कहिल्यै सोचेको पनि थिइनँ, दसैँलाई पनि कुनै दिन यति विरक्तलाग्दो लाग्ला भनेर। दसैँ, हाम्रो सबैभन्दा ठूलो चाड। खुसी, उमङ्ग र उल्लासको पर्व।
दसैँ मनाउनकै लागि विद्यालयहरू लामो समय बिदा हुन्छन्, कार्यालयहरू बन्द हुन्छन्। गाउँघरमा छुट्टै रौनक छाउँछ। गाउँका चोकचोकमा रामलीला लाग्छन्। परदेशिएका र टाढा पुगेका आफन्तहरू घर फर्किन्छन्।
वर्षमा एकपटक भए पनि परिवारका सबै सदस्य एकै ठाउँमा भेला हुन्छन्। घरआँगनमा हाँसो गुञ्जिन्छ, आफन्तबीच आत्मीयता साटिन्छ र मनमा बेग्लै उमङ्ग छाउँछ। यी सबैको केन्द्रमा हुन्छ—दसैँ।
तर हो, यही दसैँलाई म आज ‘विरक्तलाग्दो दसैँ’ भनिरहेको छु। कस्तो विडम्बना!
जुन चाडको आगमनले मनमा खुसी छाउनुपर्ने हो, त्यही चाड आज मनमा एक किसिमको उदासी बोकेर आइरहेछ। जुन समयलाई वर्षकै सबैभन्दा रमाइलो समय मानिन्छ, त्यही समय आज किन खल्लो लागिरहेको छ? आखिर, चाडपर्व भनेका खुसी हुने अवसर हुन् कि कहिलेकाहीँ मनभित्र लुकेर बसेका दुःख र अभावलाई अझ गहिरोसँग महसुस गराउने समय?
विरक्त लाग्नुका पनि धेरै कारण रहेछन्। एकपटक फर्केर जाऔँ न, त्यही बाल्यकालमा। त्यही समयमा, जुन बेला दसैँ भनेकै खुसीको पर्यायजस्तो लाग्थ्यो।
सानै छँदा मलाई लाग्थ्यो, दसैँ भनेको नयाँ कपडा किन्नु हो, घरमा मासु पाक्नु हो। कम्तीमा एक हप्तासम्म घरमा मासु पाकिरहनु र खाइरहनु हो दसैँ। दसैँ भनेकै नयाँ कपडा लगाएर गाउँगाउँ डुल्नु हो। नयाँ कपडा लगाएर हिँड्दा मनमा आउने त्यो खुसीको त कुरै नगरौँ!
सम्झन्छु। त्यो समय, जुन मेरा लागि एकदमै सुनौलो थियो। दसैँ संघारमै हुन्थ्यो। आकाशमा मालचरीहरू उडिरहेका देखिन्थे। भोगटेका पाकेका हुन्थे। खेतमा धानका बाला लहलहाउँदै पाकेका हुन्थे। टाढैबाट हेर्दा खेतहरू सुनजस्तै पहेँलपुर देखिन्थे। गाउँलेहरू पाकेको धान भित्र्याउने
हतारोमा हुन्थे। घरमा दसैँको तयारी चलिरहन्थ्यो। खेतबारीको कामले भ्याइनभ्याइ हुन्थ्यो।
म भने कामै नगरे पनि खेतमा जान्थेँ। खेतमा धान काट्नमा तल्लीन भएकी आमालाई नयाँ कपडाका लागि घचघच्याइरहेको हुन्थेँ। मेरो ध्यान खेतको काममा भन्दा नयाँ कपडा कहिले किन्ने भन्नेमै हुन्थ्यो। आमालाई सायद घरको काम, पाकेको धान र दसैँको तयारीको चिन्ता हुन्थ्यो। मलाई भने नयाँ कपडाकै चिन्ता। कपडाकै लागि आमाका अगिपछि लाग्थेँ। बासँग जाने आँट हुन्थेन।
