शुक्रबार।
दिउँसो ४ बजे।
भुर्र भर्र। पाँच थान बाइक स्टार्ट भयो। नौ जना । पुग्नु छ आजै फेदी।
खोटाङ जिल्लाको मान चित्रमा सबभन्दा सिरानमा पढ्न पाइन्छ यो नाम। तर नाम छ फेदी। हो पनि सिलिचुङ, साल्पा पोखरी, मैयुङको ठीक फेदमा पर्छ यो। अघि देखिको निम्तालु र योयात्राका खास योजनाकार ध्रुव सर उर्फ ध्रुवराज राई। उत्तरी ध्रुवका ध्रुवीय ताराजस्तै माहिर वडा सचिव।
झम्के साँझमा फेदी पुगियो। शुक्रबारको घाम अस्ताए पनि हेडलाइटको सहारामा गुड्दै। पहाडी कच्ची बाटो हुँदै फेदीको पत्करु पुगियो। पत्करु राई बस्ती हो।
एकाराम र लिलावती राईको दम्पत्तिले हामीलाई फूलको माला गलामा सजाइदिएर स्वागत गर्नुभयो। फूलको मालामा मन पनि एक थुंगा बनेर उनियो। रैथाने फर्सी। लोकलसराव अप्सनमा डिउ र माने ग्लासमा चिया। तर हाम्रो बास यहाँ होइन।
सिधामाथि पर्छ चित्रे। लाग्यौं त्यतैतिर। उहिलेको वाकमेन जस्तै मोबाइलमा गीत बजाउँदै। लय पछ्याउँदै। राई समुदायमा मृतकको नाममा चौतारा बनाउनु अनिवार्य प्राय: हो। बाटैभरि चौतारा छन्। थकाइ बिसाउँदै। बत्तीको सहारामा ओखलढुंगा छिटफुट सोलु र रामेछापको सीमाना नियाल्दै अगाडि बढ्यौं।
अँध्यारो रात अनि झिलमिल तारा। छुट्टै अनुभूति।थकान मीठो छ। मांसपेशी गलेका छन्। तर मन अघाएको छैन। यो भेगमा प्राय: काठे कच्ची खम्बा भएको लघु जलविद्युत् पर्याप्त छ। उक्लिदै जाँदा तल्लो भेगको दृश्य रातमा उपत्यका जस्तो देखिन्छ।
खेत, गरा, भीर नभएजस्तो। जसरी साराङकोटबाट पोखरा, भेंडेटारबाट धरान र नगरकोटबाट काठमाडौं देखिन्छ।
हामी चित्रे पुग्यौं। बासको लागि श्री धन कुमार निवास।
झिसमिसे बिहानी। फेरि लागियो छड्के उकालो। मानेडाँडा। हलुका जंगल। माथि देखिने सिलिचुङ, लौरे, चिलिमढुंगा र मेरुङ। पाइला सर्ने बानी हराएको मेरो मात्रै होइन रहेछ।
केही कपडा। क्यामेरा, केही इमर्जेन्सी क्यालोरीफूल स्न्याक्स ओहो कति गह्रौ। रातिको माला कतै चौतारामा तारी दिऊँ? या साथैमा बोकौं। मन त छ सधैंलाई पहिरी राखौं। थुंगाभन्दा बढी स्नेह जडित माला। सम्मान सजिएको माला। संस्कृति बाँचेको माला।
ढोलटाँसे। किरात राई मुन्दुमी मिथक अनुसार राई विजुवाहरू चिन्तामा रहँदा यस ठाउँ हुँदै साल्पा सिलिचुङ यात्रा गर्छन्।
लेकाली ओखती र विष मिश्रित हावाको कारण उनीहरू बिरामी भएको, बेहोस भएको अभिनय गर्छन्, उनीहरूको बाजाको ताल र लय यहीबाट फेरिन्छ।
हेर्दा पनि यस ठाउँमा ढ्याङ्ग्रो र ढोल आकारका ढुंगा भीरमा टाँसिएको देखिन्छ। केही समय अगाडि यहाँको ढ्याङ्ग्रोमाथि अज्ञात समूहले आक्रमण गरेका थिए रे। जसले गर्दा अहिले ढ्याङ्ग्रो भग्नावशेष छ।
चिलिमढुंगा।
१९९० सालको महाभूकम्पले भाँचिएको पहाड। अघिमाथि देखिएको यो पहाड तल पर्न थाल्यो। हामी ढोलटाँसेबाट माथि निस्कियौं।
अब चउर पाखाको क्षेत्र सुरू हुन्छ।
हामी ३३०० मिटर माथिको उचाइमा छौं। केहीबेर फोटो सेसनपछि बुत्रे झाडी र पाखा छिचोल्दै पुगियो मैयुङ।
मैयुङ खोटाङ र भोजपुरको सीमानामा पर्छ। पिकनिक स्पट जस्तै बनाइएको छ यहाँ।
हामी मैयुङ क्षेत्र घुमघाममा निस्कियौं। यहाँ जाडो बाहेकको सिजनमा रिसोर्टको व्यवस्था हुँदैछ। हाँस पोखरी।
आहा! यसलाई सिमसार क्षेत्र बनाइएको छ। तारबार छ। भित्र छिर्नको लागि पैसा लाग्छ। हाँसपोखरी,मैयुङ वरिपरि घुमी रहनुजस्तो मज्जा अरु केमा नै छ र!
