पोखरा सहरको कथा: अध्याय ७
गाइने दाइको सारंगीले जीवनको कथा भन्छ
काम गर्ने भोकै मर्ने चलनको अन्त्य हुनुपर्छ
— स्वरः मिलन स्वर्णकार, संगीतः सुशील विश्वकर्मा, शब्दः मोती नेपाली
गोरखाका राजा पृथ्वीनारायण शाहले दुईपटक आक्रमण गर्दा पनि कीर्तिपुर जित्न नसकेपछि मनिराम गाइनेलाई बोलाएर भने, 'तिमी कीर्तिपुर जाऊ। सारंगी बजाउँदै त्यहाँको वस्तुस्थिति बुझ। फौजको अवस्था बुझ। कीर्तिपुरमा कुन दिन के–कस्ता गतिविधि हुन्छन्, बुझेर जाहेर गर।'
आफ्नो गीत–संगीतबाट गोर्खाली फौजमा आत्मबल भर्न योगदान गरेका मनिराम राजाको आदेश पाएपछि सारंगी रेट्दै, गीत गाउँदै कीर्तिपुर प्रवेश गरे।
उनी कीर्तिपुरका घर–घर डुले। बस्ती–बस्ती घुमे। सारंगीको धुनमा मग्न कीर्तिपुरवासीले मनिराम जासुसी गर्न आएका हुन् भन्ने पत्तै पाएनन्। बरू 'कति मिठो गीत गाउने गाइने आएछ' भन्दै उनलाई अन्नपात दान दिए। लाउने–खाने व्यवस्था पनि गरिदिए।
कीर्तिपुरवासीलाई सारंगीको धुनमा भुलाएर मनिरामले कीर्तिपुरको संस्कृति बुझे। त्यहाँका देवीदेवताका शक्ति चिने। मन्दिरहरूमा हुने नित्य पूजाआजा, टोलटोलमा हुने भोजभतेर र सहरभरि मनाइने जात्रापर्वहरू देखे।
उनले नेपाल (नेवारी) भाषा सिके। सारंगीको धुनमा नेपाल भाषाकै गीत गाए।
गैरनेवारको मुखबाट नेपाल भाषाको गीत सुनेपछि त झन् कीर्तिपुरवासी दंगै परे!
एक कान, दुई कान हुँदै मनिरामको चर्चा कीर्तिपुरका राजासम्म पुग्यो। उनले मनिरामलाई दरबारमा निम्ता दिए।
मनिराम अब दरबारमा गीत गाउने भए। उनले राजाको कर्खा गाए। कीर्तिपुरको वैभव र रैतीका गीत गाए। देवीदेवताका भजन गाए।
यसरी कीर्तिपुरको वस्तुस्थिति बुझेर मनिराम गोरखा फर्किए।
पृथ्वीनारायणको राजसभामा हाजिर भएर कीर्तिपुरको कथा सुनाए। सांस्कृतिक चालचलन र राज्यशक्तिको बखान गाए। कीर्तिपुरमा पाएको दानदक्षिणा पनि पृथ्वीनारायणको पाउमा चढाए।
कीर्तिपुरबाट गोरखा फर्किँदा मनिरामको सारंगीको तारमा नेवारी गीत पनि झुन्डिएर गएको थियो। उनले गोरखा फर्किएर तिनै नेवारी गीत सुनाए।
त्यति बेला मनिरामले सुनाएका ती नेवारी गीतहरू गोरखाका वयोवृद्ध गन्धर्वहरूको स्मरणमा अहिले पनि जीवित छन्। उनीहरू बेला बेला ती गीत गाउँछन्। र, सँगसँगै नुवाकोट र कीर्तिपुर आक्रमणमा मनिरामले खेलेको भूमिकाको बखान सुनाउँछन्।
तिनैमध्ये एक हुन्, ८४ वर्षीय मंगलप्रसाद गान्धारी।
मनिराम गाइने स्मृति प्रतिष्ठानका अध्यक्ष मंगलप्रसाद गान्धारी। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
उनी मनिरामका सातौं पुस्ताका नाति हुन्, जसको गला र सारंगीको धुनमा मनिरामले सुनाएका नेवारी भाषाका गीत पुस्तान्तरण भएर आएका छन्।
उनले एउटा नेवारी गीत पनि सुनाए, जसको नेपाली भावानुवाद यस्तो छ —
बाघ भैरव, टीका भैरव
मुलुकभर बिफरको व्यथा आयो
तीन कोठाभित्र राख्दा पनि
त्यहाँभित्र बिफरको व्यथा छिर्यो
राजाको छोरा मर्यो
बाघ भैरव, टीकाभैरव जस्ता देवता हुँदा पनि
आज किन यस्तो भयो!
