केही समयअघि सामाजिक सञ्जालमा शिक्षा क्षेत्रका एक विज्ञको अन्तर्वार्ताको छोटो क्लिप देखेँ।
उहाँले शिक्षक कक्षाकोठामा प्रवेश गर्दा उत्साहका साथ, मुस्कुराउँदै र सकारात्मक ऊर्जा लिएर जानुपर्छ भन्ने कुरा गर्नुभएको थियो।
त्यो कुरा सुन्दा स्वाभाविक लाग्यो। आखिर, शिक्षकको मुस्कानले विद्यार्थीलाई नजिक महसुस गराउन सक्छ, कक्षाकोठाको वातावरण सहज बनाउन सक्छ र सिकाइप्रति रूचि जगाउन पनि मद्दत गर्छ।
तर, त्यो छोटो क्लिप हेरेपछि पूरै अन्तर्वार्ता हेर्ने इच्छा भयो।
अन्तर्वार्ता हेर्दै जाँदा मनमा एउटा प्रश्न उठ्यो—हामी शिक्षकलाई सधैँ उत्साहित र मुस्कुराएको देख्न चाहन्छौँ, तर उनीहरूलाई त्यस्तो भएर काम गर्न सक्ने वातावरण दिएका छौँ त?
हामीले शिक्षकबाट धेरै अपेक्षा राखेका छौं। उनीहरू ज्ञान दिने व्यक्ति मात्र होइनन्, विद्यार्थीका कुरा सुन्ने, उनीहरूको भावना बुझ्ने, समस्या समाधान गर्न सिकाउने र भविष्यका लागि तयार पार्ने मार्गदर्शक पनि हुन्।
उनीहरू कक्षाकोठामा प्रवेश गर्दा विद्यार्थीले सहजता महसुस गरून्, प्रश्न सोध्न डराउनु नपरोस् र गल्ती गर्दा पनि सिक्ने अवसर पाऊन् भन्ने चाहना राख्छौं।
यी अपेक्षा गलत होइनन्। तर, शिक्षकको अनुहारमा मुस्कान देखियो कि देखिएन भन्ने आधारमा मात्रै उनको क्षमता, जिम्मेवारी वा कामप्रतिको लगावको मूल्यांकन गर्नु कति उचित होला?
मुस्कानको कुरा गर्दा हामीले एउटा सामान्य मानवीय पक्ष पनि बुझ्नुपर्छ। हाम्रो दैनिक जीवनमा भेटिने हरेक व्यक्ति सधैँ मुस्कुराइरहेको हुँदैन। कोही थकित हुन्छ, कोही कुनै चिन्तामा हुन्छ, कसैको स्वभाव नै कम बोल्ने वा गम्भीर देखिने हुन्छ। त्यसको अर्थ उनीहरू नकारात्मक छन् वा अरूप्रति राम्रो व्यवहार गर्न जान्दैनन् भन्ने होइन।
त्यस्तै, सधैँ मुस्कुराइरहने व्यक्ति नै सबभन्दा खुसी वा जिम्मेवार हुन्छ भन्ने पनि छैन। त्यसैले अनुहारको भाव हेरेर मात्रै कसैको मनस्थिति वा व्यक्तित्वको निष्कर्ष निकाल्नु उचित हुँदैन।
शिक्षकको हकमा पनि यही कुरा लागू हुन्छ। मुस्कानले कक्षाकोठालाई आत्मीय बनाउन सक्छ।
शिक्षकको सहज व्यवहारले विद्यार्थीलाई आफ्ना जिज्ञासा राख्न र नबुझेका कुरा सोध्न प्रोत्साहित गर्न सक्छ।
शिक्षकसँग डराउनेभन्दा विश्वास गर्ने वातावरण बनेमा विद्यार्थीले गल्ती लुकाउने होइन, त्यसबाट सिक्ने अवसर पाउँछन्। तर, मुस्कान नै राम्रो शिक्षणको एक मात्र आधार होइन।
कुनै शिक्षकको स्वभाव गम्भीर हुन सक्छ, तर उनी विद्यार्थीप्रति संवेदनशील, जिम्मेवार र आफ्नो विषयमा दक्ष हुन सक्छन्। त्यसैले शिक्षकको बाहिरी व्यवहारसँगै उनले विद्यार्थीलाई कसरी सिकाइरहेका छन्, उनीहरूसँग कस्तो सम्बन्ध बनाइरहेका छन् र कक्षाकोठामा कस्तो वातावरण सिर्जना गरिरहेका छन् भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
