प्यारी छोरी सियोना,
आज म तिमीलाई तिम्रो जन्मदिनको अवसरमा केही शुभकामनाका शब्दहरू लेख्दै छु। मलाई थाहा छ, अहिले तिमीले यी कुरा बुझ्दिनौ, यो पत्र पढ्न पनि सक्दिनौ।
केही वर्षपछि तिमीले अक्षरहरू चिन्न सिक्नेछौ, भाषा बुझ्नेछौ र एक दिन यो सन्देश पनि पढ्न सक्नेछौ। तिम्रो सम्झनाको लागि पनि म यो पत्र लेख्दै छु।
प्यारी छोरी,
असार महिनाको समय थियो। मामु अफिसको काममा निकै व्यस्त थिइन्। तिमी मामुको पेटमा दिनभरि चलेकी थिइनौ। हामीले परम्पराअनुसार गरिने घरेलु उपायहरू पनि सबै अपनायौँ। तर तिमी नचलेपछि हामी अस्पताल गयौँ। त्यसपछि डाक्टरको सल्लाहबमोजिम बिहानको समयमा शल्यक्रिया गरेर तिमीलाई जन्म दिनुपर्यो।
सियोले घोच्दा समेत चिच्याउने तिम्री आमाले त्यतिबेला दुखाइको पीडाको अनुभव गरिनन्, बरू तिम्रो चिन्ता थियो।
जब तिमीलाई मेरो शरीरबाट निकालेर मेरो छातीमा टाँसियो। खुसीका आँसु आफै झरे। त्यो क्षणमा मलाई लाग्यो, मानौँ मेरो शरीर भित्रको मुटु नै बाहिर निकालेर छातीमा टाँसिएको हो।
जब मैले तिमीलाई पहिलो पटक काखमा लिएँ, म आफूलाई संसारकै भाग्यमानी आमा महसुस गरिरहेकी थिएँ। तिमी हाम्रो जीवनमा एउटा उत्सव बनेर आएकी छौ। तिम्रो उपस्थितिले हाम्रो जीवनको सार्थकता अझ गहिरो बनाएको छ। त्यसैले हाम्रो लागि तिम्रो जन्मदिन केवल एउटा मिति होइन, एउटा भव्य उत्सव हो।
हो छोरी, तिमी भर्खर दुई वर्ष पुग्दैछौ। जीवनका अनेक उतारचढावका बीच पनि म तिमीलाई भरपुर समय दिने प्रयास गरिरहेकी हुन्छु। तर समय दिन नसकेको महसुस भइरहेको छ मलाई।
तिमी अझै सानी छौ। मामुको अफिस, घरका जिम्मेवारी र दैनिक संघर्षका कुरा तिमीले अहिले बुझ्दिनौ। तिमीसँग हरेक पल, हरेक क्षण सँगै बिताउन मन हुँदाहुँदै पनि हामीले चाहेजति समय दिन सकिरहेका छैनौँ। तर आशा छ, तिमी अलि ठूली भएपछि हाम्रो यो बाध्यता अवश्य बुझ्नेछौ।
प्रिय छोरी तिमीले मलाई धेरै कुरा सिकाइ सकेकी छौ।
जब म आमा बनेँ, तब मैले तिम्रो लागि हरेक त्याग गर्न सिकेँ। आफ्नो खुसीभन्दा तिम्रो खुसीलाई ठूलो मान्न थालेँ। आफ्नो भविष्यभन्दा तिम्रो भविष्य रोज्न थालेँ। आफ्ना इच्छा, रहर र चाहनाभन्दा तिम्रा साना-साना उपलब्धि र प्रत्येक नयाँ पाइला हेरेर गर्व गर्न सिकेँ।
छोरी साँच्चै, तिमी जन्मिएपछि मैले आफ्नै महत्व अझ धेरै बुझ्न सकेँ। मैले महसुस गरेँ कि यो संसारमा मलाई नै आफ्नो संसार ठान्ने एउटा अमूल्य मान्छे पनि छ।
छोरी, तिमी मैले आफ्नै शरीरको बगैँचामा फुलाएको सुन्दर फूल हौ। तिमीलाई मैले मेरो रगत, पसिना, मन मुटुभरिको माया र ममता सिँचेर हुर्काउँदै छु। म सधैँ आफ्नो यो फूललाई तन, मन र प्राण दिएर संरक्षण गर्नेछु।
तिमी मेरो जीवनको सबैभन्दा सुन्दर उपहार हौ। तिम्रो मुहारमा, तिम्रो मनमा र तिम्रो मस्तिष्कमा सधैँ खुसीको उज्यालो छाइरहोस्। रिस, राग, क्रोध र भय तिमीबाट सधैं टाढा रहून्। तिमी सधैँ स्वस्थ, निरोगी, आत्मविश्वासी र उज्ज्वल जीवन बाँचिरहनू। तिम्रा हरेक सपना पूरा होऊन्, तिम्रा हरेक पाइला सफलताले भरिऊन्, र तिम्रो जीवन प्रेम, सम्मान र खुसीले सधैँ भरिपूर्ण रहोस्।
तिमीलाई दोस्रो जन्मदिनको हार्दिक तथा मंगलमय शुभकामना, प्यारी छोरी।
असीम माया सहित,
मामु।