गोरखाको गन्धर्व समुदायले नेपाल राज्य निर्माणमा मनिराम गाइनेको योगदान स्मरण गर्न 'मनिराम गाइने स्मृति प्रतिष्ठान' गठन गरेका छन्। प्रतिष्ठानका अध्यक्ष उनकै सातौं पुस्ताका नाति मंगलप्रसाद छन्।
'मनिरामले सुझाएकै दिनमा हमला गरेर पृथ्वीनारायणले कीर्तिपुर कब्जा गरेका थिए। त्यसपछि सिंगो काठमाडौं उपत्यकामाथि विजय हासिल गरे,' मंगलप्रसाद आफ्नो पुर्खाको इतिहास सुनाउँदै भन्छन्, 'काठमाडौं जितेपछि पृथ्वीनारायण नेपालका राजा बन्न गए। मनिराम गोरखामै छुटे।'
नेपाल एकीकरण र पृथ्वीनारायणबारे लेखिएका केही किताबमा मनिराम गाइने गोर्खाली फौजमा सामेल भएको चर्चा इतिहासकारहरूले गरेका छन्। तर कीर्तिपुरमा उनले खेलेको जासुसको भूमिकाको चर्चा कतै छैन। इतिहासमा दफन भएको मनिरामको कथा गोरखाका गन्धर्वहरूको गीतमा सीमित छ।
इतिहास लेख्नेहरूले नेपाल एकीकरणमा गन्धर्व समुदायको योगदान ओझेल पारेको मंगलप्रसादको गुनासो छ।
'हामीले इतिहासका घटना सारंगी बजाउँदै गीतको भाकामा गाउन जान्यौं, देश हामीले पनि बनाएका हौं भनेर लेख्न जानेनौं,' उनले दु:ख मान्दै भने।
पृथ्वीनारायणको एकीकरण यात्रामा योगदान दिएका मनिराम र उनका पुर्खा कसरी गोरखा पुगे त? यसका पछाडि पनि लामो कथा छ।
जसरी पृथ्वीनारायणका पुर्खा कास्कीबाट गोरखा गएका थिए, मनिरामका पुर्खा सुरूमा कास्कीबाट लमजुङ गएका थिए।
बाइसे–चौबीसे राज्यकालमा कास्कीका राजा कुलमण्डन शाहका कान्छा छोरा यशोब्रह्म शाह लमजुङको राजा बन्न जाँदा दयाराम गाइने पनि सँगै गएका थिए। उनै यशोब्रम्हका कान्छा छोरा द्रव्य शाह लिगलिगकोट दौड जितेर गोरखाका राजा बने र आफूसँगै दयारामका पुस्ता काशीराम गाइनेलाई पनि गोरखा लिएर गए।
यता द्रव्य शाहको वंशमा पृथ्वीनारायण शाहको जन्म भयो, उता काशीराम गाइनेको वंशमा मनिराम जन्मिए।
मंगलप्रसादले आफ्नो पुर्खामाथि गरेको अध्ययन–खोजअनुसार शाह वंश जहाँबाट कास्कीमा राज्य गर्न आइपुगेका थिए, गन्धर्वहरू पनि त्यहीँबाट आएका हुन्। कालान्तरमा जहाँ जहाँ शाह वंशले राज्य गरे, त्यहीँ त्यहीँ गन्धर्वले आफ्नो बस्ती बसाए।
हामीले कास्कीको पोखरामा बसोबास गरेका गन्धर्वको इतिहास खोतल्दा शाह वंशका राजारजौटाका सबभन्दा पुराना विश्वासपात्र देखिन्छन्, गन्धर्वहरू।
