मौरीको परिश्रम र सामूहिक जीवनशैलीको प्रशंसा पौराणिक कालदेखि नै हुँदै आएको छ। एउटै घार वा गोलामा प्रजातिअनुसार १५ हजारदेखि ७० हजारसम्म मौरीहरू बसोबास गर्छन्, जुन औसतमा एउटा गाउँपालिकाको जनसङ्ख्याभन्दा पनि बढी हो।
त्यति ठूलो सङ्ख्यामा मौरीहरू कसरी एउटै घारमा मिलेर बस्छन्?
उनीहरूको खटनपटन कस्तो हुन्छ?
यी प्रश्नहरू अत्यन्तै रोचक छन्। मौरीको व्यवहार र जीवविज्ञानको अध्ययनमा संलग्न वैज्ञानिकहरूका अनुसार, मानिसले मौरीको सामाजिक संरचना र निर्णय प्रक्रियाबाट धेरै कुरा सिक्न सक्छन्।
मौरी गोलाभित्र कर्मी मौरी, रानी मौरी र भाले मौरीको स्पष्ट कार्यविभाजन गरिएको हुन्छ। कर्मी मौरीहरूले उमेरअनुसार फरक-फरक जिम्मेवारी लिन्छन्— जस्तै चाका सफा गर्ने, शाही खुराक (रोयल जेली) उत्पादन गर्ने, मैन बनाउने, चाका निर्माण गर्ने, घारको रक्षा गर्ने, फूलको रस, हनी-ड्यु र पराग सङ्कलन गर्ने आदि।
प्युपाबाट मौरी बन्नासाथ उसको पहिलो काम चाकामा टाँसिएर बसेर न्यानो दिनु हुन्छ। त्यसपछि ऊ रानीले अण्डा पार्ने कोशहरू सफा गर्छे र शारीरिक विकाससँगै विभिन्न ग्रन्थिहरूबाट शाही खुराक, मैन, विष आदि उत्पादन गर्दै अन्य नियमित कार्यहरूमा संलग्न हुन्छे। आवश्यकता र अवसरहरूलाई मध्यनजर राखी यी जिम्मेवारीहरूमा हेरफेर पनि हुन सक्छ।
नेपालको रैथाने घार मौरी ‘एपिस सेराना’ मा एक-अर्कालाई सहयोग गर्ने र सामूहिक भावना अत्यन्त बलियो हुन्छ। घारको सरसफाइमा उनीहरू विशेष ध्यान दिन्छन्। उदाहरणका लागि, १०० वटा छाउरालाई सियोले घोचेर मारेको खण्डमा २४ घण्टा नबित्दै ती सबै मृत छाउरालाई बाहिर फालेर कोश सफा गरिसकेको पाइन्छ। त्यस्तै कुनै कोशमा सुलसुले किरा देखिएमा अर्को मौरीले त्यसलाई तुरुन्त निकाल्ने गर्छे।
अरिङ्गालले मौरीको आक्रमण गरेमा ठूलो सङ्ख्यामा कर्मी मौरीहरूले सामूहिक रूपमा आक्रमण गरी गोलो झुन्ड बनाएर आफ्नै तापद्वारा अरिङ्गाललाई मारिदिन्छन्। मौरी घारको सुरक्षाका लागि ज्यान फाल्न पनि तयार हुन्छन्। उनीहरूले चिलेमा/खिल गाडेमा ज्यानै जान्छ, तर घारको रक्षाका लागि यो त्याग गर्न पनि उनीहरू पछि पर्दैनन्।
तापक्रमको सन्दर्भमा पनि मौरी अद्वितीय छन्। बाहिरी तापक्रम चाहे ५० डिग्री सेल्सियस होस् वा शून्यभन्दा कम डिग्रीमा झरोस्, मौरीहरूले छाउरा भएको चाकामा सधैँ ३३–३४ डिग्रीको तापक्रम कायम राखेका हुन्छन्। उनीहरू कुनै बेला भित्री सर्कलमा पुग्छन् त कुनै बेला बाहिरी सर्कलमा अदल-बदल गर्ने गर्छन्, जसले गर्दा सबै मौरीलाई समान रूपले न्यानो तथा चिसो मिल्छ। मौरीहरूको यस्तो न्यायोचित र समान व्यवहारबाट हामीले पनि धेरै सिक्न सक्छौँ।
मौरीहरूले पुष्परस तथा पराग सङ्कलन गर्न र छाउरा हुर्काउनका लागि ६ समभुजावाला कोशहरू भएको मैनको चाका बनाउँछन्। यी कोशहरूको निर्माणशैली निकै प्रशंसनीय छ। कम मैन प्रयोग गरेर, सानो ठाउँमा धेरै वस्तु भण्डारण गर्न मिल्ने यस्तो डिजाइनले डार्विनसहित थुप्रै वैज्ञानिकहरूलाई चकित पारेको छ।
नोबेल पुरस्कार विजेता कार्ल फन फ्रिशका अनुसार मौरीहरू सूचना आदानप्रदानको निकै रोचक तरिका अपनाउँछन्। कर्मी मौरीले नाचेर अरूलाई कुन फूलमा रस चुस्दा बढी लाभ हुन्छ, त्यो स्रोत कति टाढा र कुन दिशामा छ भन्ने सन्देश दिन्छन्। रानी मौरीले आफ्नो ग्रन्थिबाट विशिष्ट रसायन (फेरोमोन) उत्सर्जन गरेर सम्पूर्ण घारका मौरीहरूलाई सङ्गठित राख्छे। यही रसायनका कारण मौरीहरू आफ्ना घारका साथीहरूलाई अन्य घारका मौरीहरूसँग छुट्याउन सक्षम हुन्छन्।
निर्णय प्रक्रियामा मौरीले अपनाउने लोकतन्त्र
