धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफूले निष्पक्ष रूपमा ब्रोकर लाइसेन्स वितरण गरेको दाबी गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै हमालले यस्तो दाबी गरेका हुन्।
'लाइसेन्सहरू वितरणको क्रममा भष्ट्राचारको भ गन्ध पनि आउनु हुँदैन। हामीले ४३ वटा ब्रोकरलाई लाइसेन्स दिएका छौं। कुनै एउटासँग बसेर मैले चिया समेत खाएको छैन,' हमालको दाबी छ।
उनले ब्रोकर कम्पनीको अनुमति प्रक्रियामा सिंगापुरको 'मेरिटोक्रेसी' अभ्यास आफूले अनुशरण गरेको पनि दाबी गरे।
सिंगापुरमा शिक्षा र कामको आधारमा हरेकलाई प्रगतिको अवसर जुटाउने व्यवस्था गरिएको छ जसलाई 'सिंगापुर मेरिटोक्रेसी' भनिन्छ।
हमालले भने, 'पहिलो पटक नेपालको इतिहासमा हामीले ब्रोकर लाइसेन्स वितरणमा विचारको पनि प्रयोग गर्दैछौं। समाजमा स्थान बनाएका ५० जना मानिसहरू मात्र मिलेर ब्रोकर लाइसेन्स ओगटिराख्ने? त्यसैले हामीले मापदण्ड पूरा गर्ने सबैले लाइसेन्स पाउनुपर्छ भनेर यसको सुरूआत गरेका छौं।'
प्रणालीगत पक्षपाती व्यवस्थाले प्रतिस्पर्धा नहुने भन्दै उनले सबैलाई अवसर दिने अभ्यास थालनी भएको दाबी गरेका हुन्।
पहिलोपटक ब्रोकर लाइसेन्सबाट सरकारले समेत राजस्व प्राप्त गरिरहेको उनले बताए। ब्रोकरको व्यवस्थापनमा रहने मात्र होइन सञ्चालक समितिमा रहनेको पनि शैक्षिक मापदण्ड तोकिएको उनले जानकारी दिए।
'सञ्चालक समितिमा बस्न पनि कम्तिमा एक-तिहाई कानुन, लेखा, अर्थशास्त्र जस्ता विषयमा स्नातकोत्तर भएका हुनुपर्ने व्यवस्था गरेका छौं,' उनले भने।
भारतमा ब्रोकर बन्न निर्वाध व्यवस्था भएकाले त्यहाँ ब्रोकर कमिसनमा माथिल्लो सीमा मात्र तोकिएको उनले बताए। यही कारण त्यहाँ भारू २० मै ब्रोकरहरूले हजारौं रकमको कारोबार गरिदिने गरेको उनले बताए।
भारतमा ब्रोकरका लागि मापदण्ड पुगेका जोकोहीले आवेदन दिनसक्ने र नियामक निकाय 'सेबी' ले दस दिनभित्र आवेदन स्वीकृत वा रद्ध गर्ने व्यवस्था रहेको उनले बताए। नेपालमा पनि यसैको अनुशरण गरेर यस्तो आवेदन दिएको ३५ दिनभित्र आवेदन स्वीकृत गर्नपर्ने व्यवस्था गरिएको उनको दाबी छ।