लोक गायक तथा संगीतकार पूर्ण नेपाली (गन्धर्व) ले 'गन्धर्व संगीत र संस्कृति' किताबमा आफ्ना पुर्खाले सुनाएको कथा भन्दै गन्धर्वहरूको नेपाल आगमनबारे लेखेका छन्। उनका अनुसार गन्धर्वहरू भारतको अल्मोडा लगायत ठाउँबाट कास्की आएका हुन्।
समता फाउन्डेसनले प्रकाशन गरेको अनुसन्धनात्मक किताब 'गन्धर्व समुदायको पहिचान र अवस्था' मा पनि गन्धर्व समुदाय उत्तर भारतबाट सुरक्षित स्थान खोज्दै नेपाल प्रवेश गरेको उल्लेख छ।
यी किताबका अनुसार मध्यकालमा अहिलेको भारत धेरैवटा राज्यमा विभाजित थियो। ती राज्यमा विभिन्न ठाउँबाट आक्रमण र लुटपाट भइरहन्थ्यो। त्यस क्रममा हुलका हुल मानिस सुरक्षित स्थानको खोजीमा हिँडे।
त्यसैमध्ये एउटा समूह शाह (तत्कालीन अवस्थामा खाँ वा खान) को थियो। त्यही समूहमा गन्धर्वहरू पनि थिए। उनीहरू भारतबाट नेपाल प्रवेश गरे।
पृथ्वीनारायण क्याम्पसका इतिहासकी सह–प्राध्यापक डा. राधाकुमारी जिसी भण्डारीले पनि आफ्नो शोधपत्रमा गन्धर्व समुदाय शाह वंशसँगै नेपाल प्रवेश गरेको उल्लेख गरेकी छन्। नेपालमा शाह वंशले चलाएका राज्यको सांस्कृतिक विश्लेषण गर्दै उनले २०४४ सालमा प्रकाशित 'पोखराको गाइने जातिको एक अध्ययन' शीर्षकको स्नातकोत्तर शोधपत्रमा यस्तो निष्कर्ष निकालेकी हुन्।
यसरी शाह वंशका पुर्खासँगै भारतबाट नेपाल छिरेका गन्धर्वहरू स्याङ्जाको भीरकोट र नुवाकोटमा बस्न थालेका थिए।
त्यति बेला कास्की गुरूङ राजाको अधीनमा थियो। कास्कीकोटमा शाह राजाले बनाएको गुप्तकालिका मन्दिरका पुजारी ठाकुरप्रसाद त्रिपाठीका अनुसार, शाह वंशको पहिलो पुस्ता विक्रम सम्बत् १११३ मा स्याङ्जाको नुवाकोटबाट पोखराको कास्कीकोट आएका थिए। उनको नाम मिचा खान थियो।
मिचा खानले कास्कीकोटमा मौलो गाडे। उनीसँगै आएका गन्धर्वले मालश्री धुन बजाए। राग अलापे। कास्कीकोटमा शाह राज्य स्थापना भयो। मिचा खान शाहवंशबाट कास्कीको पहिलो राजा बने। कास्कीकोटमा गुरूङ राजाको अधीन छुट्यो।
त्यही बेला पोखराले पहिलोपटक सारंगीको धुन सुन्यो। पोखराको गीतले सारंगीको सुर पायो।
उनै मिचा खानका पनाति कुलमण्डन शाह १५२४ सालमा कास्कीकोटका राजा बने।
बाटुलेचौरमा लोक गायक झलकमान गन्धर्वको सालिक। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
त्यति बेला पोखरा उपत्यकामा बस्ती थिएन। सराङकोटभन्दा माथि कास्कीकोटमा राजाको दरबार र गुप्तकालिका मन्दिर थियो। अरू सर्वसाधारण पनि डाँडातिर बस्थे। समथर उपत्यकामा बस्ती बसालिएको थिएन।
