गैरआवासीय नेपाली संघ (एनआरएनए) को छैटौं एनआरएनए ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरधाममा आयोजना हुँदैछ।
विदेशमा कार्यरत नेपाली स्वास्थ्य विज्ञको ज्ञान, सीप र अनुभवलाई नेपालको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले कन्फरेन्स हुन लागेको हो।
कन्फरेन्स २०२६ आगामी डिसेम्बर ४ र ५ (मंसिर १८ र १९) मा जनकपुरधाममा आयोजना हुने भएको हो।
एनआरएनएले मधेश सरकार र मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सेससँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको हो।
सम्मेलनको मुख्य नारा 'रिभर्स माइग्रेसन विथ ग्लोबल कोल्याबरेसन' रहेको छ। नेपाललाई 'ब्रेन ड्रेन' बाट 'ब्रेन सर्कुलेसन' हुँदै 'ब्रेन गेन' तर्फ अघि बढाउने सम्मेलनको लक्ष्य छ।
सम्मेलनमा विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीलाई स्वदेशको स्वास्थ्य प्रणालीमा योगदान गर्ने अवसर सिर्जना गर्ने, अन्तर्राष्ट्रिय अस्पताल तथा विश्वविद्यालयबीच सहकार्य बढाउने, विशेषज्ञ तालिम, अनुसन्धान, डिजिटल स्वास्थ्य र प्रविधि हस्तान्तरणलाई प्रवर्द्धन गर्ने विषयमा छलफल हुनेछ।
विदेशमा रहेका नेपाली स्वास्थ्य विज्ञ तथा लगानीकर्तालाई नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने विषयलाई पनि प्राथमिकता दिइनेछ।
सम्मेलन आयोजक समितिका अध्यक्ष प्रा. डा. सुनील साहले विदेशमा कार्यरत नेपाली जनशक्तिलाई स्वदेश फर्कने उपयुक्त वातावरण निर्माण गर्दै नेपालको स्वास्थ्य प्रणाली बलियो बनाउने विषयमा सम्मेलनमा छलफल गरिने बताए।
सम्मेलनलाई दुई दिनको छलफलमा मात्र सीमित नराखी दीर्घकालीन साझेदारी र मापनयोग्य प्रतिबद्धतामा रूपान्तरण गर्ने प्रयास गरिने उनको भनाइ छ।
वैज्ञानिक समितिका अध्यक्ष तथा बेलायतस्थित युनिभर्सिटी अफ चेस्टरका डीन प्रा. डा. पदम सिम्खडाका अनुसार सम्मेलनमा जनस्वास्थ्यविद् प्रा. जेनी ह्यारिससहित ५० जनाभन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ तथा वैज्ञानिक सहभागी हुने निश्चित भएको छ।
मधेश प्रदेशका स्वास्थ्य सूचक सुधारका विषयमा पनि सम्मेलनमा छलफल गरिनेछ।
सम्मेलनमा सरकारका प्रतिनिधि, चिकित्सक, नर्स, जनस्वास्थ्य विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद् तथा विश्वभर कार्यरत नेपाली स्वास्थ्यकर्मीसहित करिब ३०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।
सम्मेलनबाट 'जनकपुर डिक्लेरेसन अन रिभर्स माइग्रेसन एन्ड ग्लोबल हेल्थ कोल्याबरेसन २०२६' जारी गर्ने तयारी छ।
साथै, अनुसन्धान, शिक्षा, विशेषज्ञ आदानप्रदान र स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि 'जनकपुर ग्लोबल हेल्थ नेटवर्क' स्थापना गर्ने लक्ष्य राखिएको छ।
एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो।
यसअघि पहिलो सम्मेलन अमेरिकाको एटलान्टा, तेस्रो लन्डन, चौथो सिड्नी र पाँचौँ जापानको टोकियोमा आयोजना भएका थिए।
कोभिड–१९ महामारीका कारण दोस्रो सम्मेलन भने भर्चुअल माध्यमबाट गरिएको थियो।