दसैँ नेपाली समाजको बहुआयामिक सांस्कृतिक पर्व मात्र नभई भौगोलिक रूपमा छरिएर रहेका परिवार र आफन्तलाई पुनर्मिलन गराउने एउटा भावनात्मक एवं सामाजिक सेतु पनि हो।
रोजगारी, अध्ययन तथा विविध सिलसिलामा घरभन्दा टाढा रहेका लाखौँ नागरिक यतिबेला आफ्ना अग्रजको हातबाट टीका-जमरा ग्रहण गर्न र दुःख-सुख साटासाट गर्न आफ्नो जन्मथलो फर्किने अन्तिम तयारीमा छन्। तर हर्ष, उमङ्ग र आत्मीयताको यो महापर्वसँगै हरेक वर्ष एउटा गम्भीर र पेचिलो प्रश्न जोडिएर आउँछ— ‘घर फर्किने यात्रा कत्तिको सुरक्षित छ?’
विगतका वर्षहरूमा दसैँको यात्रा मुख्यतः सवारीसाधनको अपर्याप्तता, यात्रुको अत्यधिक चाप, तीव्र गति, अस्वस्थ प्रतिस्पर्धा, सडक जाम र सवारी दुर्घटनाजस्ता मानवसिर्जित समस्याहरूमै सीमित हुने गर्थ्यो। तर यसपटकको परिस्थिति थप जटिल र पेचिलो बनेको छ।
मनसुनी वर्षाका कारण देशका विभिन्न भूभागमा आएको बाढी, पहिरो, नदी कटान र सडक भासिने घटनाले मुलुकका विभिन्न सडकखण्डको अवस्था कमजोर बनाएको छ र यातायात सञ्चालनमा चुनौती थपेको छ। प्राकृतिक विपत्तिले कमजोर बनाएको सडक पूर्वाधार र चाडपर्वको अतिरिक्त चापका कारण यसपटकको यात्रा केवल ‘कहिले घर पुग्ने?’ भन्ने प्रश्नमा सीमित छैन; यसको सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो—‘कसरी सुरक्षित रूपमा घर पुग्ने?’
दसैँ नजिकिँदै गर्दा सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ सुरु भइसकेको छ र काउन्टरहरूमा यात्रुको चाप बढ्न थालेको छ। अग्रिम टिकटले यात्रा योजना बनाउन सहज बनाए पनि सुरक्षित गन्तव्यको सुनिश्चितता गर्दैन। टिकट प्राप्त गर्नु यात्राको व्यवस्थापकीय सुरुवात मात्र हो; वास्तविक सुरक्षा सवारीसाधनको अवस्था, चालकको सतर्कता, सडकको स्थिति र यात्रुको व्यवहारमा निर्भर हुन्छ। त्यसैले टिकट पाएको सन्तुष्टिसँगै सडकको अवस्था बुझ्ने र सुरक्षित यात्राको तयारी गर्ने जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण छ।
सवारी दुर्घटना र यसका कारण हुने जनधनको क्षति नेपालका लागि कुनै नयाँ विषय होइन। तर चाडपर्वका बेला सडकमा देखिने लापरबाही र भौगोलिक जोखिमले यसलाई अझ भयावह बनाउने गरेको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाको तथ्याङ्कलाई विश्लेषण गर्दा चाडपर्वको अवधिमा सडक सुरक्षाको अवस्था कति संवेदनशील हुन्छ भन्ने स्पष्ट हुन्छ।
गत वर्षको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको छोटो अवधिमा मात्रै देशभर १,४९२ वटा सवारी दुर्घटना दर्ता भए, जसमा २,१११ वटा सवारीसाधन संलग्न थिए। ती दुर्घटनाहरूमा परी ११३ जनाले ज्यान गुमाए भने ५१८ जना गम्भीर र २,२७९ जना साधारण घाइते भए।
