पछिल्लो समय काठमाडौंमा स्थानीय रेस्टुरेन्टदेखि ठूला होटलहरूले समेत यःमरिलाई आफ्नो मेनुमा सामेल गर्न थालेका छन्।
व्यावसायिक रूपले विस्तार हुँदै गएको नेवाः समुदायको यो मौलिक परिकारलाई सरकारले राष्ट्रिय सांस्कृतिक सम्पदाका रूपमा सूचीकरण पनि गरेको छ। आज य:मरि पुन्हि (पूर्णिमा) को दिन खाइने यो विशेष परिकारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा सामेल गरेको हो।
नेवाः समुदायमा यःमरि कति लोकप्रिय छ भन्ने यसको नामबाटै थाहा हुन्छ। नेपाल भाषामा 'यः' को अर्थ मनपर्ने र 'मरि' को अर्थ रोटी हो।
यःमरि पुन्हि दिन र रातको लम्बाइसँग पनि जोडिएको छ। यःमरि बनाउने रातलाई वर्षकै लामो रात मानिन्छ।
यःमरि पुन्हिपछि चिसो बढ्ने हुँदा यो परिकार खाएपछि बाँकी तीन महिनाको जाडोमा न्यानो अनुभव हुने विश्वास गरिन्छ। यसभित्र रहेको चाकु र तिलले शरीरको तापक्रप सन्तुलित राख्न सहयोग पुर्याउँछ। पौष्टिक तत्वले भरिपूर्ण, स्वस्थकर, चिल्लोरहित र चपाउन निकै सजिलो यो परिकार जुनसुकै उमेर समूहले सजिलै खान सक्छन्।
य:मरिसँग विभिन्न कथा-किम्बदन्ती काठमाडौंमा प्रचलित छन्।
पनौतीका स्थानीय पूर्णभक्त र स्थानीय लेखक सूर्यप्रसाद लाकाजूले यःमरिसँग जोडिएका दुईवटा कथा हामीलाई सुनाएका थिए।
पहिलो कथा
पनौती (पाञ्चाल) को एउटा किसान परिवारको घरमा एकदिन उनका ज्वाइँ काठमाडौंदेखि आएछन्। आउँदा आउँदै साँझ परिसकेको थियो।
ज्वाइँ त आए तर उनलाई खुवाउने के? किसान दम्पतीलाई आपत पर्यो।
उनीहरूले भर्खरै धान घरमा भित्र्याएका थिए। त्यसलाई हतार हतार कुटेर पिसे। त्यही पिसेर ल्याएको पिठोको खानेकुरा खुवाउने भन्दै मज्जाले मुछे।
घरमा अलिकति चाकु थियो। मुछेको पिठोलाई सोलीजस्तो आकार दिएर उनीहरूले त्यसमा चाकु, तिल, नरिवल लगायत विभिन्न मसला हाले। त्यसलाई मःमजस्तै पकाए र ज्वाइँको अगाडि पेस गरे।
नौलो परिकार देखेपछि ज्वाइँले सोधे, 'यो के हो सासुआमा?'
'पहिला खानुस् अनि भन्नुस् त कस्तो छ,' सासुले भनिन्।
ज्वाइँले क्वाप्प मुखमा हाले र भने, 'मिठो रहेछ सासुआमा।'
'मनपर्यो नि?' सासुले सोधिन्।
'एकदमै मनपर्यो।'
'हो, तपाईंलाई मनपर्यो भने यसको नाम नै मनपर्ने रोटी हो,' उनले नेपाल भाषामा भनिन्, 'यःमरि।'

दोस्रो कथा
पाञ्चाल देश (पनौती) मा एक जना सुचन्द्र नाम गरेका महाजन थिए। उनी एकदमै धर्मात्मा थिए। उनकी श्रीमती पनि दयालु र लक्षणकी थिइन्।
धन र सम्पत्तिले पूर्ण यी दम्पती सुखपूर्वक आफ्नो जीवन गुजारा गरिरहेका थिए। उनीहरूलाई एउटै कुराको अभाव खट्कन्थ्यो। त्यो हो, सन्तान सुख। उनीहरूको कुनै सन्तान थिएन।
सुचन्द्र र उनकी पत्नी भगवान विष्णुका भक्त थिए। एकपटक मार्गशुक्ल पूर्णिमाको दिन सुचन्द्र दम्पतीले सरसफाइको काम सकेर शुद्ध तरिकाले यःमरि पकाउन लागे। त्यही बेला भगवान कुबेरलाई उनीहरूको परीक्षा लिन मन लागेछ।
कुबेरले सुचन्द्र दम्पतीको धेरै गुणगान सुनेका थिए। त्यही भएर उनीहरू कत्तिको दयालु रहेछन् भनेर कुबेरलाई जाँच्न मन लागेछ।
