यही भदौ २० गते शनिबारको कुरा हो। छिमेकी भाइको विवाहको पार्टी (भोज) को निम्ता थियो। त्यसैले हामी सपरिवार घरनजिकैको पार्टी प्यालेसमा गयौँ। दुलाहा–दुलहीलाई आशीर्वाद दियौँ, स्न्याक्स खायौँ अनि घर फर्कियौँ।
ठूली छोरी र म उनको साथीको गुन्यूचोली कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले चाँडै घर आएर तयार हुँदै थियौँ। ठीक त्यही बेला श्रीमान्को फोनमा देवर बाबुको फोन आयो।
‘भिनाजुलाई गाह्रो भएर अस्पताल लगिएको छ, तपाईं चाँडो आउनुपर्यो।’
भाइको नम्बरबाट फोन आएको हुँदा श्रीमान्ले आफ्नो ठूलो भिनाजुलाई केही भएको होला भन्ने अनुमान गर्नुभयो, किनकि उहाँको २२ गते पेटसम्बन्धी शल्यक्रिया तय भएको थियो।
उहाँले फेरि त्यही नम्बरमा फोन गरेर सोध्नुभयो, ‘म त काठमाडौंमा पो छु, यहाँबाट कसरी आउनु? के भयो र भिनाजुलाई?’
त्यसपछि भाइ आफैँ बोल्नुभयो, ‘दाजु, बुवा बिरामी भएर टाउको दुखेर अस्पताल लगेको छ। तपाईं मिलेसम्म चाँडो आउनु। निको हुन्छ होला, नआत्तिनु है दाजु।’
अघि बाबुको नम्बरबाट मामाको छोरा रमेशले फोन गरेर ‘भिनाजु’ भन्नुभएको रहेछ।
त्यो क्षणदेखि हाम्रो संसार नै एकाएक रोकिएजस्तो भयो।
अब के गर्ने?
आपत् आइलागेको थियो। अतालिएर रुन थालौँ भने पनि साथमा साना छोरीहरू थिए। उनीहरूलाई सम्हाल्ने कि आफूलाई सम्हाल्ने? मनमा हजारौँ प्रश्न उठिरहेका थिए—कसरी झापा पुग्ने? कहिले पुग्ने? बुवालाई के भएको होला?
त्यतिबेला बेलुका करिब ५ बजेको थियो। फ्लाइट पाइन्छ कि भनेर श्रीमान् र मेरो भाइ एयरपोर्टतिर जानुभयो। तर त्यस दिन फ्लाइट मिलेन। म भने नानीहरूसँग घरमै अन्योल र छटपटीमा बसिरहेँ।
परिवार नै तत्काल आउनुपर्ने खबर आयो। गाडीमा रातभर यात्रा गरेर जान पनि सम्भव थिएन। अन्ततः भोलिपल्ट, भदौ २१ गतेको पहिलो फ्लाइटबाट जाने निर्णय भयो।
त्यही साँझ थाहा भयो—बुवालाई ब्रेन हेमरेज भएको रहेछ।
डाक्टरहरूले अप्रेसन सफल हुने सम्भावना नरहेको बताएपछि बुवालाई घर ल्याएर दानदक्षिणा गराइएको रहेछ। तर सास चलिरहेको आफ्ना बुवालाई घरमै राखिएको कुरा टाढा रहेका छोरालाई कसरी सह्य हुन्थ्यो र! श्रीमान्ले तुरुन्तै अर्को अस्पताल लैजान आग्रह गर्नुभयो।
घरमा रहेका भिनाजु, दिदी र भाइहरूले बुवालाई बिहान करिब ३ बजेतिर भद्रपुरस्थित ॐ साई पाथीभरा अस्पताल लैजानुभयो।
हामीले भगवान्लाई पुकार्दै त्यो रात काट्यौँ। सायद हाम्रो जीवनकै सबैभन्दा लामो र कष्टकर रात त्यही थियो।
बिहानको पहिलो फ्लाइटबाट हामी करिब साढे ८ बजेतिर बुवालाई राखिएको अस्पताल पुग्यौँ। बुवालाई हेर्दा उहाँ गहिरो निद्रामा भएझैँ देखिनुहुन्थ्यो। शरीर चलिरहेको थिएन, तर सास चलिरहेको कुरा प्रस्ट महसुस गर्न सकिन्थ्यो।
डाक्टरले ब्रेनका मुख्य तीन वटा नसा फुटेको र आँखातिर समेत रगत फैलिसकेको हुँदा उपचार सम्भव नहुने कुरा फेरि स्पष्ट रूपमा बताउनुभयो।
हामीले हार मानेनौँ।
देश–विदेशमा रहेका वरिष्ठ न्युरो चिकित्सकहरूसँग सिटी स्क्यान रिपोर्ट पठाएर सल्लाह माग्यौँ। जहाँ–जहाँ सम्भव भयो, आशाको सानो किरण खोज्यौँ। तर सबैको उत्तर एउटै थियो— ‘बिरामीलाई बचाउन सम्भव छैन।’
त्यसपछि हामीसँग भगवान् पुकार्नुबाहेक अरू के नै बाँकी थियो र?