राजा कुलमण्डनले हिउँदमा घाम ताप्न उपत्यकाको बाटुलेचौरमा शीतकालीन दरबार बनाए। बस्तीविहीन पोखरा उपत्यकामा राजा कुलमण्डन बास बसे।
उनैले बाटुलेचौरमा कालिका मन्दिर बनाए। मन्दिरमा पूजापाठको जिम्मासहित अधिकारी, पौडेल र तिमिल्सिनालाई गुठी बिर्ता दिए। त्यसपछि थापा, बानिया र गन्धर्वहरू पनि बाटुलेचौरमा बसोबास गर्न थालेको पुजारी त्रिपाठी बताउँछन्।
सह–प्राध्यापकबाट निवृत्त जीवन बिताइरहेकी ६७ वर्षीया डा. राधाले आफ्नो अनुसन्धान क्रममा गन्धर्व समुदायका बुढापाका, बाटुलेचौरमै घर भएका जनकविकेसरी धर्मराज थापा लगायतसँग कुराकानी गरेकी थिइन्। उनीहरूका सांस्कृतिक अनुष्ठान र गन्धर्वले आफ्ना पुर्खाबारे गाउने गीत पनि सुनेकी थिइन्।
'मैले थेसिस गर्दा बाटुलेचौरका गन्धर्व बुढापाकाहरू विवाहमा सारंगी बजाउँदै 'जैमल पत्ता' खेल्ने चलन थियो। तरबार लिएर युद्ध अभ्यासजस्तै खेल थियो त्यो,' उनले भनिन्, 'उनीहरूको लिखित इतिहास त छैन, तर त्यो नाच पुर्खाले भारतबाट आउँदा ल्याएको भनेर बताएका थिए।'
लोक गायक तथा संगीतकार पूर्ण नेपाली पनि बाल्यकालमा यस्तो नाच देखेर निकै रमाएको बताउँछन्।
उनका अनुसार विवाह बेला कोही सारंगी बजाउँदै गीत गाउँथे भने कोही तरबार नचाउँदै युद्ध अभ्यासजस्तो नाच देखाउँथे। यो दृश्य अहिले पनि पूर्णको मानसपटलमा घुम्छ। तर यो परम्परा अहिले लोप भइसकेको छ।
परम्परा लोप भए पनि त्यति बेला कास्कीकोटमा शाह राजाले बनाएको गुप्तकालिका मन्दिर यथावत् छ। दरबारका भग्नावशेष अहिले पनि देख्न सकिन्छन्। गुप्तकालिका मन्दिरमा अहिले पनि बडा दसैं र चैते दसैंमा धुमधाम पूजा हुन्छ। गन्धर्वहरू मालश्री धुन बजाएर राग अलाप्छन्। यो परम्परा कास्कीमा शाह वंशको राज्य स्थापना भएदेखि निरन्तर चलेको पूर्वशिक्षकसमेत रहेका पुजारी त्रिपाठी बताउँछन्।
ती गन्धर्वहरू कास्कीका शाह राजाको प्रचारप्रसार गर्न गाउँ गाउँ डुल्थे। राजाको कर्खा गाउँथे। गाउँ डुल्दा राज्यविरूद्धका षडयन्त्रबारे जासुसी गर्ने जिम्मा पनि पाएका थिए।
त्यति बेला सारंगीभन्दा अरबाजो बढी प्रचलनमा थियो। मालश्री, कर्खा, सवाई, मंगल लगायत गीत गाउँदा अरबाजो बजाइन्थ्यो। गन्धर्वहरू अरबाजोलाई भाले र सारंगीलाई पोथी बाजा भन्छन्। समय क्रममा अरबाजो लोपोन्मुख बन्यो भने सारंगी विश्वविख्यात भयो।