यी अङ्कहरू केवल प्रशासनिक तथ्याङ्क वा कागजी विवरण मात्र होइनन्; प्रत्येक सङ्ख्याभित्र एउटा परिवारको पीडा, आफन्तको बिछोड र कैयौँ अधुरा सपना लुकेका छन्। दसैँको खुसी साट्न घर हिँडेको सदस्य दुर्घटनामा पर्दा त्यसको दीर्घकालीन सामाजिक र आर्थिक प्रभाव सम्बन्धित परिवारले जीवनभर भोग्नुपर्छ।
चालु वर्षमा वर्षात्का कारण मुख्य तथा सहायक राजमार्गहरू पहिलेभन्दा धेरै कमजोर बनेका छन्। तसर्थ, भौतिक पूर्वाधारको यो नाजुक अवस्थामा विगतको जस्तै तीव्र गति, ओभरटेकको होडबाजी र सवारीको क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति दोहोरिएमा त्यसको परिणाम अझ घातक हुन सक्ने चेतावनी यो तथ्याङ्कले दिन्छ।
विपत्तिको समयमा अवरुद्ध सडकलाई द्रुत गतिमा मर्मत गरी सञ्चालनमा ल्याउनु राज्यको दायित्व हो। तर अस्थायी रूपमा पहिरो पन्छाएर वा डाइभर्सन बनाएर सडक खुलाउनु र त्यो सडक पूर्ण रूपमा सुरक्षित हुनु दुई बिल्कुल फरक विषय हुन्।
सडक मर्मत गरिएका धेरैजसो पहाडी भूभागमा माथिल्लो पट्टीको ढिस्को वा चट्टान अझै खस्ने जोखिममा हुन सक्छ। नदी कटानका कारण सडकको जग कमजोर भएको हुन सक्छ भने अस्थायी डाइभर्सनहरूमा माटो खुकुलो भई सवारीको भार थाम्न नसक्ने अवस्था रहन्छ। विशेष गरी, रातिको समयमा यस्ता प्राविधिक र भौगर्भिक जोखिमहरू चालकको आँखाले ठम्याउन कठिन हुन्छ।
त्यसैले ‘बाटो खुल्यो’ भन्ने सूचना पाउनासाथ जोखिमको सूक्ष्म मूल्याङ्कन नगरी यात्रामा निस्कनु बुद्धिमानी हुँदैन। मौसमको बदलिँदो अवस्था र सडकको वस्तुस्थिति बुझेर मात्र यात्रा तय गर्नु वर्तमान अवस्थाको प्राथमिक आवश्यकता हो।
हतारको मनोविज्ञान र जीवनको मूल्य
दसैँमा घर पुग्ने आतुरता स्वाभाविक हो। वर्षौँपछि आफन्तसँग हुने भेटघाटको उत्साहले मानिसमा एक प्रकारको मनोवैज्ञानिक हतारो सिर्जना गर्छ। तर, यही हतारो जब सडकमा सवारी हाँक्दा वा यात्रा गर्दा प्रकट हुन्छ, त्यसले दुर्घटनालाई निम्तो दिन्छ।
सडकमा जाम हुँदा अत्तालिने, अगाडिको सवारीलाई जोखिमपूर्ण ढङ्गले ओभरटेक गर्ने, सडकको अवस्था र निर्धारित गति सीमालाई बेवास्ता गरी सवारी चलाउने र वर्षा भइरहेको अवस्थामा वा पहिरो खसिरहेको ठाउँबाट जोखिम मोलेर पार हुन खोज्ने प्रवृत्ति दुर्घटनाका मुख्य कारक हुन्।
हामीले के बिर्सनु हुँदैन भने, समय बचाउने चक्करमा अमूल्य जीवन नै गुम्न सक्छ। गन्तव्यमा केही घण्टा वा एक दिन ढिला पुग्नु स्वीकार्य हुन सक्छ, तर कहिल्यै नपुग्नुको क्षति अपूरणीय हुन्छ। त्यसैले सडकमा हाम्रो पहिलो प्राथमिकता समयको बचत नभई जीवनको सुरक्षा हुनुपर्छ।
सडक सुरक्षाका बहुपक्षीय दायित्वहरू
अग्रिम टिकट बुकिङ भइसकेर यात्राको मुख्य समय नजिकिँदै गर्दा अबको यातायात व्यवस्थापनलाई सुरक्षित बनाउन राज्य, व्यवसायी र यात्रु तीनै पक्षको एकीकृत समन्वय अपरिहार्य छ:
१. चालक तथा यातायात व्यवसायीको भूमिका
