प्रधानमन्त्री केपी शर्मा ओलीले गैरावसीय नेपाली संघ (एनआरएनए)मा बद्री केसी नेतृत्वको ११ औं कार्यसमिति आगामी अक्टोबरसम्म बैधानिक रहने बताएका छन्।
काठमाडौंमा आयोजित एनआरएनए ग्लोबल कन्क्लेभ-२०२५ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ११ औं महाधिवेशनबाट निर्वाचित भई हाल कार्यरत कार्यसमितिले नै विधि र विधानपूर्वक आगामी अक्टोबरमा १२ औँ महाधिवेशन गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले त्यसमा सहमति र एकताको वातावरण बनाउन आग्रह गरेका हुन्।
'यो विधिको जमाना हो, यो प्रक्रियाको जमाना हो तर यहाँ त स्वेच्छाचारिता हाबी भयो यो विल्कुल गलत छ । विधिसम्मत कुरामा प्रधानमन्त्रीको हैसियतमा मेरो र अरु सबैको पनि साथ रहन्छ,' उनले भने।
डायस्पोरालाई आफ्नो हितका लागि प्रयोग नगर्न सबै राजनीतिक दललाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले विदेशमा बसेर नेपालमा राजनीति गर्न नहुने बताए।
'विदेशमा राजनीति नगर्नुस्। आपसी चिनजान, संस्कृति आदानप्रदान, भेटघाट, हकअधिकार प्राप्ति र सुरक्षाका निम्ति संस्था निर्माण र सञ्चालन गर्नुस्। संकिर्ण सोच र प्रवृत्तिले एकता आउँदैन,' उनले भने।
केही वर्षयता एनआरएनएभित्र विकृति देखा परेकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सबै मिलेर संस्थालाई एकताबद्ध गर्नुपर्ने बताए।
'यो संस्थामा नेतृत्व चयन गर्न चुनाव आवश्यक नै छैन। आपसी मिलापबाट पनि निर्णय लिन सकिन्छ,' उनले भने।
प्रधानमन्त्रीले संस्थाको विधान कुनै व्यक्ति वा पदको अनुकूल फेरबदल गर्नु गलत रहेको बताए।
'त्यसो गरे संस्था सुदृढ र एकतावद्ध हुँदैन,' उनले भने।
प्रधानमन्त्री ओलीले निर्वाचन हुँदा हारेको समूहले अर्को समानान्तर समूह बनाएर स्वेच्छाचारिता देखाउनु गलत हुने बताए।
'उहाँहरूले अस्ति भेला गर्नुभयो, त्यसलाई आधिकारिक भन्नुभयो । फेरि निर्वाचित समितिले अर्को सम्मेलन गरेर यो आधिकारिक हो भन्नु अशोभनीय कुरा हो,' उनले भने।