गन्धर्वले शाह वंशीय राजाका नाममा गाएका कर्खामध्ये रानी सरूमाको गीत अहिले पनि मर्मस्पर्शी सुनिन्छ। यी गीतले पनि गन्धर्व त्यही बेलादेखि पोखरा आएको पुष्टि हुने डा. राधाको भनाइ छ।
'बाइसे–चौबीसे राज्यकालमा गन्धर्वहरू कास्की आएका हुन्थेनन् भने उनीहरूले कसरी त्यो बेलाका राजाका कर्खा गाए? कसरी सरूमा रानीको कथा थाहा पाए?' राधा प्रश्न गर्छिन्।
गन्धर्वकै गीतबाट कतिपय इतिहासकारले बाइसे–चौबीसे राज्यकालका इतिहास पनि उतारेका छन्। त्यो समयको ऐतिहासिक घटनाक्रमको व्याख्या र विश्लेषण गरेका छन्।
यसरी सारंगीको तारमा इतिहासका घटना सुरक्षित राखेका गन्धर्वका इतिहास भने लेखिन बाँकी छ।
बाटुलेचौरका स्थानीय ९० वर्षीय खिमबहादुर गन्धर्वका अनुसार, उनीहरूका पुर्खा पोखराकै हेम्जाबाट बाटुलेचौर बसाइ सरेका हुन्। पोखराको बडारे, अर्घौ, बर लगायतका ठाउँमा पनि गन्धर्वहरूको बस्ती छ। उनीहरू पोखराबाटै गण्डकीका विभिन्न जिल्लामा फैलिएका हुन्।
बाटुलेचौरका ९० वर्षीय खिमबहादुर गन्धर्व। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
पोखराको बाटुलेचौरस्थित गन्धर्व बस्ती। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
सारंगीवाहक गन्धर्वको सबभन्दा ठूलो बस्ती सम्भवत: पोखराको बाटुलेचौर हो। नेपाली लोकगीतका सर्वोच्च स्रष्टा झलकमान गन्धर्व यहीँ जन्मिएका थिए। जनकवि केसरी धर्मराज थापा पनि यहीँ जन्मिए। कति कलाकारले आफ्नो धुन र गीत रेकर्ड गर्न पाएनन्। उनीहरूका गीत–संगीत हावामा बिलाएर गए।
आधुनिक सञ्चार माध्यम आउनुअघि समाचार र सूचनाका वाहक गन्धर्वहरू सारंगी रेट्दै गाउँगाउँ, बस्तीबस्ती डुल्ने भएकाले उनीहरूलाई धेरै ठाउँका घटना थाहा हुन्थ्यो। राजाको दरबारदेखि आममानिसका घरबारसम्मका कथामा उनीहरूको पहुँच पुग्थ्यो। कतिपय घटना उनीहरू आफै देख्थे। कतिपय अर्काले सुनाउँथे।
आफूले देखेका घटना होस् कि सुनेका कथा, उनीहरू सारंगीको धुन मिसाएर गीत बनाउँथे। इतिहासका कठोर घटना, हत्याकाण्ड, विश्वयुद्धका कथा, लाहुरेका गाथा, महामारीका पीडा, राजारानीका प्रेम र विछोड, समाजका कुरीति, विकृति र विसंगतिमा परेका मानिसका कथामा उनीहरू गीत गाउँथे।
