गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष राज रेग्मीले संस्थाभित्र छुट्टाछुट्टै समूह रहेको भन्दै कुनै पनि पक्षमा नलाग्ने स्पष्ट पारेका छन्।
एनआरएनए भित्रको एकता जोगाउन सार्थक प्रयास भन्दापनि निर्वाचनका दुई मिति घोषणा भएकाले कुनै पनि समूहमा उम्मेदवारी नदिने उनले बताएका छन्।
उपाध्यक्ष रेग्मीले एक विज्ञप्ति जारी गर्दै अधिकांश एनआरएनए शुभचिन्तकको अपेक्षा विपरित भइरहेका गतिविधिबाट अलग रहेको उल्लेख गरेका छन्।
उपाध्यक्ष पद उल्लेख नगरी निकालेको विज्ञप्तिमा रेग्मीले अहिलेका आन्तरिक असहमति र असन्तुष्टिलाई चिर्दै सर्वपक्षीय एकता सहित संस्थागत हित र अभियानलाई थप मजबूत बनाउन सबै पक्षसँग निरन्तर समन्वय र सहकार्य रहने प्रतिबद्धता समेत जनाएका छन्।
शेष घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिले घोषणा गरेको मे ३ देखि ५ सम्म हुने एकता महाधिवेशनको मिति नजिकिदै गर्दा रेग्मीको विज्ञप्ति आएको हो।
रेग्मी एनआरएनएको ११ औं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हुन्।
११ औ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले भने अक्टोबरमा १२ औं महाधिवेशन गर्ने घोषणा गरिसकेको छ।
आपसी सद्भाव सहित भावनात्मक र व्यवहारिक रूपमा सर्वपक्षीय एकता नभई दुई फरक मितिमा छुट्टाछुट्टै अधिवेशन हुने अवस्था र वातावरण कायम रहेमा कुनैपनि समूहको निर्वाचनमा पदिय स्वार्थमा उम्मेदवारी नरहने उनको स्पष्टोक्ति छ।
डायस्पोरा नेपालीहरूको हक हित र अधिकारको सुनिश्चितता सहित मातृभूमीको समृद्धिको लागि एकता सहितको एनआरएनए अभियान जरूरी रहेको समेत उनले विज्ञप्ति मार्फत बताएका छन्।
'नेतृत्व चयन क्रममा भएका असमझदारी पछि सुरू भएका एक आपसका कानूनी लडाइले आज यो संस्था थप ठूलो विभाजनको खतरा सहित गन्तव्यबिहीन परिस्थितिमा रूमल्लीएको छ,' उनले भनेका छन्, 'अहिलेको अवस्थामा हाम्रा आ आफ्ना अडान र गतिविधिले भावनात्मक एवं व्यावहारिक सर्वपक्षीय एकता हुने सम्भावना न्यून देखिन्छ।'
संस्थागत हित एवं समस्या समाधानको लागि पहल गर्न सबै पक्षसँग समन्वय र सहकार्य गर्न आफू प्रतिबद्ध रहेको उनको भनाई छ।