शरद फेरि उस्तै गरी आएको छ। आकाशबाट बादल पन्छिँदै छन्, बिहानको हावामा हल्का चिसोपन मिसिएको छ। घर-घरमा जमरा उम्रिँदै छन्, कतै मालश्रीको धुन सुनिन थालेको छ। बाटाहरू घर फर्किने मानिसका पाइतालाले फेरि व्यस्त छन्। यी सबैले बिस्तारै भनिरहेका छन्—दसैँ आएछ।
तर हरेक वर्ष यही मौसम फर्केर आउँदा मन उत्सवमा रमाउनुभन्दा पहिले कताकता विगततिर पुग्दो रहेछ।
त्यही आँगन सम्झिन्छु, जहाँ कुनै समय नाङ्गा खुट्टा दौडिन्थेँ। त्यही पिङ सम्झिन्छु, जहाँ आफ्नो पालोका लागि घण्टौँ कुर्दा पनि समय लामो लाग्दैनथ्यो। नयाँ कपडाको त्यो छुट्टै गन्ध सम्झिन्छु, जसलाई दसैँको बिहानसम्म जतन गरेर राखिन्थ्यो। अनि सबैभन्दा बढी सम्झिन्छु—आमाको वरिपरि घुम्दै बारम्बार सोधेको त्यो एउटै प्रश्न,
‘आमा, दसैँ आउन अब कति दिन बाँकी छ?’
त्यतिबेला दसैँ आउन हतार थियो।
आज पनि दसैँको प्रतीक्षा हुन्छ, तर कारण फेरिएको छ।
त्यतिबेला दसैँ कहिले आउला भन्ने पर्खाइ थियो, आज दसैँ आएपछि घर कहिले जान पाइएला भन्ने पर्खाइ छ।
दसैँ त उही छ। सायद उस्तै नरहेका हामी हौँ।
ऋतु फर्किन्छ, चाड फर्किन्छ, पात्रोका तिथि पनि फर्किन्छन्—तर समयले लगेको उमेर फर्किँदैन रहेछ।
कुनै समय हाम्रो सबैभन्दा ठूलो प्रश्न थियो—‘दसैँ कहिले आउँछ?’
आज घरबाट आमाको फोन आउँछ—‘दसैँमा घर कहिले आउँछस्?’
पहिले दसैँ आउन दिन गनिन्थ्यो। अहिले दसैँ आउँदा घर जान कति दिन बिदा मिल्ला भनेर दिन गनिन्छ।
पहिले दसैँ पर्खन घरमै बसिन्थ्यो। अहिले घर फर्किन दसैँ पर्खिनुपर्छ।
सायद वर्षहरूले हाम्रो उमेर मात्रै बढाएनन्, हाम्रा प्रतीक्षाहरू पनि फेरिदिए।
पहिले दसैँ आउन ढिलो लाग्थ्यो, अहिले दसैँ आएर गएको पत्तै हुँदैन। पहिले दसैँको प्रतीक्षा थियो, अहिले दसैँ बहाना बनेको छ—घर फर्किने, आमाबुबासँग केही दिन बस्ने, वर्षभरि छुटेका आफ्ना मान्छेहरूलाई भेट्ने।
दसैँ त उही हो, हामी उस्तै रहेनौं।
उही शरदको खुला आकाश छ, उही बिहानको चिसो हावा छ। घरमा जमरा आज पनि उस्तै उम्रिन्छ, टीका आज पनि उस्तै रातो हुन्छ। भान्साबाट आउने परिकारको बास्ना पनि उस्तै छ। फरक यत्ति हो—कुनै समय यही सबै कुराले मनभित्र जुन उत्साह जगाउँथ्यो, त्यो उत्साह आज सम्झनामा बढी भेटिन्छ।
बाल्यकालमा दसैँ आउनुभन्दा पहिले नै मन दसैँमय भइसकेको हुन्थ्यो। नयाँ लुगा कहिले किन्ने, पिङ कहाँ हाल्ने, स्कुल कहिले बिदा हुने, मामाघर कहिले जाने—हाम्रा चिन्ता पनि कति सुन्दर थिए?
आज चिन्ताका नाम फेरिएका छन्।
बिदा कति दिन छ?
टिकट पाइन्छ कि पाइँदैन?
काम कसलाई बुझाउने?
कहिले फर्किनुपर्ने हो?
पहिले नयाँ लुगा लगाउने दिन कुर्न गाह्रो हुन्थ्यो। अहिले दराजमा लुगा छन्, तर त्यो प्रतीक्षा छैन। पहिले दस–बीस रुपैयाँ दक्षिणा पाएर मन भरिन्थ्यो, अहिले कमाइ बढेको छ तर मन त्यति सजिलै भरिँदैन।
पहिले पिङबाट घर फर्किन मन लाग्दैनथ्यो। अहिले दसैँ सकेर घरबाट फर्किन मन लाग्दैन।
पहिले आमाले टाढाबाट बोलाउनुहुन्थ्यो—‘अब खेल्न छोडेर घर आइज।’
अहिले छुट्टी सकिन लाग्दा भन्नुहुन्छ—‘अझै एक/दुई दिन बसेर गए हुँदैन?’
