रसियामा जारी विश्वकप फुटबलको क्वार्टर फाइनलको दोस्रो खेलमा आज ब्राजिल र बेल्जियम भिड्दै छन्। सन् २००२ को विश्वकपपछि यी दुई टोली दोश्रो पटक भिड्न लागेका हुन्।
सो खेलमा रोनाल्डो र रिभाल्डोले युरोपियन 'रेड डेभिल्स'लाई २-०ले पराजित गरेका थिए। इतिहास ब्राजिलको पक्षमा भए पनि त्यसयता थुप्रै परिवर्तन दुबै टोलीमा भइसकेको छ। त्यसले गर्दा पनि आज यी दुई टोलीबीच प्रतिष्पर्धात्मक खेल हुने सबैको अनुमान छ।
बेल्जियम आफ्नो 'गोल्डेन जेनेरेसन' टोलीका साथ यसपालि विश्वकपमा आएको छ। प्रदर्शन हेर्दा उसको लक्ष्य सानो छैन् भनेर बुझ्न कठिन छैन्।
यस्तै गत विश्वकपमा घरेलु मैदानमा जर्मनीसँग ७-१ को लज्जाजनक पराजय भोगेको ब्राजिल रसिया विश्वकप जित्दै सो पुरानो चोट बिर्साउन चाहन्छ। ब्राजिललाई कडा टक्कर दिन बेल्जियमको टोली आजको खेलमा आफ्ना कप्तान एडेन हजार्ड, केभिन डी ब्रुएन, रोमेलु लुकाकु तथा गोलरक्षक थिबोउट कोट्रिसको भरमा हुनेछ। समूह चरणमा उत्कृष्ट खेल पस्केको बेल्जियमलाई प्रिक्वार्टर फाइनल जित्न भने सहज भएन। जापानसँग २-० ले पछि परेर बराबरी गोल फर्काउँदै क्वार्टर फाइनल प्रवेश गर्न उसले एउटा संघर्षपूर्ण जित नै हासिल गर्नुपर्यो। यस्तोमा पाँचपटकको विश्वविजेतासँग भीडन्त सहज छैन् किनकी ब्राजिलले जारी विश्वकपमा खेलपिच्छे आफ्नो प्रदर्शनलाई सुधार्दै लगेको छ।
टिमसँगै गोल गर्न नसकेको र मैदानमा नाटक ज्यादा देखाएकोमा आलोचित भइरहेका स्टार स्ट्राइकरको पनि खेलपिच्छे सुध्रिदै गएको खेल पनि बेल्जियमका लागि कम टाउको दु:खाइको विषय होइन। विश्वकपमा ब्राजिललाई गोलको वर्षा गराउने टोलीका रूपमा लिइन्छ तर यसपटक त्यो काम बेल्जियमले गर्दै आइरहेको छ।
जारी विश्वकपमा ब्राजिलभन्दा बेल्जियमले ५ गोल बढी गरेको छ। त्यस्तै ब्राजिलले यस विश्वकपमा कम गोल गरेको छ भने उसले गोल पनि कम खाएको छ। उसले चार खेलमा मात्र एक गोल खाएको छ। यस विश्वकपमा टिटेको टोलीका थियागो सिल्भा र जोए मिरान्डाले टोलीका लागि अग्रता लिने काम गर्दै आइरहेका छन्। त्यस्तै ब्राजिलको विङले जारी कुने पनि खेलमा गुनासो गर्ने ठाउँ दिएको छैन। खेलपिच्छे उनीहरू सुदृढ भइरहेका छन्। त्यस्तै जापानसँग संघर्षपूर्ण जीत निकालेको बेल्जियमको डिफेन्सलाई नेइमार, ग्याब्रियल जिसज र विलियमले कडा चुनौती दिनेछन्। यसमा पाउलिनोले दिने योगदान पनि उस्तै हुनेछ। पछिल्ला चार खेलमा जिसजले कुनै गोल गर्न सकेका छैन् जसका कारन टिटेले आजको खेलमा फर्मिनोलाई अगाडी सार्न सक्छन्। उनले मेक्सिको विरूद्ध मैदानमा उत्रिएको केहि मिनेटमा नै गोल गरेका थिए।
यसैगरी काउटिन्होले पनि बेल्जियमका लागि अप्ठ्यारो पार्नेमा कुनै शंका छैन्। विपक्षीले नजर नपुर्याएको ठाउँमा देखिने उनको उपस्थिति पनि बेल्जियमका लागि खतरा हुनेछ। ब्राजिलबारे बेल्जियमका प्रशिक्षक मार्टिनेजले दिएको अभिव्यक्तिले पनि उसले ब्राजिललाई कति गम्भीर ढंगले आजको म्याचमा लिएको छ भन्ने बुझ्न सजिलो हुन्छ।
'जब तपाईं ब्राजिलविरूद्ध खेल्दै गर्दा ऊ प्रतियोगिताको उत्कृष्ट टोली हो भन्ने बुझ्नुपर्छ। मेरो विचारमा यो कुरा स्वीकार गर्नैपर्छ', उनले जापान विरूद्धको जितपछि भनेका थिए। आजको म्याचमा ब्राजिलले आफ्ना भरपर्दा मिडफिल्डर क्यासेमिरोलाई 'मिस' गर्नेछ। उनको सट्टा मैदानमा फर्नानडिन्हो हुनेछन्।
यस्तै आजको खेलमा पछिल्लो खेल गुमाएका मार्सेलो र डगलास कोस्टाको उपस्थितिले ब्राजिललाई गतिलो साथ दिनेछ। यसैगरी ब्राजिलविरूद्ध खेल्नु जति कठिन बेल्जियमका लागि हुनेछ, ब्राजिलका लागि पनि बेल्जियमविरूद्ध खेल्नु सहज हुनेछैन्। विश्वकपका खेलमा बेल्जियमले जस्तोसुकै विषम परिस्थितिमा खेलमा फर्किन सक्ने र विपक्षी टोलीलाई धरापमा पार्न सक्ने प्रमाण बेल्जियमले देखाइसकेको छ।
इङ्लिस प्रिमियर लिग खेल्ने स्टार खेलाडीले भरिएको बेल्जियमले आजको खेलमा ब्राजिललाई कडा टक्कर दिनेमा कुनै शंका छैन्। डिफेन्डर कोम्पानी, गोलकिपर थाइबुट कुर्टोइस, मिडफिल्डर केभिन डी ब्रुरयन र फवार्ड इडेन हजार्डले ब्राजिलका लागि खेलको अवस्था सहज हुने दिने छैनन्। त्यस्तै रोमेलु लुकाकु पनि उसका लागि टाउको दुखाइ हुनेछ। बेल्जियमले आज ब्राजिलविरूद्ध बलियो खेल पस्किनेछ। सन् १९६३ मा भएको पहिलो मैत्रीपूर्ण खेलमा बेल्जियम ५–१ ले विजयी भएयता तीन खेलमा ब्राजिल विजयी भएको छ। आजसम्म यी दुई टोलीको कुल चार पटक भेट भएको छ। विश्वकपमा भने यी दुई दोस्रो पटक भिड्दैछन्। लगातार सातौँपटक विश्वकपको क्वाटरफाइनलमा खेलिरहेको ब्राजिलले दुई पटक मात्रै यो चरणमा पराजय भोगेको छ। सन् २००६ र २०१० मा ब्राजिल क्वाटरफाइनलबाट बाहिरिएको थियो।
खेल कजान रंगशालामा राति पौने १२ बजेदेखि सुरू हुनेछ।