रसियामा जारी २१औं संस्करणको विश्वकप फुटबलमा सर्वाधिक चर्चामा रहेका अर्जेन्टिनी स्ट्राइकर मेसी, पोर्चुगलका रोनाल्डो र ब्राजिलका नेइमारको प्रदर्शन अधिकांश दर्शकको प्रतिक्षामा थियो।
यी तीन खेलाडी नै विश्वको चर्चित अवार्ड ‘फिफा वर्ष खेलाडी’ को प्रतिस्पर्धामा हुन्छन्। तर मेसी र रोनाल्डो समूह चरण पार गरे पनि राउन्ड अफ सिक्सटिनबाट अगाडि बढ्न सकेनन्।
यस्तो बेला अधिकांश फ्यानहरू नेइमारका बारेमा दोधार भएका थिए। किनकी तुलनात्मक रूपमा सबभन्दा कमजोर मानिएका नेइमारले नकआउट चरणको पहिलो खेल कस्तो खेल्ने हुन्? भनेर।
फ्रेन्च क्लब पीएसजीबाट व्यवसायिक फुटबल खेल्ने गरेका उनी घाइते भएर धेरै समय यो सिजन मैदानमा रहन सकेनन्। गत फेब्रुअरी २५ तारिखदेखि मैदान बाहिर रहेका उनलाई विश्वकप खेल्ने नखेल्ने अन्यौल थियो। अन्ततः रसियामा विश्वकप खेल्न गएका उनले आफ्नो खेलको लय बिस्तारै समात्दै गए।
पहिलो खेलको तुलनामा दोस्रो र दोस्रोको तुलनामा तेस्रो खेलमा उनी फर्ममा फर्कंदै गए । नभन्दै चौथो अर्थात् सोमबार राति भएको प्रिक्वार्टरफाइनलमा उनी पूर्ण फिट जस्तै देखिन्थे।
समूह चरणमा कोस्टारिकाविरुद्ध गोल गरेर रुस विश्वकपमा खाता खोलेका नेइमारले मेक्सिको विरुद्धको राउन्ड अफ सिक्टिनको खेलमा २–० ले ब्राजिलले जित्दा नेइमारले एक गोल गरे भने एक गोलका लागि पास दिएका थिए।
सोमबारको खेल हेर्दा ब्राजिल उपाधिको बलियो दाबेदार आफू भएको प्रमाणित गरिसकेको छ। त्यसका हकदार नेइमार फर्ममा फर्किएका छन्। पूर्व विजेता टिमहरू अर्जेन्टिना, जर्मनी र स्पेन बाहिरिए पनि ब्राजिल र नेइमारले आफ्ना फ्यानहरूलाई ढुक्क भएर बस्ने सन्देश दिएका छन्।
पाँच पटकको च्याम्पियन ब्राजिलले अब सेमिफाइनल प्रवेशका लागि बेल्जियमको सामना गर्नेछ।
नेइमार जतिसुकै घाइते भए पनि प्रिक्वार्टरमा फुलटाइम खेले । यसको मतलब हो उनको अबको भीडन्त हुने राष्ट्रले पनि नेइमारलाई कसरी रोक्ने भन्ने रणनीति बुन्दाबुन्दै खेलबाट हात धुनेछ र नेइमार सेमिफाइनलमा पुग्नेछन् ।