‘कति पछि लाग्छ हौ? तैँले कपडाको रहर गर्छस् भनेर कपडा किन्दिने भनेर केही त सोच्या हुँला,’ आमा कराउनुहुन्थ्यो।
धेरै अटेर गरेपछि साँझमा अगेना छेउ छलफल चल्थ्यो। बासँग खासै नजिक हुन्थिनँ। नजिक हुने भनेकै खाना खाँदा हो। कपडा किन्ने छलफल भयो। बाले भन्नुभयो, ‘अब जाडो भयो। जाडोलाई हुने कपडा किन। दसैँलाई पनि हुने, जाडोलाई पनि हुने।’
बाका अगाडि बाले भनेकै कुरामा होमा हो मिलाएको। मैले भोलिपल्ट आमासँग द्वन्द्व गरेँ। जिन्स पाइन्ट र सर्ट किन्छु भनेर। धेरै अटेर गरेपछि आमाले बाकसमा रहेको सुर्के थैलीबाट हजारका दुई नोट निकाल्नुभयो, पैसा हुत्याउँदै फाल्नुभयो र भन्नुभयो, ‘ल, त्यो पैसा राख, हाम्ले भनेको नमान्ने भए साँझमा घर नफर्किनु, जता जाने हो त्यतै जानु।’
आमा कड्किनुभयो र सुस्केरा हाल्दै उठ्नुभयो। मेरो काखसम्म आएको पैसा नउठाई एकछिनसम्म घोरिरहेँ। खेतबाट धान काटेर आउनुभएका बा हँसिया कुनामा राखेर बस्नै लाग्दा म तिर हेर्दै बोल्नुभयो, ‘के भयो? पैसा किन फाल्याछस्?’
म केही बोल्नै सकिनँ र भुइँको पैसा टिपेँ र गोजीमा हुलेँ। खाना नखाई साइकलमै बजार गएँ, आमा र बाको डर मान्दै जिन्स पाइन्ट र पातलो सर्ट किनिल्याएँ। आमाले हेर्नुभयो।
‘न डर छ, न केही, भन्या मान्नु पर्दैन? पछिको सोच्नुछैन? भोलि-पर्सि जाडो सुरुहुन्छ, यही लगाउनू।’
आमा फन्किनुभयो र भोकाएका बाख्रालाई घाँस दिन जानुभयो। आमासँग नबोली बसेँ। नयाँ कपडा देखाउन गाउँ निस्किएँ। त्यतिबेला नयाँ कपडा किन्न नपाउनु भनेको दसैँ नै नआउनुजस्तो लाग्थ्यो। दसैँको खुसी नयाँ कपडासँग जोडिएको थियो। नयाँ कपडा पाएपछि संसार जितेजस्तै लाग्थ्यो। न ठूला अपेक्षा थिए, न धेरै चाहना। थोरै कुरामै असीमित खुसी भेटिन्थ्यो।
आज सम्झँदा लाग्छ, त्यो समय साँच्चिकै सुनौलो थियो। सायद दसैँ त्यतिबेला मात्र खुसीको पर्व थिएन, त्यो त हाम्रो बालापनको एउटा सुन्दर संसार थियो।
गाउँमा प्रायः दसैँ तिहारमा पिङ हाल्ने गर्थे। स्कुलको चौरमा पिङ हाले। पिङ दिनभरि प्रायजसो खाली हुँदैनथ्यो। सानाभन्दा ठूला मान्छे धेरै खेलिरहन्थे। हामी भुराभुरीलाई पालो कहिल्यै दिँदैन थिए। एकदिन दिउँसो स्कुलको चौर पुगेँ। पिङ खेल्न खोज्नेको भिड पातलो थियो। पालो कुरेँ।
