गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको सदस्यता आवेदन दिनेको संख्या १६ हजार नाघेको छ।
आइतबार मध्येरातमा आवेदन दिने अवधि सकिदै गर्दासम्म आवेदन दिनेको संखया १६ हजार २ सय ९१ पुगेको छ। जसमध्ये १० हजार सदस्यको सदस्यता स्वीकृत भइसकेको र बाकीको स्वीकृत हुने चरणमा रहेको एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले सेतोपाटीलाई बताए।
त्यस्तै १५ सयभन्दा धेरैको संख्यामा रहेका आजिवन सदस्यहरुले आफ्नो विवरण अद्यावधिक गर्न पर्छ। यसको लागि १ साताको समय दिइएको छ। यीमध्ये आधाले मात्र अद्यावधिक गरे पनि सदस्य संख्या १७ हजार नाघ्ने अध्यक्ष पोखरेलले बताए।
एनआरएनए अभियान विषम परिस्थितिमा भएको बेलासमेत यति ठूलो संख्यामा सदस्यताका लागि आवेदना परेपछि आफू उत्साहित भएको एनआरएनए अस्ट्रेलियाका अध्यक्ष पोखरेलले बताए।
'विभिन्न खालका विवाद र दबाबका बिचमा पनि एनआरएनएप्रतिको चासो रहनुले हामीले यसको महत्व अझै बढेको छ। हामीले सदस्यता शुल्क २५ डलरबाट बढाएर ३० समेत पुर्याएका थियौं,' उनले भने, 'मैले यसलाई २ वर्षमा भएका सकारात्मक कामको परिणामको रुपमा लिएको छु।यति धेरै पञ्जिकृत सदस्य भएको संस्थाले गर्दा यहाका सरकारहरुसँग काम गर्न समेत हामीलाई सजिलो भएको छ।'