लामो दूरीका यात्रामा चालकको थकान र निद्राका कारण हुन सक्ने जोखिम न्यूनीकरण गर्न आवश्यक विश्राम र सुरक्षित चालक व्यवस्थापन सुनिश्चित गर्नुपर्छ। सम्बन्धित कानुन वा आधिकारिक निर्देशनले तोकेको अवस्थामा दुई चालकको व्यवस्था अनिवार्य रूपमा पालना गरिनुपर्छ। साथै क्षमताभन्दा बढी यात्रु राख्ने, छतमा यात्रु चढाउने र प्राविधिक रूपमा असुरक्षित सवारीसाधन सञ्चालन गर्ने कार्य रोक्न यातायात व्यवसायीले विशेष जिम्मेवारी निर्वाह गर्नुपर्छ।
२. यात्रुको सचेत व्यवहार
यात्रुहरू केवल भाडा तिरेर यात्रा गर्ने उपभोक्ता मात्र होइनन्, उनीहरू सडक सुरक्षाका सक्रिय साझेदार पनि हुन्। ‘छिटो पुर्याइदिनुस्’ भन्दै चालकलाई मानसिक दबाब दिने, जोखिमपूर्ण ओभरटेक गर्न उक्साउने वा क्षमताभन्दा बढी भरिएका गाडीमा कोचिएर यात्रा गर्ने बानी त्याग्नुपर्छ। सवारी चालकले जोखिम देखेर गाडी रोक्दा वा बिस्तारै चलाउँदा धैर्यता देखाउनु र चालकलाई प्रोत्साहन गर्नु यात्रुको नागरिक कर्तव्य हो।
३. नियमनकारी निकाय र पूर्वाधार व्यवस्थापन
टिकट बुकिङ सञ्चालन भइरहँदा र यात्रुको चाप बढ्दै जाँदा यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र सडक विभागको जिम्मेवारी झन् थपिएको छ। टिकट काउन्टरहरूमा भइरहेको वा हुन सक्ने ठगी, कालोबजारी र बिचौलियाको प्रभाव रोक्न कडा अनुगमन निरन्तर हुनुपर्छ।
जोखिमयुक्त सडकखण्डको नियमित प्राविधिक निरीक्षण गरी जोखिमको अवस्थाअनुसार सवारी सञ्चालनको व्यवस्था मिलाउनुपर्छ। साथै, सडकको वास्तविक अवस्था, मौसमको पूर्वानुमान र वैकल्पिक मार्गबारे सर्वसाधारणलाई समयमै आधिकारिक तथा वस्तुनिष्ठ सूचना उपलब्ध गराउने प्रणालीलाई चुस्त बनाउनुपर्छ। साथै, जोखिमयुक्त सडकखण्डमा उद्धार तथा सडक खुलाउने कार्यका लागि आवश्यक भारी उपकरण (क्रेन, डोजर आदि) र जनशक्ति चौबीसै घण्टा तयारी अवस्थामा राखिनुपर्छ।
दसैँ मिलनको पर्व हो, बिछोडको कारण बन्नु हुँदैन। प्राकृतिक विपत्तिले सडकको अवस्था अनिश्चित बनाएको यस समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्नु सबै सरोकारवालाको साझा दायित्व हो। यातायात व्यवसायीले नाफाभन्दा सुरक्षालाई प्राथमिकता दिऊन्, चालकले गतिभन्दा नियन्त्रणलाई महत्त्व दिऊन्, यात्रुले हतारभन्दा संयमता रोजून् र राज्यका सम्बन्धित निकायले सडकको सञ्चालनसँगै त्यसको सुरक्षा तथा सूचना व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गरून्।
घर फर्किने यात्राको सफलता समयमै गन्तव्यमा पुग्नुमा मात्र होइन, सुरक्षित रूपमा परिवारसँग पुनर्मिलन हुनुमा छ। त्यसैले यस दसैँमा हाम्रो साझा संकल्प होस्—हतारभन्दा सावधानी, गतिभन्दा नियन्त्रण र जोखिमभन्दा सुरक्षित विकल्प। घर फर्कौँ, तर सुरक्षित भएर फर्कौँ।
(लेखक प्रहरी वरिष्ठ नायब निरीक्षक हुन्। हाल उनी जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनमा कार्यरत छन्।)