मेरो पालो आउनै लाग्दा कोही मान्छे आयो र हाम्रो लाइन बिथोल्यो र आफू चढ्यो। आफू चढिसकेर उत्रेपछि पिङको लट्टा गुजुल्टो बनाएर माथि फालिदियो। त्यो लट्टा माथि अड्कियो। तल झरेन, झर्दै त झरेन अनि मेरो मन भने भाउन्न भयो।
झट्ट दिमागमा आयो, ‘राति आउँछु र खेल्न नपाउने पिङ हँसियाले काटिदिन्छु।’
घर गएँ, हँसिया खोजेँ। हँसियामा धार लगाएँ। राति अबेरसम्म बसेँ। कहिल्यै अबेरसम्म बसेको नदेखेकी आमा कराउनुभयो। एकछिनसम्म सुतेको जस्तो गरेँ। आमा सुतेपछि जुरुक्क उठेर लागेँ स्कुलको चौर।
रात धेरै छिप्पिसकेको थिएन। स्कुल, नजिकै पुग्नै लाग्दा कोही पिङ खेल्दै गरेको देखेँ अनि अलि सजग भएँ। हँसिया लुकाएँ। पिङको नजिक गएँ र उनीहरू जाने बाटो कुरेँ। उनीहरूले मलाई खेल्न कर गरे, तर मैले खेलिनँ।
केही समयमा उनीहरू आफ्नो घर लागे। चौरको पर-परसम्म नियालेँ, कोहीलाई देखिनँ। सुनसान थियो। मस्तसँग एकछिन पिङ खेलेँ। अलि अँध्यारो भयो। लुकाएको हँसिया ल्याएँ। साना हातले ठूलो बिँड भएको हँसियाले पिङको लट्टा काट्न खोजेँ। काटिएन।
अलि बेरपछि अलिअलि काटियो। कोही आएजस्तो सर्याकसुरुक भयो। म भागेँ त्यहाँबाट। भोलिपल्ट एकजनाले सुनायो, ‘एकजना मोटो मान्छे पिङ चढ्यो। मच्चिनै लाग्दा, बिचमै पिङको लट्टा चुट्यो र भुइँमा बजारियो।’
मैले उसका कुरा सुनेपछि भनेँ, ‘पिङ कमजोर भएर होला।’
त्यो खबर सुनेपछि खुसीले गद्गद् भएर फेरि फर्किएर पिङ कस्तो भयो हेर्न स्कुलको चौर गइनँ।
मेरो गाउँमा जंगल र बस्तीको बिचमा ठूलो चौर छ। गाउँमा केटाहरूको कमी थिएन, अनि दसैँमा फुटबल प्रतियोगिता नभएको वर्ष सायदै हुन्थ्यो। कुनै समय यस्तो थियो, दसैँ आउनु तर खसी बाजीको फुटबल प्रतियोगिता नहुनु असम्भवजस्तै लाग्थ्यो।
एक दिन चौरको बीचमा बैठक बस्यो। बैठकले खसी बाजीको फुटबल प्रतियोगिता हुने मिति तय गर्यो। प्रतियोगितामा सहभागी हुन टिमहरूलाई आह्वान गर्दै सूचना निकालियो। प्रतियोगितामा १० वटा टिम सहभागी हुने भए।
अब चौरको रौनक नै बेग्लै थियो। चौर दुलहीझैँ सिँगारियो। बाटोमा स्वागत लेखिएको गेट बन्यो। चौरको एक छेउमा टेन्ट ठडियो। गाउँमा दसैँको चहलपहलसँगै फुटबलको रौनक पनि थपियो।
प्रतियोगिताको उद्घाटन हुने दिन आयो। उद्घाटनको दिन प्रायः आयोजक टिमकै खेल हुन्थ्यो। आयोजक टिमले जित्नैपर्ने दबाब पनि हुन्थ्यो। आखिर, आफ्नै गाउँमा आयोजना गरेको प्रतियोगिताको पहिलो खेल हार्नु कसलाई पो राम्रो लाग्थ्यो र!
