मनाङका बाढीपहिरो प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउँदै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राहत तथा मानवीय सहयोग अभियान गरिरहेको छ।
गत असोज ८ देखि १२ गतेसम्म परेको भीषण वर्षापछिको बाढी पहिरोबाट प्रभावित चामेका १४ र ताल गाउँका ५० गरी ६४ परिवारलाई स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले तथा नासो गाउँपालिका–१ का वडा अध्यक्ष मिनराशी गुरुङको अनुरोधमा स्थानीय तहसँगको समन्वयमा प्रभावित परिवार पहिचान गरी राहत वितरण गरिएको हो।
राहत हस्तान्तरणका लागि मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनाल, चामे गाउँपालिका, नासो गाउँपालिका तथा स्थानीय जनप्रतिनिधिहरूसँग आवश्यक समन्वय गरिएको एनआरएनएले जनाएको छ।
प्रत्येक प्रभावित परिवारलाई कराई, थाल, डाडु, पन्यु, गिलास, कचौरा, चम्चा, जग, २० लिटरको बाल्टिन, खाद्यान्न प्याकेज, सोलार लाइट तथा त्रिपाल लगायतका आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।
साथै, चिया/टी-ब्याग तथा अन्य आवश्यक सामग्री समेत राहत प्याकेजमा समावेश थियो।
यसै क्रममा नेपाल प्रहरी कार्यालयलाई एक थान ह्यान्ड माइक सेटसमेत हस्तान्तरण गरेको जनाएको छ।
विपद्का समयमा सूचना सम्प्रेषण, समन्वय तथा उद्धार एवं राहत कार्यमा सहयोग पुग्ने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको उल्लेख गरेको छ।