‘फेरि आयो दसैँ र तिहार
तिमी कहिले आउँछौ त पियारा
रोयो गामबेंसी, अब त फर्केर आउ है परदेशी’
गायिका विष्णु माझीले गाएको यो सुमधुर गीतले भनेजस्तै, हामी नेपालीका महान् चाड दसैँ र तिहारलगायतका पर्वले हाम्रो घरआँगनलाई ढपक्क ढाक्नै लाग्दा सयपत्री र मखमली फूल मुसुक्क मुस्कुराएर फक्रिन थालेका छन्। छुट्टी मिल्ने परदेशीहरू धमाधम फर्किन पनि थालेका छन्।
फर्किनेहरूका परिवार र छोराछोरीको अनुहारमा देखिने उत्साह कुनै उत्सव मनाएभन्दा कम देखिँदैन। वर्षौँसम्म परदेशमा पसिना बेचेर छोराछोरीका लागि ल्याएका १–२ जोर नयाँ कपडा, श्रीमती र आमाका लागि ल्याएका नयाँ सारीको सुगन्धले सिङ्गो घरलाई नै सुगन्धित बनाइदिन्छ, परदेशीले छर्केका अत्तरको बास्नाले गाउँ र उनीहरू हिँडेका गल्लीभर मगमगाउँछ।
फर्केर आउनेहरूको उमङ्गलाई छोडेर हेर्ने हो भने, भर्खरै घरदेश छोडी परदेशतर्फ उडान भरेका र वर्षौँ परदेश बस्दा पनि छुट्टी मिलेर आउन नसकेकाहरूको दर्दले मनलाई चिसो बनाइदिन्छ।
वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्कअनुसार दैनिक २००० जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने गरेको देखिन्छ भने शिक्षा तथा खेलकुद मन्त्रालयको तथ्याङ्कअनुसार दैनिक ४०० भन्दा बढी विद्यार्थीले ‘नो अबुजेक्सन लेटर’ लिने गरेको देखिन्छ। यी तथ्याङ्कले नेपाली युवाको रोजाइमा वैदेशिक अध्ययन वा रोजगारी नै पहिलो प्राथमिकतामा रहेको देखाउँछन्।
केही वर्षअगाडिसम्म पुरुषहरूको मात्र बाहुल्य रहेको वैदेशिक रोजगारी वा अध्ययनमा पछिल्लो समय महिलाको सङ्ख्या पनि ह्वात्तै बढ्दै गइरहेको देखिन्छ। अझ कलिला छोराछोरी आफन्तको जिम्मामा छोडेर गएका आमाहरूको पीडा सम्झिँदा मुटु भारी हुन्छ।
आफ्नै सन्तानको उज्ज्वल भविष्यको सपना देखेर आमाहरू पनि परदेशिन एयरपोर्टको लाइनमा मिसिन पुगेको कुरा महिला सशक्तीकरणभन्दा पनि बढी भावनात्मक र संवेगात्मक रूपमा संवेदनशील मानिन्छ। दूध चुस्दै गरेका दुधे बालक हुन् वा भर्खरै दूध छुटेका कलिला छोराछोरी, छोडेर आमाहरू विदेशिन बाध्य भएका छन्।
स्वभावले शान्त, दया, माया र करुणाले भरिएकी एउटी आमा आफ्नो सन्तान अरूकै जिम्मामा सुम्पेर आकाशमा उड्ने चाहनालाई केवल चाहनामा मात्र सीमित नराखी आधारभूत आवश्यकता परिपूर्तिको दृष्टिकोणबाट हेर्नुपर्ने हुन्छ।
‘मुटु गाँठो पारी आएँ,
मनको रहर मारी आएँ
आफैँसँग हारी आएँ’
भन्नेजस्ता हृदयस्पर्शी गीतका शब्दहरू केवल तिनै आमाका लागि रचिएका जस्ता लाग्छन्, जसले आफ्ना तोते बोल्ने छोराछोरी छोडेर उनीहरूकै सुन्दर भविष्य बनाउन सात समुद्रपारि तर्न बाध्य भएका छन्।
पछिल्लो समय टिकटक वा रिल्समा यस्ता भिडियोहरू छ्याप्छ्याप्ती भेटिन्छन्, जहाँ नबुझ्ने उमेरका बच्चालाई विमानस्थलमा खानेकुरा दिएर भुलाइएको हुन्छ, बुझ्ने उमेरका बच्चाहरू ‘ममी नजानु, जाने भए मलाई पनि सँगै लैजानु’ भन्दै आमाको अँगालोमा रोइरहेका हुन्छन् भने आमाहरू खादा-माला पहिरिएर, रुँदारुँदै सुन्निएका आँखा रातो पार्दै सुटकेस गुडाइरहेका हुन्छन्। यस्ता भिडियो हेर्दाहेर्दै आँखा नरसाउने आखिर कसको होला र?