त्यो बेला आमाको बोलावट छलेर केहीबेर बढी खेल्नुमा खुसी थियो। आज आमाको त्यही आग्रह छलेर काममा फर्किनुपर्दा मन कताकता भारी हुन्छ।
समयले कति चुपचाप भूमिका फेरिदिएछ। हिजो हामी ढोकातिर हेरेर दसैँको प्रतीक्षा गर्थ्यौं। आज त्यही ढोकातिर आमाबुबा हाम्रो प्रतीक्षा गर्नुहुन्छ।
हिजो प्रश्न हाम्रो हुन्थ्यो— ‘दसैँ कहिले आउँछ?’
आज फोनको अर्को छेउबाट प्रश्न आउँछ—‘दसैँमा घर कहिले आउँछस्?’
सायद यति नै दूरी छ बाल्यकाल र आजबीच।
दसैँ फेरिएको छैन। फेरिएको छ हाम्रो उमेर। फेरिएका छन् हाम्रा जिम्मेवारी। फेरिएका छन् हाम्रा पर्खाइहरू। र सबैभन्दा बढी—फेरिएको छ घरसँगको हाम्रो सम्बन्ध।
पहिले घर त्यही ठाउँ थियो, जहाँबाट बाहिर निस्किन हतार हुन्थ्यो। आज संसारको जति टाढा पुगे पनि केही दिनका लागि फर्किन मन लाग्ने ठाउँ त्यही घर भएको छ।
बाल्यकालमा हामीलाई दसैँ चाहिन्थ्यो। अहिले दसैँभन्दा बढी घर चाहिन्छ। र घर पुग्दा बुझिन्छ—हामीले सम्झिरहेको बाल्यकालको दसैँ वास्तवमा दसैँ मात्रै थिएन। त्यो जिम्मेवारी नबोकेको उमेर थियो, आमाबुबा कहिल्यै बूढा हुँदैनन् भन्ने भ्रम थियो, आफ्ना मान्छेहरू सधैं वरिपरि रहन्छन् भन्ने निश्चिन्तता थियो।
आज दसैँमा टीका लगाउन बस्दा दक्षिणातिर आँखा जाँदैन, आमाबुबाको अनुहारतिर जान्छ। हिजो नदेखिएका चाउरी देखिन्छन्। कपालमा थपिएको सेतो देखिन्छ। टाउकोमाथि आशीर्वाद दिन उठेका हातहरू पहिलेभन्दा अलि कमजोर देखिन्छन्।
अनि मनले चुपचाप भन्छ—दसैँ अर्को वर्ष फेरि आउला, तर समय यहीँ फर्केर आउँदैन।
सायद त्यसैले अहिले दसैँको खुसीसँग एउटा नबोलिएको डर पनि मिसिएको हुन्छ।
अर्को दसैँमा पनि सबै जना यसरी नै भेटिएलान्?
ढोका खोल्दा उही आवाज सुनिएला?
टाउकोमा टीका लगाइदिने उही हातहरू रहिरहलान्?
बाल्यकालमा यस्ता प्रश्न थिएनन्। हामीलाई लाग्थ्यो—दसैँ हरेक वर्ष आउँछ, त्यसैले सबै कुरा हरेक वर्ष उस्तै रहन्छ।
ठूलो भएपछि बुझियो—दसैँ दोहोरिन्छ, जीवन दोहोरिँदैन।
हरेक वर्ष पात्रोमा दसैँ फर्केर आउँछ, तर हरेक वर्ष हामीबाट केही न केही पछाडि छुटिरहेको हुन्छ—कहिले बाल्यकाल, कहिले साथीहरूको साथ, कहिले घरको पुरानो चहलपहल, कहिले आफ्नै मान्छे।
त्यसैले दसैँ त उही हो। उही टीका, उही जमरा, उही आशीर्वाद। उस्तै नरहेका त हामी हौं।
हिजो दसैँ सकिँदा स्कुल जानुपर्छ भनेर मन दुख्थ्यो। आज दसैँ सकिँदा घर छोड्नुपर्छ भनेर मन दुख्छ। र हिजो अर्को दसैँ कहिले आउला भन्ने हतार हुन्थ्यो।
आज मनले यत्ति मात्र भन्छ— अर्को दसैँ आउँदा पनि घर फर्किने बाटो उही रहोस्, ढोकामा पर्खिने अनुहारहरू उही रहून् र टाउकोमा आशीर्वाद दिने ती हातहरू अझै रहून्। किनकि दसैँ त फेरि आउँछ। मान्छे र समय भने सधैं फर्केर आउँदैनन्।
(लेखक स्वास्थ्य, सामाजिक विकास तथा लैङ्गिक हिंसा न्यूनीकरणका क्षेत्रमा कार्यरत छिन्।)