लेखकको 'म' मा स्वयं लेखक नहुन सक्छ। कहिलेकाहीँ त्यसमा समाज र परिवेशको कथा ब्यथा लुकेको हुन्छ।
सत्तरीको दशकमा अल्लारे थिएँ। अझ उमेरै जान्न चाहनुहुन्छ भने २० वर्ष! जो देख्यो त्यही मन पर्थ्यो! अरूलाई त्यस्तो भयो कि भएन, यकिन गर्न सक्दिनँ म!
खासमा उमेरको दोष ठान्छु। रिमाले मन चोरी, उसैमा हराएँ। सुन्दरता पनि मान्छेपिच्छे फरक हुने रहेछ। मोडल नै भई मलाई। केही समयको प्रेमालापपछि एकसाथ बस्यौँ। प्रचलित भाषामा लिभिङ टुगेदर। संसारकै सुन्दरी लाग्थी ऊ।
एस. एल. सीको सर्टिफिकेट बिकेन। विशेष सीप थिएन। दुवै बेरोजगार! रमाइलोले पेट भरिएन। सानोतिनो काम गर्न मेजरको छोराले भएन। गतिलो काम पाइएन। आत्मनिर्भर भएको भए कुरा अर्कै हुन्थ्यो। घरपरिवारको सपोर्ट नहुँदा जीवन जिउन गरिएका प्रयास असफल भए। यद्यपि केही महिना संघर्ष गर्यौँ। तर सकेनौँ। अभावको कुरा गरिसाध्य भएन।
उता घरपरिवारले रिमाको विरूद्धमा मात्र कुरा गरिरहे। फोन र आफन्तमार्फत त्यस्ता कुरा आउँथे। छोडेर छिटो घरमा आउन प्रत्यक्ष/अप्रत्यक्ष दबाब भइरह्यो। 'न रूप! न कुल घराना!' कति सुन्नु! वाक्क भएँ। रिमा छोड्ने वा घरपरिवार त्याग्ने खुबै दोमन भयो। तर दुईमध्ये एक छान्नु नै पर्ने भयो। परम्परागत परिवारलाई सम्झाउन कोसिस गर्दा सकिनँ। हारेँ। सँगै बस्नुअघि परिवारको सल्लाह र सहमति नलिनु ठूलो भूल थियो। जवानीले तपसिलका सबै कुरा बिर्स्यो।
बाबाले एक दिन फोन गरेर भूपू मेजरको छोरा भएको सम्झाउनु भयो। त्यसले मलाई झन् पेट पोल्यो। सायद पारिवारिक विरासतको कुरा गर्नु भएको होला!
चाडपर्व तथा कुलपूजामा उसलाई घरमा लाने अनुमति भएन। सयौँ पटक गलत छ भनिरहँदा हो झैँ भयो। बाबुआमाको चित्त दुखाएकोमा ग्लानि भयो। दिनानुदिन ग्लानिको मात्रा बढ्दै गयो। प्रेमालाप मानसिक परिपक्वताभन्दा शारीरिक आकर्षणको प्रतिफल थियो कि क्या हो? ... अन्ततः त्यो टुट्ने बाटोमा गयो। नमिठो मान्दै अर्को जुनिमा भेट्ने है प्रमेश भन्दै रिमा बाहिरिई। दुवैका आँखामा आँसु भरिए। केके रहेछन् अप्ठेरा र बाध्यता भन्ने कुरा राम्ररी उसले पनि बुझी, मैले पनि बुझेँ।
सुरूसुरूमा नरमाइलो लाग्यो। प्रेमका लागि परिवार त्यागेका उदाहरणहरू झल्झली आए। जीवनमा पहिलो प्रेम थियो जसले मलाई घाइते बनायो। जीवनले धेरै कुरा सिकायो तर ठीक समयमा सिकाएन। दुःख त्यसैमा छ। वर्षौंसम्म पोलिरह्यो त्यो घाउले। खासमा परिपक्वताभन्दा अल्लारे निर्णय रहेछ। टुट्यो। त्यसपछिका एक दशक करियर बनाउँदै बिते। माटोमुनि पुगेको थिएँ! त्यहाँबाट उठेँ। एकल जीवन बित्छ वा बित्दैन? दोधार छु। बेहोसीपनमा कलेज छुटेको थियो, त्यसलाई निरन्तरता दिएँ। कलेजपछि लोक सेवाको कोसिस गरेँ। सजिलो रहेनछ। सकिनँ मैले।