बुवालाई फेरि घर ल्यायौँ। आमा, हामी सबै छोराछोरी, बुहारी, नातिनातिना र बन्धुबान्धव उहाँको वरिपरि बसेर उहाँले सास फेरिरहनुभएको हेर्दै बस्यौँ।
भदौ २२ गते सोमबार साइप्रसबाट माइली आमाजू दिदी पनि आइपुग्नुभयो। अब बुवाका सबै छोराछोरी र बुहारी उहाँकै वरिपरि थियौँ। हिन्दु संस्कारअनुसार भागवत पाठ सुरु गरियो। हामी पालैपालो बुवाको छेउमै बसिरह्यौँ।
सायद हामी सबैको मनभित्र एउटै प्रार्थना थियो— ‘हे भगवान्, एकपटक बुवालाई उठाइदिनुहोस्।’
तर नियतिको अगाडि हाम्रो प्रार्थना पनि निरीह रहेछ।
अन्ततः भदौ २४ गते बुधबार बिहान करिब ११ बजेतिर, भागवत पाठ भइरहेकै बेला बुवाले आफ्नो अन्तिम सास लिनुभयो।
हामी सबै उहाँकै वरिपरि थियौँ।
त्यो क्षण... रुवाबासी भयो। कसैले आफूलाई सम्हाल्न सकेनौँ। आँखा अगाडि आफ्नै बुवालाई गुमाउँदाको त्यो पीडा शब्दमा कसरी लेख्न सकिन्छ र?
तर जति नै कठिन भए पनि छोराछोरीले गर्नुपर्ने विधि–विधान गर्नैपर्ने रहेछ। मन टुक्राटुक्रा भएको अवस्थामा पनि मन थामेर बुवाको अन्तिम संस्कारका कर्महरू पूरा गर्नैपर्ने रहेछ।
हामीलाई हेक्कासम्म थिएन—यति छिट्टै हाम्रो परिवारमा यस्तो वज्रपात पर्ला भनेर।
एकैचोटि आकाश खसेझैँ भयो। धर्ती भासिएझैँ भयो। टोल–छरछिमेक सबैतिर सन्नाटा छायो।
सुगर, प्रेसरजस्ता दीर्घरोग नभएका, सामाजिक र घरायसी काममा सधैँ सक्रिय, जीवनमा कुनै ठूलो बिरामी भएर एक रात पनि अस्पताल बस्न नपरेका हाम्रा बुवा यसरी अचानक हामीबाट टाढा हुनुहोला भनेर कसले पो सोचेको थियो र?
