गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले हङकङमा नेपाली कामदारलाई वर्किङ भिसा बन्द गरिएकोबारे श्रममन्त्री शरतसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ।
एनआरएनए सचिव राधिका गुरूड (टीका) को टोलीले श्रममन्त्री भण्डारीलाई भेटेर चीनको विशेष प्रशासनिक क्षेत्र हङकङले वर्किङ भिसा बन्द गरेकोबारे ध्यानाकार्षण गराएको हो।
‘सन् २००५ देखि नेपाली कामदारलाई (वर्किङ) भिसा बन्द गरेको छ। एनआरएनए हङकङले पटक- पटक वर्किङ भिसा खुला गर्नका लागि कूटनीतिक पहल गर्न सरकारसँग अनुरोध गर्दै आएको छ,’ एनआरएनए सचिव गुरूडले भनिन्, ‘आज पनि हङकङमा नेपाली युवाहरूका लागि रोजगारीको आकर्षक गन्तव्य मुलुक भएकाले रोजगारी खुलाउन तत्काल कूटनीतिक पहल गर्नका लागि एनआरएन एनसिसी हङकङका वर्तमान अध्यक्ष गोकर्ण ढकाल लगायत हामीले अनुरोध गरेका छौं।’
उनले श्रममन्त्री यस विषयमा सरकार गम्भीर रहेको भन्दै सुरक्षित गन्तव्यमा कामदार पठाउन सरकारले प्रयास गर्ने बताएको जानकारी दिइन्।
सन् २०२४ देखि हङकङले दक्ष कामदारलाई भिसा दिन सुरू गरेको उनले बताइन्।