खेल सुरु हुनुअघि टिमको नाम लगायत अरू कुराहरू मञ्चबाट उद्घोषण भयो। त्यसपछि अतिथिको आसन ग्रहण र मन्तव्यको क्रम सुरु भयो। फुटबलसँग खासै परिचित नभएका एक अतिथि मञ्चमा उक्लिए। उनी फुटबलका बारेमा बोलिरहे। फुटबलबारे केही नजानेका उनले खेलकुदलाई अगाडि बढाउने र हाम्रो गाउँलाई फुटबलको पहिचान बनाउने प्रतिबद्धता व्यक्त गरेर मञ्चबाट ओर्लिए।
यता चौरमा भने गाउँ नै र्लिएजस्तो दृश्य थियो। दर्शकको भीड, खेलाडीको उत्साह र मैदानको रौनकले वातावरण नै रोमाञ्चक बनेको थियो। खेल पाँच बजे सुरु हुने तय थियो। म भने दिउँसै पुगिसकेको थिएँ।
खेल सुरु भयो। दर्शकहरू खेलको मज्जा लिइरहेका थिए। खेलाडीहरू गोल गर्ने प्रयासमा दौडिरहेका थिए। हामी भने अर्कै धुनमा हुन्थ्यौँ। पोस्टबाट बाहिर गएको बल कसले ल्याउने भन्नेमा हाम्रो तँछाडमछाड चल्थ्यो। हाम्रो लागि फुटबल हेर्नु मात्रै पनि रमाइलो थियो, तर मैदानमा खेलाडीले हानेको बल लिन दौडनुको मज्जा नै बेग्लै हुन्थ्यो।
बल मैदानबाहिर जानेबित्तिकै हामी त्यसको पछि दौडिन्थ्यौँ। कसले पहिले बल समात्ने र कसले खेलाडीलाई बल पुर्याउने भन्नेमा पनि छुट्टै प्रतिस्पर्धा चल्थ्यो। सायद, त्यतिबेला हामीलाई फुटबलको नियमभन्दा फुटबलसँग जोडिएको खुसी बढी थाहा थियो। खेल कसले जित्यो, कसले हार्यो भन्ने भन्दा पनि चौरमा बिताएको समय, साथीहरूसँगको रमाइलो र दसैँको त्यो माहोल नै हाम्रा लागि ठूलो कुरा।
अर्को टिमको एक खेलाडीले हाम्रो टिमको एकजना खेलाडीलाई खुट्टाले हान्यो। ऊ भुइँमा ढल्यो। तर ऊ पनि के कम थियो र! गाउँ आफ्नै थियो। मान्छे आफ्नै थिए। चौर आफ्नै थियो। परिवेश आफ्नै थियो। चौरमा ढलेको ऊ चारैतिर नियाल्यो। त्यसपछि जुरुक्क उठ्यो, शक्ति सञ्चित गर्यो र आफूलाई हान्ने खेलाडीको मुखमै मुक्का बजार्यो।
मुक्का खाएपछि त्यो खेलाडी पनि भुइँमा ढल्यो। त्यसपछि के चाहियो र चौरबाहिर रहेका सबै दर्शक चौरभित्र पसे। केही बेरमै खेलको माहोल बदलियो। फुटबल खेल भइरहेको चौर झगडाको मैदान बन्यो। खेल बीचमै बिथोलियो।
साँझ परिसकेको थियो। खेल फेरि सुरु हुन सकेन। मञ्चबाट माइकमा कसैले बोल्यो, ‘बाँकी खेल भोलि हुनेछ। आज आ-आफ्नो टिमलाई जसरी हौसला दिनुभएको छ, भोलि पनि त्यसरी नै हौसला दिन पाल्नुहोला।’
