घटना घटेको केही दिनपछि मामाघर जानुपर्ने काम थियो। बाटो उही थियो, तर बाटोले बोकेको दृश्य उही थिएन। आँखैअगाडि उजाडिएको संसारलाई हेर्दा, केही बेर त आफू कहाँ उभिएको छु भन्ने पनि बिर्सिएँ।
केही क्षणमै रित्तिएको त्यो बजार र बस्ती, उर्लिरहेको पानी, बगिरहेका चिजवस्तुहरू, पानीको गर्जनसँगै निस्केका मानिसका रोदन, चिच्याहट, भागदौड, ती सबै दृश्यहरू केही बेरसम्म मनसपटलमा फनफनी घुमिरहे।
म भने टुलुटुलु आँखाले ती सबैको अवशेष बनेर बाँकी रहेको आकाशजस्तै फराकिलो, खाली जमिन हेरिरहेँ, मानौँ आँखाले देखिरहेको त्यो उजाडपनलाई मनले स्वीकार्नै मानिरहेको थिएन। जब कल्पनाभन्दा ठूलो विनाश देखेँ, शब्दहरू आफैँ साना हुँदै गए।
केही दिनअघिसम्म जहाँ घर थिए, आँगन थिए, भान्साको धुवाँ थियो, बालबालिकाको हाँसो थियो, व्यस्त सडकपेटी, पसल, पुलहरू थिए, साँझ फर्किने मानिसहरू थिए, त्यहाँ अहिले केवल माटो थियो। चिनेका ठाउँहरू अपरिचित भएका थिए। बाँकी रहेका केही घरका अंशहरू पनि घरजस्ता देखिँदैनथे।
कुनै घरका पाँचौँ–छैटौँ तलासम्म विनाशका गहिरा दाग थिए। त्यस मुनिका तल्ला भने नदीले आफूसँगै बगाएर लगेको थियो। के के पो बगाएन यो नदीले! जताततै बाढीका चिन्हहरू थिए। जताततै पानीले छोडेको उचाइको दाग देखिन्थ्यो, मानौँ कुनै अदृश्य हातले त्यहीँ जीवनको एउटा अन्तिम रेखा कोरिदिएको हो।
घटनापश्चात् सायद नदीको परिभाषा सबैका लागि एउटै रहेन, कसैका लागि यो मृत्यु त कसैका लागि कहिल्यै नसकिने एउटा प्रश्न बनिरह्यो। साँच्चै प्रश्नहरू के–के होलान् है? म फेरि क्रमशः विनाशका दृश्यमा आफ्नो दृष्टि ओछ्याउँदै, केही बेर त्यहीँ बसिरहेँ।
त्रिशूलीको किनार कता थियो ठम्याउन गाह्रो पर्यो, किनकि नदीले आफ्नो बाटो छोडेर नयाँ बाटो बनाइसकेको थियो। म भने नदीभन्दा अलि पर, माथि एउटा माटोको ढिस्कोमा बसिरहेँ। चारैतिर हेर्दाहेर्दै आँखा थाके, बसिरहँदा पनि मन थाक्यो।
केही समयपछि म अस्थायी शिविरतर्फ अघि बढेँ। नजिक पुग्दै गर्दा केही मानिसहरू देखिए र मनमा एक किसिमको राहत पलायो; कम्तीमा उनीहरू त बाँचेका थिए। यही सान्त्वनाले अलिकति भए पनि लामो सास फेरेँ, तर त्यो राहत पनि केही पलको मात्र थियो। किनकि त्यतिबेलासम्म मैले बुझिसकेको थिएँ; घटनापश्चात् नदीको मात्र नभई, अब कतिका लागि जीवनकै परिभाषा पनि बदलिएको थियो।
चारैतिरबाट रित्तिएका उनीहरूसँग केवल पीडाले भरिएका मन र आँसुले भरिएका आँखा बाँकी थिए। बाँच्नु अब उनीहरूका लागि पहिलेझैँ कहाँ हुन सक्थ्यो र! यो घटनाले छोडेको घाउ सायद कहिल्यै पूर्ण रूपमा पुरिने छैन। घाउ पुरिए पनि, सायद बाँकी रहने दागले बाँचुन्जेल यो स्मृतिलाई मेटिन दिने छैनन्।
जब अलि नजिक पुगेँ, मनमा एक किसिमको भार महसुस भयो। मसँग कसैलाई केही सोध्ने वा सान्त्वना दिने हिम्मत थिएन। के सोध्नु? कसरी सोध्नु? जुन अवस्थाबाट उनीहरू गुज्रिरहेका थिए, जुन संघर्षलाई अँगालेर उनीहरू आफ्नो जीवन सम्हाल्ने प्रयास गरिरहेका थिए, त्यस्तो बेला मेरा प्रश्नहरू कतै तीर पो बन्ने हुन् कि?