आजको शिक्षण वातावरण पहिलेको जस्तो छैन। समयसँगै शिक्षण विधि परिवर्तन भएका छन्, प्रविधिको प्रयोग बढेको छ र विद्यार्थीको सिकाइप्रतिको अपेक्षा पनि फरक हुँदै गएको छ। पहिले शिक्षकले पाठ बुझाउने र विद्यार्थीले सुनेर लेख्ने अभ्यासलाई नै पर्याप्त मानिन्थ्यो।
अहिले विद्यार्थीलाई प्रश्न गर्न, छलफल गर्न, खोज्न, प्रयोग गर्न र आफ्नै अनुभवबाट सिक्न प्रोत्साहित गरिन्छ।
शिक्षकले पाठ्यपुस्तकको विषयवस्तु पूरा गराउनु मात्र होइन, विद्यार्थीमा आलोचनात्मक सोच, सिर्जनशीलता, सहकार्य र समस्या समाधान गर्ने क्षमता विकास गराउनुपर्ने अपेक्षा पनि बढेको छ।
यी परिवर्तन आवश्यक छन्। तर, नयाँ शिक्षण विधि अपनाउनु भनेको पुरानो विधि छाडेर नयाँ कुरा प्रयोग गर्नु मात्र होइन। त्यसका लागि शिक्षकले पर्याप्त तयारी गर्नुपर्छ, विद्यार्थीको आवश्यकता बुझ्नुपर्छ र कक्षाकोठामा उपलब्ध स्रोतसाधनअनुसार उपयुक्त तरिका छनोट गर्नुपर्छ। प्रविधिको प्रयोग गर्नुपर्ने अपेक्षा राखिन्छ, तर सबै विद्यालयमा आवश्यक उपकरण र भरपर्दो इन्टरनेट उपलब्ध नहुन सक्छ।
विद्यार्थीकेन्द्रित शिक्षणको कुरा गरिन्छ, तर कक्षामा विद्यार्थीको सङ्ख्या धेरै हुँदा प्रत्येक विद्यार्थीको सिकाइमा व्यक्तिगत ध्यान दिन सहज हुँदैन। शिक्षकलाई नयाँ विधि अपनाउन भनिन्छ, तर त्यसका लागि चाहिने समय, सामग्री र व्यावहारिक सहयोग पर्याप्त छ कि छैन भन्ने प्रश्न पनि उठाउनुपर्छ।
हामीले शिक्षकलाई समयअनुसार परिवर्तन हुनुपर्छ भन्छौँ। तर, परिवर्तनका लागि आवश्यक अवसर र सहयोग उपलब्ध गराउने जिम्मेवारी कसको हो?
शिक्षकलाई नयाँ प्रविधि सिक्न, फरक क्षमता र पृष्ठभूमिका विद्यार्थीलाई बुझ्न तथा आफ्नो शिक्षण विधि सुधार गर्न प्रोत्साहित गरिन्छ। त्यसका लागि तालिम पनि सञ्चालन हुन्छन्। तालिमले शिक्षकलाई नयाँ ज्ञान र सीप दिन सक्छ, तर तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सक्ने वातावरण छैन भने त्यसको प्रभाव सीमित हुन्छ। एउटा तालिममा सिकेको विधि कक्षाकोठामा प्रयोग गर्न आवश्यक सामग्री, समय वा संस्थागत सहयोग उपलब्ध छैन भने शिक्षकले चाहेर पनि सबै कुरा लागू गर्न सक्दैनन्।
त्यसैले तालिम दिनु र शिक्षकको क्षमता विकास गर्नु महत्त्वपूर्ण भए पनि त्यसपछि के भइरहेको छ भन्ने कुरामा ध्यान दिन आवश्यक छ।
शिक्षकले नयाँ विधि प्रयोग गर्दा के समस्या भोगिरहेका छन्?
विद्यार्थीले त्यसबाट कस्तो प्रतिक्रिया दिइरहेका छन्?
कुन पक्षमा सुधार गर्न सकिन्छ?