त्यसपछि माइकबाट ठूलो ‘टुईईई’ आवाज आयो र बन्द भयो। सबै आ-आफ्नो बाटो लागे। भोलिपल्ट अर्को टिम खेल्न आएन। हाम्रो गाउँको टिम स्वतः अर्को चरणमा पुग्यो। अन्ततः त्यो प्रतियोगिताको खसी आयोजक टिमले नै उचाल्यो।
दसैँ सकिएलगत्तै नदी किनारमा खसी काटियो। सबै मिलेर मासु खाए। प्रतियोगिताको खुसी त्यहीँ सकियो।
अर्को वर्ष फेरि दसैँ आयो। यसपालि अर्को गाउँमा फुटबल प्रतियोगिता हुने भयो। हाम्रो गाउँको टिम पनि प्रतियोगितामा सहभागी हुने भयो। खेल हुने दिन आयो। जंगलको बीचमा रहेको चौरमा खेलाडी र दर्शकहरू जम्मा भइसकेका थिए। खेल सुरु भयो। खेल मस्तसँग चलिरहेको थियो। खेलाडीहरू आफ्नो पूरा ताकत लगाएर खेलिरहेका थिए। दर्शकहरू आ-आफ्नो टिमको पक्षमा हुटिङ गरिरहेका थिए।
चौरमा फेरि उही पुरानो रौनक फर्किएको थियो। रमाइलो चलिरहेको थियो। घाम बिस्तारै ओरालो लाग्दै थियो। सूर्य जंगलको किनारैकिनार क्षितिजतिर झर्दै थियो। खेल चल्दै गर्दा अर्को टिमको कुनै खेलाडीले हाम्रो टिमको एकजना मिडमा खेल्ने खेलाडीलाई नराम्रो गाली गर्यो। उसले सुन्यो। रेफ्रिलाई अपिल गर्यो तर रेफ्रीले सुनेन।
ऊ गएर गाली गर्नेको खुट्टामा लात बर्सायो। गाउँबाट खेल हेर्न गएका सब चौरतिर दौडिए, जहाँ खेलाडीहरू एकअर्कामा लडिरहेका थिए। हाम्रो बाहुल्यता थियो। हामीले उनीहरूलाई लखेट्यौँ। रेफ्रीले राम्रो खेलाएन कुरा सुनेन भनेर केटाहरूले रेफ्रीसमेतलाई पिट्न भ्याए। रिसले चुर भएका केटाहरूले गोल पोस्टको जाली च्यातिदिए। घर फर्किए।
हाम्रो गाउँ जहाँ गयो, त्यहाँ खेल कि जित्थ्यो कि लफडा गरी फर्किन्थ्यो। केही न केही पक्कै गर्थ्यो। पछिपछि त जुन दिन हाम्रो खेल भयो, हामीभन्दा प्रहरी अगाडि पुगेका हुन्थे। ती प्रहरीलाई देखेपछि ठुलादाइहरू हामी भुराभुरीलाई गुलेली, नक, चक्कु भएको झोला बोकाउँदै भन्थे, ‘प्रहरीले हामीलाई शंका गर्छ। तँ मेरै वरिपरि बस्। तँ सानो छस्, कसैले शंका गर्दैन। मैले आँखाको इसारा गर्नेबित्तिकै झोला मलाई पास गर।’
म स्वीकारोक्ति दिदै हुन्छको भावमा टाउको हल्लाउँथेँ। केटाहरूलाई प्रहरीको के डर! त्यही पनि सानोतिनो लफडा त पर्थ्यो नै। लफडा गरी फर्केको केही दिनसम्म गाउँमा गाईँगुईँ चल्थ्यो। कोही सुनाउँथे, ‘उनीहरूले त रिस राख्याछन्। कोही हाम्रो गाउँको भन्ने थाहा पाए भने उनीहरूले बाँकी राख्दैन्न।’
