गैरआवासीय नेपाली संघ (एनआरएनए) महाधिवेशन ६ महिना सर्ने भएको छ।
देशमा उत्पन्न परिस्थितिका कारण अक्टोबर ११ देखि १५ सम्म हुने महाधिवेशन ६ महिनाका लागि सारिएको एनआरएनएले जनाएको छ।
'२०२५ को अक्टोबर ११–१४ का लागि तय गरिएको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आगामी ६ महिनाभित्र गर्ने गरी स्थगित गरिएको छ,' एनआरएनए अध्यक्ष बद्री केसीले निकालेको विज्ञप्तिमा भनिएको छ, 'नयाँ मितिमा हुने बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनमा सहभागी हुन सबै पक्षलाई अनुरोध गर्दछौं।'
काठमाडौंसहित देशका विभिन्न स्थानमा सेप्टेम्बर ८ र ९ मा भएको 'जेनजी' पुस्ताको प्रदर्शन र त्यसपछि उत्पन्न भएको असामान्य परिस्थितिप्रति एनआरएनएले गम्भीर चिन्ता व्यक्त समेत गरेको छ।
प्रदर्शनका क्रममा र त्यसपछि पनि देशैभरि भएका सार्वजनिक सम्पत्तिमाथि आगजनी, तोडफोड, हिंसा र लुटपाटका घटनाले एनआरएनए स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ।
संघले सधैं गैरआवासीय नेपाली र विदेशीहरूलाई समेत नेपालमा लगानी गर्न प्रोत्साहन गर्दै आएको भन्दै विज्ञप्तिमा यस्ता किसिमका घटनाले विदेशमा रहेका नेपाली र विदेशी लगानीकर्तालाई पनि निराश बनाएको भनिएको छ।
'मुलुक सरकारविहीन भएको अहिलेको परिस्थितिलाई यथाशिघ्र अन्त्य गर्दै सार्वभौमसत्ता, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्यको संरक्षण गर्दै, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक अधिकारहरू हनन नहुने गरी सार्थक र परिणाममुखी संवादमार्फत् यथाशीघ्र निकास निकाल्न र युवापुस्ताका माग सम्बोधन गर्न संघ आग्रह गर्दछ,' विज्ञप्तिमा उल्लेख छ।
संकटको यस घडीमा मुलुकमा स्थायित्व र सामान्य स्थिति कायम गर्न राज्यका सबै निकायको सकारात्मक र सक्रिय भूमिका आवश्यक रहेको भन्दै संघ सम्बद्ध सबैलाई यथाशक्य योगदान दिन र मुलुकको समग्र पुनर्निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता समेत एनआएरएनले गरेको छ।
'संकटको यस घडीमा विश्वभर रहेका सबै गैरआवासीय नेपालीलाई विगतका तिक्तता र आपसी मतभेदलाई छोडेर सहकार्य, एकता र मातृभूमिप्रतिको उत्तरदायित्वबोधसहित एकबद्ध भई अघि बढ्न संघ आह्वान गर्दछ,' केसीले भनेका छन्।
