ग्लोबल नेपाली
झापाका अर्जुन भट्टराई युरोपियन देश माल्टा गएको साढे ३ वर्ष भयो। पर्यटकीय देश माल्टाका सडकमा ट्याक्सी कुदाएरै उनको दैनिकी बित्छ। उनी यति खट्छन् कि एक हप्तामा १ सय १० घण्टा भन्दा धेरै समय ट्याक्सी कुदाएका हुन्छन्। ट्याक्सी कुदाए अनुसारको कमाइ पनि छ। माल्टा गएदेखि प्रत्येक वर्ष ६० देखि ७५ लाख रुपैयाँसम्म उनले नेपाल पठाएका छन्।
नेपालमा व्यवसाय गर्दागर्दै डुबेपछि आफू माल्टा आएको उनी बताउँछन्।
'नेपालमा व्यवसाय गरिरहेको थिएँ। कोभिड आयो त्यसपछि के/के भयो,भयो। सुधार्न प्रयास गरेँ तर तहसनहस भयो,' उनले भने, 'एक जना साथीमार्फत् सत्यनारायण झासँग कुराकानी भयो। उहाँकै माध्यमबाट माल्टा आएको हुँ।'
गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका उपाध्यक्ष रहेका झा माल्टामा ह्युमन रिसोर्स कम्पनी चलाउँछन्।
माल्टामा उनी इँटाको कामका लागि आएका हुन्। तर सुरूआती दिनमा उनले फुड डेलिभरीको काम गरे। उनी माल्टा आएको बेला नेपालकै लाइसेन्सले काम गर्थ्यो। एक वर्षसम्म त्यसकै आधारमा गाडी चलाउन पाइन्थ्यो। तर अहिले भने माल्टाको लाइसेन्स नभइकन गाडी चलाउन पाइँदैन।
सबै प्रक्रिया पूरा गरेपछि उनले ट्याक्सी चलाउन सुरू गरे।
अहिले उनले पर्यटकलाई घुमाउने गर्छन्। जुनदेखि सेप्टेम्बरसम्म काम पनि भ्याइनभ्याइ हुन्छ।
'मैले काम पनि धेरै गर्छु अनि कमाइ पनि राम्रो छ। बिहान ८ बजे उठ्छु राति १२ बजेसम्म काम गर्छु। नाइट क्लब खुलिरहेको छ भने अझै काम गर्छु,' उनले भने, 'कहिले त बिहान ३ बजेसम्म काम गरिरहेको हुन्छु। ३/४ घण्टा मात्रै सुतेर अनि फेरि ट्याक्सी चलाउँछु।'
नेपालको जस्तै ट्राफिक नियम भएकाले काम गर्न समेत सजिलो छ। उनले भाडाको भ्यान चलाउँछन्। सुरूआती दिनमा ५० प्रतिशत आफूलाई अनि ५० प्रतिशत भ्यान धनीलाई दिनुपर्थ्यो। तर अहिले ५ प्रतिशत कर तिर्न पर्ने भएकाले उनको भागमा ४५ प्रतिशत पर्न आउँछ। ५५ प्रतिशत अरूलाई बुझाएर अनि खाने/बस्ने खर्च समेत कटाएर वार्षिक ६० लाखदेखि ७५ लाखसम्म नेपाल पठाउने गरेको उनको भनाइ छ।
उनको खटाइ हेर्यो भने जोकोही छक्क पर्छन्। अनि उनको सक्रियता पनि उत्तिकै छ। माल्टा घुम्न जानेहरूलाई त्यहाँको ठाउँ अनुसारको महत्व समेत बताउन सक्छन्। त्यहाँका उत्कृष्ट गन्तव्यहरूमा लैजाने समेत उनले गर्छन्।
भट्टराईका अनुसार माल्टामा नेपाली चालक २ सयदेखि ३ सय छन्।
उनी भन्छन्, 'नेपालीहरू दुःख र संघर्ष धेरै गर्छन्। त्यही भएर पैसा पनि कमाउन सकेका छन्। यहाँका स्थानीयले नेपालीलाई धेरै मन पराउँछन्।'
माल्टामा जानेहरूमध्ये धेरै हस्पिटालिटी क्षेत्रमा गएका छन्।
माल्टामा काम गर्न सहज रहेको र दुःख पाउनेहरू निकै कम रहेको उनको भनाइ छ।
'म यहाँ आएको जस्तोसुकै परिस्थितिका लागि तयार हुन हो भन्ने ठानेर काम गर्ने हो भने कसैलाई समस्या हुँदैन,' उनले भने, 'सुरूमा आउनसाथ एकैचोटि हुँदैन। कहिलेकाहीँ मान्छे आत्तिएर यस्तो भयो उस्तो भन्न सक्छ। कतिपय त आउनसाथ काम नपाएर अरू देशमा गएका पनि छन्।'
उनका अनुसार माल्टा आउनेहरू २ तरिकाले आउँछन्। यही रहेका आफन्त/साथीभाइमार्फत् अनि अर्को एजेन्टमार्फत्।
माल्टामा कामदार बोलाउने कतिपय कम्पनीले कर्मचारी आइसकेपछि आफ्नो काम दिने क्षमता नरहेको भनेर समेत भन्दिन्छन्। जसले गर्दा कामदार मर्कामा पर्छन्। तर सीप जानेकाहरूलाई अर्को काम खोज्न अप्ठेरो पनि छैन।
माल्टा गएकै कारण नेपालमा बिग्रिएको व्यवहारलाई क्रमश: सुधार्न सकेकाले भट्टराई सन्तुष्ट छन्। कुनै बेला नेपालमा १६/१७ वटा सम्म ट्रकको मालिक रहेका भट्टराईको कोभिडको समयमा एकाएक व्यवहार बिग्रियो। भएका गाडी जग्गा सबै बेच्न पर्यो। लगभग जिरोमै आइपुगेपछि आफू माल्टा हानिएको उनी बताउँछन्।
'३ वर्ष साउदी, साढे ९ वर्ष अफगानस्थान बसेर बचाएको पैसाले नेपालमा लगानी गरेँ। लगानी सबै डुबेपछि त्यहाँ पार नलाग्ने देखेर यता आएको हो,' उनले भने, 'नेपालको लोन/किस्ता यताबाट तिर्न सकेको छु। मलाई धेरै दुःख छ तर म सन्तुष्ट पनि छु है।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com