हामी डराउँथ्यौँ। कहीँकतै निस्किँदैनथ्यौँ। विस्तारै माहोल शान्त हुन्थ्यो। विस्तारै खेल हुरु हुन छाडे। राजनीतिमा खेल छिर्नु पर्नेमा खेलमा राजनीति छिर्यो। व्यावसायिक फुटबल फस्टाउन सकेन। केटाहरूले फुटबलमा भविष्य देखेनन्। केटाहरू कमाउन हिँडे। हाम्रो गाउँबाट फुटबल ओरालो लाग्यो।
दसैँको अर्को रौनक थियो, लंगुरबुर्जा। यसले पनि छुट्टै रमाइलो ल्याउँथ्यो। चोकमा २–३ ठाउँमा हुकुमबुर्जा भन्दै कराइरहेका हुन्थे। त्यो आवाज घरसम्म पुग्थ्यो। मेरो मन अत्तालिन्थ्यो। आमाको छेउ पुग्थेँ, पैसा माग्थेँ।
आमा ‘जुवा खेल्ने हैन। बरु लाँ, केही खाँ’ भनेर २० रुपैयाँ फालिदिनुहुन्थ्यो। म पछिल्तिर नफर्की दौडिन्थेँ। साना केटाकेटीदेखि ठूलाबडासम्म खेलिरहेका हुन्थे। कोही जित्थे। जित्नेहरू खुसी हुन्थे। कोही हार्थे। हार्नेहरू दुःखी देखिन्थे। मैले पैसा कहिल्यै जितिनँ।
एक दिनको कुरा हो। पहिलेजस्तै खेल चलिरहेको थियो। अचानक कोही करायो, ‘पुलिस आयो!’ हल्लाखल्ला मच्चियो। सबका सब तितरबितर भए। पुलिसले कराउँदै भन्यो, ‘अबदेखि नखेल्नु, नखेलाउनु। फेरि खेलिरहेको भेट्टाएँ भने दसैँको मुखमा जेल जानुपर्ला!’ यति भनेर पुलिस त्यहाँबाट अलप भयो।
जसै पुलिस गयो, उसै सबै जम्मा भए। केटाहरू के टेर्थे र! फेरि खेल सुरु भयो। अबेरमा घर पुग्थेँ। आमा सोध्नुहुन्थ्यो, ‘पैसाले के खाइस?’ म ढाँटेरै बिस्कुट खाएँ भन्थेँ।
समय बित्दै गयो। उमेर बढ्दै गयो। गाउँकै स्कुलको पढाइ सकियो। अध्ययनले उकालो चढ्यो। जसरी पनि उकालो उक्लिनु थियो। म पनि काठमाडौं हानिएँ। गाउँ विस्तारै रित्तिँदै थियो।
सब विछोड भए। सबै आ-आफ्नो लक्ष्य पछ्याउन तल्लिन भए। गाउँका सम्झनाहरू बोकेर कोही
विदेशिए, कोही कता पुगे, कोही कता। सानो जागिर खाएँ। पैसाको पछि भागे। समयसँगै जीवन पनि आफ्नै लयमा अघि बढ्न थाल्यो।
तर बेलाबेला गाउँ जाँदा मैले देख्ने गाउँ भने फेरिँदै थियो। पहिले गाउँ जाँदा कोही न कोही भेटिइहाल्थ्यो। अहिले गाउँ जाँदा प्रायः कोही भेटिँदैनन्। गाउँ विरक्तलाग्दो छ। गाउँ एक्लो छ। चौर खाली छ। कुनै बेला फुटबल खेल्नेहरूको भीड लाग्ने चौरमा अहिले खेल्ने कोही छैनन्। फुटबलमा खसीको बाजी राखेर खेल्ने चलन हराउँदै गयो।
बाजी राखेर खेल्नेहरू मात्र हराएका होइनन्, हाम्रो गाउँले फुटबलमा रुचि देखाउनै छाड्यो। अझ भनौँ खेलमा राजनीति छिर्यो। स्कुलको चौरमा पिङ खाली छ। कुनै बेला पालो कुर्दै खेल्नेहरू हुन्थे, अहिले पिङ खेल्ने कोही छैनन्। हावा चल्दा पिङ हल्लिन्छ होला, तर त्यसमा झुन्डिएर रमाउने बालापन गाउँमा छैन।