यस्ता प्रश्नमा छलफल हुनुपर्छ। शिक्षकलाई सिक्ने, अभ्यास गर्ने र गल्तीबाट सुधार गर्ने अवसर दिनुपर्छ। हरेक नयाँ प्रयास पहिलो पटकमै सफल नहुन सक्छ। गल्ती भयो भन्दैमा शिक्षकलाई दोषी ठहर्याउने हो भने उनीहरू नयाँ प्रयोग गर्न हिचकिचाउन सक्छन्। तर, प्रयासलाई बुझ्ने र आवश्यक सहयोग गर्ने वातावरण बनेमा उनीहरू पनि आफ्नो शिक्षण सुधार गर्न थप उत्साहित हुन्छन्।
यससँगै शिक्षकको मूल्यांकन कसरी भइरहेको छ भन्ने प्रश्न पनि महत्त्वपूर्ण छ।
विद्यालयमा कक्षाकोठाको अवलोकन, विद्यार्थीको नतिजा र विभिन्न प्रशासनिक प्रक्रियामार्फत शिक्षकको कामको मूल्यांकन गरिन्छ।
यस्तो मूल्यांकन शिक्षकलाई आफ्नो कमजोरी पहिचान गर्न र सुधार गर्न सहयोग गर्ने माध्यम बन्नुपर्छ। तर, मूल्यांकनको उद्देश्य कमजोरी खोज्नु वा गल्ती देखाउनु मात्र बन्यो भने त्यसले शिक्षकमा अनावश्यक दबाब सिर्जना गर्न सक्छ। शिक्षकलाई के सुधार गर्नुपर्छ भनेर बताउनु आवश्यक छ, तर त्यससँगै कसरी सुधार गर्न सकिन्छ भन्ने सहयोग पनि दिनुपर्छ। जिम्मेवारी माग्नु र निरन्तर दबाब दिनु एउटै कुरा होइन।
शिक्षकको जिम्मेवारी कक्षाकोठामा पढाउने काममा मात्र सीमित हुँदैन। पाठयोजना बनाउने, प्रश्नपत्र तयार गर्ने, उत्तरपुस्तिका जाँच्ने, विद्यार्थीको प्रगति अभिलेख राख्ने, अभिभावकसँग सम्पर्क गर्ने, बैठकमा सहभागी हुने र विभिन्न प्रशासनिक काम पूरा गर्ने जिम्मेवारी पनि उनीहरूमाथि हुन्छ। कतिपय अवस्थामा यी सबै काम नियमित शिक्षणसँगै व्यवस्थापन गर्नुपर्छ। विद्यालयको वातावरण, कार्यभार, सहकर्मीबीचको सम्बन्ध, व्यवस्थापनको व्यवहार र आफ्नो कामप्रति पाइने सम्मानले पनि शिक्षकको मनस्थितिमा प्रभाव पार्छ।
यसका अतिरिक्त शिक्षकको पनि आफ्नै व्यक्तिगत जीवन हुन्छ। उनीहरूका पनि पारिवारिक जिम्मेवारी, आर्थिक चिन्ता, स्वास्थ्यसम्बन्धी समस्या र व्यक्तिगत चुनौती हुन सक्छन्। कक्षाकोठामा प्रवेश गरेपछि यी सबै कुरा बिर्सेर सधैँ उत्साहित देखिनुपर्छ भन्ने अपेक्षा गर्नु सजिलो छ।
तर, त्यसलाई व्यवहारमा उतार्न कति कठिन हुन्छ भन्ने कुरा हामीले पनि बुझ्नुपर्छ। शिक्षक हुनु भनेको आफ्ना सबै भावना र समस्या घरमै छाडेर विद्यालय प्रवेश गर्नु मात्र होइन। उनीहरू पनि मानिस हुन्, उनीहरूलाई पनि आराम, सम्मान, सहयोग र बुझाइको आवश्यकता हुन्छ।
यसको अर्थ शिक्षकले आफ्नो जिम्मेवारीबाट पन्छिन पाउनुपर्छ भन्ने होइन। शिक्षकको व्यवहारले विद्यार्थीमा प्रत्यक्ष प्रभाव पार्छ। त्यसैले विद्यार्थीप्रति सम्मानजनक व्यवहार गर्नु, उनीहरूको कुरा सुन्नु र सुरक्षित सिकाइ वातावरण बनाउनु शिक्षकको महत्त्वपूर्ण जिम्मेवारी हो। तर, जिम्मेवारीको कुरा गर्दा शिक्षकलाई मात्र केन्द्रमा राखेर सबै समस्याको समाधान खोज्न सकिँदैन।
शिक्षकले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ भने विद्यालय र सम्बन्धित निकायले पनि त्यो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न सक्ने वातावरण बनाउनुपर्छ। अपेक्षा र सहयोगबीच सन्तुलन आवश्यक छ।
