एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेले बेरोजगारी न्यूनीकरण, दक्ष जनशक्ति उत्पादन र युवालाई रोजगारीका अवसरसँग जोड्ने उद्देश्यसहित भक्तपुरको दधिकोटमा एभरेस्ट मल्टी स्किल्स प्राइभेट लिमिटेड सञ्चालन ल्याएका छन्।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आइतबार संस्थाको नवनिर्मित भवन उद्घाटन गरेका छन्।
उद्घाटन गर्दै उनले सीप तथा तालिमलाई प्रमाणपत्र वितरणमा सीमित नराखी प्रत्यक्ष रूपमा रोजगारी र आत्मनिर्भरतासँग जोड्नुपर्नेमा जोड दिएका छन्।
'युवालाई प्रमाणपत्र मात्र होइन, काम गर्ने सीप दिनुपर्छ। तालिम मात्र होइन, रोजगारीसँग जोड्ने अवसर पनि दिनुपर्छ,' मन्त्री यादवले भने।
श्रम बजारमा दक्ष जनशक्तिको माग बढिरहेको तर आवश्यक सीपको अभावमा युवाले रोजगारी प्राप्त गर्न कठिनाइ भोग्नु परिरहेको अवस्थामा स्थापना गरिएको यस संस्थाले व्यावसायिक तालिम, प्राविधिक सीप विकास र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेको छ।
आवासीय सुविधासहित विभिन्न क्षेत्रमा सीपमूलक तालिम सञ्चालन गर्ने लक्ष्य राखिएको संस्थाले युवालाई स्वदेशमै रोजगारी तथा स्वरोजगारका अवसर खोज्न र वैदेशिक रोजगारीमा दक्ष श्रमिकका रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने अपेक्षा गरेको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपालको श्रम बजारमा बेरोजगारीको समस्या मात्र नभई उपलब्ध जनशक्तिको सीप र बजारको आवश्यकताबीचको असन्तुलन पनि प्रमुख चुनौती रहेको बताए।
उद्योग, निर्माण, पर्यटन, कृषि, सूचना प्रविधि तथा सेवा क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न तालिम कार्यक्रमलाई व्यावहारिक र रोजगारमुखी बनाउनुपर्ने उनको भनाइ थियो।
तालिम लिनेको सङ्ख्या र प्रमाणपत्र वितरणलाई मात्र सफलताको आधार मान्न नहुने उल्लेख गर्दै मन्त्री यादवले तालिमपछि कति जनाले रोजगारी पाए, कति जनाले आफ्नै उद्यम सुरू गरे र उनीहरूको आम्दानीमा कस्तो सुधार आयो भन्ने आधारमा पनि कार्यक्रमको प्रभावकारिता मूल्यांकन गर्नुपर्ने बताए।
सीप विकासको वास्तविक उपलब्धि तालिम पूरा भएपछि प्रशिक्षार्थीले हासिल गर्ने व्यावसायिक क्षमता र प्राप्त गर्ने अवसरमा देखिनुपर्ने उनको भनाइ थियो।
मन्त्री यादवले सीप विकासलाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र, तालिम प्रदायक संस्था र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताए।
निजी क्षेत्रको अनुभव, लगानी र प्राविधिक क्षमतालाई तालिमसँग जोड्न सके श्रम बजारको मागअनुसार जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने उनले उल्लेख गरे।
युवालाई विदेश जानबाट रोक्नु मात्र सरकारको उद्देश्य नभएको स्पष्ट पार्दै मन्त्री यादवले नेपालमै सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत दक्ष, सुरक्षित तथा मर्यादित बनाउनुपर्ने बताए।
सीपयुक्त जनशक्तिले आफ्नो क्षमता उपयोग गर्न र श्रमअनुसारको प्रतिफल प्राप्त गर्न बढी अवसर पाउने भएकाले सीप विकासलाई रोजगारी नीतिसँग जोडेर अघि बढाउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा सांसद राजीव खत्रीले स्थानीय क्षेत्रमा सीप विकास तथा व्यावसायिक तालिम केन्द्र स्थापना हुनु सकारात्मक भएको बताए।
यस्ता संस्थाले युवालाई दक्ष बनाउँदै व्यावसायिक क्षेत्रमा प्रवेश गर्न र रोजगारीका अवसर खोज्न सहयोग पुर्याउन सक्ने उनको भनाइ थियो।
उनले संस्थाको सफलताको कामना गर्दै स्थानीय क्षेत्रमा सीप विकासका कार्यक्रम विस्तार हुनु आवश्यक रहेको उल्लेख गरे।