गाउँ त उही हो। चौर उही हो। स्कुल उही हो। पिङ पनि उही होला। तर तिनलाई जीवन्त बनाउने मान्छेहरू छैनन्। गाउँ गए पनि सबै आफ्नै-आफ्नै धुनमा छन्। कहिल्यै नछुट्टिऊँ जस्तो गर्ने साथीहरूसँग अहिले भेट हुन्छ, कुरा पनि हुन्छ। तर कुरा मिल्दैमा मन मिल्दो रहेनछ। इच्छा मिल्दैनन्, रुचि मिल्दैनन्, सोचाइ मिल्दैनन्। सँगै बिताएका बालापनका दिनहरू सम्झनामा उस्तै छन्, तर ती दिन बिताउने साथीहरू बदलिएका छन्।
समयले हामीलाई आ-आफ्नै बाटोमा हिँडायो। सायद सबैलाई आ-आफ्नो उकालो उक्लिनु थियो। तर अहिले कहिलेकाहीँ लाग्छ—उकालो उक्लिने क्रममा मैले पछाडि के-के छाडेर आए? हुन त म पनि अवसरको खोजीमा गाउँ छाडेर हिँडेकै हो। गाउँ रित्तिएकोमा अरूलाई मात्र दोष दिन मिल्दैन। मैले पनि त गाउँको चौरमा जान छाडेँ। स्कुलको पिङमा झुन्डिएर रमाउन छाडेँ। साथीहरूसँगै गाउँमा बस्ने उमेर र समय दुवै पछाडि छाडेर हिँडे।
यही दसैँको मौकामा आज गाउँ फर्किन्छु, तर गाउँमा आफ्नो बालापन भेट्दिनँ। साथीहरू भेट्छु, तर पुराना दिन भेट्दिनँ। चौर देख्छु, तर खेल देख्दिनँ। पिङ देख्छु, तर त्यसमा झुन्डिएको आफ्नो उमेर देख्दिनँ।
सायद गाउँ रित्तिनु भनेको घरहरू खाली हुनु मात्र होइन रहेछ। आफूले बाँचेका दिनहरू, आफ्ना मान्छेहरू र आफू हुनुको एउटा हिस्सा बिस्तारै हराउँदै जानु पनि रहेछ। गाउँ त अझै त्यहीँ छ। तर मैलले छाडेर गएको गाउँ अब त्यहाँ छैन। दसैँ आउँछ। गाउँ जान्छु, तर घरबाट बाहिर निस्कन मन लाग्दैन। चाडपर्व खर्चसहितको तलब थाप्छु, तर दसैँकै लागि नयाँ कपडा किनौँ जस्तो लाग्दैन।
विस्तारै रहरहरू मर्दै गइरहेका छन्। विस्तारै मन बदलिँदै गइरहेको छ। जिम्मेवारीले बुईँ चढेको भान भएको छ। कुनै बेला दसैँ आउनुअघि नै मन गाउँ पुगिसक्थ्यो। नयाँ कपडाको रहर, साथीभाइसँगको भेटघाट, चौरमा फुटबल खेल्ने उत्साह—सबै कुराको छुट्टै मज्जा थियो।
अहिले दसैँ आउँछ, तर पहिलेको जस्तो उमङ्ग आउँदैन। गाउँ पुग्छु, तर गाउँमा मन अडिँदैन। किनमेल गर्न बजार निस्किन पनि जाँगर चल्दैन।
म हरेक वर्ष दसैँ मनाउन गाउँ त पुग्छु, तर आफूले मनाउने गरेको त्यो पुरानो दसैँ खोज्न पुग्छु, जुन अब कतै भेटिँदैन।
समय फेरिएको हो कि उमेर? गाउँ फेरिएको हो कि आफू? थाहा छैन। तर यति थाहा छ—कुनै बेला सानासाना कुरामा खुसी हुने मन अहिले खुसी हुनकै लागि बहाना खोजिरहेको छ।