काठमाडौं उपत्यकामा डेरा खोज्ने अनुभव धेरैका लागि झन्झटपूर्ण छ। सडक र गल्ली चहार्दा पनि आफूले खोजेजस्तो कोठा भेटिँदैन।
सामाजिक सञ्जालमा देखाइएको कोठा हेर्न जाँदा वास्तविकता अर्कै हुन्छ। कतिपयले कोठा खोजिदिने नाममा पैसा लिएर पनि अपेक्षा अनुसार सेवा दिँदैनन्।
बागलुङका २९ वर्षीय चेतन जगतले पनि यस्तै समस्या भोगे। आफन्तका लागि काठमाडौंमा फ्ल्याट खोज्ने क्रममा उनले कोठा खोजिदिने पसलहरूमा पैसा तिरेर फारम भरे।
तर ती कोठा खोजिदिने नाममा खुलेका पसलहरूले फारम भरेपछि कोठा खोजिदिएनन्। बरू बेवास्ता गरे। केहीले कोठा देखाइहाले पनि सेवासुविधा केही नभएका, अँध्यारा पुराना घरका कोठाहरू मात्रै देखाउँथे।
कोठा खोज्ने नाममा फारम भराएर पैसा लिने तर भनेजस्तो कोठा नखोजिदिने प्रवृत्ति देखेपछि चेतनले त्यही समस्यालाई व्यवसायको अवसरका रूपमा लिए।
र, कोठा खोज्ने व्यक्ति र घरधनीको पुलको रूपमा काम गर्न सन् २०२२ मा काठमाडौंको कीर्तिपुरमा 'सी.मार्ग' नामक कम्पनी स्थापना गरे।
सी.मार्ग सुरू गरेपछि उनी काठमाडौंका गल्ली–गल्ली र घर–घर पुगेर खाली कोठा खोज्न थाले।
'घर घरका ढोका ढकढकाउँदै, घन्टी बजाउँदै काम गर्न सजिलो थिएन। तर जसरी पनि गर्छु भनेर आँट गरिसकेपछि जति अप्ठ्यारो लागे पनि निरन्तर काम गरेँ,' उनले भने।
अहिले यो कम्पनीले काठमाडौंको कीर्तिपुर र आसपासका क्षेत्रमा कोठा, फ्ल्याट तथा घर खोज्ने काम गरिरहेको छ। कोठा खोज्ने व्यक्ति र घरधनीबीच सहजीकरणको काम गरिरहेको छ।
कोठा भाडा कति हो, कस्ता व्यक्ति (विद्यार्थी, परिवार, जागिरे), कति जनासम्मलाई दिने हो, फोहोर, बिजुली र पानीको शुल्क के कति तिर्नुपर्छ लगायत सबै विस्तृत जानकारी सहित सी.मार्गले कोठा राख्ने गरेको उनले बताए।
'हामीले कोठाको वास्तविक तस्बिर र सबै विवरण राखेका हुन्छौं। राखिएको कोठा र जानकारी हेरेर आफ्नो लागि उपयुक्त हुने रहेछ भने आवश्यक पर्नेले बुकिङ गर्न सक्छन्,' चेतनले भने।
कोठा खोजिदिएबापत कम्पनीले केही सेवाशुल्क लिन्छ।
चेतनले यसरी डेरा खोजिदिने काममा मात्र सीमित हुन चाहँदैनन्।

उनले डेरा खोज्ने काम गर्दै जाँदा काठमाडौं आउने मानिसहरू होटलको विकल्पमा व्यवस्थित कोठाहरू पनि खोजिरहेका हुन्छन् भन्ने थाहा पाए। यसरी बस्न विदेशी पर्यटकहरू पनि रूचाउने बुझे।
सोही आवश्यकता बुझेर उनले होटलको विकल्पमा केही दिन बस्न कोठा उपलब्ध गराउने योजना पनि अघि सरेका छन्। यसकालागि 'सी.रूम' नामको प्लेटफर्म सोचेका छन्।
सिरूमले बस्न र खाना पकाएर खान मिल्ने गरी तयार गरेका कोठाहरू खोजिदिने लगायत काम गर्ने उनले बताए।
कोठा खोज्नेसँगै चेतनको योजना घरजग्गा किनबेच, भाडामा दिने–लिने, रियल–इस्टेट सम्बन्धी विज्ञापन लगायत काम गर्ने छ।