पोखरीको पूर्वी छेउबाट उकालो लागेपछि ५०० मि. सिधामाथि ढुंगाखर्के छ। चौंरी गोठ। यहाँ सामान्य खाजा र छुर्पि पाइन्छ। नजिकै मैयुङको संक्षिप्त वर्णित बोर्ड राखिएको छ। पूर्व उत्तरमा साउने डाँडा छ। चैत वैशाखको सिजनमा त्यहाँ निकै हावा चल्छ। उत्तरमा पूर्व-पश्चिम आँखाले भ्याइन्जेलसम्म हिमाली दृश्य देखिन्छ।
नेपालको ८ हजार मि. अग्ला ६ वटा हिमालको प्रत्यक्ष दृश्य गर्न सकिन्छ।
पूर्व-दक्षिण पश्चिमतर्फको दृश्यमा तराईका समथर फाँटहरू देख्न सकिन्छ। चैत वैशाखको सिजनमा करिब १६ बढी प्रजातिका गुराँस, चिमल फुल्ने र पर्यटक आकर्षित गर्दछ।
चौरी, भेंडा, गाई-भैंसी, घोडा पालनमा यस क्षेत्र उपयुक्त छ। सुन्दर दृश्यको कारण फ्लिम मेकरहरू यस क्षेत्रमा सुटिङमा भेटिन्छन्।
यसै क्रममा परिचित चलचित्रकर्मी साथीहरूलाई समेत यस ठाउँमा भेट्दा आन्नदित महशुस भयो।
मैयुङमा केहीबेर रमाइलो गरिसकेपछि घुमि नअघाएको मन र तृष्णा लिएर फेरि आउने इच्छासहित फर्कियौं पत्करु।
मैयुङ आई पुग्न निकै बाटा छन्। मुख्य बाटो धोद्रे हो। भोजपुरको दिङ्ला, सुन्तले, किमालुङ, तिम्मा, छिनाम्खु साथै खोटाङको सुम्दे, पत्करु, पाथेका, निर्मली र च्यानडाँडा चखेवा आदि नाका र बाटोबाट यस क्षेत्रमा पुग्न सकिन्छ।
मैयुङको छातीमा निर्मित छ मुन्दुम पदमार्ग। नेपालको नम्बर एक धाविका मिरा राईले यस ठाउँमा समेत दौडेकी थिइन्।
सुख्खा दुबोले सजिएको चउर। घना जंगल। आगो निभाइ,गएको भन्दा अर्कै बाटो हुँदै सुरू गरियो फिर्ती यात्रा। हातमा लठ्ठी लिई ओरालो हिँडेको २० मिनेटमा साँझको साम्राज्य सुरू भयो।
रेडपाण्डा जोन हुँदै मोबाइलको प्रकाशमा यात्रा भइरह्यो। ठाउँ बिरानो भएरै हो, केही साथीहरू अल्मलिए। अल्मलिएका साथीहरूको खोजीमा लाग्दा अन्य साथीहरू पनि अल्मलिए। अब फ्रन्टलाइनमा म र ध्रुव सर छौं। मसँगै एक मिटरको दूरीमा यात्रारत ध्रुव सर कति बेला हराए थाहा भएन। नित्तान्त एक्लो भएँ म। फोन गर्छु कसैलाई लाग्दैन।
मध्य जंगलमा म्युजिकको सहारामा दुई घण्टाको एकान्त पर्खाइपछि साथीहरू आए।
भेला जम्मा भएका हामी हिजोकै घरमा बास आइयो। भोलि चाँडै फर्कने सोचले बेलुकाको खाना खाइवरी सुतियो।
आइतबार बिहान घामभन्दा पहिले उठ्यौं हामी। रैथाने अर्गानिक खाजा खाएपछि बाइक भएको ठाउँसम्म हिँडेर आयौं।
समयमै अफिस आई पुगियो। मैयुङ घुम्नलाई एकै दिन पनि सम्भव छ।
तर फूल इन्टरटेनको लागि दिक्तेल वा भोजपुर बजारबाट कम्तिमा तीन देखि सात दिनको प्याकेज बनाए असल हुने रहेछ। आज पनि ती दृश्य, रमाइलो यात्रा र किस्साहरूले मलाई त्यही पुर्याइ रहन्छ।
कल्पनामा तिनै दुवे चउरमा उत्तानो परेर बादलको धर्सा नियालिरहेको हुन्छु। घरिघरि त मैयुङ र तिमीलाई बराबर पो सम्झिन्छु!