उनी भेष बदलेर गरिब ब्राह्मणको रूपमा सुचन्द्र दम्पतीका घर आए र भिक्षा माग्न थाले।
झ्यालबाट सुचन्द्रकी श्रीमतीले हेरिन्। एउटा गरिब बूढो ब्राह्मण पिँढीमा बसेर भिक्षा माग्दै गरेको देखेर उनलाई माया जायो। उनले ती ब्राह्मण रूपधारी कुबेरलाई आफ्नो घरभित्रै बोलाइन् र भर्खर पकाएको तातो तातो यःमरि खुवाएर पठाइन्।
श्रद्धापूर्वक आफूलाई भोजन गराएकाले ब्राह्मणको भेषमा आएका कुबेर प्रसन्न भए र आफ्नो असली रूपमा फर्किए।
कुबेरले आफ्नो परिचय दिइसकेपछि धानको भकारीमा लक्ष्मी, कुमार, गणेश र आफ्नै प्रतिरूप राखी यःमरिका साथ विधिपूर्वक पूजा गर्न भने।
उनले आफूसँग ल्याएको बिमिरो पनि उनीहरूका हातमा थमाइदिए र भने, 'यसलाई ढुकुटीमा चार दिन राख्नू।'
त्यसपछि कुबेर अन्तर्ध्यान भए।
सुचन्द्र दम्पतीले चार दिनपछि ढुकुटी हेर्दा त्यो बिमिरो सुनमा परिणत भइसकेको थियो। कुबेर उनीहरूको घर आएको दिन मंसिर शुक्ल पूर्णिमा थियो।
यो कथाझैं यःमरि पुन्हीको दिन नयाँ धान भित्र्याएपछि भकारी पूजा गर्ने चलन छ। भकारीमा १२ वटा यःमरि राखेर गणेश, लक्ष्मी, कुमार लगायत भगवान माथिबाट राखिन्छ। पूजा गरेको त्यो यःमरि चार दिनपछि सेकाएर खाइन्छ।
माथिको कथामा उल्लिखित पात्र सुचन्द्र महाजनको नाम लिच्छविकालीन ग्रन्थमा पाइन्छ।
अंशुवर्मा पालाको बौद्ध ग्रन्थ 'रत्नमालाअवदान' मा पनौतीमा सुचन्द्र महाजन दम्पती बसोबास गर्छन् भनेर लेखिएको छ।
यःमरि गीत
'यःमरि चुई चुई, छुचुँ मरि आईं,
ब्युसाः ल्यासे मब्युसा बुरिकुति'
यो गीतमा भएको शब्द 'ब्युसाः ल्यासे मब्युसा बुरिकुति' ले भन्छ – यःमरि दियो भने तरूनी, नत्र बूढी।
काठमाडौंको गीत भने अलिकति फरक छ —
'त्यः छिं त्यः, बकछिं त्यः
लातापाता कुलिंचा जुस्सिं त्यः'
काठमाडौंका स्थानीय किरण मानन्धरका अनुसार यःमरि माग्न जाँदा धान, चामल पनि दिने चलन छ। उनका अनुसार गीतका हरफले भन्छन्, 'चार माना भए पनि हुन्छ, आधा माना भए पनि। जतिसुकै भए पनि हुन्छ।'
यी गीतहरूले पनि यःमरिको लोकप्रियता जनाउँछ।
ललितपुरको यःमरि कथा
यो कथा राजनलाल जोशीले 'नेवार संस्कृतिमा योमरिको अन्तरदर्शन' नामक लेखमा उल्लेख गरेका छन्। लेखका अनुसार भाषा वंशावलीले यःमरिलाई लिच्छविकालीन खानेकुराका रूपमा वर्णन गरेको छ।
वंशावली अनुसार अंशुवर्माको समयभन्दा अघिसम्म काठमाडौं उपत्यकाको खेतबारीमा कोदालोले खन्ने चलन थिएन।
पहिलो पटक ललितपुरका बलभद्रले धान उब्जाएर किसानहरूलाई सिकाएपछि यःमरि बनाउने चलन सुरू भयो। स्थानीय बासिन्दा बलबल भन्ने व्यक्ति नै बलभद्र भएको मान्यता राख्छन्।
ललितपुर तःबहालमा हलोसहितको बलबलको मूर्ति राखिएको छ। नेपाल सम्बत् १०९ मा निर्माण गरिएको यो मूर्तिमा मंसिर पूर्णिमाको दिन यःमरि चढाउने परम्परा पनि छ।
यी कथा र अभिलेख हेर्दा नेवाः समुदायले यःमरिलाई आ–आफ्नै ठाउँको सांस्कृतिक सम्पदाका रूपमा स्थापित गर्न खोजेजस्तो देखिन्छ।
***