उनी भन्छन्, 'म रियल–इस्टेटसँग सम्बन्धित सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराउने इकोसिस्टम विकास गर्न चाहन्छु। यसका लागि धेरै कामहरू गरिरहेको छु।'
अहिले उनी वेबसाइट बनाइरहेका छन्।
बागलुङबाट केही समयअघि काम खोज्दै काठमाडौं छिरेका चेतनले अहिले सी.मार्गमार्फत् चार जनालाई पूर्णकालीन रोजगारी दिएका छन्।
डेरा खोजी गर्ने काममा अल्पकालीद्द रोजगारी थुप्रै युवाले पाएका छन्। योजना अनुसार सेवा विस्तार गर्न सके सुरूमा कम्तीमा २० देखि २५ जनाले पूर्णकालीन रोजगारी पाउने उनको विश्वास छ।
'काठमाडौं बसेर थोरै समय काम गर्छु र बाँकी समय पढ्छु भन्नेहरूका लागि सी.मार्ग राम्रो अवसर छ। फुर्सदको समयमा कोठा खोज्ने र घरधनी र डेरावालबीच पुलको काम गर्दै पढ्छु भन्नेहरू हामीसँग जोडिएर काम गर्न सक्छन्,' उनले भने।
चेतन २०७५ सालमा काठमाडौं आएका थिए। त्यसपछि कोरोना महामारीका कारण गाउँ फर्किए। महामारीपछि फेरि काठमाडौं आएर उनले अनलाइन सञ्चार माध्यम साहित्य पोस्टमा बजार व्यवस्थापनको जिम्मेवारी सम्हाले।
त्यही क्रममा व्यवसायीहरू र विभिन्न क्षेत्रका व्यक्तिहरूसँग भेटघाट गर्ने अवसर मिल्यो।
सफल उद्यमी, व्यवसायीहरूको कथा पढ्दै र लेख्दै जाँदा उनलाई एउटा कुरा स्पष्ट भयो— जीवनमा नामसँगै आर्थिक आत्मनिर्भरता पनि आवश्यक छ।

'लाख रूपैयाँबाट सुरू गरेर अर्बौंको कम्पनी बनाएका व्यक्तिहरूको कथा आफ्नै हातले लेखेपछि मलाई पनि केही आफ्नै गर्ने इच्छा झन् बलियो हुँदै गयो,' उनी सम्झिन्छन्।
मार्केटिङप्रति पहिलेदेखि नै रूचि भएका चेतनलाई जागिरभन्दा व्यवसाय उपयुक्त लाग्न थाल्यो।
'मेरो स्वभाव नै अरूको मातहत बसेर काम गर्ने खालको थिएन। कुनै काम बिहान–साँझ केही घन्टा दिएर गर्न सकिन्छ भने दिनभर जागिरमै किन बिताउने भन्ने सोच आयो,' उनले भने।
कम लगानीमा सुरू गर्न सकिने व्यवसायको खोजीमा रहेका उनले विभिन्न सम्भावनाको अध्ययन गरे। भूगोल विषयमा स्नातकोत्तरसम्म पढेका चेतनले आफ्नो शोधपत्र पनि रियल–इस्टेटसँग सम्बन्धित विषयमै तयार पारे। त्यसले आवास, बसोबास र रियल–इस्टेट क्षेत्रमा रहेका समस्या र सम्भावना अझ नजिकबाट बुझ्न सहयोग गर्यो।
लगभग शून्यबाट सुरू भएको सी.मार्गमा अहिलेसम्म करिब २० लाख रूपैयाँभन्दा धेरै लगानी भइसकेको उनी बताउँछन्।
'यो रकम व्यवसायबाट कमाएको आम्दानी पुनः लगानी गर्दै गएको हुँ,' उनले भने।
भविष्यमा पोखरा, बुटवल लगायत सहरमा सेवा विस्तार गर्ने र त्यसपछि अन्य मुलुकसम्म पुग्ने लक्ष्य चेतनले बनाएका छन्।
साथै नेपाली परम्परागत वास्तुकलामा आधारित घर, कृषि र पर्यटनलाई जोड्ने 'एग्रो–टुरिजम' अवधारणामा पनि काम गर्ने उनको योजना छ।
'पारदर्शिता, विश्वास र प्रविधि जोडेर रियल–इस्टेट क्षेत्र अझ व्यवस्थित बनाउन सकिन्छ। त्यही विश्वासमा सी.मार्गको सेवा विस्तार गर्ने लक्ष्य छ,' चेतनले भने।