त्यसै क्रममा युद्ध मैदानमा लडेका घाइते लाहुरेको सन्देश 'आमाले सोध्लिन् नि खोई छोरा भन्लिन्' झलकमान गन्धर्वले गाउँघरमा सारंगी रेट्दै गाउँदै हिँडेका थिए। २०२३ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय लोकगीत प्रतियोगितामा भाग लिँदा झलकमानले सारंगी रेट्दै यही गीत गाए। प्रतियोगितामा उनी प्रथम भए। गीत कालजयी बन्यो।
झलकमानकै छिमेकी जनकवि केसरी धर्मराज थापामा पनि सारंगीको प्रभाव थियो, जुन उनका गीतहरूमा झल्किन्छ।
बाटुलेचौरका वयोवृद्ध खिमबहादुरका अनुसार, ३०–३५ वर्ष अघिसम्म गन्धर्वहरू गीत गाउँदै हिड्ने चलन थियो। बाटुलेचौरका सबैजसो पुरूष गन्धर्वहरू सारंगी बजाउँदै हिँड्थे भने महिलाहरू घरको काममा जुट्थे। महिलाले सारंगी बजाउन हुँदैन भन्ने मान्यता थियो। त्यो मान्यता अहिले तोडिएको छ।
उनीहरूले सारंगी बजाउँदै गाउँ–गाउँ डुल्ने मुख्य सिजन मंसिरदेखि फागुनसम्म थियो। तीज, दसैं र तिहारमा उनीहरू उल्लास मनाउँथे। बाँकी समय छिमेकीहरूका खेतबारीमा ज्यालादारी काम गर्थे। पोखराकै कालीखोला, हर्पनखोला, मर्दीखोला, याम्दीखोला, पार्दीखोला, फुस्रेखोला लगायत खोलानाला र तालमा माछा मारेर पनि बेच्थे।
सारंगी रेट्दै हिँड्दा गाउँघरमा दिने दान–दक्षिणा नै गन्धर्वहरूको मुख्य आम्दानीको स्रोत थियो। कसैले धान, मकै, कोदो, चामल लगायत अन्न र तरकारी दिन्थे। कसैले पैसा दिन्थे। लाहुरेले नयाँ कपडा दिएको अनुभव पनि छ खिमबहादुरसँग।
सारंगी बजाउँदै डुल्ने क्रममा खिमबहादुरले निकै लामो पैदलयात्रा गरेका छन्। पोखराबाट ८ दिन हिँडेर काठमाडौं पुगेका छन्। पूर्वी नेपालको झापा, मोरङ र सुनसरी पुगेका छन्। मधेस झरेका छन्। थारू, राजवंशी र ताजपुरियाको घर पुगेर सारंगीको धुनमा गीत गाएका छन्।
'मधेसीहरू कर्खा सुन्न खुब मनपराउँथे,' उनले भने, 'म राजाका, जंगबहादुर र चन्द्रशमशेरका कर्खा गाउँदै हिँडेको थिएँ।'
पोखराको विन्ध्यावासिनी मन्दिरसँगै रहेको संगीत प्रशिक्षण केन्द्रमा २६ वर्ष शास्त्रीय संगीत प्रशिक्षक रहेका खिमबहादुरले राजा महेन्द्रको राज्याभिषेकमा काठमाडौं गएर सारंगी बजाएका थिए। त्यसपछि २०१३ सालमा गीत गाउन चीन पनि गए। तत्कालीन चिनियाँ राष्ट्रपति माओत्से तुङलाई सारंगीको धुनमा गीत गाएर सुनाएको उनी सम्झन्छन्।
'माओत्से तुङको घरमा खाना खाएर, गीत गाएर आएको मान्छे हुँ म,' खिमबहादुरले जोसिँदै भने, 'उनको कुरा हामीले बुझेनौं, हाम्रो गीत पनि उनले बुझेनन् होला। गीत सुनेर उनी खुसी भएका थिए। सारंगीको धुन मन पराए कि!'