म एकछिन टक्क अडिएँ। केही मानिसहरूलाई भेटेँ। मैले उनीहरूको आँखामा घर खोजेँ; हराएका, नभेटिएका, गुमाएका मानिसहरू खोजेँ। पुराना दिनहरू खोजेँ। जे–जे खोजेँ पनि ती आँखाहरूमा मैले केवल एउटा गहिरो थकान भेटेँ; त्यस्तो थकान, जसलाई केही रातको निद्रा त के, वर्षौँको निद्राले पनि मेटाउन सक्दैन।
कति निडर र बहादुर होलान् है, यी दुःख बोकेर बाँचिरहेकाहरू। हामीले बाहिरबाट हेर्दा उनीहरू बाँचेका देख्छौँ, तर उनीहरूले भित्रभित्रै कति कुरा गुमाएर यो जीवन सम्हालिरहेका छन्, त्यो उनीहरूका आँखाले मात्र जान्दछन्।
सायद समयले उनीहरूलाई बिस्तारै फेरि उठ्न सिकाउनेछ, सायद हरेक वर्ष भित्तेपात्रो फेरिँदा, मौसम बदलिँदा, यी घाउहरूमाथि पनि बिस्तारै नयाँ छाला पलाउँदै जानेछ। नयाँ घरहरू बन्नेछन्, नयाँ बाटाहरू खुल्नेछन्, र जीवन पनि विस्तारै आफ्नो लयमा फर्कनेछ। तर केही कुराहरू भने फेरि उस्तै हुने छैनन्।
जुन मानिस कहिल्यै फर्केर आउँदैन, उसको अभावको ठाउँमा एउटा घरले आखिर के राख्न सक्छ र? जुन रात नदीले कसैको जीवन आफूसँगै बगाएर लग्यो, त्यो रातलाई स्मृतिबाट कसले फेरि बगाएर लैजान सक्छ र? केही क्षति समयसँगै देखिन छोड्लान्, तर केही रिक्तताहरू भने जीवनभर उस्तै रहिरहन्छन्।
नदीले जीवन मात्र नबोकिदिएको भए? काश, हरेक झ्यालभित्र जीवन बाँचेको भए? तर प्रकृतिसँग ‘काश’ को कुनै उत्तर हुँदैन। फर्किएपछि पनि ती दृश्यहरू आँखाबाट हटेनन्। रात पर्यो, तर मनमा पानीको आवाज बजिरह्यो, मन त्यही माटोमा अड्किरह्यो।
मसँग कसैको घर फर्काउन सक्ने शक्ति थिएन। कसैलाई फेरि जीवित बनाउन सक्ने शक्ति थिएन। बगेको बाटो रोक्न सक्ने शक्ति थिएन। मनले त संसारको सबै दुःख आफ्ना हातमा उठाउन खोज्छ, तर त्यसो गर्न खोज्दा हातहरू भने रित्तै हुन्छन्। कसैको प्रार्थना किन सुनिएन? कसैको घर किन बाँकी रहेन? कसैको जीवन किन यति निर्मम ढङ्गले खोसियो? तर ती प्रश्नहरूको उत्तर पनि त्यही दिन माटोमुनि पुरिएजस्तो लाग्यो।
फर्किँदा मसँग आँखाभरि माटो थियो, मनभरि मौनता, र एउटा सत्य थियो, जुन त्यो नदीले आफ्नै भाषामा सिकाएर गएको थियो; जीवन पनि ठ्याक्कै नदीजस्तै हुँदो रहेछ, कहिल्यै नफर्किने, आफ्नै वेगमा बगिरहने, ठ्याक्कै हराएका मानिसजस्तै।
फरक यति मात्र हो, नदीले आफ्नो यात्रा बगेर पूरा गर्छ, मानिस भने यही यात्राका केही हराएका किनारहरू सम्झँदै बाँचिरहन्छ। आँखैअगाडि उजाडिएको संसार जब देखेँ, केही रिक्तताहरू समयले पनि भर्न सक्दैनन् भन्ने अनुभूति बोकेर, म मन भारी बनाउँदै आफ्नो घर फर्किएँ।