हो आमा, तिमी महान् छौ। इतिहासदेखि नै तिम्रा लागि रचिएका उपनामहरूमा तिमीले प्राण भरिदिएकी छौ। साथमा सँगै रहँदामात्रै होइन, सात समुद्रपारि जाँदा पनि तिमीले आफ्नोपन पक्कै सँगै लिएर गएकी हुन्छ्यौ।
यसरी रुवाउँदै छोडेर गएका बच्चाको अनुहार सम्झेर तिमीले कसरी काम गरेकी हौली? तिम्रो मनोबल कति खस्केको हुन्छ होला? तिमीले सपनामा आफ्नो बच्चालाई अँगालेर सुतेको देख्दा कति ऐँठन हुन्छ होला? खाना खान लाग्दा तिम्रो गाँस कति अड्किन्छ होला?
‘४ बजेको अलार्म ५ बजेको काम
सोचेजस्तो हुँदैन परदेशको ठाम
बाँधेर के गर्नु घडी हातैमा
सम्झिने समय छैन साथैमा’
यो मर्मस्पर्शी गीतले भनेजस्तै, व्यस्त समयमा पेटभरि गफ गर्ने समय नपाउँदा यादैयादले कति तड्पिन्छ्यौ होला? समय मिलाएर गफ गर्न पाए तापनि प्रत्यक्ष भेटमा मेटिएजस्तो अत्यास भर्चुअल कुराकानीले कुनै हालतमा पनि मेटाउन सक्दैन। तिमीले (बाबा, हजुरबा, हजुरआमा, फुपू, मामा, सानिमासँग) छोडेर गएका वा होस्टेलमै राखेर भए पनि गएका बच्चाको मनोविज्ञान सम्झिँदा मलाई निकै गाह्रो हुन्छ।
करिब ४ वर्ष पुग्न लागेकी छोरीकी आमाले २–४ दिन छोरी छोडेर हिँड्दासमेत लर्याकलुरुक पर्ने म आफूलाई पनि तिम्रो ठाउँमा राखेर हेर्छु र भावनाको तलाउमा पौडिन थाल्दछु। कठै! तिमीलाई भएको पीडाले मलाई पनि ऐँठन हुन्छ र तिमीजत्तिकै म पनि निचोरिन्छु। किनकि, सन्तानका लागि हामी आमाहरूले प्राकृतिक रूपमै ‘कोमल हृदय’ को उपहार पाएका छौँ।
प्रत्येक आमाका लागि सन्तान अमूल्य हुन्छन्। धनी, गरिब, ठुलो, सानो सबैखाले आमाका लागि आफ्ना सन्तानले हृदयमा ठाउँ पाएका हुन्छन्। किनकि छोराछोरी आमाकै अभिन्न अङ्ग वा रगत हुन्। बाबा परदेशिएका छोराछोरीलाई आमाले आत्मीयताका साथ सम्हालेर राख्न सक्छिन् तर आमा नै परदेशिएका छोराछोरीले आमाको जस्तै माया, प्रेम र आत्मीयता प्राप्त गर्न सक्लान् कि नसक्लान्?
स्कुलमा साथी वा शिक्षकले गाली गरे पनि घरमा आई बिसाउने चौतारी ‘आमा’ नहुँदा उनीहरूले यो पीडा कसलाई पोख्छन् होला? आमाले विश्वास गरी सुम्पिएर गएका व्यक्तिलाई बालहठ देखाई घुर्क्याउँदा उनीहरूले तीतो र रुखो वचन फर्काउँछन् कि फर्काउँदैनन् होला? भन्ने प्रश्न मलाई खड्किरहन्छ।
आफ्ना बच्चा छोडी परदेशिएका आमाहरू, तपाईंहरूप्रति मेरो मनमा अगाध प्रेम र श्रद्धा छ। तपाईंहरूको आँट र हिम्मतलाई मेरो सलाम छ। परिस्थितिसँग जुध्ने सामर्थ्य जुटाएकोमा कोटि कोटि नमन छ। सँगै बसेर सन्तान अँगाल्नुमात्र पनि अब मातृत्व होइन, उनीहरूको सुखद भविष्य कोर्ने दायित्व पनि मातृत्वको परिभाषामा अटाउने दिनको पर्खाइमा तिमी बस।
जुन दिन परदेशिएका आमाहरूले गरेको त्यागले संसारमा स्थान पाउँछ, त्यो दिन तिमीले आफ्नो मातृत्वको वास्तविक मूल्य पाउनेछौ। जसले साना छोराछोरीको जिम्मेवारी लिई तिनका आमालाई वैदेशिक रोजगारी वा अध्ययनमा पठाउनुभएको छ, ती तमाम (बाबा, हजुरबा, हजुरआमा, फुपू, मामा र सानिमाहरूमा) कोटि कोटि प्रणाम र आभार छ।
र अन्त्यमा,
‘भन्थ्यौ आमा नेपालमा दुःख छ,
विदेशमा त पैसाको रुख छ
कालो बादल निलो आकाशमा
गयौ आमा चढेर जहाजमा फर्क्यौ बाकसमा’
‘परदेशी’ फिल्मको मर्मस्पर्शी यो गीतले भनेजस्तै, कुनै पनि आमाहरू आफू रुँदै गएर अरूलाई रुवाउँदै बाकसमा फर्केर आउन नपरोस्, आमा र छोराछोरीको सपनाको हत्या नहोस् अनि कलिला छोराछोरी र आमा सधैँ सँगै बस्न पाउने वातावरण सिर्जना गर्न सरकार गम्भीर ढङ्गले लागिपरोस्।