अमेरिकाको कर्नेल विश्वविद्यालयका प्राध्यापक डा. थोमस सीलीका अनुसार, मौरीहरूको निर्णय प्रक्रियाबाट मानिसले धेरै कुरा सिक्न सक्छ। उनको चर्चित पुस्तक ‘हनिबी डेमोक्रेसी’ मा मौरीहरूले हुल छुट्टिएर अर्को ठाउँमा जाँदा कसरी निर्णय गर्छन् भन्ने विषयमा विश्लेषण गरिएको छ। उनको अनुसन्धानअनुसार, मौरीहरू घार छोड्नुअघि एउटा सानो टोली बनाउँछन्। टोलीका सदस्यहरूले सम्भावित नयाँ स्थानहरूको जानकारी सङ्कलन गर्छन्। प्रायः २० वटासम्म विकल्प प्रस्तुत गरिन्छ। तीमध्ये कुन स्थान उपयुक्त हुन्छ भन्ने विषयमा मौरीहरूबीच बहसजस्तै प्रक्रिया हुन्छ र अन्ततः बहुमतको आधारमा निर्णय गरिन्छ। नेतृत्वको भूमिका सहजीकरणमा ज्यादा हुन्छ ताकि बहुमतले रुचाएको उपयुक्त निर्णय गर्न सकियोस्। नेतृत्वकर्ताले आफ्नो विचार जबर्जस्ती लाद्दैन भन्ने कुरा उनको अनुसन्धानले स्पष्ट पारेको छ।
मौरीले आफू बाँच्नका लागि चाहिने भन्दा पनि घारको अवस्थालाई हेरेर मह सङ्कलन गर्दछन्। एक किलो मह उत्पादन गर्न मौरीले गरेको उडानको कुल दूरी पृथ्वीलाई चार पटक परिक्रमा गरे बराबर हुन्छ। १२ वटा मौरीले जीवनभर सङ्कलन गरेको पुष्परसबाट जम्मा एक चम्चा मह मात्रै उत्पादन हुन्छ। यसका आधारमा हामी अनुमान गर्न सक्छौँ— मह कति मेहनतबाट उत्पादन हुन्छ।
यही कारणले गर्दा अधिकांश धर्मग्रन्थहरूमा महको पवित्रता, औषधीय गुण र पोषणीय मूल्यको चर्चा पाइन्छ। महमा एन्टिबायोटिक, एन्टिसेप्टिकलगायत थुप्रै औषधीय तत्त्व र भिटामिन तथा पोषक तत्त्वहरू पाइन्छन्। कोभिड-१९ को सन्दर्भमा पनि महको चर्चा व्यापक भएको थियो। चीनको वुहानमा गरिएको एउटा सर्वेक्षणअनुसार मौरीपालक कृषकहरूमा कोरोना सङ्क्रमणको जोखिम कम देखिएको रिपोर्ट गरिएको छ, यद्यपि यो विषय अझ वैज्ञानिक अनुसन्धानको निष्कर्षमा पुग्न बाँकी छ।
नेपालमा मौरीपालनको सम्भावना
नेपाल मौरीपालनका दृष्टिले अत्यन्त सम्भावनायुक्त देश हो। यहाँ ५ प्रजातिका मौरीहरू पाइन्छन्— हिमाल–पहाड क्षेत्रमा भिर मौरी, तराई–मधेस क्षेत्रमा पाइने खागो मौरी र स-साना बुट्यानमा चाका बनाउने कठ्यौरी मौरी (यी तीन प्रजाति घारमा पाल्न नसकिने)। तर रैथाने जातको एपिस सेराना र व्यावसायिक उत्पादनका लागि भित्र्याइएको एपिस मेलिफेरा प्रजाति भने घारमा पाल्न सकिन्छ। युरोप, अमेरिका, अफ्रिका जस्ता क्षेत्रहरूमा भने एकै प्रजातिका मौरी मात्रै पाइन्छन्।
नेपालको भूगोल, मौसम, जैविक विविधता, कृषि प्रणाली र वनजङ्गलको अवस्था मौरीपालनका लागि अत्यन्त उपयुक्त छ। हाल उत्पादित महको तुलनामा दशौँ गुणा बढी उत्पादन गर्ने सम्भावना छ। उदाहरणका लागि, चिउरीको पुष्परसबाट मात्र १५ हजार टनभन्दा बढी मह उत्पादन गर्न सकिने अनुमान छ तर हाल कुल उत्पादन करिब ५ हजार टनमै सीमित छ।
विश्व बजारमा महको माग तीव्र गतिमा बढिरहेको छ। मौरीबाट उत्पादन हुने अन्य सामग्रीहरू—मैन, विष (बी भेनम), शाही खुराक, प्रोपोलिस आदिबाट पनि राम्रो आम्दानी सम्भव छ। तर, मौरीको सबैभन्दा महत्त्वपूर्ण योगदान भनेको पराग-सेचन (पोलिनेसन) सेवा हो। पुष्परस र पराग सङ्कलन गर्ने क्रममा मौरीले पराग-सेचन गर्छन्, जसले बिरुवामा फल र बिउ बन्ने प्रक्रिया सम्भव बनाउँछ। हामीले उपभोग गर्ने झन्डै ७५% खाद्यवस्तुहरू पराग-सेचनकै परिणाम हुन्। पराग-सेचक जीवहरूमध्ये मौरीको भूमिका सबैभन्दा प्रभावकारी र अतुलनीय छ।
त्यसैले, मौरीपालनको महत्त्व र सम्भावनालाई पहिचान गरी मौरी संरक्षण र व्यावसायिक मौरीपालनमा लगानी गर्नु अपरिहार्य छ।
(लेखक मौरी र महका अध्येता हुन्)