाटाहरूलाई विशाल राजमार्ग बनाउँछ र अन्धकारबाट उज्यालोको भरोसातिर लम्किरहन्छ।
सफल मानिसहरू सजिलै सफल भएका हुँदैनन्। उनीहरू पनि थुप्रै पटक रुँदै निदाएका हुन्छन्, उनीहरू पनि धेरै पटक एक्लोपनसँग लडेका हुन्छन्, विभिन्न खाले समस्याहरूसँग जुधेका हुन्छन् तर फरक के हुन्छ भने— उनीहरूको सोच कहिल्यै थाकेन, कहिल्यै झुकेन र कहिल्यै मरेन।
हाम्रो समाजले बाहिरी सफलता हेर्छ— धन, पद र शक्ति। तर सोच त्यो अदृश्य सम्पत्ति हो जुन साँचो अर्थमा जीवनको परिभाषा बदल्न सक्ने शक्ति राख्दछ। पदले मात्र अधिकार दिन्छ तर सोचले जीवन हेर्ने दृष्टिकोण दिन्छ। धनले नाम दिन सक्छ, तर सोचले इज्जत कमाउँछ।
हामी प्रायः अरूको कमजोरी चाँडै देख्छौँ तर आफ्नै आत्मसाक्षात्कार गर्न डराउँछौँ। अरूलाई दोष दिन सहज हुन्छ तर ऐनामा आँखा जुधाउने हिम्मत गर्न कठिन हुन्छ। जीवनको सबैभन्दा ठूलो परीक्षा बाहिरी लडाइँ होइन— आफ्नो सोचसँगको अन्तरद्वन्द्व हो। जब सोचमा स्पष्टता आउँछ, तब जीवन सहज हुँदै जान्छ।
प्रत्येक व्यक्तिमा एक अद्भुत शक्ति हुन्छ, जसलाई उसले प्रायः अनुभूति नै गर्दैन। त्यो शक्ति उसको सोचभित्र लुकेको हुन्छ। सोच सकारात्मक भयो भने त्यही सोचले एक दिन संसारलाई चकित पार्न सक्छ। उदाहरण टाढा जानुपर्दैन, हाम्रो वरिपरि नै यस्ता थुप्रै व्यक्तिहरू छन्— जो असम्भव जस्तो लाग्ने कुरा सम्भव बनाउँछन्।
असल सोच भनेको केवल 'सब ठीक हुन्छ' भन्ने आशा होइन, त्यो हो— 'म ठीक बनाउँछु' भन्ने दृढ आत्मबल हो। सोच त्यो शक्ति हो, जुन अभावमा पनि अडिग रहन सघाउँछ र सफलताको हिँडाइ अगाडि बढाइरहन्छ। सोच बदलियो भने जीवन बदलिन्छ, नियति बदलिन्छ अनि एउटा साधारण मानिसको यात्रा असाधारण बन्न पुग्छ।
हामीलाई प्रत्येक दिन अनेक कुराहरूले थिच्ने गर्छन्— भविष्यको डर, भूतको आत्मग्लानि, वर्तमानको अनिश्चितता। तर यी सबैबाट माथि उठेर आफूभित्रको सोचको उज्यालो बाल्न सकियो भने जीवन आफैँ परिवर्तन हुन थाल्छ।
सकारात्मक सोच भनेको केवल उत्साह होइन, त्यो जीवनप्रतिको श्रद्धा हो, आशाको गहिरो बोध हो। सोच यति शक्तिशाली हुन्छ कि उसले केवल व्यक्तिको होइन, पुस्ताको भविष्य बदल्न सक्छ।
अन्ततः सोच हाम्रो सबैभन्दा ठूलो साथी हो— न देखिने, न सुनिने तर सधैँ साथमा रहने। जस्तो सोच, उस्तै जीवन। त्यसैले सोचलाई सिँगार्नुहोस्, सम्भार गर्नुहोस् र अझ मजबुत बनाउनुहोस् ताकि हाम्रा पाइलाहरू केवल लक्ष्यतर्फ मात्र होइन, आत्मसन्तुष्टितर्फ पनि डोरिऊन्।