औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका सवारीसाधन मर्मत केन्द्र, ग्यारेज र वर्कसपलाई उत्पादनमूलक उद्योगमा रूपान्तरण नगरे भाडा सम्झौता रद्द हुने भएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले यस्ता व्यवसायलाई पाँच वर्षभित्र उत्पादनमूलक उद्योगमा रूपान्तरण नगरे सम्झौता रद्द गर्ने व्यवस्था गरेको हो।
लिमिटेडले हालै लागू गरेको औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन विनियमावली, २०८३ मा सवारीसाधन मर्मत केन्द्रलगायतका व्यवसायका सम्बन्धमा यस्तो व्यवस्था गरिएको जनाएको छ।
नयाँ व्यवस्थाअनुसार औद्योगिक क्षेत्रभित्र सञ्चालन गर्न उपयुक्त नभएको ठहर भएका तथा प्राथमिकताक्रममा नपरेका उद्योग व्यवसायको सम्झौता पनि नवीकरण नहुने लिमिटेडको भनाइ छ।
लिमिटेडका महाप्रबन्धक पदम ओलीले औद्योगिक क्षेत्रको जग्गा उत्पादनमूलक उद्योगका लागि प्रयोग होस् भन्ने उद्देश्यले विनियमावली संशोधन गरिएको जानकारी दिएका छन्।
लिमिटेडका अनुसार यसअघि जग्गा तथा भवन भाडामा लिएर सञ्चालन भइरहेका सवारीसाधन मर्मत केन्द्रलाई पाँच वर्षभित्र उत्पादनमूलक उद्योगमा रूपान्तरण हुन समय दिइएको छ। उक्त अवधिमा रूपान्तरण नगरे भाडा सम्झौता रद्द गरिने व्यवस्था गरिएको छ।
त्यस्तै, विनियमावलीको प्राथमिकताक्रममा नपरेका र समितिले औद्योगिक क्षेत्रभित्र सञ्चालन गर्न उचित नभएको ठहर गरेका व्यवसायले आफ्नो साविकको उद्देश्यअनुसार सञ्चालन जारी राखे पनि सम्झौता नवीकरण गर्न नपाउने व्यवस्था गरिएको लिमिटेडले जनाएको छ।
नयाँ विनियमावलीले गैरउत्पादनमूलक उद्योग व्यवसायलाई निरुत्साहित गर्ने नीति लिएको छ। यस्ता व्यवसायलाई तीन वर्षको समय दिएर प्रवेश शुल्कमा छुटसहित उत्पादनमूलक उद्योगमा रूपान्तरण हुने अवसर दिइने लिमिटेडको भनाइ छ।
तर उत्पादनमूलक उद्योगलाई गैरउत्पादनमूलक व्यवसायमा परिवर्तन गर्न, गैरउत्पादनमूलक उद्देश्य थप गर्न वा त्यस्ता उद्योगसँग गाभिन भने निषेध गरिएको छ।
लिमिटेडले सार्वजनिक गरेको विवरणअनुसार बालाजु औद्योगिक क्षेत्रमा ११ वटा र हेटौंडा औद्योगिक क्षेत्रमा दुईवटा सवारीसाधन मर्मत तथा सर्भिसिङसम्बन्धी व्यवसाय सञ्चालनमा छन्।
बालाजुमा दुगड अटो क्लिनिक, गुराँस इन्जिनियरिङ, सुन्दर प्रो. एन्ड सर्भिसेज, नाकासु इन्जिनियरिङ, स्याकार सर्भिसेज, पूजा इन्टरनेसनल, बालाजु अटो वर्क्स, कन्टिनेन्टल कम्पोनेन्ट, कन्टिनेन्टल सर्भिसेज, अशोक एलटी र आईएमई अटोमोटिभ्स सञ्चालनमा रहेको लिमिटेडले जनाएको छ।
त्यस्तै, हेटौंडा औद्योगिक क्षेत्रमा दुगड अटो क्लिनिक र बतास ब्रदर्स मोटर सञ्चालनमा रहेको विवरणमा उल्लेख छ।
लिमिटेडका अनुसार औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालनका लागि आवश्यक जग्गा, भवन, सडक, ढल, पानी, विद्युत् र अन्य पूर्वाधार उपलब्ध गराउँदै उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिने उद्देश्यले नयाँ व्यवस्था ल्याइएको हो।
नेपालको पहिलो औद्योगिक क्षेत्रका रूपमा २०१९ सालमा स्थापना भएको बालाजु औद्योगिक क्षेत्रसहित देशका १० स्थानमा लिमिटेडले औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ। ती औद्योगिक क्षेत्रमा सात सयभन्दा बढी उद्योग व्यवसाय सञ्चालनमा रहेको र करिब २० हजारले प्रत्यक्ष रोजगारी पाएको लिमिटेडको भनाइ छ।