सरकारले चार महिनादेखि रोकिएको सार्वजनिक सवारीसाधनको दर्ता पुनः सुरू गरेको छ।
तर, चार महिनासम्म दर्ता किन रोकियो र के निष्कर्षमा पुगेर पुनः खोलियो भन्नेबारे सरकारले स्पष्ट कारण दिएको छैन।
यातायात व्यवस्था विभागले १ असोजदेखि लागु हुने गरी सार्वजनिक सवारीसाधनको दर्ता खुला गरेको हो।
विभागका अनुसार अहिलेका लागि काठमाडौं उपत्यकाबाहिर मात्र नयाँ सार्वजनिक सवारीसाधन दर्ता हुनेछ।
दर्तामा विद्युतीय सार्वजनिक सवारीसाधनलाई प्राथमिकता दिइएको छ।
काठमाडौं उपत्यकाभित्र भने स्कुल बस र सट्टाभर्ना गर्न चाहने सवारीसाधनका लागि मात्र दर्ता खुला गरिएको विभागले जानकारी दिएको छ।
विभागले सबै प्रदेश सरकारलाई सोहीअनुसार सार्वजनिक सवारीसाधन दर्ता गर्न सूचित गरेको छ।
सरकारले यसअघि ७ जेठ २०८३ देखि सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोकेको थियो।
दर्ता रोक्दा विभागले सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन, वायु प्रदूषण, सवारीको चाप र ट्राफिक व्यवस्थापनलगायत विषयलाई कारण बनाएको थियो।
तर, चार महिनापछि दर्ता खोल्दा ती समस्या समाधान गर्न के निष्कर्षमा पुगियो भन्ने विषयमा कुनै जानकारी दिएको छैन।
विभागका निर्देशक मणिराम भुसालले काठमाडौं उपत्यकाभित्रको रूट तथा सवारी व्यवस्थापनलाई ध्यानमा राखेर उपत्यकाबाहिर मात्र नयाँ सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको बताए।
विभागले मालवाहक सवारीसाधनको दर्ता भने १८ साउनदेखि नै खुला गरेको थियो।
त्यसअघि ८ असारसम्म एलसी खोलिसकेका र नेपाल आइसकेका सार्वजनिक सवारीसाधनको पनि दर्ता गरिएको थियो।