एक जना आफन्तको सहयोगमा विश्वविद्यालयमा ठेक्का करारको जागिर पाएँ। पुँजीवादमा मालिकले श्रमिकको श्रम कसरी शोषण गर्छ भन्ने कुरा त्यस बेला चाल पाएँ। पाएर के गर्नु? विवशता! त्यही काम पनि कता हो कता भयो। खुट्टा टेक्ने धरातल नै हुँदैनथ्यो। खुट्टा टेकायो। पछि प्रतिस्पर्धाबाटै स्थायी भएँ।
घर–अफिस–घर गर्दै समय बित्यो। अफिसकाहरूलाई इतिवृत्तान्त थाहा थिएन। भन्न पनि जरूरी ठानिनँ। साथी/सहकर्मीबाट सधैँ प्रश्न आइरह्यो, 'विवाह र भोज कहिले!' कथा र व्यथा आफ्नै थिए, भन्नु कि नभन्नु। भनिनँ।
समयक्रममा अरूले कुरा गर्ने हाँसिमजाक पात्र भएँ। कतिले त केटा होइन कि क्या हो सम्म भने! चित्त दुख्थ्यो। तै पनि हाँसेर टारिदिन्थेँ। देख्नासाथ विवाहको कुरा हुन्थ्यो। अगुल्टाले हिर्काएको कुकुर बिजुली चम्कँदा तर्सिन्छ झैँ भयो। भत्भती मन पोलिरह्यो।
काजल मेरै शाखामा काम गर्ने सहकर्मी हो। स्थायी हुन नसक्दाका दिक्दारी र निराशा छन् उसका। उपाय मसँग पो के थिए र? जागिरका सुरूआती दिनमा खाजा खान क्यान्टिन जान्थेँ। पछि काजलले नै घरबाट ल्याएको खाजा दिन थाली। सधैँ खान अप्ठ्यारो लाग्यो। तर बाहिर गएर खान दिँदै दिइन। वर्षौँसम्म उसले ल्याएको खाजा खाएँ। केटा न परेँ, अल्छी थिएँ! घरबाट ल्याउँदैनथेँ।
'बिहे नगर्ने सर?' अकस्मात् प्रश्न गरी उसले।
उसका प्रश्नले छुट्टै झन्का दियो। अरूको भन्दा उसको प्रश्नलाई अलग रूपमा लिएँ। त्यसले तरङ्गित बनायो मलाई। जबाफ दिनै सकिनँ। रिमापछि प्रेमको ढोका बन्द गरेर बसेको थिएँ! फेरि बल्झियो त्यो। इतिहास थाहा छैन, वर्तमान मात्र थाहा छ उसलाई। मुख्य कुरा श्रीमती छैन भन्ने थाहा छ। घरपरिवार र आमाबुबाबारे पनि थोरबहुत जानकार छ।
कहिलेकाहीँ दुवै एकअर्काको कोठामा आउनेजाने गर्थ्यौँ। साथी र सहकर्मीको पवित्र नाताभन्दा न ऊ पर गएकी छ, न म! एउटा केटी मान्छे आजीवन असल साथी बन्न सक्छे कि सक्दिन? त्यो सन्दर्भलाई समाजले पचाउँछ कि पचाउँदैन! सोच्दै छु। सहकर्मीहरूले ल ल! छ छ! भनेर काजलसँग नाम जोड्दै थिए। त्यसलाई सामान्य रूपमा पचाएँ। यता दैनिकी भने बिस्तारै परिवर्तन हुँदै गयो। अफिसबाट छुटेपछि फेरि फोन गर्छे— 'कति बजे पुग्नुभयो? के खाने? पकाउन अल्छी त लाग्दैन?' यस्तै यस्तै...। के भयो कुन्नि बेस्सरी टोलाउन लागेँ!