शिक्षक र विद्यार्थीको सम्बन्धमा अभिभावकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। विद्यार्थीको सिकाइ विद्यालयभित्र मात्र सीमित हुँदैन। घरको वातावरण, परिवारको व्यवहार, अभिभावकको समय, आर्थिक अवस्था र बालबालिकाले पाउने प्रोत्साहनले पनि उनीहरूको सिकाइमा प्रभाव पार्छ।
विद्यालयले गृहकार्य पूरा नगरेको, पढाइमा ध्यान नदिएको वा कक्षामा सहभागी नभएको भन्दै विद्यार्थीबारे गुनासो गर्न सक्छ।
अर्कोतर्फ, अभिभावकले पनि विद्यालयले पर्याप्त ध्यान नदिएको वा शिक्षकले राम्रोसँग नपढाएको आरोप लगाउन सक्छन्। तर, एकअर्कालाई दोष दिएर मात्र विद्यार्थीको समस्या समाधान हुँदैन।
हरेक विद्यार्थीको सिक्ने गति, रूचि, क्षमता र पारिवारिक पृष्ठभूमि फरक हुन्छ। एउटै कक्षामा पढ्ने सबै विद्यार्थीले एउटै तरिकाले बुझ्छन् वा समान समयमा सिक्छन् भन्ने हुँदैन। कसैलाई पढेर बुझ्न सजिलो हुन्छ, कसैलाई देखाएर वा अभ्यास गराएर सिकाउँदा राम्रो हुन्छ।
कसैलाई घरमा पढ्ने वातावरण सहज हुन्छ भने कसैका लागि त्यही वातावरण चुनौतीपूर्ण हुन सक्छ। त्यसैले कुनै विद्यार्थीले अपेक्षाअनुसार प्रगति गर्न नसक्दा उसलाई अल्छी वा लापरवाह भनेर निष्कर्ष निकाल्नुअघि समस्याको कारण बुझ्न आवश्यक हुन्छ।
यसका लागि शिक्षक र अभिभावकबीच नियमित र सकारात्मक संवाद हुनुपर्छ। विद्यार्थीको कमजोरीबारे मात्र कुरा गर्ने होइन, उसले के राम्रो गरिरहेको छ, कुन कुरामा रुचि देखाउँछ र कुन पक्षमा थप सहयोग आवश्यक छ भन्ने विषयमा पनि छलफल गर्नुपर्छ।
घर र विद्यालयले एउटै उद्देश्यका लागि सहकार्य गर्न सके विद्यार्थीलाई बढी सहयोग पुग्छ। अभिभावकले विद्यालयको अवस्था बुझ्ने र विद्यालयले विद्यार्थीको पारिवारिक तथा व्यक्तिगत परिस्थिति बुझ्ने प्रयास गर्नुपर्छ। यस्तो सहकार्यले विद्यार्थीको सिकाइ मात्र होइन, शिक्षक र अभिभावकबीचको विश्वास पनि बलियो बनाउन सक्छ।
आज हामी शिक्षाको गुणस्तरबारे धेरै छलफल गर्छौं। विद्यार्थीले राम्रो नतिजा ल्याउनुपर्छ, शिक्षकले प्रभावकारी शिक्षण गर्नुपर्छ, विद्यालयले उत्कृष्ट प्रदर्शन गर्नुपर्छ भन्ने अपेक्षा राख्छौँ। तर, गुणस्तरीय शिक्षाको अर्थ परीक्षामा राम्रो अङ्क ल्याउनु मात्र होइन। विद्यार्थीले आफूलाई सुरक्षित महसुस गर्नु, आफ्नो कुरा राख्न पाउनु, गल्तीबाट सिक्नु, फरक विचारलाई सम्मान गर्न जान्नु र जीवनमा आवश्यक सीप विकास गर्नु पनि शिक्षाकै महत्त्वपूर्ण पक्ष हुन्। यस्तो सिकाइको वातावरण बनाउन शिक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ। तर, त्यसका लागि शिक्षक स्वयंले पनि सहयोगी र सम्मानजनक वातावरण पाउनुपर्छ।
