रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकपमा नाटकीय रूपमा बलिया भनिएका टोलीलाई हराएर क्वार्टरफाइनल प्रवेश गरेको रूसले आज सेमिफाइनल प्रवेशका लागि क्रोएसियाको सामना गर्दैछ।
विश्वकप खेल्नुअघि फिफाको विश्व वरियतामा सबैभन्दा पछाडि परेको घरेलु टोलीको विश्वकप तयारी निकै कमजोर थियो। पछिल्ला ७ खेलमा जितविहीन थियो। तर जब विश्वकप सुरू भयो, उसले खेलमा नाटकीय परिवर्तन गर्यो। समूह चरणको उद्घाटन खेलमै आफूभन्दा माथिल्लो वरियताको साउदी अरेबियालाई ५–० ले स्तब्ध बनायो।
इजिप्टविरुद्धको ३–१ को जितले उसलाई नकआउट चरणमा पुर्याएको थियो। समूह चरको अन्तिम खेलमा कठिन प्रतिद्वन्द्वी उरूग्वेसँग ३-० को पराजय व्यहोरे पनि क्वार्टरफाइनलमा स्पेनलाई स्तब्ध बनाउँदै उसले अन्तिम ८ को यात्रा तय गर्न सफल भयो।
पहिलो पटक नकआउट चरणमा जित निकालेको रूसले अब सेमिफाइनल प्रवेशका लागि क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ। रूसका एलेक्जेन्डर गोलोभिन, फ्योडोर स्मोलोभ, युरी गाजिन्स्की, इल्या कुटेपोभ र रोमन जोब्निनले पहेँलो कार्ड पाएको खण्डमा अर्को खेल गुमाउने छन् । यद्यपी स्पेनविरुद्ध प्रतिबन्ध खेपेका इगोर स्मोल्निकोभ मैदानमा फर्कने छन् ।
यता डेनमार्कको चुनौती पेनाल्टी सुटआउटमा पन्छाउँदै रूससँगको भेट पक्का गरेको क्रोएसिया १९९८ को उपलब्धि दोहोर्याउने लक्ष्यमा हुनेछ । १९९८ मा क्रोएसियाले स्वन्त्रत राष्ट्रका रूपमा सहभागिता जनाउँदै पहिलो पटक प्रतियोगिताको सेमिफाइनलसम्मको यात्रा पक्का गरेको थियो।
क्रोएसियाले समूह चरणमा अर्जेन्टिनालाई ३–० ले स्तब्ध पार्दै जस्तोसुकै टोलीको सामना गर्न तयार रहेको प्रमाणित गरिसकेको छ। सन् १९९८ को विश्वकपमा तेस्रो स्थान हात पारेको क्रोएसियालाई रोक्न घरेलु टिमलाई निकै चुनौती हुनेछ। तर, स्पेनजस्तो बलियो टोलीलाई हराएर अन्तिम आठको हकदार बनेको रसियासँग आज हजारौ घरेलु दर्शक हुनेछन्।
बाह्रौं खेलाडीसहित मैदानमा उत्रिने रसियाविरूद्ध खेल्न क्रोएसियालाई चुनौती हुनेछ। डेनमार्कविरुद्धको खेलमा चोट बोकेका इवान स्ट्रिनिक आजको खेलमा उपलब्ध हुने/नहुने आशंका छ। यसअघि काँधमा चोट बोकका मेटो कोवासिक मैदान फर्किनेछन्।
रुस र क्रोएसिया विश्वकपमा अहिलेसम्म भिडेका छैनन् । हालसम्म अन्य खेलमा तीनपल्ट खेलेकामा क्रोएसिया अपराजित छ । पछिल्लोपल्ट सन् २०१५ को नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा रुस ३–१ ले पराजित भएको थियो। डेनमार्कविरुद्धको खेलमा तीन पेनाल्टी रोकेका क्रोएसियाका गोलकिपर ड्यानियल सुबासिचलाई पार गर्न शनिबार रूसले निकै संघर्ष गर्नुपर्ने देखिन्छ।
यता स्पेनले अधिकांश समय बल नियन्त्रणमा राखे पनि रूसी रक्षापंक्ति भने तोड्न सकेको थिएन। रूसले आज यस्तै रणनीति अपनाउने हो भने क्रोएसियालाई धौ-धौ पर्छ। रुस पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा विश्वकपको क्वाटरफाइनल चरणमा प्रवेश गरेको हो ।
सन् १९६६ मा सोभियत संघले सेमिफाइनलको यात्रा तय गरेको थियो । सन् १९९८ मा सेमिफाइनल पुगेको क्रोएसिया यसपालि सोही उपलब्धि दोहोर्याउने प्रयासमा छ ।
त्यति बेला क्रोएसियाले नेदरल्यान्ड्सलाई तेस्रो स्थानको खेलमा २–१ ले पराजित गरेको थियो ।