दसैँको १५ दिन बिदा हुन्छ विश्वविद्यालयमा। गाउँ जाने अघिल्लो दिन एउटा बन्द प्याकेट ल्याई। त्यही दिन मेरो जन्मदिन थियो। प्याकेट खोल्न लगाई, जसमा मेरा लागि सर्ट र पाइन्ट रहेछ।
'लगाउनु त, कत्तिको सुहाउँदो रहेछ!' आपत् पर्यो, कता गएर कपडा फेर्नु? एउटै कोठा छ। अक्मक्किएँ म!
'लु-लु, आँखा चिम्लिन्छु।' सल बेरेर आँखा छोपी! विश्वास गरेँ मैले। छोपी या छोपिन, उही जानोस्। कपडा लगाउन तयार भएँ र लगाएँ! सर्ट-पाइन्ट लगाएपछि खुब सुहाएको भन्दै हातले सङ्केत (👌) देखाई। एकाएक एक सेल्फी खिची दुवैको। शुभकामना र शुभयात्राको कामनासहित छुट्यौँ। त्यही बेलुका दुवै जना नाइट गाडी चढ्नु थियो।
दसैँमा गाउँ गएँ। विवाह नगरेकोमा आमाबाबुको गनगन छँदै थियो। घरपरिवारको परिवेश पहिलेभन्दा अलि फरक छ। अनेक ठाउँमा मेरो लागि केटी माग्दा नपाएकोबारे जानकार छु। 'नाक जोगाउनू, तेरो छनौट स्वीकार छ'!
गाउँबाटै फोन गरेर सञ्चो-बिसञ्चो सोधीखोजी गरी उसले। जीवनभर मिल्ने साथी/सहकर्मी बनाउने वा के गर्ने, बेस्सरी अल्मलिएँ! तर परिवारले मेरो छनौटमा विमति राख्ने छैन भन्नेमा ढुक्क भएँ अब।
गाउँबाट फर्केपछि, 'तिमीले चाहिँ किन विवाह नगरेको?' आँट गरेर सोधेँ। मन बुझ्न चाहेँ उसको। अँध्यारो मुख लगाई। 'घरमा दाजुभाइ छैनन्। आमाबाबुको हेरचाह गर्ने भनेर विवाह नगरेको! तर निर्णय गलत भएछ।' किन र कसरी भनेर प्रश्न सोधिनँ।
काजल थप नजिकिन थाली। हाउभाउहरू अझ फरक हुँदै गए। साथी र सहकर्मीको दायरा नाघ्न लागेको महसुस भयो। मनै त हो, चञ्चलियो। कताकता मलाई पनि इशारा दिऊँ-दिऊँ भो! फेरि, हतार त हुन्न? पछुताउनु त पर्दैन? रिमाको घटना दिमागमा फनफनी घुम्यो। होइन-होइन, त्यसमा र यसमा आकाश-जमिन फरक छ। शारीरिक आकर्षणभन्दा मानसिक परिपक्वता बढी छ। आफैले आफैलाई प्रश्न सोधेर उत्तर दिएँ। संसारकै सुखी र खुसी मान्छे बनाउँछु भन्ने कल्पना आयो।
तर एउटा सकस फेरि पनि छ मलाई। एउटै शाखामा कसरी जागिर खाइरहने होला दुवै जना? आ ... होस्। त्यसबारे पछि सोचौँला।
नभन्दै, खाजा खाँदा सोधेँ— 'व्यवहारहरू फरक छन् त किन हो, काजल?' 'लाटै हो क्या तपाईं! यति पनि नबुझ्ने? इशारा नै काफी छैन र, बुद्धु!'
एकछिन त ट्वाँ परेँ! खासमा यो विषयमा लामो समय सोचविचार गरेकै हो मैले पनि। उपयुक्त समय र इशाराको पर्खाइमा थिएँ।
आजै त्यो प्रतीक्षाको घडी आएछ। लु, त्यसो भए मनमा सजाउँछु भन्दिएँ फ्याट्ट! 'वर्षौँ यही प्रतीक्षामा थिएँ, बल्ल मुखबाट शब्द सुन्न पाएँ' भन्दै मुस्कुराई ऊ!