७२ वर्षको उमेर भए पनि बुवा ६०–६२ वर्षका जस्तै तन्दुरुस्त र हट्टाकट्टा देखिनुहुन्थ्यो। हामीले त सोच्थ्यौँ—अझै कम्तीमा २० वर्ष त बुवाको आशीर्वाद हाम्रो शिरमाथि रहिरहनेछ।
हाम्रो सामान्य बुझाइमा मृत्यु आउन शरीर बूढो र शिथिल हुनुपर्छ भन्ने लाग्थ्यो। तर त्यो दिन बल्ल बुझियो— मृत्युका लागि उमेर होइन, ईश्वरको इच्छा पर्याप्त रहेछ।
ईश्वरको मर्जी भएपछि स्वर्गका राजा इन्द्रले नै बिन्ती गरे पनि कालले नछोड्ने रहेछ। हाम्रा हट्टाकट्टा, सक्रिय र मायालु बुवालाई पनि त्यो निष्ठुर कालले हामीबाट खोसेरै छाड्यो।
सानो कद र उच्च विचारका धनी बुवा श्री प्रमानन्द पोख्रेल—हाम्रो लागि बुवा मात्र हुनुहुन्नथ्यो, उहाँ हाम्रो घरको बलियो खम्बा हुनुहुन्थ्यो।
१०० वर्षकी हजुरआमाले आफ्नो प्रिय साइँलो छोरा गुमाउनुपर्यो। हामी छोराछोरीले बुवाको प्रेमिल स्नेह र शीतल छहारी गुमायौँ। नातिनातिनाले आफ्नो प्रिय हजुरबुवाको न्यानो काख गुमाए। र आमाले—सँगै बाँच्ने, सँगै मर्ने बाचा गरेको आफ्नो जीवनसाथी, सुखदुःखको साथी, आफ्नो सबैभन्दा प्रिय मान्छे गुमाएर एक्लोपनको कठोर यात्रा सुरु गर्नुपर्यो।
यीमध्ये कुन पीडा ठूलो हो भनेर तुलना गर्न सकिँदैन। हरेक सम्बन्धको आफ्नै एउटा शोक हुन्छ। हरेक आँसुको आफ्नै एउटा कथा हुन्छ।
१५ दिनको मासिका सकेर काठमाडौं फर्किएको पनि १०–१२ दिन भइसकेछ। समय बित्दै गइरहेको छ, दिनहरू फेरिँदै छन्, जीवन आफ्नो गतिमा अगाडि बढिरहेको छ।
तर... मनले अझै स्वीकार गर्न सकेको छैन—बुवा अब हुनुहुन्न।
कहिलेकाहीँ उहाँ कतै हुनुहुन्छजस्तो लाग्छ। फोन गरौँ कि जस्तो लाग्छ। कुनै कुरा सुनाउन मन लाग्छ। अनि अचानक सम्झना आउँछ—अब त्यो नम्बरमा बुवाको आवाज आउने छैन।
महिना दिन बितिसक्दा पनि अन्तरमनले यो सत्य स्वीकार गर्न सकेको छैन। मन भारी छ, बेचैन छ। कता-कता यो सबै सपना जस्तै लाग्छ। सायद प्रिय मान्छेको मृत्यु स्वीकार गर्न समय मात्र पर्याप्त हुँदैन रहेछ।
समयले पीडा मेटाउँदैन रहेछ, बरु त्यस पीडासँग बाँच्न सिकाउँदै लैजाँदो रहेछ। ‘हुनेहार दैव नटार’ भनेझैँ दुःखले जीवन रोकिँदो रहेनछ। जति पीडा भए पनि जीवन अगाडि बढाउनैपर्ने रहेछ।
तर बुवा, तपाईंले छोडेर गएको खाली ठाउँ भने हाम्रो जीवनमा कहिल्यै भरिने छैन।
हामी तपाईंलाई सम्झिरहनेछौँ— तपाईंको बोलीमा, तपाईंको हाँसोमा, तपाईंले दिने सल्लाहमा, तपाईंको मायामा, तपाईंको अनुहारमा र तपाईंले हामीलाई देखाउनुभएको बाटोमा।
हे भगवान्! १०० वर्षकी हजुरआमालाई पुत्रवियोग सहन सक्ने शक्ति दिनुहोस्। आमालाई पतिवियोग सहन सक्ने हृदय दिनुहोस्। हामी छोराछोरीलाई बुवाको अभावमा पनि उहाँका अधुरा जिम्मेवारी पूरा गर्न सक्ने साहस दिनुहोस्।
बुवा, हजुर जहाँ हुनुहुन्छ, खुसी र शान्तिसाथ रहनुहोला। हजुरको आत्माले चिरशान्ति पाओस्। हामीलाई सधैँ हजुरको आशीर्वाद रहिरहोस्। आमाको हामी राम्रोसँग ख्याल गर्नेछौँ।
हजुरले हामीलाई देखाएको बाटोबाट कहिल्यै विचलित नहुने प्रयास गर्नेछौँ। बस्, हामीलाई हजुरको अभावमा बाँच्न सक्ने शक्ति दिनुहोस्। बुवा, हजुर हाम्रो आँखाबाट ओझेल हुनुभयो, तर हाम्रो हृदयबाट कहिल्यै टाढा हुनुहुने छैन।
भावपूर्ण श्रद्धाञ्जली, बुवा। ‘हजुरको सम्झना’ हाम्रो मनमा सदा जीवित रहनेछ।