नेपालको मौलिक बाजा सारंगीको आविष्कार पनि मानव सभ्यता र चेतनाको विकाससँगै भएको हुन सक्ने अनुमान गर्न सकिन्छ। किनभने, सारंगीको उत्पत्ति र प्रयोग प्राचीनकालमै भएको पाइन्छ। पौराणिक ग्रन्थहरूमा पनि यसको सन्दर्भ भेटिन्छ।
कलाकार पूर्ण नेपाली गन्धर्व समुदायले पौराणिक कालमा नारद ऋषिबाट सारंगी वरदान पाएको विश्वास गर्छन्।
उनका अनुसार, पौराणिक कालमा स्वर्गका राजा इन्द्रको सभामा पनि गन्धर्वहरूले गीत गाउँथे। सारंगी र मादल घन्काउँथे। सभामा अप्सराहरू नाच्थे। देवीदेवताहरू दर्शक थिए।
'सामवेदमा स्वर्गका संगीतज्ञ भनेर गन्धर्वलाई भनिएको छ। रामायण, महाभारत र भरतको नाट्यशास्त्रमा सारंगीले स्थान पाएको छ। यसले पनि सारंगीको आविष्कार पौराणिक कालमै भएको निष्कर्ष निकाल्न सकिन्छ,' उनले भने।
सारंगी बनाउन काटेर राखिएको खिर्राको काठ। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
सारंगी बनाउन गन्धर्वहरू घरेलु स्रोतसाधन प्रयोग गर्छन्। पहिले खिर्रो, सिउँडी, सिसौ, भलायो जस्ता हलुका र नरम काको प्रयोग गरिन्थ्यो। अहिले जुनसुकै काठको पनि बनाउन थालिएको छ। सारंगीमा पुच्छरमाथि बाख्राको छालाले मोडिन्छ। सारंगीको तारका रूपमा उहिले बाख्राको आन्द्रा प्रयोग गरिन्थ्यो। तार मसिनो बनाउन आन्द्रा दुहेर आवश्यकता अनुसार मसिनो बनाइन्थ्यो। अहिले भने आन्द्राको सट्टा नाइलनको धागो राख्न थालिएको छ।
त्यस्तै, सारंगी रेट्न प्रयोग गरिने धनुमा पनि नाइलनको धागो राख्न थालिएको छ। पहिले घोडाको पुच्छर प्रयोग गरिन्थ्यो। आधुनिकतासँगै सारंगी बनाउने तरिका र त्यसमा प्रयोग गरिने सामग्री पनि आधुनिक बन्दै गएको गन्धर्वहरू बताउँछन्।
गन्धर्व समुदायमा जन्मदेखि मृत्युसम्मका संस्कार गर्दा सारंगी अनिवार्य छ। नवजात शिशुलाई जन्मिएको छैठौं दिनमा सारंगी धुनमा मन्त्र सुनाइन्छ। विवाह र ब्रतबन्धको साइत जुरेपछि नयाँ कपडा किनेर ल्याउँदा पनि सारंगी वा अरबाजो र मादल बजाउँदै मंगल गीत गाउने चलन छ।
विवाहमा पनि चरण चरणमा फरक गीत गाइन्छ, जसलाई उनीहरू माहाल भन्छन्। छोरी माग्ने बेला, जन्ती पर्सिँदा, जन्ती दुलहीको घरमा आगमन हुँदा, कन्यादान गर्दा, बुकुवा गर्दा, गोडा धुने बेला, माडो घुम्ने बेला, सिन्दुर हाल्ने बेला, दुलही अन्माउँदा गन्धर्व संस्कृतिमा छुट्टाछुट्टै धुनमा गीत गाउने चलन छ।
गन्धर्वहरूले समय र स्थानअनुसार गाउने गीत पनि फरक फरक छन्। सारंगीको धुनमा उनीहरू मन्त्र गाउँछन्। बिहानदेखि साँझसम्म फरक फरक मंगल गाउँछन्। कर्खा, सवाई, घटना, माहाल, बेलोल, रामकली गाउँछन्। मालश्री, देउसी, भैलो, रत्यौली, असारे झ्याउरे गीत पनि गाउँछन्। देवीदेवता र खोलानालाका नाममा पनि छुट्टाछुट्टै मंगल गीत गाउँछन्।
पूर्णका अनुसार, गन्धर्वले गाउने एउटा गीतमा यस्तो कथा छ –