एभरेस्ट मल्टी स्किल्सका अध्यक्ष खगेन्द्र न्यौपानेले सीपविना वैदेशिक रोजगारीमा जाँदा श्रमिकले आफ्नो श्रम, समय र क्षमताअनुसारको प्रतिफल प्राप्त गर्न कठिन हुने बताए।
दक्षता अभावमा न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, कार्यस्थलमा जोखिम बढ्न सक्ने र व्यावसायिक उन्नतिका अवसर सीमित हुने भएकाले विदेश जानुअघि आवश्यक सीप हासिल गर्न उनले युवालाई आग्रह गरे।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्षसमेत रहेका न्यौपानेले विदेशमा हासिल गरेको व्यावसायिक अनुभव र ज्ञानलाई स्वदेशको सीप विकास क्षेत्रमा उपयोग गर्ने उद्देश्यले संस्था स्थापना गरिएको बताए।
मलेसिया र नेपालमा व्यवसाय गर्दै आएका सफल ब्याबसायी न्यौपानेको नेतृत्वमा स्थापना भएको संस्थाले युवालाई व्यावसायिक रूपमा सक्षम बनाउँदै दक्ष जनशक्ति उत्पादन र रोजगारीका अवसर विस्तारमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले सीप र दक्षता हासिल गर्न सके कामको प्रकृति, पारिश्रमिक र व्यावसायिक उन्नतिका अवसरमा सुधार गर्न सक्ने न्यौपानेको भनाइ थियो।
त्यसैले तालिमलाई सामान्य प्रमाणपत्रमा सीमित नराखी काम गर्न सक्ने व्यावहारिक दक्षता विकासमा केन्द्रित गर्नुपर्ने उनले बताए।
संस्थाका सञ्चालक अनन्तराम खड्काले आवासीय सुविधासहित तालिम सञ्चालन गर्ने योजनाले प्रशिक्षार्थीलाई सिकाइमा केन्द्रित हुन सहज वातावरण उपलब्ध गराउने बताए।
विदेशमा रहँदा प्राप्त गरेको अनुभव, ज्ञान र सिकाइलाई स्वदेशमै उपयोग गर्ने उद्देश्यले संस्था सञ्चालनमा ल्याइएको उल्लेख गर्दै उनले सीप विकास तथा व्यावसायिक तालिमको क्षेत्रमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार संस्थाले व्यावहारिक ज्ञान र प्राविधिक सीपलाई प्राथमिकता दिँदै प्रशिक्षार्थीलाई व्यावसायिक रूपमा सक्षम बनाउने लक्ष्य राखेको छ।
तालिमलाई श्रम बजारको आवश्यकतासँग जोड्न सके युवालाई रोजगारी खोज्न, स्वरोजगार बन्न र स्वदेश तथा विदेशमा उपलब्ध अवसरको सदुपयोग गर्न सहज हुने अपेक्षा गरिएको छ।
नेपालमा रोजगारी सिर्जना र दक्ष जनशक्ति उत्पादनबीचको सम्बन्ध बलियो बनाउनु अहिलेको प्रमुख आवश्यकता हो।
एकातिर ठूलो सङ्ख्यामा युवा रोजगारीको खोजीमा विदेशिने क्रम जारी छ भने अर्कातिर विभिन्न उद्योग तथा सेवा क्षेत्रमा आवश्यक सीप भएका कामदारको मागसमेत छ।
यस्तो अवस्थामा तालिमलाई श्रम बजारको माग, व्यावहारिक दक्षता र रोजगारीका अवसरसँग जोड्नु महत्त्वपूर्ण मानिन्छ।
एभरेस्ट मल्टी स्किल्सले अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
यद्यपि संस्थाको वास्तविक प्रभावकारिता सञ्चालन गरिने तालिमको गुणस्तर, दक्ष प्रशिक्षकको उपलब्धता, बजारको मागअनुसार सीप प्रदान गर्ने क्षमता र तालिमपछि प्रशिक्षार्थीले प्राप्त गर्ने अवसरबाट मापन हुनेछ।
तालिम पूरा गरेका युवालाई रोजगारी, स्वरोजगार र व्यावसायिक उन्नतिसँग जोड्न सके संस्थाले सीप विकासको क्षेत्रमा अर्थपूर्ण योगदान पुर्याउन सक्नेछ।
उद्घाटनसँगै एभरेस्ट मल्टी स्किल्सले युवालाई सीपयुक्त बनाउने, दक्ष जनशक्ति उत्पादन गर्ने र रोजगारीका अवसर विस्तारमा सहयोग पुर्याउने लक्ष्यसहित आफ्नो औपचारिक यात्रा सुरु गरेको छ।
संस्थाले घोषणाअनुसार गुणस्तरीय तालिम सञ्चालन गर्दै सीपलाई रोजगारी र आत्मनिर्भरतासँग जोड्न सके नेपालको श्रम बजारमा दक्ष जनशक्तिको उपलब्धता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।