विद्यालयको नेतृत्व र व्यवस्थापनले शिक्षकका कुरा सुन्ने, उनीहरूले भोगिरहेका समस्या बुझ्ने र आवश्यक सुधारका लागि पहल गर्ने संस्कार विकास गर्नुपर्छ। शिक्षकलाई नयाँ योजना लागू गर्न निर्देशन दिनुअघि त्यसको व्यावहारिक पक्षबारे छलफल गर्न सकिन्छ।
शिक्षकले कुनै समस्या औँल्याउँदा त्यसलाई बहाना ठान्ने होइन, समाधान खोज्ने अवसरका रूपमा लिनुपर्छ। आवश्यक स्रोतसाधन उपलब्ध गराउने, कामको उचित बाँडफाँट गर्ने र शिक्षकको प्रयासलाई सम्मान गर्ने संस्कृतिले कार्यस्थललाई सकारात्मक बनाउन मद्दत गर्छ।
यसले शिक्षकलाई मात्र फाइदा पुग्दैन, विद्यार्थीको सिकाइमा पनि सकारात्मक प्रभाव पार्छ।
त्यस्तै, शिक्षक तालिम दिने संस्था, शिक्षा नीति निर्माण गर्ने निकाय र सम्बन्धित सरोकारवालाले पनि शिक्षकका वास्तविक आवश्यकता बुझ्नुपर्छ। कागजमा राम्रा देखिने नीति र व्यवहारमा लागू गर्न सकिने व्यवस्थाबीचको दूरी कम गर्न आवश्यक छ।
शिक्षकबाट नयाँ विधि, प्रविधि र उत्कृष्ट नतिजाको अपेक्षा गरिन्छ भने ती अपेक्षा पूरा गर्न आवश्यक सहयोग पनि उपलब्ध गराइनुपर्छ।
शिक्षकको कामको मूल्यांकन गर्दा विद्यार्थीको नतिजा मात्र होइन, उनीहरूको सिकाइमा भएको प्रगति, कक्षाकोठामा अपनाइएका विधि, विद्यार्थीप्रतिको व्यवहार र शिक्षकले सामना गरिरहेका परिस्थितिलाई पनि ध्यानमा राख्नुपर्छ।
अन्ततः शिक्षकको मुस्कानलाई व्यक्तिगत स्वभाव वा व्यक्तिगत जिम्मेवारीको विषय मात्र बनाएर हेर्नु पर्याप्त हुँदैन। त्यो मुस्कानसँग शिक्षकले काम गर्ने वातावरण, पाउने सम्मान, जिम्मेवारीको भार, उपलब्ध स्रोतसाधन र संस्थाले दिने सहयोग पनि जोडिएका हुन्छन्।
शिक्षकलाई मुस्कुराउन भन्नुअघि उनीहरूको कामको प्रकृति बुझ्ने, उनीहरूका कुरा सुन्ने र आवश्यक सहयोग उपलब्ध गराउने प्रयास गर्नुपर्छ। शिक्षकलाई खुसी देखिन बाध्य पार्नेभन्दा उनीहरूले अर्थपूर्ण र प्रभावकारी काम गर्न सक्ने वातावरण निर्माण गर्नु महत्त्वपूर्ण हुन्छ।
हामीले शिक्षकबाट कस्तो व्यवहार चाहेका छौँ भन्ने कुरा स्पष्ट छ। हामी चाहन्छौँ, शिक्षक विद्यार्थीप्रति संवेदनशील होऊन्, उत्साहका साथ पढाऊन्, नयाँ कुरा सिक्न तयार होऊन् र विद्यार्थीलाई आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गरून्।
तर, यी अपेक्षा पूरा गर्न शिक्षकलाई के चाहिन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ। शिक्षकको मुस्कान कक्षाकोठामा मात्र खोजेर हुँदैन; त्यो मुस्कानलाई सम्भव बनाउने वातावरण विद्यालय, घर र समग्र शिक्षा प्रणालीमा पनि निर्माण गर्नुपर्छ।
सायद, हामीले शिक्षकको अनुहारमा मुस्कान खोज्नुअघि आफूले उनीहरूका लागि कस्तो वातावरण बनाइरहेका छौँ भनेर सोच्न आवश्यक छ।किनकि प्रश्न शिक्षक मुस्कुराइरहेका छन् कि छैनन् भन्ने मात्र होइन। प्रश्न त यो पनि हो—हामीले शिक्षकबाट कस्तो शिक्षा चाहेका छौँ भन्ने त स्पष्ट छ, तर त्यस्तो शिक्षा दिन सक्ने शिक्षकका लागि हामी कस्तो वातावरण बनाइरहेका छौँ?सायद, हाम्रो शैक्षिक बहस यही प्रश्नबाट सुरू हुनुपर्छ।