उजुरे नाम गरेका एउटा पात्रले अरूका घरमा दुई–तीन जना छोराछोरी देखे। आफू भने ४० वर्षको हुँदा पनि सन्तानविहीन हुनुपरेको गुनासो सभक्ति अकलामाई समक्ष पोखे। दैवी शक्तिसँग परिचित उजुरेले एकचित्त भई अकलामाईको साँझबिहान भक्ति गाए।
आफूले रचेका कर्खा जिम्मा दिन उनले छोराको माग गरे। पुकार सुनेर स्वर्गका तेत्तीसकोटी देवताले स्वर्गद्वारी प्रभुसमक्ष जानकारी गराए। स्वर्गद्वारीले अकलामाईलाई अनुरोध गरेर दुई भाइ छोरा दिलाए।
६० वर्ष बाँचेर मर्ने इच्छा राखेका उजुरेले जीवनकालमै दुई छोराको मृत्यु देख्न पर्यो। पुत्रशोक बेहोर्नुपर्यो।
'देवीदेवताबाट मागेको वर त पाइन्छ तर त्यसबाट सन्तोष पाइँदैन। बरू शोक पाइन्छ भनेर गीतले सन्देश दिएको छ,' पूर्णले भने, 'यो गीतले निष्काम भक्ति गर्न उचित हुन्छ भनेर सन्देश दिन्छ।'

सांगीतिक जातिका रूपमा स्थापित गन्धर्व समुदायलाई अझै पनि राज्य र समाजले उचित व्यवहार गर्न सकेको छैन। अहिले पनि कतिपय कथित उच्च जातिका मानिसले उनीहरूलाई छोइछिटोको व्यवहार गर्छन्। राज्यको माया नपाएको त जुगौं भइसक्यो।
बाटुलेचौरका बयोवृद्ध खिमबहादुरका अनुसार, उहिले गाउँ समाजमा मात्र होइन, गीत गाउँदै हिँड्दा पनि छोइछिटो हुन्थ्यो। स्कुल पढ्न जाँदा पनि शिक्षकले 'छोइन्छ' भनेर फिर्ता पठाइदिएको उनी सम्झन्छन्।
गन्धर्व जातिको आफ्नै भाषा पनि छ, जुन करिब करिब लोप भइसकेको छ। सारंगी बजाउने सीप र पेसा पनि नयाँ पुस्तालाई हस्तान्तरण नगर्दै लोपोन्मुख बनेको छ। सारंगी बजाउँदै डुल्दा पाइने अपमान र जीविका चलाउन सक्ने अवस्था नभएकाले पेसा पनि लोप हुँदै गएको खिमबहादुर बताउँछन्।
'हाम्रो जातिको पेसा जोगाउनुपर्छ भनेर सरकारलाई पनि मतलब भएन,' उनले भने, 'सारंगी बजाउँदै हिँड्नेलाई हेप्छन्, खान पनि पुग्दैन; अनि कसले जोगाउने यो पेसा!'
नेपालको जनगणना २०७८ अनुसार गन्धर्व समुदायको जनसंख्या ६ हजार ९७१ छ। यो कुल जनसंख्याको ०.०२ प्रतिशत हो। अल्पसंख्यक समुदायको भाषा र परम्परागत पेसा लोप हुन लाग्दा पनि राज्यको आँखा पुगेको छैन।
नेपाल राज्य निर्माण गर्दा इतिहासको पानाबाट गन्धर्वका योगदान छुटेझैं अब सारंगी पनि छुट्दै गएको मनिराम गाइने स्मृति प्रतिष्ठानका अध्यक्ष मंगलप्रसाद बताउँछन्। राज्यले गरेको विभेद देखाउन उनी गोरखा दरबार संग्रहालयको प्रसंग निकाल्छन्, जहाँ सबै जातजाति र भाषाभाषीका संस्कृति राखिएका छन्, तर गन्धर्वका छैनन्।
नेपाल एकीकरणका योद्धाहरूका मूर्ति र योगदान लेखेर प्रदर्शनीमा राखिएका छन्, तर मनिराम गाइनेको सम्झनासम्म गरिएको छैन।
संग्राहलयमा गन्धर्वका संस्कृति, सारंगी र मनिराम गाइनेको मूर्ति राख्न मंगलप्रसाद पुरातत्व विभाग र सरकारका विभिन्न अड्डा धाए। अहिलेसम्म कसैले उनको आवाज सुनेको छैन।
'उठेर बोलौं बतासले लान्छ, बसेर बोलौं कसैले सुन्दैन,' उनले भने, 'हामीलाई पनि यो राज्यमा स्थान चाहियो।'
***
यी पनि पढ्नुहोस्-